You are here

काव्यसंवाद-मा पुकार पारदर्शी

संवाद

मलाई आफ्नो कुरा भन्ने बैशाखी चाहिएको थियो…


पुकार पारदर्शी


कविताको अप्रेसन

मलाई सुन्दैमा कानै रिङरिङ हुने शब्द हो सत्ता। जोसित मलाई बेहद घृणा छ। साला सत्ता। जहाँ पुगेपछि इश्वर जस्ता मान्छेहरू राक्षसमा रूपान्तर हुन्छन्। मेरो कविताले त्यही राक्षसीय प्रवृत्ति विरूद्ध वकालत गर्छ।

प्रारम्भमा भावनाको उड़ानबाट प्रेड़ित भएर खुब लेखियो कविता। कविता के हो भन्ने बुझेपछि थाह भो, कविता लेख्न त्यति सजिलो रहेन छ। कविताको कन्टेन्ट अनि क्राफ्टमा निश्चय खोट भेटिएला। तर सम्बोधन गर्ने भनेको आफ्नै वरिपरिको विषय-वस्तु हो। मलाई लाग्छ, कमसेकम म यसमा चुकिनँ। आफू बाँचेको समाजको विविध विसङ्गतिहरू देख्दा म चुप बस्न सकिन। बस्, मलाई आफ्नो कुरा भन्ने बैशाखी चाहिएको थियो। र कविता बाहेक उपयुक्त बैशाखी अन्य भेटिनँ। अहिले म कवितामै खान्छु, कवितामै सुत्छु, कवितामै सोच्छु। कवितामय बाँचिरहेको छु। र छु अराजकतावादीहरूदेखि सचेत पनि।

 

म हड़तालमा छुः

मबाट लेखिने कविता कुन वादभित्र पर्छ, म जान्दिन। कुनै वादको खोल ओढेर आफ्नो विचार खुम्च्याउनु छैन मलाई।

वास्तवमा मबाट लेखिने कविताका जम्मै कन्टेन्ट लोकल हुन्। यतिखेर म भर्सटाइल हुन खोजे पनि हुन नसकिरहेको अवस्था हो। जुन हुनु मलाई आफ्नै सरोफेरोले दिइरहेको छैन। आफू काँड़ामाथि बसेर बाहिरको गुहु कोट्याउनु ठिक लागेन। आफू उभिएकै भुईँलाई सम्बोधन गर्नुपर्छ भन्ने लाग्यो। किसान, कृषक र मजदुरहरूको अधिकारको सवाल बिर्सिएर म कसरी हैदरावादी चिकन बिर्यानीको कविता लेख्न सक्थेँ।

उसो त पारम्पारिक बाँधले मुजा परेको दार्जीलिङे समाज सङ्कुचित राजनीतिभित्र गुजुल्टिरहेको छ। अनि समाजका गरीब किसानहरू उपनिवेशवादले पिल्सिरहे छन्। यो जान्दाजान्दै कि उनीहरू शोषित छन्, पीड़ित छन्, र म आफू चाहिँ स्वीटजरल्याण्डमा उड़्ने पुतलीको कविता लेखूँ। अँह! मन मान्दैन। त्यही उपनिवेशवाद र पुँजीवाद विरूद्ध मबाट कविता लेखिन्छ। अचेल म यही दायित्ववोधले कविता लेख्छु। सामाजिक मूल्य र मान्यताको मुद्दा उठाउँछु। अर्थात्, म हड़तालमा छु।

 

हट सेलीब्रेटी ड्रिम

एकातिर गाउँ अँध्यारोमा राखेर डिजिटल इन्डियाको सपना बेच्छ सरकार। जुन देशमा उत्पादन भएको कन्डोमको पनि भर हुन्न। राजनैतिक अस्त्र उध्याउने उद्देश्यले गाईलाई भगवान देखाएर पुज्न लगाउँछ सरकार। जुन मुद्दाको कुनै वैज्ञानिक आधार छैन। मान्छेको हत्या गरेर गाईको संरक्षण गर्ने कानुन त सपनामा पनि नसोचेको हो मैले।

एक भोटको लागि मस्जिद भत्काउँछ र दश भोटको लागि मन्दिर बनाउँछ सरकार। किसानहरूको सपना खोसेरै मार्छ र आत्महत्या गर्न बाध्य बनाउँछ। त्यही लाशमाथि रमाउन जान्दछ सरकार। गणतन्त्रको ढोल पिटेर निर्दोषमाथि बन्दुक सोझ्याउँछ। किसानहरूको जीवनको भ्यालिडिटी पहिल्यै खोसिन्छ, र दिर्घायु जीवनको विज्ञापन छाप्छ सरकार।

देशभक्तिको नाममा गाउन लगाउँछ एसेम्ब्लीदेखि सिनेमा हलसम्म जण गण मण, भारत भाग्य विधाता। जुन देशका युवाहरू चाहीँ भाग्य खोज्न कतार जान्छन्। युवतीहरू खाँड़ीमा। मेरो बिम्बात्मक दृष्टिकोणमा देशका वर्तमान प्रधानमन्त्री भनेको गरीबी लुछ्ने कर्पोरेटहरूका हात हुन्। जो रतन टाटा, अम्बानी र अडाणीको औँलीको इसारामा नाच्छन्। यसको भाइब्रेसनले पहाड़लाई पनि असर नपारेको होइन।

नेताहरूको यस्तै चुरीफुरी देख्दा लाग्छ, कुनै माध्यमबाट म पनि कवितावाली सेलीब्रेटी भइदिउँ। तर म प्रचारवादमा उति विश्वास राख्दिन। जसरी कम्पनीका मालिकहरू प्रोडक्ट निकालेर हल्ला गर्छन्। बजारवादको बुँई चढेर गाउँ पस्छन्। र चुसेरै फर्किन्छन् मजदुर-किसानहरूको खुन पसिना।

बरू आवश्यकता परे समयको लालकिल्लामा ठोकिने छ कविताको लामो काँटी। झुन्डाइने छ कविताकै निक्लाम रातो ताला। त्यतिञ्जेल, कविता लेखेरै तोड्नु छ धार्मिक कट्टपन्थीहरूको मुकुण्डो। भत्काउनु छ राष्ट्रियतावादको खोक्रो पर्खाल। कविता लेखेरै उप्काउनु छ शोषण र अन्यायबिच चेप्टिएको किसानहरूको दुःखको पाप्रा।

कविता लेखेरै चुहाउनु छ सुकौरो लागेको उनीहरूको ओठमा एकेक थोपा खुशी। भर्नु छ, पुरानो सफ्टवेयरमा एन्ड्रोइट भर्सन क्रान्ति चेतना। हुल्नु छ अधिकार माग्ने आँट र चेतनाको गाँस पनि।

मेरा खनातीहरूले सर्वहारा सत्ताको स्वाद कसो नचाख्ला!!


 

माटोको मृत्यु

 

कसले भन्छ माटोको मुटु हुँदैन

कसले भन्छ माटोको आँखा हुँदैन

कसले भन्छ माटोको मूल्य हुँदैन

र हुँदैन कुनै आकार।

 

माटोको मुटु हुन्छ र नै दुख्छ यो देश

आँखा हुन्छ र नै देख्न छाड़्दैन सपना

मूल्य हुन्छ र नै लड़िन्छ युद्ध

आकार हुन्छ र नै कोरियो यो देशको मानचित्र।

 

बग्नलाई नै हो नदी

पग्लिनलाई नै हो हिमाल

भत्किनलाई नै धरहरा

र बेचिनलाई नै हो यो देशको अर्ग्यानिक माटो।

 

बजारवादको बुँई चढेर

पेस्टिसाइड्स आयो माटोको अनुहार कोतार्न

एसिड आयो र कुरूप बनायो माटोको गुप्ताङ्ग

क्लोरोफम आयो र गुमनाम बनायो चेतना

साइनाइड आयो र ठप्प बनायो धड़कन

अनि यी सब चिज थाहा नपाउनलाई भयानक पेनकिलर आयो।

 

हो सरकार,

यहाँ माटोको हत्या भएको छ।

 

तिम्रो कानुन त्यति कमजोड़ छैन भने

गिरफतार गर यी सबलाई

र झुन्डाइदेउ एसिड र पेस्टिसाइड्सको मिक्सअप कन्टेनर

साइनाइटलाई क्लोरोफम सुँघाइदेउ

र सबभन्दा भयानक पेनकिलरलाई मारिदेउ।

 

किनभने यो देशमा क्यै पत्तो हुन्न

कुनबेला देखाउँछ टिभीले सर्जिकल स्ट्राइकको विज्ञापन

कुनदिन फेरिन्छ वर्षौं नफएरिएको गान्धीको प्रोफाइल पिक्चर

कुनदिन दिल्लीमा एक्सक्लुसिभ भिडियो वाट्सअप गरिमाग्छ

र कुनदिन देशले सिपाहीलाई सहिद हुने फरमाइस गर्छ

यहाँ क्यै क्यै क्यै पत्तो हुन्न।

 

हो सरकार

यहाँ माटोको हत्या भएको छ।

 

म त्यहीँ दिनको पर्खाइमा छु

कि जुनदिन प्रोफाइल पिक्चर बदलेको नोट देखाउँदै भन्नेछौ

मेरे देशवासीयों

नोट तो बदल दिया मैनें

गाना कौन सी बढी बात हे।

 

किनभने उसलाई राम्ररी थाह छ

भाग्य खोज्ने निहुँमा सिमाना छिचोल्दै गरेकाहरूलाई

जिस्काइरहन्छ यहीँ देशको राष्ट्रिय गीतले

भारत भाग्य विधाता।

 

खोल्साको ढुङ्गालाई ईश्वर पुजिने देशमा

म आफ्नै भाग्यको लाश जलाएर फर्केको मान्छे

कुन दिशा मोड़िरहेछ मेरा पाइलाहरूले

कसै कसैलाई थाह छैन।

 

यदि म अबेर गरि फर्केछु भने

फुटाइदिनु भाग्यै नभेटिने अराजक भूगोलको निधार

यो माटोमा पुरिदिनु मेरो जीवनको पासपोर्ट

भत्काइदिनु मेरो जिन्दगीको विमान स्थल

र जलाईदिनु मेरो धुलोसरीको नागरिकता।

 

यदि म फर्किँदा

कसैगरि शत्रुले खन्यो भने आफ्नै लागि चिहान

मेरो छातीको माटो उघाएर पुरिदिनु

कि यो चिहानै चिहानको देशमा

नथपियोस् फेरि अर्को चिहान।

 

अन्तिम पटक म मेरो देशलाई

देश जस्तै बाँचेको हेर्न चाहन्छु।


 

फाँसी

महाशय

यो टाइसुट लगाउने सभ्य बाघहरूसित जोगिनु

सबभन्दा गाह्रो काम।

 

जङ्गलदेखि बिल्डिङ बसाईँ सरेका बाघहरूले

थुनेको छ मलाई उनीहरूका गुफाभित्र

स्पष्टै देखिन्छ

उनीहरूको छातीमा ढुकढुकिने प्लास्टिकको मुटु।

 

यो देशमा

जीवनलाई अन्वेशन गरेर कमाएको अलिकति पहिचान

किन्चित पनि बचाउन सकिएन।

 

आकाशको डिजिटल स्क्रिनमा

मेरो मृत्युको विज्ञापन दिन्छ बिजुली

सहरको सड़क र गल्लीहरूमा

फाँसीको पाम्प्लेट बोकेर गुड़िरहेछन् जतातै हल्लाहरू

खिनाउटे समयले बित्थामा टालिदिएको छ

इमान्दारिताको भित्तामा

मेरो अपराधी परिचय।

 

मानवता विरेधीहरूले लखेटिएको म न्यूनतम मान्छे

यो हुल्याहरूको देशमा जिउँदै मरिनुभन्दा

स्वेच्छाले मर्न चाहान्छु

बरू मेरो मृत्युको प्रमाण पत्रमा

आफै गरिदिन्छु हस्ताक्षर।

 

मलाई झुन्डाएर

अपराधी र आतङ्कारीहरूको खोर निमिट्यान्न हुन्छ भने झुन्डाउ

र सक मेरो अस्तित्व

उसै पनि मलाई झुन्डाउने डोरी

मेरो मृत्युको आयातनभन्दा बलियो छैन।

 

सायद म म बाँचेको मन नपरेरै हो

म जन्मिएकै दिन

मृत्युदण्ड घोषणा गरिदिएको छ न्यायपालिकाले

म मनमनै गदगद भएको छु

कमसेकम सिद्धार्थले बुद्धत्व प्राप्त गरेको

गान्धीको अहिंसाको देशमा मर्न पाउँदैछु।

 

जुनदिन मेरो आत्मा निस्कनेछ चिहानबाट

त्यसैदिन च्यातिने छ

अपराधीको मृत्यदण्ड लेखिएको संविधानको पाना

बेकाम हुनेछ न्यायाधीशको मस्तिष्क

 

यहाँसम्म कि

मेरो लाश लैजाँदा

रमाउँदै सड़कमा टीला बटुल्नेहरूका हातमा पनि

थमाइ राख्नेछु अन्तिम फाँसीको डोरी

ठीक त्यसैदिनदेखि न्यायापालिकाले

जस्तै अपराधको पनि

फाँसीको निष्कर्षमा पुऱ्याउने छैन।


 

कानुनको खेती

भुँड़ीमा उत्पाद मचाएकाले

यसपाली डल्ले खोर्सानीलाई

खाद्य दण्ड संहिता 1558054  धारा अन्तर्गत

मुद्दा दर्ता गरी अचारको बोइममा सुरक्षित हालियो।

 

प्रिय मुख्यमन्त्री

गाउँमा हामी कानुनको खेती गर्छौँ नी।

 

गाउँमा लागू हुने धारा दुईटै मात्र हो

धोबी धारा र शुद्ध धारा

पिउने पानी लिन आमाले शुद्ध धारा लिन पठाउनुहुन्छ

बाउको पेन्ट मैला पारिदिँदा धोबीधारा पठाउनुहुन्छ।

 

ठ्याक्कै तिम्रै जस्तो बटालियन गाउँ पनि छ

एक बटालियन धानको बाला

एक बटालियन मकैको घोगा

एक बटालियन रहर

एक बटालियन आफ्नै देशमा बाँच्ने सपना

र एक बटालियन अधिकार माग्ने आँट छ

बस्, मात्र गाउँसित बन्दुक छैन।

 

बरू पहिल्यै घोषणा गरिदिनुपर्थ्यो अदालतले

कि काँटा, फरूवा, धनुकाँड़ सब अवैध हो।

 

तिम्रो काँटा, फरूवा र बेल्चाभन्दा बलिया

जीवनको खेत खन्ने यी औँलाहरू छन्

तिम्रा बटालियनभन्दा धेरै सङ्ख्यामा धुलोका कणहरू छन्

जसले उमार्छ हाम्रो निम्ति छाक्कैपिछेको भोक

अझ धेर गाउँसित जाँगरहरू छन्।

 

आफ्नै रूख ढाल्यो भने अवैध हुन्छ

फारसमा घर बनायो, कानुन विरोधी

मासु खायो, धर्म विरोधी

अधिकारको मुट्ठी उठायो, राष्ट्रविरोधी

उब्जनी नदिने जमिनको कुद नतिर्दा घुसखोरी।

 

तिमीलाई चैं कसले दियो साइरन बजाउने अनुमति

पारसको रूख ढालेर लैजाँदा

कानुन लाग्छ कि लाग्दैन

कुन चुनाउ आयोगले भन्छ

कि भोटको अघिल्लो रात बेस्मारी पैसा बाँडनु

 

पुलिसले रक्सी पिउँदा 34 लाग्छ कि लाग्दैन

चालकहरूबाट लिएको घुस कुन ट्याक्समा जोड़िन्छ

पुलिसले मात्रै हेलमेट नलाउने नियम

देशको संविधाभित्र पर्छ कि पर्दैन।

 

यी सब प्रश्नहरूको जवाफ दिए

मलाई फाँसी दिए हुन्छ।

 

प्रिय मुख्यमन्त्री

गाँउमा हामी कानुनको खेती गर्छौँ नी।

 

कि त पहिल्यै भनिदिनुपर्थ्यो प्रशासनले

रेडियोको पुर्जा बम बनाउन काम आउँछ

कमसेकम आमाले चार दिन खेताला धाएर

आफ्नो बनाएको रेडियोको पुर्जाको बम बनाएर

ध्वस्त पारिदिन्थे दुःखको साम्राज्य।

 

चुल्हाको बुङबुङ धुँवाले नपोल्ने

गाउँको आँखा अगाडी

तिम्रो टियर ग्यास काम लाग्दैन।

 

यही हावा, यही पधेँरा, यही घाम, यही पिर्थिवी हाम्रो निम्ति कानुन हो।

यही माटो हाम्रो अदालत हो

हामी आफै हौँ यहाँका न्यायधीश।

 

प्रिय मुख्यमन्त्री

के म काँटा, फरूवा र बेल्चा लिएर अदालत आऊँ

 

तर त्योभन्दा पहिले

तिम्रो सत्ता गाड़ने खाल्डा खनिराखूँ है।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares