You are here

धरानमा निःशुल्क मधुमेह जाँच शिविरको आयोजना

धरानः सामाजिक क्षेत्रमा क्रियाशिल धरानस्थित विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको रोटर्याक्ट क्लब अफ धरान घोपाले रोटरी क्लब अफ धरान घोपा, लायन्स क्लब अफ धरान विजयपुर, लायन्स क्लब अफ धरान बुढासुब्बासँग संयुक्तरुपमा विश्व मधुमेह दिवस २०१७ को अवसरमा निःशुल्क मधुमेह जाँच शिविरको आयोजना गरेको छ।

पुरानो अस्पताल परिसर, छाता चोकमा बिहान सात बजेदेखि आठ बजेसम्म सो निःशुल्क बृहत शिविरको आयोजना गरिएको थियो। शिविरमा १०३ जनाले निःशुल्क ब्लड सुगर परीक्षण तथा निःशुल्क परामर्श प्राप्त गरेको आयोजक रोटर्याक्ट क्लब अफ धरान घोपाले जनाएको छ।

शिविरमा ३ जना चिकित्सक तथा ३० जना स्वयंसेवकहरुको टिमले सेवा प्रदान गरेको थियो। शिविरमा उच्च ब्लड सुगरका बिरामी बढी देखापरेका छन्। उच्च ब्लड सुगर भएकामध्ये अधिकांशमा उच्च रक्तचाप, धुम्रपान र मोटोपना देखिएको रोटर्याक्ट क्लब अफ धरान घोपाले जनाएको छ।

रगतमा अत्याधिक सुगर मात्रा भएका व्यक्तिहरुलाई थप परिक्षणकालागि विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमामा रिफर गरिएको छ। उमेर ढल्कदै गर्दा वा मोटोपन बढ्दै गर्दा चिनी रोगले सताउने र विशेषगरी खानपीनमा ध्यान नदिने र शारीरिक व्यायामको अभ्यास नभएकै कारण अधिकांश व्यक्तिलाई व्यस्क उमेरदेखि नै चिनीरोगले सताउने जानकारी सो क्लबका जनसम्पर्क अधिकृत रोटर्याक्टर शुभम कुमार अग्रवालले दिए।

विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा एम. बि. बि. एस तेस्रो वर्षमा अध्ययनरत रोटर्याक्टर शुभम कुमार अग्रवाललेले भने, ‘रगतमा हुने चिनीको मात्राले मानव शरीरमा हुने मृगौला,  किड्नीसँग प्रत्यक्ष सरोकार राख्दछ। अधिकांश चिनी रोगका बिरामीहरूलाई बिस्तारै मृगौलाको समस्या देखिने गरेको पाइन्छ। शरीरको महत्वपूर्ण अङ्ग अन्तर्गतको किड्नी खराब भएको अग्रिम जानकारी नहुने वा कुनै लक्षण नदेखिने भएकै कारण अधिकांश व्यक्तिहरु उक्त अङ्ग बिग्रिएर अन्तिम अवस्थामा पुगेपछि मात्र जानकारी पाउने र नियमित परीक्षण गर्ने बानी नभएकै कारण पनि नेपालीहरू दीर्घकालिन मृगौला रोगका सिकार हुने गरेका छन्।’

उनका अनुसार व्यक्तिले महत्वपूर्ण अङ्गहरु सुरक्षित राख्नकालागि शरीरमा हुने चिनीको मात्रालाई नियन्त्रणमा राख्नु र प्रत्येक तीन महिनामा शरीरमा हुने चिनीको मात्रा र मृगौलाको परीक्षण नियमित गराउन आवश्यक छ। सो शिविरबाट धरानबासीहरुलाई प्रत्यक्ष फाइदा पुगेको कार्यक्रम संयोजक काजल झाले बताएका छन्।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares