‘आज रमिता छ’ का अनुवादक मञ्जुश्री थापासित सन्देस घिमिरेको संवाद

यो अनुवाद भारतको त्यो पाठक समुहमा लोकप्रिय भएर पुग्छ जसले मूल भाषामा यस उपन्यासलाई पढ्न सकेका छैनन्। 


इन्द्रबहादुर राईका प्रत्येक कृतिमा पाठकहरूलाई तान्ने चुम्बकीय शक्ति छ-मञ्जुश्री थापा

शुरूवाती जीवनको लामो अवधि बाहिर बिताएपछि मन्जुश्री थापा नेपाली भाषामा लेखक बन्ने सपना लिएर नेपाल फर्किइन्। नेपालका एक स्थापित कवि मन्जुलको साथ लागेर नेपाली भाषालाई पुनर्अध्ययन गर्ने सोंचले नेपाली कविताहरू अङ्ग्रेजीमा अनुवाद गर्न शुरू गरिन्। समयसँगै नेपालीमा आफ्नो पकड़ त बनियो तर यतिबेलै उनले बोध पनि गरिन् कि उनीसँग भाषाको त्यो चमक छैन, जो नेपालमा नै बसेर नेपालीमा लेखिरहेका लेखक – कविहरूसँग थियो।

त्यसपछि मन्जुश्रीले केही फिक्सन अनि नन फिक्सनका किताबहरू लेखिन् जसले उनलाई अङ्ग्रेजी भाषामा लेखिरहेका नेपाली लेखकहरूको अघिल्लो लहरमा लगेर उभ्यायो। यद्धपि, उनको नेपाली भाषा अनि यसमा लेखिने साहित्यप्रतिको मोह छुटेको छैन। उनले यसपछि पनि धेरै नेपाली साहित्यको अध्ययन जारी राखिन्।

फोटोः मञ्जुश्रीको ट्वीटर र इन्टरनेटबाट साभार

नेपालीमा लेखिएका साहित्यिक कृतिहरूको अनुवाद गरेर यसलाई वैश्विक फाँटमा पुऱ्याउन आजसम्म उनी काम गरिरहेकी छन्। कन्ट्री इज योर्स नामको उनको पहिलो अनुवाद प्रोजेक्टमा नेपालका ४९ कवि एवं लेखकहरूको रचना समावेश छन्। भर्खरै उनले ट्रास्लेसन फ्रम द मार्जिन्स शीर्षकको ला. लिट. अङ्कको लागि अतिथि सम्पादकको रूपमा काम गरेकी छिन्।

क्यानेडामा बसोबास गरिरहेकी मन्जुश्री अहिले इन्द्रबहादुर राईकृत उपन्यास आज रमिता छ– को उनको अनुवादको विमोचन गर्नहेतु नेपाल आएकी थिइन्। किताबको लन्च हुन एकदिन अगाडि नेपालको उनको घरमा काठमाण्डु पोस्टका सन्देश घिमिरेले उनको अनुवादकार्यबारे गरेको अन्तरवार्ता यहाँ राखिएको छ।


नेपाली अनुवाद

लेखनाथ छेत्री


धेरैवटा फिक्सन अनि नन फिक्सन लेखिसकेपछि यो (आज रमिता छ ) तपाईंद्वारा अनुदित पहिलो उपन्यास हो। उपन्यासको कुन कुन कुराले तपाईँलाई तान्यो अनि यसको अनुवाद प्रकिया कसरी शुरू भयो?

आज रमिता छ-लाई पहिलोचोटि पढ्दा म आफ्नो पहिलो उपन्यासमाथि काम गरिरहेको थिएँ। शुरूमै उपन्यास उत्कृष्ट लाग्यो। उपन्यासमा  थोरै पात्रहरूको व्यक्तिगत सङ्घर्ष मार्फत एक वृहत सामाजिक – राजनैतिक कथा भनिएको छ। सामाजिक अनि मनोवैज्ञानिक कुराहरूको भित्री मिश्रण उल्लेखनीय छ।

लेखकको दार्शनप्रतिको झुकाव पनि उपन्यासको थप आकर्षक वस्तु हो। उपन्यासमा लेखकको आख्यानको सौन्दर्य पनि तानिने वस्तुको रूपमा छ। मैले यस्तै किसिमको आख्यान लेख्ने सपना सानैदेखि देखेकी थिएँ। लामो समयदेखि यो मेरो प्रिय उपन्यास भएर छ।

केवल नेपाली भाषामा लेखिएको उपन्यासको रूपमा होइन तर मैले पढेका संसारभरिकै उपन्यासहरूमा यो उपन्यास मेरो प्रिय हो। म त्यतिबेलै यो उपन्यासको मोहमा फसिसकेको थिएँ अनि त्यतिबेलै म यसको अनुवाद गर्न चहान्थेँ, तर १६ वर्षको लामो समयम्म मैले यसलाई अनुवाद गर्न आफैलाई सक्षम मान्न सकिन।

मलाई लागिरह्यो, यो उपन्यासको अनुवाद गर्न म तैयार भइसकेकी छुइन। उपन्यास अनुवाद गर्नको लागि थप अर्को समस्या आइपऱ्यो। उपन्यासमा दार्जीलिङमा प्रयोग गरिने नेपाली भाषा चलाइएको छ, जो नेपालमा चलाइने भाषाभन्दा भिन्न छ। पछि मैले दार्जीलिङमै बसोबास गर्ने एक सम्पादक फेला पारेँ, त्यसपछि मलाई लाग्यो, हामी मिलेर यो काम गर्न सक्छौं। यसपछि मैले किताबको अनुवाद शुरू गरेँ। अनुवादको पहिलो ड्राफ्ट क्यानेडाको ट्रास्लेसन रेसिडेन्सीमा तैयार भयो।

ट्रास्लेसन रेसिडेन्सी के हो? ट्रास्लेसन रेसिडेन्सीमा तपाईंले बिताएको समयले कसरी तपाईंको कामलाई मदद् गऱ्यो?

ट्रास्लेसन रेसिडेन्सी यस्तो ठाउँ हो जहाँ अनुवादकहरूको लागि आफ्नो काममाथि पूरा ध्यान दिने अनुकूल स्थान अनि समय मिल्छ। त्यहाँ धेरै अनुवादकहरू थिए। कोही कोरियन भाषादेखि अङ्ग्रेजी भाषामा अनुवाद गरिरहेका थिए। म नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा अनुवाद गरिरहेकी थिएँ। धेरैवटा युरोपियन भाषामा अनुवाद गरिरहेका अनुवादकहरू त्यहाँ भेटिए।

मुख्य टेक्सक्ट या त्यसको अनुदित रूप आपसमा पढेर सुनाउन असम्भव भए पनि अनुवाद गर्दा अनुवादकहरूले झेल्ने समस्याहरूबारे एकआपसमा बहसहरू हुन्थे। चाहे नेपाली भाषाको कुनै मौलिक शब्दलाई जस्ताको त्यस्तै अङ्ग्रेजीमा ल्याउने टेक्निकल समस्या होस् या अनुवादकले झेल्नुपर्ने आर्थिक समस्या।

मलाई लाग्यो, सबै अनुवादकहरूसँग प्रायः एकै किसिमका समस्याहरू छन्। अनुवाद एक दीर्घ प्रकिया हो अनि आफूजस्तै काम गरिरहेकाहरूको सम्पर्कमा रहेर यो काम गर्न उत्साहजनक हुन जान्छ।

यदि लेखन गिटारको सहायतामा कुनै गीतको रचना गर्नु हो भने अनुवाद भनेको गिटारको सहायताले रचना गरिएको त्यो ट्युनलाई भायोलिनको कर्डमा रूपान्तरित गर्नु हो। एक पाठकको हैसियतले मलाई नेपाली उपन्यासको सांस्कृतिक आयामबारे राम्ररी थाहा हुन्छ। यस सांस्कृतिक आयामलाई तपाईंले अनुवादमा अङ्ग्रेजी पाठकअगाडि कसरी प्रस्तुत गर्नुहुन्छ?

किशोर अवस्थामा जब म नेपाली भाषाको पुनर्ध्ययन गरिरहेकी थिएँ, सँगसँगै म लोर्काका कविताहरूको अङ्ग्रेजीबाट नेपालीमा अनुवाद पनि गरिरहेकी थिएँ। लोर्काका कविताहरूमा अलिभ नामक फललाई व्यापक रूपमा एक बिम्ब बनाएर प्रयोग गरिएको छ। यो फलले मेडिटेरिनियन संस्कृतिको धेरै झल्कीहरू दिन्छ तर नेपालीमा यस फलसँग मिल्ने त्यस्तै अर्को कुनै फल छैन।

उदाहरणको लागि उपन्यासकै नामबाट एउटा शब्द लिउँ – रमिता। यो शब्दले खलबली मचिरहेको कुनै एकत्रित भीडलाई बुझाउन सक्छ। यहाँ सन्दर्भले पाठलाई एक अर्थ दिनपऱ्यो। उपन्यासभरि नाथे शब्द पनि व्यापक रूपमा प्रयोग गरिएको छ।

यस शब्दको सतही अर्थ हुन्छ – नाकको रौं। यदि नाथे शब्दको सतही रूपान्तरण नै अनुवादमा प्रयोग गर्नु हो भने लेखकले उक्त शब्द प्रयोग गर्नुको ध्येय गुमाउन जान्छ। लेखकले उक्त शब्द पाठमा राख्नुको ध्येयलाई बचाउनकै लागि मैले यसको सट्टा ‘प्याथेटिक’ शब्दको प्रयोग गरेँ जसको लिटरल अर्थ एकै नभएपनि पाठलाई यसले एउटै प्रकारको अर्थ प्रदान गर्छ। अनुवादको मुख्य काम लेखको मूल तत्वलाई एउटा भाषादेखि अर्को भाषामा लिएर जानु हो।

अर्को मुख्य काम लेखकको स्टायललाई समावेश गर्न सक्नु हो, जसमा पाठको सामाजिक – सांस्कृतिक तत्वहरू पनि सामेल हुन्छन्। मूल भाषामा उपन्यासले पाएको चमक अङ्ग्रेजी रूपान्तरणमा आएर गुमाउने खतरा पनि रहन्छ।  उपन्यासमा लेखकले अभिव्यक्तिलाई आम मान्छेको भाषासँग मिश्रण गरेका छन् – जसलाई अनुवादमा लिएर आउँदा त्यो अत्याधिक च्याप्टो हुन्छ।

उपन्यासको अन्ततिर एउटा बालगीत राखिएको छ : एक दुइ नानीबुइ, दुइ तीन छेपारो छिन् …. यसलाई  कसरी अङ्ग्रेजीमा अनुवाद गर्ने? जस्ताको तस्तै अङ्ग्रेजीमा राख्न असम्भव लाग्ने यस बालगीतलाई यदि सतही रूपमा अनुवाद गरेर राखिए पनि लेखकले मुल भाषामा यसलाई राख्नुको ध्येय गुमेर जाने जोखिम हुन्छ।

यसकारण यसलाई तपाईंले व्याख्या गर्नुपऱ्यो कि यो एक बालगीत हो। तर मैले पाठलाई अर्थपूर्ण रूपमा भाषाभित्र गाभ्नको लागि कहीँ आशयको अनुमान लगाउने, कहीँ तन्काउने, कहीँ खुम्च्याउने अनि कहीँ पाठसँग खेल्ने काम पनि गरेकी छु। यसको लागि लामो समय खर्चिनुपर्ने हुन्छ। कुनै पनि मुल पाठलाई ठीकसँगले अर्को भाषाभित्र अँटाउनको लागि तपाईंले धेरैवटा ड्राफ्टहरूमा काम गरेको हुनुपऱ्यो।

पहिलो ड्राफ्टमा तपाईं पाठप्रति एकदम इमान्दार हुन चहानुहुन्छ अनि तपाईँले पाठको सतही अनुवादमात्र तैयार गर्नुहुन्छ।

दोस्रो ड्राफ्टमा मैले पाठलाई एउटा नयाँ भाषाभित्र अँटाउने काम गरेकी छु। अर्थात अङ्ग्रेजी भाषाको परिधिभित्रको वाक्यांश, रिदम, टोन अनि फ्लेभर प्रयोग गरेर रूपान्तरण गर्ने काम। धेरै महिनापछि मैले तेस्रो ड्राफ्ट तैयार गर्नको लागि वसन्त थापाको सहयोग लिएँ जो हिमाली बुक्सका सम्पादक हुन् अनि मेरो नजिकका साथी पनि हुन्। मैले उपन्यासको कुनै पनि भागबाट गलत आशय निकालिन भनेर स्पष्ट हुनको लागि अनुवादको प्रत्येक वाक्यलाई दोहोऱ्याएँ।

वसन्त अनि अन्य धेरै साथीहरूले किताबलाई अन्तमा सही रूप दिनको लागि धेरै सहायता गरेका छन्। असल अनुवाद सामुहिक सहभागीताबाट नैं सम्भव हुन्छ भन्ने मलाई लागेको छ।

अनुवाद एक आदर्श काम हो। तर यहाँका पाठकहरूले उपन्यासलाई यहाँकै मूल भाषामा पढिसकेका छन्। के तपाईँको दिमागमा पाठकहरूको कुनै विशेष समुह छ?

इन्द्रबहादुर राईका प्रत्येक कृतिमा पाठकहरूलाई तान्ने चुम्बकीय शक्ति छ। मुख्यरूपले यस उपन्यासले उनलाई साहित्य अकादमी पुरस्कार जितायो, जो भारतबाट दिइने एक प्रतिष्ठीत साहित्यिक पुरस्कार हो। भारतमा नेपाली पढ्नेहरूको संख्या न्यून छ, मलाई लागेको छ कि यो अनुवाद भारतको त्यो पाठक समुहमा लोकप्रिय भएर पुग्छ जसले मूल भाषामा यस उपन्यासलाई पढ्न सकेका छैनन्।

अहिले युवकहरूको एउटा यस्तो पिँढि पनि हुर्किरहेका छन् जसले अङ्ग्रेजी पढ्न धेर सजिलो मान्छन् – उनीहरूको लागि पनि यो किताब आकर्षणको विषय बन्न सक्छ। यस उपन्यासलाई अनुवाद गर्नुको अर्को ध्येय यसलाई विश्वभरिका पाठकसामु ल्याउनु पनि हो। अनुवाद मार्फत मूल भाषामा उपन्यासको थप बिक्री बढोस् भन्ने मेरो कामना छ।

देयर इज ए कार्निभल टुडेको भौतिक स्वरूप पनि लोभलाग्दो छ। के तपाईँ किताबको बाह्य रूपसँग सन्तुष्ट हुनुहुन्छ?

प्रकाशकहरूले किताबको कभर तैयार गर्नको लागि सराहनीय काम गरेका छन्। यो प्रोजेक्टलाई समाप्त गर्न एक वर्षको समय लाग्यो। म औधी खुशी छु। किताबलाई कसरी पाठकहरूले लिने हुन् भन्ने जान्नको लागि उत्साहित पनि छु। तर अनुवाद भन्ने काम नै यस्तो हो कि यसमा कहिले तपाईँ पूर्ण रूपले सन्तुष्ट हुन सक्नुहुन्न। ट्रास्लेसन रेसिडेन्सी क्यानेडामा समय बिताइरहेको बेला मैले थाहा पाएँ पश्चिमका ठूलठूला साहित्यिक कृतिहरूलाई प्रत्येक बिस वर्षमा पुन :अनुवाद गरिन्छ।

यसले नयाँ पिढिँकाहरूलाई क्लासिकल लिटरेचरबीच सम्बन्ध स्थापित गर्नमा सहयोग गर्छ। मेरो अनुवाद एक शुरूवात हो अनि अहिले यहीँ एउटा अनुवाद उपलब्ध छ। तर मैले आशा गरेकी छु कि केही वर्षभित्र अनुवादको चुनौतिको सामना गर्न नयाँ अनुहारहरू आउनेछन्। नयाँ अनुवादहरूले मुल भाषामा लेखिएका कृतिहरू अनि लेखन परम्परालाई जीवित राख्नमा ठूलो भूमिका निभाउनेछ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares