You are here

हस्तक्षेपः परिक्षणको बाटो

शैलीका छेत्री, दार्जीलिङ


ज्ञानोदय र कविता

साहित्यकारले आफ्नो समयलाई प्रतिनिधित्व गर्छ। लेखकले मानवजगतमा पसेर जुन बौद्धिकमन्थन गर्छ, त्यसपछि उसले जगतलाई नै आफ्नो समयको लागि ज्ञानानुशासनका फरक बाटो दिन्छ। तदयुगीन सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक परिस्थितिसित गुज्रिरहेको जीवनलाई हेर्न सिकाउँछ। नयाँ जगतदृष्टि समाजको अभिव्यक्तिमा हुन्छ। अभिव्यक्तिको स्रोत पनि समाज।  डी. बोनाल्डले पनि साहित्यलाई समाजको अभिव्यक्ति माने। किन भने समाजबाट उठेको अभिव्यक्ति समाजकै लागि ऐना हुन्छ।

उत्तर-आधुनिकतावादभित्र विकासको सैद्धान्तिक निचोड़लाई व्यवस्थायीकरण (रेश्नलाइजेशन) मानियो अनि समाजशास्त्री मैक्सवेबरले यसलाई समाजशास्त्रीय उचाइँसम्म पुऱ्याए। यसैले भन्न सकिन्छ, आधुनिक समाजको स्वरूप विकास यही व्यवस्थाको परिणाम हो, जसको प्रभावबाट सामाजिक जीवनमा पूर्ण तर्कसङ्गत अनि न्याय व्यवस्थाको ज्ञानोदय (एनलाइटिनमेट) खोजी हुन थाल्यो। यसैको प्रभावमा देखियो इमैनुअल कान्टको दर्शन अनि मैक्सवेबरको समाजशास्त्रवाद। भनेपछि समाजको प्रगतिशील अनि विरोधी पक्षलाई बुझाउने एकै जरिया नै हुन्छ युगाअनुकूल लेखिएको -साहित्य दर्शन।

‘बिलीफ एण्ड नलेज’ नामक निबन्धमा हीगेल कान्टले भनेका ज्ञान अनि तर्कको विजययात्रा त्यस युगको आस्थाको विरूद्ध यात्रा हो, जसलाई साहित्यले बलजफ्ती ‘आस्था’  अनि ‘विश्वास’-सित जोड्ने प्रयास गरेको हुन्छ।

तर तर्क अनि व्यवस्थायीकरणको बाटो हिँड़ेर नै त साहित्यले पनि परम स्वतन्त्रता भेट्टाउँछ। र यस्तै तार्किक द्वन्द्वदेखि प्रभावित हुन्छ मानवीय भाव, राग, वृत्ति अनि समग्रतालाई दर्शाउने रागात्मक प्रणाली। त्यो हो कविता।

कविताको नयाँ प्रतिमान

आधुनिकता धेरै छिटो क्रममा बद्लिने गर्छ। त्योसित नै आधुनिकता ‘बोध’ पनि बदलिन्छ। आधुनिकता-बोध बद्लिएकैले कविताको प्रतिमान पनि बद्लिन्छ। इलियट, विम्सार्ट बियर्ड्स्ले, जैन कोरैन्सम, क्लीन्थ ब्रुक्स, डोनाल्ड डेनी, रिचर्ड एल्डिङ्गटन, ईरिस मर्डोक आदिका आधुनिक कविताहरू समयसित परिवर्तित बन्दै दर्शन अनुभूतिले भरिएको भेट्टाइनुले यो तर्कलाई पुष्टि गर्छ।

यसै क्रममा यता भारतीय नेपाली साहित्यमा नाटकीय ढङ्गमा कविताले आफ्नो रूप, शिल्प र मूडको काँचुली फेर्दै आयो।

वास्तवमा समकालीन नेपाली साहित्यमा कविता विधालाई अत्यन्त उर्वर विधाको रूपमा अन्तर्हित गरिएको पाइन्छ।

सन् १८८३ सालमा कविवर भानुभक्त आचार्यको रामायणबाट नेपाली साहित्यमा पूरातन अवधिको धारामा अन्तर्मुखी बनेको कविताको औपचारिक रूपमा मृत्यु भएपछि मध्ययुगीन अवधिमा प्रभावित प्रतीकवादी कविताको शुरूवात भयो। काव्यधाराले यसरी विपरित दिशामा प्रवाहित हुँदा प्रतीकवादी कविताले सन्त ज्ञानदिलदास अनि पं. धरणीधर शर्माको रचनाहरूको छायामा सुधारवादी स्वरकोरूपमा आफूलाई एकिकृत गऱ्यो।

सुधारवादमा व्याप्त  कल्पनाको, अतिशयताको हवाई उड़ानमा रम्ने कविता यथार्थ जीवनबाट पलायित बन्यो। र त्यो छिट्टै पुरानियो। त्यसपछि सन् १९५१ सालको प्रजातन्त्रमा कविता विधाले आधुनिकीकरणको वेगभित्र बूट पोलिस आन्दोलन, सड़क कविता क्रान्ति, अस्वीकृत जमातको कविता, राल्फा आन्दोलन, भोक कविता फेस गऱ्यो।

त्यसपछि भारतीय नेपाली साहित्यको महत्वपूर्ण आयामेली आन्दोलनको विरक्तिपछि प्रगतिवादी मूलबाट उठेको प्रबल प्रवृतिको कविता टोनमा समकालीन कविताले आफ्नो अनुहार देखायो। दुई चरणको आन्दोलन, साहित्यिक आन्दोलनहरूले पाठक संसारमा पारेको भौँप्वालबाट मुन्टो उठाइरहेका कविताको टोन आजकै समाजजस्तो छ। सामाजिक, आर्थिक, सांस्कृतिकसमाजको प्रतिबिम्वमा आएका आजका कविताले तर निश्चित धार पक्रिरहेको भने छैन। द्वन्द्वकालमा छ आजका कविता।

भौतिकवाद अनि द्वन्द्ववादले नै माझिएको मार्क्सवादको नजिक पुग्ने मासु आजको कवितामा भरिएको लाग्छ। निराशा, कुण्ठाले खोज्ने बाटो आध्यात्मिता पनि हो। त्यतातिर पनि कविता भङ्गालियो। जीवनको उदासी गाउने कविता पनि आए। लीला सङ्क्रमणदेखि विचलनसम्म नै, किनारादेखि हस्तक्षेपसम्म नै कविताले अनेकौंरूप फेर्दै आए पनि उनीहरूको मूल लक्ष्य समाजसित संवाद गर्नुतिरै ढल्केको देखिन्छ।  कविताको संयोजनमा साधारण बोलचालको भाषा पाइनुको खास माने के हुन्छ?

मौलिक अन्तर्विरोध, पुरानो राग अनि छन्दमा चिटिक्क मिलेको र कतिपय सस्तो र बाजारू कवितालाई छाड़ेर कवि समाज जतातिर लाग्दैछ, त्यसको पृष्ठभूमि केलाउँदा त्यही जर्जरित समाज भेटिन्छ। आयामेली किनार अनि प्रगतिवादी/मार्क्सवादी किनारको माझमा बग्ने नदी झैँ भएर बग्ने कविता समाज पनि छ। यी दिई बलिया धारबीच संक्रमण-लेखन, विचलनहुँदै आजको समावेशी र हस्तक्षेपसम्मको यात्रामा कविताले दिन खोजिरहेको दिशातिर पाठकसमाजको आँखा छछैन, त्यो पछि थाहा पाइने कुरा हो।

यद्धपि, बौद्धिकता, राजनीतिक चेतना, समाज सरोकार, लोककथा र जीवन मूल्यका कुराहरू सबै पुस्ताका कविताले गरेकै हो। उत्तरआधुनिकतावादले हानेको फड्कोको केही छिटा भारतीय नेपाली साहित्यमा परेकै हो।  यद्धपि काव्यात्मक आत्म-स्वरूपलाई पुरानो कायाबाट नूतन कायामा ल्याउने प्रचेष्टामा कविताले अनेकौँ सङ्घर्ष गरिरहेकै छ। उत्तरआधुनिकताभित्र हुर्किएको विविध साहित्यिक प्रयोगलाई ‘तकनीक’-मानेर होस् वा समाजकै बोली, जीवनबाट तानेर बनाइएको ढाँचा होस्, कविताले सुखद यात्रा जारी राखेको छ।

एलैलको ‘द टैक्नोलोजिकल सोसाइटी’ अनुसार साहित्यमा आएको प्रयोगात्मक तकनीकलाई नयाँ युगको अनुहार भन्न उस्तो गाह्रो त छैन, तर त्यो अनुहार जो छ, निक्कै विरामी देखिन्छ। समाजको बिमार अनुहार नै त वास्तविक रूपमा ‘सोसियल’ समाजको नायक हो। यसो त उत्तरआधुनिक युगमा साहित्यको परिवर्तित रुपका नायक साहित्यकार नभएर ‘तकनीक’ नै बनेको हुन्छ। र यस्तै साहित्यको मर्डन विभेदीकरण, सामाजिक व्याख्यान विकसित नैतिकता, व्यावहारिक आधुनिकताको निचोड़, सार्वजनिक सार्थक आवाजका सन्दर्भहरू कवितामा केवल ‘टेक्नीक’ रुप मात्रै हुन् त? हुनसक्छ, यी नै प्रश्नहरूबाट निस्किएको हो-हस्तक्षेप।

हस्तक्षेप तर्कः

हस्तक्षेपले भन्छ, समाज बिना साहित्यिक चेतना अपूर्ण रहन्छ र यो त्यसबेला मात्रै सम्भव हुनपुग्छ, जब समाज अनि साहित्यबीच सम्पूर्णताको विचार, आत्म नियमनको विचार तथा रूपान्तरण विचारको समाजसित डाइरेक्ट संरचना हुन जान्छ।

वास्तवमा हस्तक्षेप लेखनभित्र रहेका युवा सष्टावर्ग कवि राजा पुनियानी, कवि मनोज बोगटी, कवि भूपेन्द्र सुब्बा, कवि निमा शेर्पा, कवि लेखनाथ छेत्री अनि महेश पौड़यालले साहित्यलाई उत्तरआधुनिकतावादको नौलो बाटोमा हिँडाउने चेष्टा गरिरहेका हुन्।  जसअर्न्तगत हस्तक्षेपधर्मी कविहरूलाई कविता लेखनमा नयाँ भाषा, नयाँ वाग्धारा, नयाँ मूड अनि विचारले भरिएको कविता लोकलबज समक्ष राख्ने उत्सर्ग र उत्साहसित भेटिन्छ।

यसैले हस्तक्षेप-लेखनले सामाजिक पाठक-प्रतिक्रिया सिद्धान्तको प्रत्येक स्टेपलाई पछ्याएको पनि देखिन्छ। यसभित्र आएका समसामायिक कविता स्वरूपले धेरै नौलो प्रयोग ल्याएतापनि सरलता, सङ्क्षिप्तता साथमा शिल्पसौन्दर्य अनि भावसौन्दर्यप्रति सचेत कनेक्शन स्थापित गरेको छ। कवितामा एकात्मक संघटक पूर्णत्वको रूप, वस्तुहरूको सार्वभौमिक सम्बन्धको विवेचनालाई सहज भाषा-शैलीको माध्यमद्वारा समाज समक्ष राखिएको छ।

फलस्वरूप हस्तक्षेपबाट कवि अनि पाठकको बीच काव्यशब्दद्वारा पारस्परिक सम्बन्ध स्थापित भई समाजमा व्याप्त राजनैतिक समसामयिकीकरण र समाजीकरण, शोषणमुखी पूँजीवाद, समाजका न्यायिक तथा नैतिक चैतन्यको प्रतिविम्बित चित्रणमा अनुभूत कविताको स्वादमा, समसमायिक कविता-स्वरूप परिपूर्ण बनिने रहेछ।

यसैले, कविताको भाव-स्वरूपमा स्वगतिमयता, स्व-विस्तार, एक-केन्द्रेता, सार्वभौमिकता  तथा स्वायत्तताको फाटो खोल्ने आग्रहमा हस्तक्षेप निरन्तर अग्रसर भइरहेको छ।

हस्तक्षेप र भाषा-शैलीः

कम्प्यूटरीकृत समाजमा ज्ञानको अवस्था परिवर्तित हुनसाथ समाजको अवस्था, संस्कृतिको स्थिति, व्यावसायिक स्थिति, ज्ञानावस्था पनि परिवर्तित हुन जान्छ। त्यसबेला नै जन्मिन्छ साइबरनैटिक भाषा। अर्कोतिर छ, गावँ-घरमा मानिसले प्रयोग गर्ने ठेट-खाँटी नेपाली बोली तथा शहरमा प्रयोग हुने राजनीतिक-सांस्कृतिक भाषा र बजारमा व्यवहारमा आउने खड़ी नेपाली बोली।

गाँव-घरको भाषाभन्दा शहरको भाषामा लगातार कम्प्यूटर अनि उत्तर-औद्योगिक परिवर्तनको प्रभाव हुन्छ। त्यतिखेर त्यो भाषा ठेट-खाटी नभएर मिश्रित खड़ी नेपाली बोली हुन्छ। यसै भाषामा केद्रित बनेको देखिन्छ हस्तक्षेप लेखनको शब्द चेतना पनि।

हस्तक्षेपमा शब्दभाव रीतिकालीन रूढ़िवादलाई चुनौती दिँदै विभिन्न अनुभव-स्थिति, दशा, प्रभाव वा परिवर्तित संवेदनालाई बुझाउने साधारण लोकलबज भाषामा अनुप्रासित भएको छ र यी नै साधारण लोकजगतले जस्तो प्रकारको भाषा सजिलै बुझ्न सक्छ, त्यसैलाई नै निखारेर काव्यमय रूप दिने हस्तक्षेप लेखनको प्रचेष्टा रहेको शङ्का गर्न सकिन्छ।

हस्तक्षेप-लेखनले सामाजिक जीवनको इतिहासिक बोधलाई कमजोर पार्ने विचारधाराबाट पाठकलाई बँचाउनेछ। पोस्टमोडर्निज्मको सजिलो स्पृश स्वाद दिने छ। अर्थात हस्तक्षेप-लेखनले उत्तर-आधुनिकतावादको बिन्दुलाई समातेर आधुनिकताभित्र रोकिएर राखेको साहित्यिक प्रतिमानलाई नूतन सरल अनि माधुर्य भाषा-शैलीले पोष्टमर्टम गरेको छ। यस्तो प्रभाव कवि मनोज बोगटीको ‘काफरे अमेरिका’ अनि कवि राजा पुनियानीको ‘अर्को लश्कर’-को भाषा योजनाबाट चिन्न सकिन्छ।

हस्तक्षेप र मार्क्सवाद

जेमेसन भन्छन्, कम्युनिस्ट मैनिफेस्टो अनि मार्क्सवाद मूख्यत आधुनिकतावादी सोचमा आधारित रहेको हुन्छ। मार्क्सवादले पूर्व पूँजीवाद अनि पूँजीवादलाई एक जटिल अनि विकराल लैबोरेट्री माने, जसको दृष्टिमा तमाम पूँजीवादी जीवन समाजवाद निमित्त विकसित, रूपान्तरित अनि दीक्षित बनेको थियो।  यसैले मार्क्सवादलाई समाजवादी सूत्रको उत्तर-आधुनिक तत्त्व पनि मानिन्छ।

पूँजीवादी व्यवस्थाले श्रमिक जनतालाई आर्थिकरूपमा जमजोर पारेको छ, त्यसैले उनको जीवनगत सौन्दर्यवोध विस्तारै कुण्ठित बन्न पुगेको छ।

यस अवस्थामा मार्क्सवादी चेतनाले शहरको पूँजीवादी गन्दगीलाई चोट पुराउदै, सामाजिक संघर्षको प्रेरणा अनि द्वन्द्वात्मक सोच चेतनामा उब्जाउने गर्छ।

१. मार्क्सवाद र ‘गीतको रिस’

अठाह्रौं- उन्नाइसौँ शताब्दीमा विचारक हेगलले मनुष्यको ठोस ऐतिहासिक परिस्थितिको अध्ययन गरेपश्चात् त्यस समाजको अर्न्तविरोधको विश्लेषण गरेका थिए। समाजमा व्याप्त सामन्ती रूढ़िवाद अनि धार्मिक अन्धविश्वासको जम्मेर साहित्यमा आलोचना पनि गरेका थिए। जसलाई जर्मनीमा सामन्ती व्यवस्थाको समाप्ति अनि पूँजीवादी व्यवस्थाको मिलन रेखा मानिएको थियो। उनको यस दर्शनबाट प्रभावित भयो फ्रान्सको राज्यक्रान्ति।  हेगलको क्रान्तिकारी चिन्तनधारालाई मार्क्स अनि एंगेल्सले पूर्ण समर्थन गर्दै यसलाई साहित्यमा धेरै विकसित गराएका छन्।

यसरी विश्वव्यापि साहित्यमा हेगलको विचार-सत्तालाई सर्वोपरि मानियो।  जसबाट साहित्यकारहरूले समाजको अविकसित परिस्थितिको विश्लेषण गराउने नयाँ आयामको शुरूवात हुन पुग्यो। यसैक्रममा भ्लादिमिर इलियच लेनिनको पनि साहित्यिक भाषा-शैलीमा पूँजीवादी समाजको विरुद्ध साम्यवादी विचारधारा बगेको भेट्टाइयो।

जातिगत आइडेटिटीको खोजमा लगातार स्वपीड़नको भोगाइमा मुछिएको देखियो सङ्घटित अफ्रीकी-अमेरिकन जनसाधारण। चलिआयो साहित्यमा ब्लैक-इनडिपेन्डन्सको मानवीय सङ्घर्ष।  जसलाई हेगल, लेनिनको मार्क्सवादी दर्शनले साम्यवादी गतिशीलता दिएको देखियो।  यसरी साहित्य द्वन्द्वात्मक भौतिकवादी ज्ञान-सिद्धान्तलाई विकसित पार्ने शब्दको, यसप्रकार साहित्य क्रान्तिकारी सर्वहारावर्ग अनि श्रमिकवर्गको अस्त्र बन्दै गयो। जुन अस्त्रले प्रतिपक्षको एकत्व अनि संघर्षको विविध अन्योन्यक्रियालाई बयान गर्नु थाल्यो,  जसबाट हस्तक्षेपधर्मी कवि मनोज बोगटी पनि प्रभावित भएको देखिन्छ। यसैले उनको गीतको रिसमा रहेको कतिपय कवितामा ;‘गीतको रिस’, ‘प्रश्नको अर्थ’, रिङटोनको देश’, ‘हो म काले अर्थात् काले’-मा हेगल अनि लेनिनको यहीँ मार्क्सवादी स्वर प्रबल भएर बोल्छ।

२. माक्सवार्द र ‘अर्को लश्कर’

प्रोटेस्टेन्ट नीति अनि विज्ञान,  धर्म तथा राजनीतिलाई नौलो मान्यता दिँदै पुनर्निमाण र पुननिर्धारण समात्ने मार्क्सवादी दर्शनको परिमार्जित भावमा लेखिएको छ हस्तक्षेपधर्मी राजा पुनियानीको ‘अर्को लश्कर’। अर्को लश्करमा मनोबिश्लेषणात्मक मार्क्सवादको सामाञ्जस्यले पूँजीवादी समाजमा मानवले भोगी आएको आत्मग्रस्त तथा सम्वेदनात्मक उत्पीड़नको बयान छ अनि नेपाली समाजले भोग्दै गरेको आइडेन्टिटी क्राइसिसको समस्यामाथि अर्को लश्कर-को मार्क्सवादिक स्वरले द्वन्द्वात्मक कविताको माध्यमबाट समाजमा व्याप्त पुँजीवादलाई सोझो टक्कर दिने कार्य पनि गरेको छ।

३. मार्क्सवाद र ‘कुरूप फूलको गन्ध’

कार्ल मार्क्स संसार अनि जनजीवनको विषयमा स्थूल भौतिक दृष्टिको प्रवर्तक बने र उनको सिद्धान्तलाई द्वन्द्वात्मक भौतिकवाद वा साम्यवाद मानियो। मार्क्सवादी दृष्टिबाट व्यक्तिको निर्माण, समाजद्वारा हुन्छ अनि सच्चा अर्थमा मानव-कल्याण निमित्त मात्रै मार्क्सवाद अग्रसर भइरहेको हुन्छ। मार्क्सवाद राजनीतिक मान्यतामा सीमित नभएर कला, धर्म, दर्शन आदिसित पनि सम्बन्धित रहन्छ। यसैले हस्तक्षेपधर्मी कवि निमा शेर्पाको ‘कुरूप फूलको गन्ध’-मा मार्क्सवादी दृष्टिबाट प्रभावित मानव सम्बन्धको सौन्दर्य, दर्शन आदिको विवेचनात्मक प्रस्तुति गरिएको छ। उनका कविताहरूले तल्लो वर्गको दवेको आवाज त बोलेको छदैछ, कवि स्वंय पनि सोही वर्गका प्रतिनिधि हुनाले उनको जीवनमुखी कवितामा लोकसङ्कटको गन्ध धेरै आएको छ।

हस्तक्षेप र हेजिमोनी डिस्कोर्स/विखण्डनवाद

हस्तक्षेपले सांस्कृतिक हेजिमोनी डिस्कोर्सको कुरा गर्छ। कवितामा हेजिमोनी डाइलेक्टिक्स  अनि चेतनाको विकास तथा विस्तार भएको पनि देखाउँछ, तर हस्तक्षेपभित्र हेजिमोनी डिस्कोर्सभन्दा बढ़ी विखण्डनवादको स्वर चर्किएर बोल्छ।

लेनिनले पूँजीजीवि विचारधारा, संशोधनवाद र जड़सूतवादको विरूद्ध धेरै संघर्ष गरे।  यस्तैगरी लेनिनले वर्ग-संघर्षबारे इतिहासमा मजदूरवर्ग पार्टीको भूमिका, प्रगतिशील विचारहरूको भूमिका इत्यादिबारे मार्क्सवादी शिक्षालाई साहित्यमा विकसित गरेका थिए।  वास्तवमा त्यसबेला पूँजीवादी समाजका निर्माणको सत्ता लिएर उभिएको थियो अमेरिका।

अमेरिका, विखण्डनवाद र ‘काफरे अमेरिका’

नवीनतम वैज्ञानिक आविष्कारकहरूको विकास पनि त्यस समयमा अमेरिकाको बलियो हातमा थियो। यसरी सत्तारूढ़ आधुनिक प्रतिक्रियावादी पूँजीजीवि अमेरिकाको राजनैतिक विचारले वैज्ञानिक आधारहरूलाई पनि कब्जा गर्नु थालियो। तत्सम्बन्धी ऐन-कानून हनन हुन थाल्यो। अमेरिकामा नै शोषित बन्नु गयो देशका साधारण जन-समुदाय।

आधुनिकयुगीन अमेरिकी साहित्यले पनि परिचयात्मक इतिहास देखाउन थाल्यो। त्यस बेला यस महाद्वीपबाट अंग्रेजी भाषा र साहित्यको विविध रूपमा आएको विकासले स्वतन्त्र तथा सशक्त भूमि भेटाए जतिकै भयो। अमेरिकामा आविर्भूत हुने प्रत्येक वैचारिक आन्दोलनले खारिज गर्दै आयो युरोप, फ्रान्स, जर्मन, सोभियत संघका साहित्यकार सर विलियम डेवनेट, टामस हाब्स, जन मिल्टन, रिचर्ड, वेन्टली, अल्वर्ट कामू, कीर्कगार्ड इत्यादिका सैद्धान्तिक प्रयोग र जन्मियो विखण्डनवाद।  जसभित्रको पृष्ठभूमिले मनमानी ढङ्गले सिर्जना हुँदै आएको अमेरिकी साहित्यिक प्रतिमान खारिज गर्दै गयो।

वास्तवमा विकासको लक्ष्य सामाजिक जीवनमा तर्कसंगत न्यायको अवस्थालाई खोज्नु हो, तर यता अमेरिका सुप्रिम पावर बनेर घात पुराउँदै थियो मौलिक चिन्तनको धारालाई।  तर दमन तथा अनुशासनको पनि आफ्नो परिधि हुन्छ, जसबाट साहित्यले कुनै दिन अमेरिकी दमनमाथि आवाज उठाउनु नै थियो र यसैमा आधारित विखण्डनवादी सिद्धान्तवादको जन्म हुन पुग्यो। जसको ट्रान्जियट फर्ममा समाजवादी दृष्टिकोण लिएर अमेरिकाको पूँजीजीवि प्रणालीविरुद्ध कवि मनोज बोगटीको राजनीतिक चेतना काफरे अमेरिका-मा तीब्र भेटिन्छ।

हस्तक्षेप र मनोविश्लेषणवाद

सिगमन्ड फ्रायडको मतानुसार कविले आफ्नो कुण्ठित भावनालाई काव्यमा यसप्रकार अभिव्यक्ति गर्नुपर्छ, जसबाट समस्या वैयक्तिक नरहेर सार्वदेशिक भई काव्यकारद्वारा समान रूपमा आनन्द प्रदायिनी काव्यको सृजना हुने गरिन्छ। फ्रायडले साहित्यमा काम एवं कल्पनालाई वैज्ञानिक र उदात्तीकरणको स्तर राखेर प्रमुख रूपमा स्वीकार गरे र यसै सिद्धान्तमा बोलिरहेछ हस्तक्षेप लेखन।

जहाँ व्यक्तित्व विकास-को सिद्धान्तलाई स्वीकार गरिन्छ अनि कवितामा दमित इच्छा, महत्वाकांक्षाको अपूर्ण वृत्तिबाट उब्जेको चित्तवृत्ति यौन-सिद्धान्त जटिल काम्य भावना, स्वप्नवादमाथि आधारित चेतनामूलक कविता लेखिएको भेटाइन्छ। त्यसैले मानव जिजीविषाको मूल, काम-वासनामा आधारित रहन्छ। चेतन रूपमा सबैलाई काम्य स्वीकार नै हुन्छ।  हुन पनि मनुष्य अनेक प्रकारको कामेच्छाको प्रकटीकरण रूप मात्रै हो।

यसै अभिव्यक्तिको मनोवैज्ञानिक विचारले हस्तक्षेपको कविता प्रभावित भएको भेटाइन्छ। फ्रायडको यही सिद्धान्तमा कवि मनोज वोगटीको ‘बिम्बगोष्ठी’, कवि राजा पुनियानीको ‘हाइवे’, कवि भूपेन्द्र सुब्बा अनि कवि लेखनाथ छेत्रीका प्रेमिल कविताहरू प्रबल स्वरमा बोलेको पाइन्छ।

हस्तक्षेप मिथ/मिथक

जहाँ बुद्धि एवम् तर्कको सीमा रहस्यमा आएर समाप्त हुन्छ, त्यहाँ मिथ/मिथकको आधार बनेको हुन्छ। मिथक रहस्यमय पौराणिक या इतिवृत्त घटनामा सम्मिलित छुट्टै संसार हो। प्रत्येक मिथले त्यस विशिष्ट युगको स्वभाविक एवम् प्रर्ववृत्त घटना बताउँछ।

भारतीय रहस्यवाद अनि हिन्दुधर्म अनुसार रूपक-प्रतीक, काव्याचित विम्ब प्रतीकमा आधारित मिथमाथि केन्द्रित हुन्छ। यसअन्तर्गत भारतीय जनसाधारणले हिन्दु धर्ममाथिको शिक्षा उपनिषदबाट मात्रै प्राप्त नगरेर बृहत संख्यामा समेटिएको लोकप्रचलित किंवदन्तीले भरिएको महाप्रबन्ध काव्य महाभारत ग्रन्थबाट पनि प्राप्त गरेको मानिन सकिन्छ।

मिथलाई प्रायः उपदेशात्मक साहित्य जस्तै नितिकथाबाट छुट्टै प्रभेद गरिए तापनि, मिथको पारम्परिक कथा जस्तै दन्तकथा अनि लोक-कथासित अस्पष्ट परिकल्पनामूलक सम्बन्ध रहेको देखिन्छ।

मिथकीय प्रमुख चरित्रमा भगवान, अंशावतार वा अलौकिक मानव सम्बिष्ट भएको हुन्छ  भने किंवदन्तीमा चाहिँ मानव चरित्र मात्र प्रमुख हुन्छ। त्यसैले मिथकलाई प्रायः प्रष्ठाङ्कित गरिएको हुन्छ, शासक अनि पुरोहितबाट धर्मसंघ तथा आध्यात्मिक सिमारेखातिर।

यस प्रकार हस्तक्षेप-लेखनले मिथ, किंवदन्ती अनि ऐतिहासिक घटनालाई साथ-साथ सम्बन्धित मान्दै मिथलाई समाजको रूढ़ी-आचार, संस्थापन तथा सुव्यवस्थित अनि अनुमोदित रूप-विधान ठानेर मिथलाई कवितामा प्रयोग गरेको पाइन्छ। विशेष गरेर हस्तक्षेप-लेखन मिथको वैचारिक सिद्धान्तमा पौराणिक लोककथा, किराती लोककथा, लिम्बू लोककथाको प्रवृष्टि छ।

हस्तक्षेपद्वारा पूर्वीय मिथलाई दार्शनिक पृष्ठभूमिमा आधुनिक, भौतिक, वैज्ञानिक तथा धर्मतत्वज्ञको पक्ष लिएर प्रस्तुत गर्ने प्रयासमा कविता मिथको मनौवैज्ञानिक, तर्कसंगत विवेचनाको दृष्टिकोणतिर केन्द्रित भएको पाइन्छ।

हस्तक्षेपमा मिथको बलियो आख्यान यात्रामा कवि राजा पुनियानी निक्कै दह्रो देखिन्छ। सेवारो धुलो सेवारो, शोयशोयला, लिङ्गेपिङ र मेगकुमारी, हङ्ग्रायोको निलो पाङ्ग्रा, काली भीरको चुचे ढुङ्गा अनि औजार कोलाजमा मिथकीय उडान हेर्न सकिन्छ। औजार कोलाजका कतिपय कविताहरू जस्तै ‘काँटी’ ‘मार्तोल’, ‘खुकुरी’, ‘चाबी’ इत्यादिले फिक्शन प्रवर्गमाथि नयाँ विचार प्रस्तुत गर्ने प्रयास गरेको छ। उसैगरी लिम्बु लोक मिथको साहित्यिक संयोजन कवि भूपेन्द्र सुब्बाको ‘बजिया आँखा’-मा पाइन्छ। यता मिथको मनोवैज्ञानिक तथा राजनीतिक कनेक्शनमा केन्द्रित रहेको पाइन्छ कवि मनोज बोगटीको लोकप्रिय कविता ‘मिथ’। हस्तक्षेपको मिथकीय यात्राले लोकवचनलाई कदर गरेको छ।

हस्तक्षेप र प्रेम

प्रेम काम्प्लिकेटेड फिलिङ हो। प्रेमको न्यानो च्यादरभित्र हुर्किने एक्सट्रा मैरिटिअल अफेयरले पनि जीवनमा गहिरो प्रभाव पार्दछ। जहाँ प्रेमका अस्तित्व छाया झैँ हुन्छ। तर त्यसको अनुभूतिको आफ्नै अस्तित्व र रस छ। यहाँ बुद्धिलाई थाहा भइसकेको हुन्छ,  छायाबाट सरेर यथार्थको पृष्ठभूमिमा पुग्दा प्रेमले आफ्नो अरिजनल स्वरूप गुमाउँछ। तरै पनि हृदयले प्रेमको यो गहिरो रङलाई बहिष्कार गर्दैन। त्यही फिलिङ समाजमा बहिष्कृत हुन्छ, त्यही फिलिङ प्रेमिल जोडीलाई प्रेम हुन्छ।

प्रेमको दुइ पक्ष हुन्छ, विद्या प्रेम अनि अविद्या प्रेम। विद्या प्रेमभित्र विवेक अति वैराग्य तत्व हुन्छ, जसको मार्गमा हिँड़ेर जीवले ईश्वरलाई पाउँछ। त्यहीं विद्या प्रेमको प्रभावमा महात्मा गौतम बुद्धले अखण्ड ध्यानमग्नतामा रत रहेर ध्यानको चार स्थितिलाई पार गरे र निर्वाण प्राप्त गरे। मनोज बोगटीको एकछिन बुद्ध र अन्य कविता र राजा पुनियानीका अनेकौँ प्रेम कविताले पनि मानव जीवनलाई बाँध्ने धागोको खोज गरेको छ। हस्तक्षेपले प्रेम बहिष्कार र निषेध गर्दैन।

प्रेमको मूल्य र यसको उपस्थितिलाई समाजमा नै लगेर जोड्छ। यो पक्ष निक्कै कठोर छ हस्तक्षेपी कविहरूको निम्ति। तर निर्वाणको हस्तक्षेपी अर्थ मुक्ति नै हो। प्रेम पनि मुक्तिकै भाषा हो तर हस्तक्षेपी कविहरूको लक्ष्य प्रेमकै बाटो भएर पुगिने मानसिक मुक्ति नै हो भन्ने लाग्छ। प्रेम यस्तो निष्कपट भोगाई हो जसमा एकै साथमा स्वतन्त्रता तथा बाउन्डनेस ब्याप्त हुन्छ। राजा पुनियानीका कविता सुम्निमा सिरिज अनि हामी पानीमा कोरेको चित्र थियौं, कवि लेखनाथ छेत्री जिहादी प्रेम, निमा शेर्पाका कुरूप फूलको गन्धर भूपेन्द्रका प्रेमिल कविताहरूले देखाएको प्रेमको क्षितिज स्वागत योग्य छ।

हस्तक्षेप र नैचरलिज्म

यान्त्रिक भौतिकवाद अनुसार संसार मशीन जस्तै हुन्छ, भनिन्छ ब्रह्मले एकपल्ट मशीनरूपी संसारमा चाभी भरेर छोड़ेपछि संसार आफै सुचारू ढङ्गमा चल्न थाल्यो तर डार्विनले ब्रह्मको अस्तित्वलाई खारिज गर्दै आफूले खोजेको विकासवादी चेतनालाई प्रतिष्ठित गराए।

डार्विन मान्थे, ‘संसारले मशीनको रूपमा काम गर्छ, हामीले संसारमा जन्मेर त्यस परिवेशको ज्ञान आफै प्राप्त गर्नुपर्छ कारण व्यक्ति यसै ज्ञानको उपज हो। यसैले उभित्र ज्ञान पनि आफै उत्पन्न हुन्छ। मनुष्य आफ्नो स्वनियतिसित बाँधिएको हुन्छ। जसलाई यान्त्रिक गतिबाट एक इन्च पनि हटाउनु सम्भव छैन।’’

यसप्रकारको डार्विनको यान्त्रिक विचारधारा पछिबाट साहित्यमा भौतिकवादी धारणाको प्रतिफल बन्यो, जसबाट जन्म भयो नैचुरलिज्म। कवि मनोज बोगटीको कविता ‘संवेदनाको मृत्यु’ अनि कवि राजा पुनियानीका कविता  ‘हरियो खुन’, ‘देशको नाममा योग’-ले नैचुरलिज्मलाई भारतीय नेपाली कवितामा बाटो दिएको पाइन्छ।

हस्तक्षेप र बिम्ववाद

सर्जकको हृदयमा स्थिर बनेको हृदयात्मक/मानसिक तस्वीरको सम्यक् भावलाई कलात्मक भाषाको माध्यमबाट प्रयोग भएमा साहित्यमा त्यसलाई ‘बिम्ब’ मानिन्छ। ‘बिम्ब’-को प्रयोग गर्नाले काव्य/कविता अझ आकर्षक, प्रभावपूर्ण एवम् गहकिलो बनाउँछ। यसैले पाश्चात्य काव्यशास्त्रमा बिम्ब काव्यलाई अनिवार्य अङ्गको रूपमा प्रतिष्ठित गरेको छ। बिम्बमा भाषाको यसप्रकार प्रयोग गरिन्छ, जहाँ विचार एवम् भावलाई अमूर्तरूपमा बयान नगरिएर मूर्त अनि इन्द्रिय संवेद्य रूपमा प्रस्तुत गरिन्छ।

बिम्बलाई यसप्रकार कवितामा वर्णन नमानेर चित्रण प्रस्तुति मानिन सकिन्छ। यसैले बिम्ब राजा कवि मनोज बोगटीले कविताहरूमा बिम्बलाई भाव गर्भित शब्द चित्रको रूपमा प्रयोग गरेको पाइन्छ। जहाँ उनको अमूर्त-बिम्ब माथिको पकड़ले बिम्बगोष्ठीलाई  सिर्जनात्मक अभिव्यक्तिको नवीनतम शिखरसम्म पुराउनु सफल बनेका छन्।

हस्तक्षेप – एप्रोच

यसैले भन्न सकिन्छ साहित्य-सिद्धान्त अनि कविता पुनर्निर्माणको दिशामा छ हस्तक्षेप लेखन।     नीति शास्त्र अनि सौन्दर्य-सैद्धान्तिक चिन्तनको साहित्यमा जहाँसम्मको सम्बन्ध हुन्छ त्यहाँबाट हस्तक्षेप लेखनलाई नवीन उद्भावना प्रकट गर्ने बाटोतर्फ हिँड़ेको भेटाइन्छ। यस प्रकार आउँदो समकालीन साहितत्यमा हस्तक्षेप लेखनबाट कलात्मक चिन्तन तथा सहज भाषा शैलीको पर्याप्त विकास हुने सम्भावना गरिएको छ।

विलियम वर्डसवर्थको काव्य मान्यता अनुसार काव्य भाषा अनि जनभाषा एउटै हुन्छ। वर्डस्वर्थ बनावटी भाषा प्रयोगका विरोधी थिए। यसैले उनले काव्य भाषालाई जनसाधारणको निकटतम भाषासित सम्बन्धित गराउने पक्षतिर अधिक महत्व दिए। वर्डस्वर्थको यस आन्दोलनलाई साहित्यकार पोन्ड, डोनाल्ड डेवी, रिचर्ड एगिल्टन, एल्बर्ट कामु जस्ता सर्जकहरूले समर्थन गरे। हस्तक्षेप पनि पूर्व लेखन आन्दोलनहरूको गोहो भएरै आइरहेको आजको अनुहोर हो। मार्क्सवाद, विखण्डनबाद, बिम्बवाद, नैचुरलिज्म, मनोविश्लेषणवाद, मिथ तथा प्रेमका जटिल पक्षलाई साधारण काव्य भाषाको माध्यमबाट पाठकसमक्ष ल्याउने एउटा निर्दोष कोशिश गरिरहेको देखिन्छ।

जस अन्तर्गत पर्ने आधुनिकता, समकालीनता, उत्तर आधुनिकता इत्यादि चर्चित प्रवाहहरूलाई हस्तक्षेपले छुँदै साहित्यलाई सरल, माधुर्य भाषा शैली मार्फत लोकलबजसँग सम्बन्धित गराउने कार्यमा अग्रसर छ हस्तक्षेप लेखन अनि यस प्रकारको साहित्यिक सिर्जनाको गतिशील प्रवाहमा प्रभाव र प्रकार लिएर बग्दै गरेको साहित्यले हस्तक्षेप लेखनको विविध प्रयोगबाट उत्कृष्ट रचनाहरू प्राप्त गर्नेछ।

केन्द्रमा समाज सरोकार राखिएको चेतनामात्रै, प्रतिरोधी चेतनामात्रै, आक्रोस मात्रै हस्तक्षेप लेखन होइन भन्ने धेरै बाटो राखिएको यो लेखन वास्तवमा आजको समाजको सङ्गठित आवाज हो। कला, विचार, शिल्प चेतना बलियो रहेको लेखनयात्रीहरू आजका पुस्ताका नामचिन सर्जकहरू हुन्। परिवर्तनको सपना देख्नु कुनै अपराध होइन। यो आफ्नो समयलाई गरिएको प्रयोग हो। उनीहरूको पाइला परिक्षणको बाटोमा छ नै। हस्तक्षेप प्रयोगको यो नौलो धरोहरबाट कविताले पाठकको हृदयमा इमान्दार वास खोजिरहे कै छ।

मलाई भन्न मन लागेको हो- When new groups of phenomena compel changes in the pattern of thought….even the most eminent of literature find immense difficulties. For the demand for change in the thought pattern may engender the feeling that the ground is to be pulled from under one’s feel….. I believe that the difficulties at this point can’t hardly be overestimated. Once one had experienced the desperation with which clever and conciliatory man of literature react to the demand for a change in the thought pattern, one can only be amazed that such revolutions in Nepali literature have actually been possible at all.

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares