You are here

  मेरो ‘पल्टन’ यात्रा 

स्मृति


मनप्रसाद सुब्बा


आमाको इच्छा थियो म पल्टने बनूँ ।

अनि इच्छा त्यो लर्तरो थिएन ।

आमाको यस्तो इच्छा उम्रेर हुर्किने पृष्ठभूमिमा पसौं पहिले : सानोतिनो सस्तो आवासीय रेस्टुरेन्ट नै चल्ने हाम्रो एक तल्ले काठको घर । पूर्व नेपालका पल्टनेहरू (ब्रिटिश अनि भारतीय फौजका) छुट्टी आउँदा दार्जीलिङ सहरबाट उँधो बिजनबारीमा आइपुगेपछि यहाँ एक-दुइ दिन बसेरै उनीहरू ‘पाहाड’ चढ्थे । ती पल्टनेहरूको रवाफ र रूपियाँ, बोली र वेशभूषा, बाकस र बेडिङ्बाट ज्यादै प्रभावित भएकी हुनुपर्छ मेरी आमा ।

गाउँका एक-दुइ आइमाईहरू आफ्ना हातले सिलाएको/ बुनेको थैली,  झोला जस्ता चिज लिएर ती पल्टनेलाई भेंट चढाउन पनि आउँथे अनि पाउँथे ती चिजको दाम दोब्बर तेब्बर । ‘आमा, उनेरले के देको त्यो?’ सोध्दा आमा भन्थिन्-‘धोया चढाको हौ ।’ कोइ कोइ पल्टनेले थ्री एक्स XXX रमको बोतल पनि खोल्थे र चाख्न दिन्थे । दवाईको काम गर्छ यसले, भन्थे । अनि आमाले मलाई पनि दिन्थिन् – ‘ला, तँ पनि खा, दबइ अरे !’ घाँटीदेखि छातीसम्म चरररर पोल्दै जान्थ्यो त्यो गाढा रातो तरल पेय ।

भोलिपल्ट-पर्सिपल्ट भरौटेलाई भारी बोकाएर (त्यसबेलासम्म बिजनबारीदेखि पश्चिमतिर जाने गाडीको सडक बनेको थिएन ।) आफ्नो ‘पाहाडको’ घर जाने बेलामा उनीहरूले तिर्नुपर्ने रकमभन्दा सय-डेडसय रूपियाँ बढी नै दिइराखेर जान्थे ।

म सत्र-अठाह्रको अल्लारे हुँदैदेखि मलाई आमाले पल्टन जान बारम्बार उत्साहित गरिरहन्थिन् । बिहान बिहान घरकै कुखुराले पारेको अन्डा काँचै खान दिन्थिन् । रिस उठ्दा कराउँथिन् – “पल्टन जानु पनि नसक्ने हुतिहारा !”

‘हुतिहारा’? अर्थ नबुझे तापनि त्यो शब्दको ध्वनिले साह्रै नराम्ररी बिझाउँथ्यो । मैले पनि क्याप्टेन, मेजर हुने सपना देख्दै नदेखेको चैं होइन । पल्टन भर्ना हुने मेरो एकपल्टको प्रयास असफल भइसकेको थियो । शरीरको अनिवार्य उँचाईमा छिरें तर ओजन गर्दा छयालीस केजी मात्र! निम्नतम ओजन हुनुपर्ने पचास केजी ।  रिक्रुटिङ् अफिसरलाई निवेदन गर्न खोज्दै भनें – ‘क्यै नखाई खालि पेट आ’को म!’

तुरून्त जवाब आयो – ‘चार-चार केजी के खाएर बढाउने?’ साथीहरू हाँसे । हाँसे मात्र होइन, मोराहरूले यो कुरोलाई कति दिनसम्म जोक् नै बनाए ।

अर्को पल्ट, बिजनबारीकै एक क्याप्टेन डी० बी० प्रधान छुट्टीमा आएका मौकामा उनको सिफारिश लिएर गएँ । जलापहाड डिपोमा रिक्रुटिङ् अफिसर उनकै मित्र थिए । सिफारिशको शस्त्रले एकाएक मेरो ओजन बढाइदियो अनि फिजिकल टेस्टमा पास ! त्यो भर्ना आर्टिलेरीको निमित्त थियो ।

‘अब भोलि आउनू मेडिकल जाँचको लागि’ भनेपछि म बजारतिर ओरालिएँ । बजारमा दिनभरि टहलिएपछि साँझपख रिङ्क सिनेमामा इङ्लिस मुवी ‘लिबरेशन’ हेर्न पसेँ । युद्धभूमिमा ट्याङ्कहरू कुदेको, पड्केको, ट्याङ्कहरूमा आगो लागेको अनि त्यसभित्रका सिपाहींहरू जलेको, जल्दै गरेका ट्याङ्कहरू पोखरीमा पसेको, मारेको-मरेको, छटपटिएको वीभत्स दृश्यले भरिएको लिबरेशन हेरेपछि युद्धमा आर्टिलेरी फौजको यस्तै दशा त हुन्छ सम्झेर तीब्र वितृष्णा पैदा भयो मभित्र ।

भोलिपल्ट मेडिकल जाँचमा पुग्ने समयमा म सिंहमारीदेखि सिङ्ताम ओरालो बिजनबारीतर्फ झर्दैथिएँ । घरमा पुगेर आमालाई भनें – ‘जि० आर० को भर्ति खुलेको छैन रैछ, आर्टिलेरीको मात्रै रैछ!’ आमालाई आर्टिलेरी भनेको क्या हो क्या हो!

केही महिनापछि एक दिन गाउँको एक जना साथी, मभन्दा दुइ वर्षले जेठो, तेजबहादुर मुखिया उर्फ तेजे–सित जलपहाड रिक्रुटिङ डिपो पुगेँ । तर त्यस दिन भर्ना खुलेको थिएन । त्यहींका एकजनाले ‘पर्सी आउनू’ भनेपछि हामी फर्क्यौं ।

सिंहमारीदेखि ओह्रालो हिँडदै झर्दा यौटा उपद्रे कीराले मेरो गिदीमा जे लेख्दैथियो त्यै कुरा साँझपख घरमा आइपुगेपछि आमाबुबालाई सुनाएँ – “म पल्टन लागेँ ।” उनीहरू खुशीले सानो रमाएका होइनन् ! “अब पर्सी जानुपर्छ” पनि भनें ।

म पल्टन लागेको कुरा एक्कैछिनमा गाउँभरि फैलियो । पर्सी जाने दिनमा बिहानै हाम्रो घरको माथिल्लोपट्टि बस्ने छिमेकी फुपूले मलाई आशीर्वाद दिँदै पोल्टोबाट पाँच रूपियाँको नोट निकालेर मेरो हातमा थम्याइदिइन् । सन् १९६९ सालतिर पाँच रूपियाँको नोट देखाउन लायककै हुन्थ्यो! तर तेजे र मेरो भने अर्कै यौटा वैकल्पिक योजना थियो । दुइतीनवटा फेर्ने लुगा अनि यौटा नोटबुक र पेन पनि ब्यागमा हालेर तेजेसित म घरबाट निस्केँ ।

‘तेजे पनि पल्टन लागेको हो?’ बुबाको प्रश्न ।

‘होइन, उ त जलापहाडसम्म मेरो साथी गइदिएको!’ मेरो उत्तर ।

खुशी र दुःखको मिश्रित भाव लिएर आमा र बाबाले मलाई हेरिपठाए । हामी गएको हेर्नेहरू अरू छिमेकीहरू पनि थिए । सिङताम उकालो हिँडेर हामी एघार बजेतिर डिपो पुग्यौं । तर अफसोस! तत्कालीन राष्ट्रपति डा० जाकिर हुस्सैनको आकस्मिक निधनमा राष्ट्रले सप्ताहव्यापी शोक मनाइरहेकोले भर्ना केन्द्र बन्द थियो । यो कुरो थाहा नगरी गइएको थियो।

त्यो थियो मे महिनाको पहिलो हप्ता। भर्ना भइहालिन्छ कि भन्ने धिपधिपे आशा मरेपछि त्यहाँबाट बजारतर्फ ओरालियौं । पल्टन लागेँ भनेर घरबाट निस्केको मान्छे अब फर्किनु कसरी! पल्टन भर्ती लाग्न नसके पशुपतिनगरको फाटक हुँदै नेपाल छिर्नुपर्छ – हाम्रो योजना थियो ।

राष्ट्रिय शोकमा सिनेमा हलहरू पनि बन्द ! बजारमै कुन्नि कसकोमा हो रात काटेर भोलिपल्ट बिहान सुकेपोखरीतिर जाने गाडी चढ्यौं । घुम भन्ज्याङदेखि सुकेपोखरीतर्फ लाग्दा मेरो मन एक तमासले आर्द्र भइरहेको थियो । त्यो आर्द्र मन छचल्किन खोजिरहेको थियो। जीवनमा पहिलो पल्ट त्यस दिशातर्फ यात्रा गरिरहेको थिएँ। गाउँघर छोडेर परदेश गइरहेको मेरा आँखामा घरिघरि मसिना भाइबहिनीहरू आइरहन्थे भने मनको एकांश रोमान्चित पनि भइरहेको थियो ।

सुकेपोखरी पुगेपछि त्यहाँबाट हिँडदै सिमाना पुग्छौं । बाटोको दुइ किनारमा उभिएका चार-पाँचवटा काठका घर भएको सिमाना गाउँ पुग्दा तेजेले बताउँछ – ‘यो बाटोको दाहिने किनारादेखि उता नेपाल अनि बाटोदेखि यता इन्डिया ।’ हेरिरहूँ, बसिरहूँ जस्तो लोभलाग्दो हरियो ल्यान्डस्केप! तर कतै नरोकिई हिँडिरहेका छौँ । ठाउँ-ठाउँमा ढुङ्गाको सोलिङ मात्र विछ्याएको बाटो बेसुर पछ्याउँदै पछ्याउँदै पुग्छौं पशुपतिनगरको फाटक ।

‘अब नेपाल पस्यौं!’- भन्छ तेजे । म पहिलोपल्ट मेरो पुर्ख्यौली देश नेपालभूमि टेक्दैछु जानेर एक किसिमको रोमान्चित पनि भइराखेको थिएँ। पन्ध्र-बीसवटा घर भएको सानो बजार पशुपतिबाट फेरि पैदलै फिक्कलतर्फ लम्किरहेका हुन्छौं। त्यस बेला त्यहाँ गाडी गुड्ने सडक बनेको थिएन न त चियाखेती नै शुरू भएको थियो। मीठो अबोधता ओढेर चुपचाप उभिएका ती बाटुला हरिया नागीहरू मेरा आँखाहरूबाट हट्नै मानेका थिएनन्! ती नागीमाथि चढेर उफ्रूँ उफ्रूँ लाग्ने । नागी देखेको थिइनँ पहिले, त्यो शब्द सुनेको मात्र थिएँ बुबाले कुरा गरेको।

फिक्कल बजारदेखि केही टाढा बस्तीमा तेजेका दिदी-भेनाहरूको घरमा पुग्दा साँझ परिसकेको थियो । भोलिपल्ट बिहीबार । फिक्कल बजार हाटमा रम्ने दिन । निस्क्यौं घुम्न । तर म भने  हाटबजार घुम्नभन्दा पनि हाट-हाट घुमेर बाइँ, पोते, लाछा इत्यादि बेचबिखन गर्ने मेरी बोजु र बाजेलाई भेट्छु कि भन्ने ठूलो आशामा थिएँ ।

मेरा बुबाका आमा र सानाबाबु इलाम क्षेत्रका घुमन्ते व्यापारी । वर्ष-दुइ वर्षमा हामीलाई भेट्न आउँथे । मैले आशा गरे अनुसार, बजारको मूल सडकको एक किनारमा पसल फिँजाएर दुइ चार ग्राहकहरूसित केही व्यस्त रहेका दुवै बाजे-बोजुलाई परैबाट चिनिहालें । छेउमा पुगेर ‘बोजु !’ भन्दै चाँदीको सुन्दर काँडेबुट्टे कल्ली लगाएको उनको खुट्टामा टाउकोले छोएर ढोग गरें अनि बाजेलाई पनि त्यसै गरें ।

‘आम्बी ! मनपरसात मेम्बी! हैन कताबाट पो आइस् हाउ!’ उनीहरूका आँखा आश्चर्य चम्केका भए। किन अनि कता हिँडेको थप प्रश्नलाई उत्तर दिँदै भद्रपुरतिर काम गर्न जानलागेको भनें । चिया-खाजा खुवाउन बाजेले हामीलाई एक ठाउँ लगे । बान्की परेको अनुहार भएका ती बाजे हाम्रो घरमा आएर आठ-दश दिन बस्दा जहिल्यै खण्ड-खण्ड रामायण बोकेर आउने अनि बिहानपख लय हालेर पढ्ने गर्थे । त्यसबेला म बाजेसित टाँस्सिएर बस्थेँ आँखा किताबको पृष्ठमा अड्याएर । पलङमा पलेँटी मारेर सुन्दरकाण्ड बाँचिरहेका बाजे आजसम्म पनि मेरा आँखाबाट टाढा भएका छैनन् ।

हाट उठ्ने बेलामा फेरि बाजे-बोजुको छेउमा गएर बसेँ । बाटोखर्च अलिक चाहियो भनेर बोजुलाई झिज्याएँ । बोजुले क्यै नभनी कम्मरमा बाँधेको थैलीको मुख खोलेर नेपाली पैसा पुगनपुग बीस रूपियाँ जति मेरो हातमा राखिदिइन् । दुवैका पाउमा शिर राखेर ढोग गरें अनि विदा लिएँ ।

भोलिपल्ट बिहान । ‘यो फिक्कल बजार मुन्तिर बग्ने बिरिङ खोलालाई नछोडी पछ्याएर जानुभए ट्याक्राक्क शनिस्चरे पुगिन्छ अनि त्यतैबाट चाइने भद्रपुर जाने ।’ स्थानीय एक सज्जनले यस्तो सुझाव दिएपछि बिरिङ खोलाको शिरदेखि खोलालाई पछ्याउँदै तराइ ओर्लिने हाम्रो यात्रा आरम्भ भयो ।

चिसो सङ्लो कन्चन पानीमा एक ठाउँ केही बेर झिङ्गे माछाहरूसित खेल्छौं । खोलाको दुइतर्फ बाक्लो जङ्गल, जति तल पुग्यो बगर उति फाँटिलो हुँदै गएको, दुइ छेउमा वन अझ बाक्लिँदै गएको । तिर्खा लाग्दा त्यै खोलाको पानी मीठो खान्छौं । अगाडि पर हेर्दा दुइ तर्फका डाँडाहरू शताब्दीयौंपछि भेटेर एकापसलाई अँगालिरहेका देखिन्थे । त्यसकै पल्लोपट्टि होला शनिस्चरे बजार! तर डाँडाहरूको त्यो सङ्गम पार गर्नेबित्तिकै अघिल्तिर उस्तै दुइ डाँडाहरू उसरी नै प्रेमवश अलि निहुरिएर एकअर्कासित अँगालोमा बाँधिएका अनि पछिल्तिर के छ तिनीहरूले छेलिदिएका हुन्थे ।

यौटै मान्छे त्यो बिरिङ् खोलाको बगरमा हिँडेको देखिएन न त कोही हिँडेको पाइलाछाप नै । दुइतिर रहस्यमय जङ्गलको ब्र्याकेटले छेकिएर उकुसमुकुसिँदो चकमन्नताबीच दुइ निरीह मनुखेका बच्चाहरू भट्किएको आत्माझैँ हिँडिरहेको । बगर अझ फाँटिलो…झन् झन् फाँटिलो बन्दै गइरहेको ।

अनि.. अनि त अनायासै बगरको बालुवामा एक ठाउँ कुनै हिंस्रक जनावरको पन्जाको एक लहर छापमाथि हाम्रो आँखा पऱ्यो। घोप्टेर ती छापहरू राम्ररी नियाल्छौँ -– चितुवा या बाघकै पाइलाछाप हुनुपर्छ !! अनि हामी दुवै भाइले हठात् सेतो भएको एक अर्काको अनुहार मात्र हेऱ्यौं, क्यै बोलेनौं। हिँडिरह्यौं चुपचाप ।

त्यस्तो निर्जन ठाउँमा कुनै हिंस्रक जनावरद्वारा हामी मारियौं भने हाम्रो मृत्युको खबर कहीं पनि पुग्ने छैन, र त्यसरी हराएको हामीलाई खोजेर कहिले पाइनेछैन सोच्दै सारा शरीर चीसो भएर आयो। आपस्तमा के के कुरा गरेर भुलिने चेष्टा गर्थ्यौँ, तर मात्र दुइ तीन शब्द तुर्किन्थ्यो अनि फेरि मुख सुक्थ्यो। त्यस्ता जोर डाँडाहरूको मिलनपछि मिलनपछि मिलनपछि मि… ओफ् ! कति काट्यौं कति काट्यौं । भोकले लखतरान ! तर हिँडिरहनुपर्ने श्राप खुट्टामा बोकेर हिँडेको हिँडेकै।

[पछि, यात्राको यै अनुभव र अनुभूतिलाई प्लट बनाएर मैले विसङ्गतिवादी प्रवृत्तिको एक कथा लेखें जसको शीर्षक छ ‘यौटा धमिलो खोलाको किनारमा’ । सत्तरको दशकमा गान्तोकका सुवास दीपकद्वारा सम्पादित मासिक पत्रिका सुधा-को कथा प्रतियोगितामा यो कथाले दोस्रो स्थान पाएको थियो । केही पछि यै कथा उनै सुवास दीपकले हिन्दीमा अनुवाद गरी साहित्य अकादेमी, दिल्लीको समकालीन भारतीय साहित्य (१९८२)मा प्रकाशित गरे । अनि हिन्दीबाट गुजराती र कन्नड भाषामा पनि प्रकाशित भएको पत्र मैले पाएको थिएँ । आज त्यो कथाले सुवास दीपकको हिन्दी अनुवाद कृति भारतीय नेपाली कहानियाँ-मा सङ्कलित हुने सौभाग्य पाएको छ ।]         

बिरिङको बलौटे बगरमा हिँड्दा हिँड्दा हिँड्दा हिँड्दा अन्त्यमा देख्यौं टाढामा डाँडाहरू अब आपस्तमा कहिल्यै भेट नहुने गरी छुट्टिएर सपाट भुमि फैलिएको मैदान। त्यतैतिर हाम्रो आँखाले ठिम्यायो एक छेउ यौटा कटेरा जस्तो ढाँचा पनि जसलाई देखेर हामी फेरि उत्साहित भई त्यै कटेरालाई ताकेर अघि बढ्यौं। त्यहाँ पुग्दा देखियो यौटी आइमाई, शनिस्चरे बजार जाने र त्यहाँबाट फर्किने मानिसहरू निख्रिसकेपछि आफ्नो बेचबिखन गर्ने सामग्रीहरू, वर्तनहरू उठाउन लागेकी रहिछ । कटेरा पुग्नभन्दा बाह्र कदम पहिल्यै ती स्त्रीलाई कराएर भनें मैले – ‘दिदी, चिया-खाजा क्यै छ भने दिनुस्न । भोकले मर्न आँटियो !’

‘मैले त अब पसल उठा’को पो; खानेकुरा पनि सप्पै सिद्धिसक्यो ।’ उनको अनुहार र बोली कुनै किरातीनीको जस्तै थियो ।

‘होइन, फिका चिया मात्तै भए नि हुन्छ ।’ भन्यौं ।

धन्न, हाम्रो स्थितिमाथि दया जागेछ अनि फेरि चुल्हा जोडिन् र चियाको भाँडा बसाइन् । फिका चिया तयार भएपछि हलुङ्गे (सिल्भर)-को बटुकामा नुन हालेको एक एक बटुका चिया खाएर लामो सास फेर्यौं अनि सोध्यौं – ‘शनिस्चरे जाने बाटो कता हो?’

‘तेतै अलिक अगाडि गएसी राजमार्ग भेटिन्छ । त्यै बाटोले सिधै शनिस्चरे बजार पुऱ्याउँछ ।’

फिका चिया फेरि थपिमाग्यौं ।

अब भने बाटोमा फटाकफुटुक मानिसहरू ओहोरदोहोर गरेको भेट्न थालियो । तराइको समतल भुमि । मान्छे र गाइबस्तुहरू हिँडेर हिँडेर बनिएको बाटो जस्तो । निकै बेर हिँडेर पनि तर चियावाल्नी दिदीले भनेकी राजमार्ग भेटिएन । ‘राजमार्ग कताबाट पुगिन्छ दाई?’ बाटोमा भेटिएको एकजना सज्जनलाई सोध्छौँ । तुरून्त जवाब आउँछ –‘तपाईंहरू राजमार्गमै त हिँडिरहनुभको छ !’

‘हो र?’ हामीले झट्ट विश्वास गर्न सकेनौं । हाम्रो कल्पनाको राजमार्ग चाहिँ सुन्दर चौडादार अलकत्रे सडक थियो । दुइ चार साइकल सवारीहरू पनि आउजाउ गरेको देखिन थालिएको थियो । ‘अब शनिस्चरे कति टाढा होला?’ सोध्थ्यौं बाटोमा भेटिएकालाई । जवाब आउँथ्यो – दुइ कोश, चार माइल, पाँच किलोमिटर इत्यादि । हामी कन्फ्युज्ड!

दुइ बटुका फिका चियाको भरमा दुइ भाइ पुग्यौं शनिस्चरेको वल्लो छेउ । यौटा दोकान थियो त्यहाँ, दोकान सामान्यतः ठुलै भन्न सकिने । दोकानघर दुइ तल्ले काठको । भुइँतलामा दोकान, माथ्लो तला निवासस्थान । त्यहीं पेटीमा विश्राम गर्न बस्यौं ।

‘भाइहरू काँबाट आउनुभाको?’ सोधे दोकानेले ।

‘हामी दार्जीलिङबाट’ – उत्तर मैले दिएँ ।

‘म पनि त उतैको हो नि! तर म चाहिँ खर्साङ्बाट यता आएको ।’ उनले त्यसो भन्दा हामीलाई आफ्नो गाउँकै मान्छे भेटे जस्तो लाग्यो, अनि हाम्रो मलीन अनुहार उज्यालियो । अझ अरू केही कुरा भएपछि हामीले मुखै फोरेर उनलाई भन्यौं – ‘दाइ, हामीलाई आज एक रात यतै हजुरकोमै बास दिनुहोस् है । भोलि त हामी भद्रपुर लाग्ने ।’

पसले दाइले अक्मकिँदै अनिच्छापूर्वक ‘हुन्छ नि!’ भनेपछि ढुक्क भयौं। अनि निस्क्यौं शनिस्चरे बजार घुम्न । बजारमा एक ठाउँ केही खानेकुरा किनेर खायौं अनि पारस टाकिज नामको एक सिनेमा घरमा पुरानो हिन्दी फिल्म हेर्न पस्यौं । टिकट काटेर सानो गोदाम जस्तो सिनेमा घरको खचाखच भीडभित्र हामी दुइ भाइ पनि मिसियौं ।

कुन जमानाको ब्ल्याक-एन्ड-वाइट फिल्म, पुरानिएको प्रिन्टको छिर्केमिर्के, त्यैमाथि हलभित्र रूमल्लिरहेको सिगरेट-बिँडीको धुवाँले झनै ब्ल्याक-एन्ड-वाइट! निस्सासिँदो हपहपी गर्मी ! अटुट होहल्लाको ब्ल्याकहोलले स्लुत् स्लुत् निलिरहेको थियो फिल्मको डायलग ! कुनै मुश्कीलले मध्यान्तरसम्म हेरेपछि निस्क्यौं र बासतिर लाग्यौं ।

त्यस रातको हाम्रो बासघर, खरसाङगे दाइको दोकान, पुग्दा ड्यामडुम्म बन्द भइसकेको ! टाउको उँभो फर्काएर कराएर पुकार्यौं – ‘दाइ !’ … फेरि ‘दाजु !’ … फेरि ‘दाइ!’ तीनपल्ट कराएपछि मात्र बार्दलीबाट ‘को हौ?’ प्रश्नले हाम्रो उपस्थिति दर्ता गऱ्यो ।

‘हामी पो दाजु !’

‘को हामी?’

‘हामी दार्जीलिङका भाइहरू, दाजु ! यहीं बास बस्ने भनेर अघि तपाईंसँग कुरा भएको थियो नि ।’

‘ए.. लौ त्यतै बरन्डातिरै सुत्नुहोस् न !’

‘तर हामीसित ओढ्ने-ओछ्याउने क्यै छैन नि !’

केही छिनपछि माथिबाट दुइवटा बोरा झारिदिए उनले अनि भने – ‘लौ, भाइहरू, यै ओछ्याएर दुखसुख सुत्नुहोला ।’

हाम्रो उतैको मान्छे! सुत्ने व्यवस्था राम्रै होला भन्ने कत्रो आडभरोसा थियो! तर के गर्ने ! अनि बोरा ओछ्याएर आआफ्नो ब्यागमाथि टाउको अड्याएर पल्ट्यौं । रातभरि कानमा लामखुट्टे टिनिनि बजेको सुन्दै अनि पाखुरा र खुट्टा हत्केलाले प्याटप्याट बजाउँदै भए पनि धेरै बेरपछि जसोतसो निदाइएछ ।

भोलिपल्ट बिहानै भद्रपुर जाने गाडीको स्ट्यान्ड पुग्छौं । गाडीभाडाको जानकारी लिएपछि खल्ती छामें – अहँ, दुइ जनालाई नपुग्ने रहेछ । साथीको गोजीमा फुटेको कौडी थिएन । मेरै भरमा थियो उ । भद्रपुर भ्रमणयोजना औषधि किन्ने पैसा नभएर मरेको रोगीजस्तै पिर्लिक्कै भयो। फेरि फिक्कलतिरै फर्किने भयौं ।

तर आङ जिरिङ्ग हुने बिरिङ खोला भएर होइन, अर्कै बाटो सोधपुछ गरेर जानुपर्छ सोच्यौं । यताउता सोधपुछ गर्छौं फिक्कल जाने कुनै वैकल्पिक बाटोबारे । एकजना थारू दाइलाई भेट्यौं । उनले भने – ‘शान्तिपुरको बाटो भएर जानुपर्छ । म शान्तिपुर नै जाँदैछु । हिँड्नुहोस् मसित ।’ अनि लाग्यौं तीनजना शान्तिपुरको उकालो । दुइतिर जङ्गलले ढाकेको शान्तिपुरको एकलास उकालो र घुमाउरो बाटो ।

हिँडेका छौं, हिँडेका छौं बिबिचमा के के गफ गर्दै । एक घन्टा हिँडिसक्दा पनि शान्तिपुर गाउँ नपुग्दा अधीर भइसकेको थिएँ म । थारू दाइले ‘अब धेर छैन, तिहीं हो, पुग्नै लाग्यौं’ भन्न छोडेको थिएन । शनिस्चरेमा बिहान खाजा खाएकोले अब छोडिसकेको थियो । अझ एक घन्टा जति हिँडेपछि बल्ल केही घरहरू देखिन थाले । शान्तिपुर गाउँ आइपुगेछौँ । थारू दाइले हामीलाई उनको एक चिनजानको घरमा लगे । रातो माटो र गोबरले लिपेको, अग्लो डिल भएको सिकुवामा मकैको खोसेलाको पिरा सारिदिन्छिन् हामीलाई घरकी महिलाले । पानी मागेर खान्छौं। केही बेरपछि फिका चिया पनि आयो । दश-पन्ध्र मिनटपछि फेरि बाटो लाग्न उठ्छौँ । थारू दाइको गन्तव्य त्यहीँसम्म भए पनि हामीलाई त्यहाँदेखि फिक्कलतिर जाने बाटो देखाउन हामीसँग छेउको यौटा घुम्तिसम्म आए । उठेर दुइ चार कदम हिँडेर अघि हामीले पानी र चिया खाएको घरलाई कृतज्ञतापूर्वक पछिल्तिर फर्केर हेर्दा देखेँ – त्यस घरकी गृहिणीले हामी बसेको ठाउँलाई पानीमा तितेपाती चोबेर छम्किँदै रहिछ । त्यो देखेर मलाई त्यो घरको ज्वाईं हुन मन लागेको थियो !

हामीलाई भनिएको थियो – ‘यतिबेला हिँडेर आजै त फिक्कल पुग्न सक्नुहुन्न । यो  बाटो नछोडी गएको गएकै गरे आइतबारेको वर्तिर जरसिङ गाउँ पुगिन्छ ।’

जरसिङ गाउँ पुग्दा गहिरो साँझ परिसकेको थियो । भेटिएको पहिलो घरमा बास माग्यौं । कहाँबाट आएका अचिनारू अल्लारे ठिटाहरूलाई कसले पो सहजै बास दिने र ! ‘यहाँ त बास पाइँदैन है!’ यस्तै जवाबले हामीलाई हताश बनाइरहेको थियो । जहाँ जहाँ बत्ती बलेको देख्थ्यौं त्यहाँ त्यहाँ बास माग्न पुग्थ्यौं –‘दाजु, दिदी! अभर पऱ्यौँ! बास पाइन्छ कि !’

खरले छाएका, माटोले लिपेका फटाक फुटुक घरहरू । अब राम्रै अँध्यारो भइसकेको थियो । मधुरो बत्तीको धिपधिप देखेर यौटा घरमा बासको बिन्ती बिसायौं – ‘साह्रै अभर पऱ्यौँ ! बास दिनुभए धर्मै हुन्छ ।’ हातमा धिब्री लिएर घरकी महिला सिकुवासम्म निस्केर को कहाँबाट आएको सोधी ।

‘हामी दार्जीलिङ बस्ने, ऐले शनिस्चरेबाट आउँदाआउँदै अँध्यारो भैहाल्यो, र बास खोज्न कर लाग्यो! हामीलाई यै सिकुवामै बस्नुदिनुभए पनि हुन्छ ।’ भन्यौं ।

धिब्रीको मधुरो प्रकाशमा हामीलाई राम्ररी नियालेपछि विलम्बित लयमा ‘हुन्छ, बस्नुहोस् न’ भनेर भित्रबाट यौटा गुन्द्री निकालिदिइन् । फेरि भन्यौं – ‘भोकले मर्न आँटियो, भात पकाइदिनुभए साह्रै राम्रो हुन्थ्यो; कति लाग्छ पैसा दिन्छौं ।’

चामल र तिहुनको मोल तोकेर पहिल्यै पैसा मागिन् र हामीलाई अँध्यारो ओढाइराखेर भित्र कहाँ अल्पिन् । गुन्द्रीको न्यानोमा पलेंटी कसेर बस्यौं दुइ भाइ निस्पट्ट अँध्यारोमा एक-अर्कालाई नदेखी। आपस्तमा बात मारेको आवाजले मात्र हामी सँगै छौं भन्ने बुझिन्थ्यो । निकै बेरपछि मूल दैलो घर्याक्क उघ्रियो अनि धिब्रिको मधुरो उज्यालो हाम्रो छेउसम्म आयो ।

भातको सानो भाँडा अनि तिहुनको कराही लिएर ती महिला सिकुवामा आइसकेकी थिइन् र हाम्रो अघिल्तिर राखेर ‘लु दाजुहरू खानुहोस्’ भनिन् । ‘केमा खाने? दुइटा थाल दिनुहोस् न ! डाडु-पन्यु र एक लोहोटा पानी पनि !’ भन्यौं । बत्ती पनि त्यहाँ राखिमाग्यौं । थाल ल्याइदिएपछि भाँडाको भात दुइवटा थालमा बराबर भाग लायौं ।

तिहुन केको थियो ऐले सम्झना छैन । सानो स्वादले खाइएन तात्तातो भात ! प्रत्येक गाँससित ‘भोजनभन्दा भोक मीठो’ उखानको व्याख्या स्वादिलो निलिरहेका थियौं । खाइसकेपछि सबै वर्त्तनहरू आँगनको पँधेरोमा धोई पखाली सिकुवामा राखिदियौं । त्यसै क्षण घरकी महिला बाहिर निस्केर हामीलाई भन्छिन् – ‘लु दाजुहरू, तपाईंहरू आबो जानुहोस् । आइले मेरो बुढा आएपछि मलाई मार्छ ।’

अक्क न बक्क पऱ्यौँ हामी । त्यस्तो स्वादसँग खाएको खाना काँचै पल्टेला जस्तो भयो । बिस्तारै रिस उठेर आयो । ‘तपाईंले अघि नै तेसो भन्नुपर्थ्यो, हामी अरूतिरै बास खोज्थ्यौं ! अब यस्तो अन्धकारमा, यस्तो नौलो ठाउँमा काँ जानु हामी?’ पटटट बोलें म ।

‘उः तल एउटा घर छ, त्याँ बास पाउनुहुन्छ । म त यहाँ औरत एक्लै छु, मेरो लोग्ने आइपुग्ने बेला पनि भो; तपाईंहरू अबेर नगरी उठ्नुहोस् ।’ ती स्त्रीले यसो भनेपछि अब हामीले नउठी धर पाएनौं ।

‘कुन बाटो कतातिर जानु बत्ती देखाइदिनुहोस्, हैन पुल्ठो नै बनाइदिनुहोस्’ भन्यौं ।

सायद मट्टीतेलको अभावले होला, पुल्ठोको सट्टा बाँसको मसिना सिटा मुठा पारेर राँको बालिदिइन् । अनि आँगनबाट तल ठाडो ओह्रालो जाने गोरेटो देखाइदिइन् । अप्ठेरो गोरेटो हातले पछिल्तिर टेक्दै ओर्लिनुपर्ने । तेजेको हातले उचालेको छ राँको । म अघिल्तिर छु । केही तल मधुरो बत्ती बलेको देखियो ।

छेउमा पुगेर ‘घरपति बाबै, घरपति आमै’ भन्दै बासको निम्ति बिन्ती पुकारें । ‘याँ त बास मिल्दैन है, भक्खर सुत्केरी भा’को छ ।’ भित्रबाट जवाब आयो । अझै तल झऱ्यौँ । अब राँको निभ्नै लागेको थियो । साथीले हल्लाएर फुकेर बाल्ने कोशिश गरिरहेको थियो । तल एक ठाउँ फेरि यौटा बत्ती बलिरहेको घर देखियो; भित्रबाट मान्छेहरूको गुनगुन आवाज पनि आइरहेको थियो ।

बासको निम्ति फेरि बिन्ती पुकारें मैले नै । यस्तो काम साथीले मलाई नै गर्न लाउँथ्यो । भित्रबाट ‘को हो? कहाँको हो?’ प्रश्न आएपछि मैले साबिक उत्तर दोहोऱ्याएँ । अनि हाम्रै दौंतरे देखिने एक युवक बाहिर निस्क्यो हामीलाई नियाल्न । फेरि बिन्ती बिसाइयो – ‘हाम्रो बिजोग भयो, साह्रै अभर परियो, तपाइँलाई धर्मै हुन्छ..’ इत्यादि ।

आपत परेपछि विनय र विन्तीको अनेक शब्द, स्वर र शैली स्वतः निस्कँदा रहेछन् । त्यस युवकले अनि भन्यो – ‘घरभित्र त ठाउँ छैन, यता मकैको खोल्मामा सुत्नुभए हुन्छ ।’

‘जहीं भए पनि हुन्छ । सुत्नु पाए भैहाल्यो नि हामीलाई!’ भन्यौं दुवैले एकैसाथ । अनि उसले यौटा धिब्री लिएर आएर हामीलाई मकैको खोल्माको होंचो माथ्लो तलामा लग्यो । माथ्लो तलामा चढ्ने लिस्नु सिङ्गो रूखको बोलो खोपेर खुडकिला बनाएको । सुकेको मकै ताछेको खोसेलाले भरिएको ठाउँमा ठूलो गुन्द्री ओछ्याइदियो उसले र भन्यो – ‘लु दाजुहरू, दुखसुख यस्तैमा भा पनि रात काट्नुहोस् है ।’ उसले धिब्री पनि राखिदियो ।

मकैको खोसेलाको थुप्रोले त्यसै त्यसै न्यानो थियो त्यो खोल्मा । सिरूको होंचो छानो । नोटबुक र कलम निकालेर दिनभरिको यात्राका केही कुराहरू लेखें । बाँसको चिमको भित्तामा यौटा सानो पातलो पुस्तिका सिउरिएको देखेँ । निकालेर हेरेँ – मुनामदन रहेछ । पहिल्यै पढेको, फेरि पढ्न थाल्छु । चार-पाँच पृष्ठ पढिसक्दानसक्दा धिब्रिको तेल तुरेर धिपधिप गर्दै निभ्यो । निस्पट्ट भयो । अनि खोसेलाको थुप्रोमाथि ओछ्याएको गुन्द्रीमा पल्टेको एकैचोटि बिहान मात्र ब्युँझिएँ । रातभरि पानी परेछ, हामीले थाहै पाएनौं । उठ्नासाथ फेरि मुनामदन समातेँ । त्यो ठाउँमा त्यसरी मुनामदन पढ्नुको अव्यक्तनीय अनौठो आनन्द फेरि कहिले दोहोरिएर आएन ।

घरका ती मिलनसार युवा बन्धुले बिहान चियाखाजा खुवाएर हामीलाई विदा गरे । ती बन्धुलाई आज पनि सम्झिरहन्छु । पछि कहीं कतै भेट भयो होला हाम्रो, तर एकअर्कालाई चिन्न नसकेका हौंला ।

जरसिङ गाउँबाट हिँडेर हामी फेरि फिक्कल पुग्छौँ । फिक्कल बजारबाट साँझ पर्नअघि फेरि उही दिदीको घरमा टुप्लुक्क! हामीलाई देखेर दिदी छक्क मात्र होइन पक्क ! दुःखको बाक्लो ध्वाँसो पोतिएको घरमा तीन दिनअघिको उही पाहुनाहरू अनपेक्षित ढङ्गले फर्केर आउँदा कस्तो भयो होला, आज सम्झिन्छु ।

पर्सिपल्ट बिहान जेजस्तो पाकेको खाइवरी त्यहाँबाट फेरि शुरू भयो हाम्रो बेटुङ्गोको ‘हाइकिङ्’ पशुपतिनगर हुँदै सुकेपोखरीतर्फ़ । दिन लामो भएकोले साँझ परून्जेलसम्म निकै नै दूरी तय गर्न सकिन्थ्यो । दार्जीलिङबाट हिँडेको दिनदेखि नै हामीले बिहान खाना खाएपछि एकैचोटि राती बास बसेको ठाउँमा मात्र खाने गरिरहेका थियौँ । त्यसरी दुइ छाक खाएर प्रत्येक दिन हामी २५ देखि ३५ कि०मि०को दूरी हिँडिरहेका थियौं।

जुत्ताले अब लत्ता छाड्ने अवस्थामा पुगिसकेको थियो । जिउमा लाएकोसहित तीन जोडी शर्ट-प्यान्ट मैलिसकेको थियो । यस बीच कतै नुहायौँ कि नुहाएनौं त्यो पनि ऐले ठीकसँग थाह छैन । यस्तै अवस्थामा सुकेपोखरी पुगेपछि अब हामी सुकेबजारको पश्चिम पाखामुन्तिर पर्ने पर्मागडी बस्ती ताकेर ओरालियौं ।

पर्मागडीको रानाडाँडामा मेरा आफन्त पर्नेको घर थियो जहाँ म पहिल्यै बुबासँग एकपल्ट पुगेको थिएँ र उनीहरूबाट म राम्रै परिचित थिएँ । साँझ नझर्दै त्यस दिनको गन्तव्यमा पुगियो । मेरो अप्रत्याशित आगमनले मेरी फुपू पर्ने अनि फुपा साथै सन्ध्या दिदीहरू अनुहारै उज्यालेर चकित देखिए । उनीहरूको मुस्कुराउँदो स्वागतले सारा थकान कहाँ पुग्यो थाहै भएन ।

भोलिपल्ट ‘अब जानुपऱ्यो भन्दा ‘हैन, एक दुइ दिन बसेर बिस्तारै जानू’ –फुपु-फुपाले त्यसो भनेपछि एक दिन बस्ने भयौं । सायद त्यै दिन होला हामीले राम्ररी नुहाइधुवाइ गरेर फ्रेस अनुभव गरेको । सन्ध्या दिदीले हामीलाई रानाडाँडाको सेरोफेरो घुमाइन् पनि । धेरै दिनपछि भनेजस्तो खान-सुत्न पनि पाइरहेका थियौँ । भनौं मेजमानै भइरहेकोथ्यो हाम्रो ।

प्रत्येक दिन, साँझ-बिहान घरको यादले पिरोल्थ्यो, मेरा ससाना भाइहरू अनि बहिनी झल्झली आँखामा आउँथे । पल्टन नगएर अन्यत्रै गएको कुरो घरमा, छिमेकमा थाह पाइसकेको होला ! जेसुकै होस् अब घरै फर्किनुपर्छ । घर पुग्ने बित्तिकै आमा र बुबाको खुट्टामा ढोगेर माफी माग्छु । मैले ढाँटें, मैले तपाईंहरूलाई हताश बनाएँ । अबदेखि कहिल्यै यसो गर्ने छुइनँ । तर म पल्टन चैं जाँदिनँ, अरू नै काम गरेर तपाईंहरूलाई सहयोग गर्नेछु । यस्तै केके भन्ने निर्णय मनले लिइरहेको थियो ।

अनि तेस्रो दिन मज्जाले खाना खाइवरी पर्मागडीबाट हामीले विदा लियौं । सायद बिहानको दश-एघार बजेको थियो । त्यहाँबाट हिँडेर मझुवा बस्ती, दङ्गे, रेलिङ हुँदै बिजनबारी पुग्ने बाटो थाह भएकोले उस्तो गाह्रो भएन । अब बिरिङ खोलाको होइन, माने भन्ज्याङको फेदबाट बग्ने छोटा रङ्गीतको गड्तिरै गड्तिर हिँडिरहेका थियौं । एकातिर घरको तीब्र आकर्षण, अर्कोतिर मनभरि लाज र ग्लानीको गह्रुङ्गोपन । म घरबाट निस्कने बेलामा मलाई पाँच रूपियाँको नोटसित आशीर्वाद र शुभकामना दिने ती छिमेकी फुपूको अनुहार अब कसरी हेर्नु? उनलाई के भन्नु? पछि कमाइ गरेर पाँचको सट्टा पच्चीस नै दिने सङ्कल्प गरे पनि उनको त्यो पाँच रूपियाँको मूल्य र महत्ता मैले पछि फर्काउन सोचेको पच्चीस या पचास रूपियाँले बोक्न सक्छ? यस्ता कुराहरू मनमा खेलाउँदै अनि बाटोमा केही अल्मलिँदै बत्ती नबल्दै बिजनबारी बजार टेकियो।

चुपचाप आत्मसमर्पण गर्न गइरहेको अपराधी जस्तै घरभित्र पसेँ म । बुबा मुडामा बसिरहेका अनि आमा चुल्हामा क्यै गरिरहेकी । दुइ तीनजना अरू मानिसहरू पनि थिए । बुबाआमा दुवैका पाउमा पालैपालो ढोग गरें । खुशी, उदासी केही नभएको भावशून्य थिए उनीहरूका आँखा ! मैले केही भनें-भनिनँ, अहिले क्यै सम्झना छैन । तर बुबाले यत्ति भनेको अझै कानमा बज्छ -‘फर्केर आइस्, आबो बस् ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares