You are here

काव्यम् : सरण मुस्कानका पाँच कविता : महेश पौड्यालको केरकार : रमेश सायनको टिप्पणी

खेतको खील 

हजुरको पाइताला जति न हो

मेरो इस्सोर बस्ने आकास

यसैले-

हजुरकै पाइतालातल्तिर सदैव छेकिन्छ

मेरो खेतबारीको पानी

सङ्घारको घाम।

 

फेदाङमा भन्छन्-

खुनको दोख लागेको छ रे यो धरतीमा

इस्सोरको श्राप परेको छ रे यो बस्तीमा।

 

यही धरती सिँच्दा- सिँच्दै

बाजे निख्रिए

बाउ निख्रिए

अहिले म निख्रिँदैछु।

 

छोरा शिशु शिक्षा केन्द्र पढ़्दैछ

ठूलो मान्छे बनाउने रहर छ यसलाई।

 

छोरीलाई पुतली समात्ने खूब रहर छ

स्कूल जानै मान्दिन

बरू पुतलीको पछि- पछि कुदिरहन्छे

दिनैभरि पुतलीहरूसितै बातचीत गरिरहन्छे

डर लाग्छ-

पुतलीजस्तै त्यसले पनि उड़्ने सपना हुर्काउँदैछिन् कि

 

आमा चै रातभरि खोक्छिन्

लुकाएर मजेत्रोले मुख छोप्छिन्

लाग्दी हो उसलाई-

मजेत्रोमा बसेको खूनको दाग मैले हेरेकै छैन

आँखामा जमिएको पीरको दह मैले देखेकै छैन।

 

यसैले होला-

अचेल यो छातीभित्र आगोमात्रै बलिरहन्छ

कुन्नि के के जलिरहन्छ

म नाँथे झ्यास हजुर

आफूलाई बाल्न कतिञ्जेल सक्ने !

यो आगोलाई बाल्न कतिञ्जेल सक्ने !

 

हजुर !

सङ्घारको घाम उकास्ने इच्छा छ

खेतबारीको खड़ेरी भिजाउने रहर छ

मालिक दया होस्!

हजुरको पाइतालाको मूल्य कति छ?


सतिको कथा 

आवश्यकता थियो

हजुर !

यसैले गालाको लाली बेचिदिएँ।

 

किन्नेहरूमा

मलाई कल्पना चावला कथा सुनाउने

शहरका तालु खुइँले मास्टर पहिला थिए

सुनको तारा झारिदिने मन्त्री सर दुस्रा थिए

तिस्रामा तपाईजस्तै खाँकी उर्दीवाला कोई एक लाग्छ।

 

अचेल त

नाम होइन

सबैले दाम सोध्छन्

तपाईले नमस्ते गर्ने यी गान्धी बाजेधरि

बाटो सोद्धै मैतिर धाउँछन्।

 

 

ब्ल्याक एण्ड ह्वाइट फोन, टीभी पनि नआएको घरमा

बाऊको टीबी जोड़- जोड़ले बज्थ्यो

आँधी-हुरी

असिना- पानी

दाह्रा ङिच्दै पहिला हाम्रै घर पस्थ्यो।

 

आकासको तारा गन्दै हावाजहाज उड़ाउने सपना देख्ने

ईश्वरजस्तो एक भाई थिए

दिनैपिच्छे जीवनलाई सराप्दै मृत्युको आशिष माग्ने

वटवृक्षजस्ता छहारी बाऊ थिए

आमाको बुच्चे अनुहार थियो

घरभित्रको थोत्रो संसार थियो।

 

आमाको झुम्के बुलाकीले

दश ठाउँ उध्रेको घरको सपना कतिञ्जेल सिउने

बीस ठाउँ चर्केको बाउको छाती कतिञ्जेल टाल्ने

 

आवश्यकता थियो

हजुर!

यसैले गालाको कोठी बेचिदिएँ। 

 डोलीमा चड़्ने रहर छैन अब

सपनाहरू निलाम गर्ने बानी जो बस्यो।

 

अहिले बाऊको छातीमा जिजिविषा पसेको छ

आमाको बुलाकी घर फर्किएको छ

भाई टाइ-सूट लगाएर संसार जित्न जान्छन्

हुरी बतास

असिना पानीहरू अचेल घरसित हार्छन्।

 

(उनीहरूको निम्ति नीलो आकास जो म भएकी छु!)

 ब्युटी पार्लरमा काम गर्ने छोरीको

तनाखा पर्खेर बस्ने घरको छानु कसले टाल्छ!

संसार जित्न हिँड़्ने भाईको

दैनिक बाटोको किराया कसले टार्छ !

बाउँको खोक्रो  छातीमा त्राण कसले हाल्छ!

आमाको निधारमा घाम कसले टाँस्छ!

 

गाली गर्नोस्

बेस्मारी कुट्नुहोस्

अथवा मान्नु हुन्छ भने

हरेक रातको एउटा समय तपाईं लानुहोस्

हजुर !

दया गरी मलाई त्यहाँ नथुन्नुहोस्…!!


म सल्लाघारी 

उसको पछि-पछि आउँछ झोक्की अल्लारे बतास

र हल्लाइ राख्छ मेरो मनको सल्लाघारी।

 

म पत्कर

अहिलेलाई मात्र छु उसको बाटो पछ्याउनलाई…।

 

उनी भन्छिन्-

यो बाटो उसको हो

जहाँ उभेर म उमेरका पातीहरू टिप्दै देवतालाई चड़ाइरहेछु

यहाँ फूलेका यी जम्मै फूलहरू उनका हुन् 

जसका रङहरू बटुलेर म उसकै निम्ति लाली सजाइरहेछु।

 

म काँड़ा

अहिलेलाई मात्र छु उसको फूलबारी रूगिँदिनलाई…।

 

ऊ मेरो पेवा आकास उपहारमा माग्छिन्

मेरो निधारका जून- ताराहरू उक्काएर आफ्नो निधारमा टाँस्छिन्

मेरा आँखाका सपनाहरू चुँड़ाएर उनी पछ्यौरीमा बाँध्छिन्।

 

उनी भन्छिन्-

मेरो मनको रोदीघर उसको हो
गुराँससित पिरती लगाउने चाहनाको वृन्दावन उसको हो।

 

म सल्लाघारी-

अहिलेलाई मात्र छु उसलाई पछ्याउने बतासको बाटो छेकिदिनलाई।


सम्झौता 

आँसुले लथपथ भिजेर रङहीन बनेका

यी बेरङ सपनाहरूको लौरो टेकेर

अहिले म हजुरको फूलबारीमा उभिएको छु मालिक !

 

विश्वास लाग्दैन

यो त्यही फूलबारी हो

जहाँबाट हजुरले मेरी श्रीमतीलाई गुलाबी अक्षरहरूले प्रेमप्रस्ताव लेख्नुहुन्थ्यो

त्यही प्रेम-प्रस्तावहरूको थाकले किच्चिएर

आत्महत्याजस्तो मर्न बाध्य भइन् दोजिया त्यो।

 

छटपटिरहेको त्यसको घाँटीको पासो खोल्न नसक्ने

यो कातर पोईको फोटो

आफ्नै आँखामा लिएर मरेकी हुन् त्यो।

 

यो रङ्गीन फूलबारीमा

हजुरको रङ्गीनता ढाँक्न मैले रङहीनता ओढ़िरहेको

यो ऐतिहासिक दिनको

एउटा फोटो खिचिराख्नोस् मालिक !

किनभने अजम्मरी हुन्छन् फोटो

जस्तै शक्तिशाली हुरीले पनि उड़ाउन सक्दैन यसको रङ।


सपना हार्ने पुतलीलाई 

पसिनाको मोल अलि घटेकोले हो

नत्र त छोरी

तिमीले पुराना किताबहरू च्यापेर

यसरी स्कूल जानुपर्ने थिएन

पुतलीजस्ता तिम्रा आँखाहरू

घरिघरि सिम्सार हुने थिएनन्।

 

खेतबारीमा म सपना रोप्दा

सत्ते !

सबभन्दा पहिले

म तिम्रै स्कूलका किताबहरू देख्छु

त्यसपछिमात्रै आफ्नो औषधिहरू देख्छु।

 

सपनामा-

तिमी फुलबुट्टे जामा लगाएर

मेरो काँखमा खेलिरहेकी हुन्छ्यौ

नयाँ किताबहरू भुइँभरि छरेर

मलाई नाम लेख्न सिकाइरहेकी हुन्छ्यौ।

 

बाङ्गोटिङ्गो नै सही

तिमीले अक्षरहरूको हात समातेर

मलाई तिम्रो बाऊ हुन कति रहर छ छोरी!

 

धरतीमाईको कसम !

मैले तिम्रा सपनाहरूसित कहिल्यै बेइमान गरेको छैन

बेइमानी त पसिना किन्नेहरूले मसित गर्छन्

म सपनाको खुल्ला आकास बोकेर खेतबारी पस्छु

उनीहरू खड़ेरी बोकेर मकहाँ आउँछन्।

 

उनीहरू गएपछि

जहिल्यै मेरो आकासबाट घाम हराएको हुन्छ

तिम्रो कलिला सपना

आफ्ना औषधिहरू

सबै-सबै हराइपठाएर

म रित्तो हात घर फर्किएको हुन्छु।

 

तर छोरी !

पुरानै सही

तिमीले भने धेरै किताबहरू पढ्नु

नयाँ धेरै अक्षरहरू चिन्नु

पछि डाक्टर भएर

मेरो छातीको उपचार पनि तिमीले नै गर्नु !


 

केरकार

महेश पौड्याल


समाजलाई लेख्नु भनेको लभ लेटर लेख्नुजस्तो सजिलो छैन-सरण मुस्कान

तपाईंका कवितामा प्राय दुई वर्गको सङ्घर्ष देखिन्छ  गरिब, र धनीबीचको। तपाईंसँग यस द्वन्द्वको समाधानको सूत्र के छ?

व्यावहारिकरूपमा भन्नु हो भने यस द्वन्दको समाधान गर्न लेनिन, काल मार्क्सहरू पनि असफल भएका हुन्। व्यावहारिकरूपमा मसित पनि यसको समाधान सूत्र केही छैन। तथापि बर्षौदेखि चलिआएको यो द्वन्दले पिस्सिरहेका शोषित, निमुखा (तपाईको भाषामा गरीब) हरूको पक्षमा लेख्नु एक कविको रूपमा मेरो जिम्मेवार हो। मैले त्यो जिम्मेवारी निभाउने कोशिष गरिरहेको छु।

मलाई लाग्छ अभाव, अशिक्षा, अज्ञानता, लाचारिता आदि कुराहरूले मान्छेलाई निमुखा बनाउँछ र कसैको शोषणको शिकार हुने गर्छ। संक्षिप्तमा भन्नु हो भने यो सङ्घर्षले विश्वको अर्थनीतिदेखि लिएर राजनीतिसम्म निर्धारण गरेको छ। यो वर्ग सङ्घघर्षको कारक तत्वहरू यति भागहिरो छ कि कुनै कवि या कविताले समाधान गर्ने कुरै आउँदैन।

यसैले इमान्दारिताको साथमा भन्ने हो भने म यो द्वन्द्वको समाधान गर्ने हेक्का लिएर लेख्दिन। यति ठूलो सामर्थ्य मसित छैन। कमसेकम एक दुई पिस्सिएका, थिच्चिएकाहरू उक्लियोस्, आवाज गुमाएका करोड़ौंमध्ये कमसेकम एक दुई जनाको आवाज फर्केर आओस्। मैले कविता लेख्दा सोचेको भनेको यति नै हो।

किसानका अनुभवहरू तपाईंका प्राय कविताका आधारभूमि हुन्। के यो आत्मकथात्मक हो? अथवा पूण कल्पना?

समाजको निम्ति लेख्छु भन्ने कविले कल्पनामा डुबेर लेख्छन् भने ढोङमात्रै हो। गोबरसमेत नदेखेका, नछोएकाहरूले अर्गानिक फार्मिङको भाषण छाटेजस्तो। वास्तवमा समाजलाई लेख्नु भनेको लभ लेटर लेख्नुजस्तो सजिलो छैन। मेरो विचारमा यस्ता कविहरू कोही छन् भने उनीहरूलाई सिस्नु पानी लगाइनुपर्ने हो। यो मेरो व्यक्तिगत धारणा हो, यसमा अरू सहमत छैनन् भने पनि मलाई केही आपत्ति छैन।

अब आऊ, मेरा कविताहरूको सन्दर्भमा तपाईले उठाउनुभएको प्रश्नतिर, म त्यो कवि हुँ जसको शैशवकालदेखि किशोरकालसम्मका रमाइला- बेरमाइला सबै प्रकारका स्मृतिहरूमध्ये अधिकाशं स्मृतिहरू खेतबारी अनि जङ्गलपातसित गाँसिएका छन्। ज्ञान आएदेखि मैले आफ्नो आमा-बाबालाई खेतबारी अनि घाँस- दौरासित देखेको हुँ। ताकत आएदेखि कोदालो, काँटा, फरूवा अनि बञ्चरो- हसियाँ खुकुरीसित ठेला साँटेको हुँ। किसानको पसिना, आलो माटो, गोबर आदिको सुगन्धसित मेरो पुर्ख्यौली साइनो  रहेको छ। यसैले कमसेकम खेतबारी अनि किसान सम्बन्धित मेरा कविताहरू पूर्णरूपले आत्मकथात्मक (तपाईंको भाषामा) कविताहरू हुन्, यसो भन्दा मलाई कुनै हिच्किचाहट छैन।

तपाईंले कवितामा मिथकीय र पारम्परिक प्रसङ्गहरूको उल्लेख गर्नुभएको छ। (उदाहरणमा फेदाङ्बा, दोख आदि) मिथक र परम्परालाई तपाईं कसरी लिनुहुन्छ, कविताको उपकरणको सन्दर्भमा?

कविता यसरी वा त्यसरी लेख्नुपर्छ भन्ने अधिकार मसित छैन। यो कविको प्रतिभा अनि ऊभित्र निहित कलासित सम्बन्धित कुरो हो। तर म भने कविता लेख्दा मौलिक मिथ, प्रतीक बिम्ब आदिको प्रयोग गर्न अधिक रूचाउँछु। वास्तवमा यी चीजहरू कविताका खास कस्मेटिक हुन् जसले कविताको रूप वा जात (मौलिकता) निर्धारण गर्छन्। विद्वता झल्काउने, सभ्य बन्ने तथा आधुनिकरणको स्वाङमा कविहरूले हाम्रो मौलिक कविताहरूमा अरूको मिथ, बिम्ब, प्रतीक, परम्परा ( Tradition) अनुसरण गरिरहेका छन् जसले हाम्रो आफ्नो कविताको रूप-रङ त बिग्रिरहेकै छ साथसाथै हामीमै भरमार रहेको हाम्रो मौलिक मीथ, प्रतीक-बिम्ब अनि परम्पराहरू लावारिस अवस्थामा विस्तारै सकिँदै गइरहेका छन्।  भाषा- साहित्यमाथि विद्वता झल्काउनेहरूले अब लावारिस अवस्थामा रहेका यी उपकरणहरूको प्रयोग अनि प्रचार- प्रसार गरिनु पनि आवश्यक छ। विश्व साहित्यमा नेपाली वाङमय, नेपाली साहित्य अथवा नेपाली कविताको मौलिक रूप देखाउनुको निम्ति यो कार्य गर्नु आवश्यक छ।

हुन त धेरै अघिदेखि नै नेपाल अनि भारत (दार्जीलिङ) का कतिपय कविहरूले यो विषयमा सचेतता देखाइरहेका पनि छन्। तथापि बहु संख्यामा यो विषयमा कार्य गर्ने आवश्यकता रहेको छ।

तपाईंको कविताले सबै खाले आदर्शवादलाई नकारेको देखिन्छ। के तपाईंलाई यथार्थवादी कवि भन्न मिल्छ? आफूलाई एउटा कविको रूपमा कसरी मूल्याङ्कन गर्नुभएको छ?

सचेत भएर अहिलेसम्म, कसैलाई वा केहीलाई नकारेर मैले कविता लेखेको छुइनँ। तर संयोगले वा अचेतन मनले यस्तो हुन सक्छ। त्यो म मान्छु। तर कविता लेख्दा म कुनै वाद-विवाद वा विचारलाई हेर्दिन, त्यतातिर ध्यान पनि दिँदिन। मेरो दृष्टिमा बाँचेको सत्य र वास्तविकतालाई लेख्ने प्रयास गर्छु।

आफ्नै प्रकारले परिभाषित (मूल्याङ्कन नभनौं) गर्नु हो भने म त्यो कवि हुँ जसको कुनै व्यक्तिगत जात-थर, वाद-विचार केही छैन। म वाद वा विचारको दाम्लोदेखि फुक्का भएर लेख्न रूचाउने मान्छे हुँ। तथापि मेरा कविताहरूलाई पाठकहरूले/ समालोचकहरूले मलाई वा मेरा कविताहरूलाई जुनै लाइनमा उभ्याएर हेरे पनि मलाई केही आपत्ति छैन। अब यस हिसाबमा तपाईंले मलाई आदर्शवादको विरोधी अथवा यथार्थवादी कवि भन्नु सक्नुहुन्छ। तर म आफैलाई भने कहिल्यै यसरी हेरेको वा मूल्याङ्कन गरेको छुइनँ।

वेश्यावृत्तिजस्ता सामाजिक कुरीतिलाई पनि तपाईंले बाध्यताको रूपमा व्याख्या गर्नुभएको छ। यस्ता कुरीतिको समाधान तपाईं कहाँ देख्नुहुन्छ?

(यसलाई कुरीति पनि भनी नहालौं। थर्ड जेण्डर मान्यता तथा लेश्वियन कल्चर फस्टाइरहेको तपाईं हाम्रो समाजमा अब यसलाई पनि अलि फराकिलो प्रकारले हेरिनुपर्ने हो कि)।

अर्कोतिर, यस (धन्धा भन्नु मन परेन) व्यवसायमा लाग्नेहरू सबै रहरले वा मौज-मज्जाको निम्ति आएका हुँदैनन् भन्ने मेरो उक्त कविता (सतिको कथा)-को धारणा हो। पत्रकारिताको पेशामा छँदा मैले यस्ता थुप्रै महिलाहरूसित साक्षात्कार गरेको छु जो मोज-मज्जाको निम्ति होइन तर आफ्नो परिवार अनि पेटको लागि यो व्यावसायमा लागिन्। यसपछि नै यो पेशालाई लिएर मभित्र रहिआएको पारम्पारिक सोच भत्किएको हो।

अझै पनि यस्ता थुप्रै पारम्पारिक सोच वा विचारधाराहरू हामीमा अड्डा जमाएर बसेका छन् र ती सोचहरू भत्किनुपर्छ। अबको साहित्य, कविताहरूले यो काम पनि गर्नुपर्छ भन्ने मेरो आग्रह पनि हो।

मैले माथि नै भनिहालें, यस्ता विषयहरूको समाधानको निम्ति सर्वप्रथम लामो समयदेखि अड्डी जमाएर बसेको हाम्रो पारम्पारिक सोच-विचारहरू भत्किनु आवश्यक छ। वास्तवमा वेश्यावृत्ति गर्ने नारीलाईमात्रै गाली गर्ने होइन तर उसलाई वेश्या बनाउने समाज, व्यवस्था अनि परिबन्दको मरम्मति गरिनु आवश्यक छ। वेश्यावृत्ति गर्ने नारीमात्रै होइन तर उसलाई भोग गर्ने पुरूष पनि उत्तिकै अपराधी हुन्। यसर्थ कि त यो व्यवसायलाई हेर्ने हाम्रो पारम्पारिक सोच भत्काएर अन्य समाजले झै हाम्रो समाजले पनि यसलाई स्वीकार गर्नसक्नुपर्छ यसो नगरेर यसलाई कुरीति नै मानेर अस्वीकार गर्ने हो भने वेश्यावृत्ति गर्ने नारीलाई मात्रै होइन रहर र मनोरञ्जनको निम्ति पैसा खर्च गर्दै वेश्यालय धाउने पुरूषहरूलाई पनि समाजले त्यसरी नै बहिष्कार गर्नुपर्छ।

तपाईंको कविता पढ्दा लाग्छ, सम्भ्रान्तहरू सबै गलत छन्, र गरिबहरू सबै निर्दोष छन्। के यस्तै हो त समाज?

सबै सम्भ्रान्तहरू गलत नहुन सक्छन्। सबै निमुखा (तपाईको भाषामा गरीब)-हरू निर्दोष नहुन पनि सक्छन्। यसमा म किटाण गरेर केही भन्न सक्दिन। तर मैले देखेको, मैले भोगेको समाजमा भने सम्भ्रान्तहरू सबै गलत छन्, र निमुखा (गरीब)-हरू सबै निर्दोष छन्। मैले भोगेको समाजमा जनसाधारणको आवाज किनेर सम्भ्रान्तहरू आफ्नो निम्ति जिन्दाबादको नारा बनाउँछन्।

तपाईंको कवितामा सर्वाल्टर्न अथवा किनारका पात्रहरू बाहुल्य पाइन्छ। तर ती सबै लाचार लाग्छन् र आफ्नो नियतिलाई स्वीकार्न गर्न तयारजस्ता देखिन्छन्। ती कुनै ठूलो परिवर्तन र क्रान्तिका लागि उद्यत देखिँदैनन्। पात्रहरू किन त्यति लाचार? किन भाग्यवादी?

मैले लेखेको कविताको भाषा सबाल्टर्न वा किनारका पात्रहरूकै भाषा हो। अब के सबाल्टर्न बोल्छन् भनेर सोध्नुहुन्छ भने मेरो आफ्नै उत्तर हुनेछ- “बोल्छन्, तर बोल्न लगाइएका बोल्छन्।” व्यावहारिकरूपमा हेर्ने हो भने अब सबाल्टर्न वा किनाराकृतहरूले बोल्ने भाषामा ठूलो परिवर्तन वा क्रान्तिको अपेक्षा गर्नु नै भ्रम हो।

व्यावहारिकरूपमा किनाराकृत वा सबाल्टर्नहरू कसैले दिएको भाषा बोल्न सक्छन्, कसैले अह्राएको क्रान्ति गर्न सक्छन् तर आफै ठूलो क्रान्ति वा परिवर्तनको सपना देख्न सक्दैनन्। यसैले कवितामा यस्तो ठूलो परिवर्तन वा क्रान्तिको कुरा गरिए त्यो सबाल्टर्न वा किनाराकृतको निम्ति नभएर कोही अरूको साहित्य बन्न सक्ला। यसैले उनीहरूको लाचारितालाई जस्ताको तस्तै राखेर पनि उनीहरूमाथि भइरहेको विरोध वा अन्यायमाथि केही बोल्न वा देखाउने मेरो ध्येय हो। जसरी लेखनाथले मलीन भाषामा “पिञ्जराको सुगा” लेखेर  ठूलो क्रान्तिको सन्देश दिएका थिए।

तपाईंका कवितामा छोरी अथवा महिला पात्रहरू धेरै ठाउँमा आएका छन्, तर तिनीलाई निकै कमजोर र दुखी चित्रण गरिएको छ। लैङ्गिक समानताको प्रश्नमा तपाईंको मत के छ?

तपाई आफै भन्नुहोस् हाम्रो समाजमा सबल अनि सुखी महिलाहरूको औसत कति छ? कति प्रतिशत छोरी/महिलाहरू छन् जो स्वतन्त्र भएर आफूले रोजेको बाटो हिँड़िरहेका छन्। म त्यो समाजको कविता लेखिरहेको छु जहाँ छोरीहरूलाई अझै पनि चुल्हा-चौका र सामाजिक विचारधाराहरूको साङ्ग्लोले बाँधेर राखिएको छ। बूढ़ाको अफिस, छोराछोरीको स्कूल अनि सासु-ससुराको दबाई-पानी सब धन्धा पन्साएर हाम्रा दिदी-बैनीहरूलाई नारी सशक्तिकरण वा महिला अधिकारको भाषण छाँटिरहेका छन्। यसैले हाम्रो समाजमा सबल अनि सुखी छोरी वा महिलाको कविता लेख्ने समय आउनु अझ धेरै समय पर्खिनुपर्छ।

लैङ्गिक समानतालाई लिएर मेरो सीधा धारणा छ कि- महिलाहरूले आफ्नो स्वाभिमानलाई अलि अग्लो बनाउनुपर्छ अनि पुरूषहरू आफ्नो अहमदेखि केही होचो हुनुपर्छ। यति नभइञ्जेल कुनै कानून वा आरक्षणले पनि केही नाप्नु सक्दैन। यति भइसकेपछि कुनै कानून अथवा आरक्षणको आवश्यकता नै पर्दैन।

अचेल कविहरू भन्छन्, कविताले मूलतः गर्ने भनेकै राजनीति हो, र त्यो आम मान्छेको शसक्तीकरणका लागि हो। तपाईं सहमत हुनुहुन्छ? कारणसहित भन्दिनुस् न।

त्यसो हो भने, कवि नेता अनि नेता कवि भएको समाज कस्तो होला…। कविता आम मान्छेको सशक्तीकरणको निम्ति हो, म मान्छु तर आम मान्छेको सशक्तीकरणको नाममा कविले राजनीति नै गर्नुपर्छ भन्ने चैं म पटक्कै मान्दिन।

हुन त आम नागरिकको हैसियतमा कविले राजनीति गर्नु उसको व्यक्तिगत अधिकार पनि  हो। तर कविले अथवा कविताले राजनीति गर्नैपर्छ भन्ने चाहिँ कदापि होइन। एक जिम्मेवार कविले राजनीति घोत्लिएर, बुझेर जे जत्ति आम जनताको पक्षमा लेखिदिन वा भनिदिन सक्छन् एउटा नेताले आफ्नो दलको नियम-कानूनको परिधिभित्र बसेर त्यसको 10 प्रतिशत पनि गर्न सक्दैनन् भन्ने मेरो आफ्नो विचार छ। यसैले पनि म तपाईको उक्त भनाईसित सहमत हुन सक्दिन।

प्रस्तुत कवितामा तपाईंले परिस्कारवादी आधुनिक भाषालाई छोडेर आम बोलाचालको भाषालाई सम्प्रेषणको माध्यम बनाउनुभएको छ। यसको कुनै खास कारण छ?

कविता अब विशिष्टहरूको तिलिस्मी महलबाट फुत्किएर आममान्छे हिँड़्ने फराकिलो सड़कमा आइपुगिसकेको छ। कविहरूले भक्ति-महिमा भट्याउने समयले आत्महत्या गरिसकेको छ। तपाईं हामीले अहिले आम-मान्छेहरूको कविता लेखिरहेका छौं। कवितामा हामीले आम-मान्छेको कथा भनिरहेका छौं। यस्तो हो भने आममान्छेको कविता आम बोलचालमा नलेखेर अरू प्रकारले कसरी लेख्न सकिन्छ? आममान्छेको कथा व्यथा आम भाषामा नभनेर अरू भाषामा कसरी व्यक्त गर्न सकिन्छ? यदि आम-मान्छेकै निम्ति लेख्ने हो भने अबको कविता आम-मान्छेको जन-जिब्रोमा बस्नु सक्ने पनि हुनुपर्छ। तपाई यसैलाई कारण मान्नु सक्नुहुनेछ।

कविहरूलाई एक खालको आरोप छ अचेल : लेख्ने किनारीकृतिका र गरिबका लागि, तर भाषा र विम्बचाहिँ क्लिष्ट प्रयोग गर्ने। तपाईंको अभिमत के छ यस प्रश्नमा?

यो आरोपमा सत्यता पनि छ। साधारण भाषामा लेखिएका कविताहरू कवितै होइनन् जस्तो गर्ने कविहरू अझै पनि थुप्रै छन्। कविता चै अनपढ़-गवाँर गाउँले किसानको तर भाषा चैं डिग्रीका विद्यार्थीहरूले पनि डिक्सनेरी पल्टाउनुपर्ने खाल्को।  यस्ता कविताहरू आम-मान्छेको निम्ति “पालसी कुरा” जस्तो मात्र भइरहेका छन्। आम पाठकहरू कविता भन्नेबित्तिकै भाग्ने स्थिति बनिनुको पछिल्तिर पनि यस्ता कविहरू धेरै हदसम्म दोषी छन्।

यसको अर्थ फेरि आम भाषामामात्रै कविता लेखिनुपर्छ भन्ने पनि होइन। बौद्धिक अनि कलाप्रेमी जमातको निम्ति पनि कविता लेखिनुपर्छ। तर लेख्नु अघि कविले कसको विषयमा अनि कसले पढ़्ने कविता लेख्दैछु भन्ने विषयमा सचेत भएर लेख्नुपर्छ। त्यसो त गोपाल प्रसाद रिमाल, भूपि शेरचनहरूमात्रै कवि हुन् भन्ने होइन हामी इश्वरवल्लभ, बैरागी काइँलाहरू पनि उत्तिकै चाख मानेर पढ़ेका छौं, अझै पनि पढ़िरहेका छौं।

तपाईंलाई प्रगतिशील र जनपक्षीय कवि भनेर मूल्याङ्कन गरियो भने के भन्नुहुन्छ? कि अरु नै केही पचिहान छ तपाईंको कविताको? अथवा यस प्रकारको कत्तिाकाट गर्ने विभाजनसँग तपाईं सहमत हुनुहुन्न ?

मलाई कसले कुन पक्षमा उभ्याउँछन् त्यसलाई लिएर मलाई केही फरक पर्दैन। खुलस्त भन्ने हो भने वास्तवमा मैले कुनै निर्दिष्ट परिधिभित्र पसेर कहिल्यै कविता लेखिन। यसरी लेख्दिन पनि। मलाई कवितामा घेराबन्दी मन पर्दैन। वास्तवमा कविको धर्म भनेको नै इमान्दारितासाथ कविता सृजना गर्ने हो, त्यसलाई वाद,सिद्धान्त वा पक्षहरूको घेराभित्र राखेर हार्ने काम समालोचक/ पाठकहरूको हो।

मैले अहिलेसम्म घेराबन्दीदेखि बाहिर बसेर कविताहरू लेखिरहेको छु।  समालोचक/ पाठकहरूलाई पनि पूर्ण स्वतन्त्रता छ मेरो कवितालाई हेर्ने। कसरी हेर्छन् उनीहरूको दृष्टिकोणमाथि निर्भर गर्छ, मैले हस्तक्षेप गर्ने कुरै आउँदैन।


 

काव्यम् टिप्पणी

आवाज नभएकाहरूको आवाज

रमेश सायन


सरण मुस्कानका पाँच कविता पढें।

कवि मनोज बोगटीले ढुक्कले भनेका थिए ‘सरण यताको राम्रो कवि हो। कविता पढेर केही लेख्नु।’

मलाई अल्छि लाग्ला कि भन्ने पिर थियो। तर कविताले अल्छि लाग्न दिएन।

दार्जीलिङ र हाम्रो समस्या लगभग उस्तै छ। यता हाम्रो कविताले पनि स्वअस्तित्वको लडाइँ लडिरहेको छ। उता पनि कविताको आवाज उस्तै छ।

कवितामा उही दुख्ख! उही आक्रोश। उही चेतनाको लडाईँ। यसकारण पनि सरण मुस्कानको कविताले एकै झमटमा छुयो।

हामी टपरामा भात खाएर सुनका कविता लेख्न सक्दैनौं। हाम्रो समय एकै हो।

सरणले पनि टपरामा भात खाएर टपराकै कविता लेखेकाछन्। उनी एलिट हैनन्। साधारण मानिस्। जसले अस्तित्वको लागि कविता लेख्छ। उसका कविता पढेर आम मान्छे आफ्नो मुटु छाम्छ। आफु उभ्भिएको पैताला छाम्छ। आफ्ना कान छाम्छ। आँखाको दुनियाँ चिन्छ।

कविता चिच्याउँछ। ”हामीलाइ थिचेको छ। हाम्रो सिर ठाडो छैन।”

चेतना व्युझनु झरूरी छ! हामी हेप्पिएको छौं  कि छैनौं भनेर थाहा पाउनु जरूरी छ। जब चेतना बिउँझिन्छ। मान्छे रिसाउँछ। चेतना बिना रिस उठ्दैन्। रिस चेतनाको उपज हो। सरण कवितामा खुब रिसाएका छन्। उनको रिसको ज्वालाले भुँइ मान्छेको चेतना सक्रिय बनाउँछ। यसकारण मानिस चेतना सहित रिसाउनु जरूरी छ। रिस पटक्कै उठेन भने मानिस भित्र चेतनाको समस्या छ भनि बुझे हुन्छ। 

आमा चै रातभरि खोक्छिन्

लुकाएर मजेत्रोले मुख छोप्छिन्

लाग्दी हो त्यसलाई-

मजेत्रोमा बसेको खुनको दाग मैले हेरेकै छैन

आँखामा जमिएको पीरको दह मैले देखेकै छैन।

( खेतको खिल )

बाचुञ्जेल मालिकको मुडमा बल्छ चुलो। चल्छ जोवन। सन्तानको अघि कुनै आमा पिर देखाउँछिन्। तर पिरै पिरमा कट्छ जुनी।

त्यसकारण कवि बहुलाउँछ। बोल्छ मालिकको विरूद्धमा! समाजमा सबसे बलियो त कवि हो। दिन भर भोकको लागि काम गर्छ। अभावको लागि काम गर्छ। रातभर चेतनाको लागि छट्पटाउँछ।

कविता पढ्दा भुँइ पाठकलाई लाग्छ ”मलाई मालिकले हेपेकै हो। मलाई एलिटहरूले थिचेकै हो। उ पल्लो किनारासम्म हत्तपत्त सरकार आउँदैन! आइहाले कि हेप्छ कि थर्काउँछ। पाठकले थाहा पाउँछ ‘कविताले मलाई बिउँझ्याइ रहेको छ। अब म यो कविताको प्रत्येक अक्षरसँग सहमत हुनुपर्छ। अब अफ्नो लागि उठेर आफ्नै पैतालाले हिँड्नु जरूरी छ।’

कविले जे भन्न खोज्दैछ पाठकले ठ्याक्कै त्यही टिप्छ। कविताको प्रत्येक लाइनमा पाठकको चेतना सक्रिय हुन्छ। कवि यो कवितामा भयङ्कर जिम्मेवार छ।

बाध्यताको भुँमरीमा फस्यो भने मानिस अनेक काम गर्न सक्छ। मानिस जे पनि सहन सक्छ।

ब्ल्याक एण्ड ह्वाइट फोन टीभी पनि नआएको घरमा

बाऊको टीबी जोड़- जोड़ले बज्थ्यो

आँधी-हुरी

असीना- पानी

दाह्रा ङिच्दै पहिला हाम्रै घर पस्थ्यो। ( सतिको कथा )

सरणले कवितामा बाध्यता लेखेको छ। दोस्रो कविता, बाध्यताबाट बिउँझिएको जिउँदो कविता हो। कविताको प्रत्येकलाइनमा प्रोस्टिच्युट महिलाको मुटु धड्की रहेको छ। कुनै फोहोरी एलिट पाठकले यो कविता पढ्यो भने कार्यालयको बथारूममै हस्तमैथुन गर्ने छ। समाजमा एलिटहरूले जे पनि गर्न सक्छन्। उनीहरू अराजक बैरागी हुन्।

‘म बाँच्न चाहान्छु। सरिर बेचेरै मुस्कान भर्न चाहान्छु। मलाई बाच्न दे !’ भन्दा समेत महिलालाई बाँच्न दिँदैन सरकार!

हामी यस्तो सरकारबाट शाषित छौं। सरकार सम्झ्यो कि दिगमिग लाग्छ।

यो दिगमिगे सरकार बिरूद्धमा कविले बोल्यो। कविको चेतनाका सरोबरी मान्छे, चुपो लागि बस्न सक्दैन। मुक्का हान्छ। पाठक आगो छुन सक्ने गरी तात्छ। मुक्का हान्छन्, एलिट बिरूद्धमा।

सरणका कवितामा बाँचिरहेको समय छ। यसकारण विषय नयाँ छैन। रिपिटिसन छ। यसको सौन्दर्य के भने जबसम्म मानिसले कुरो बुझ्दैन तबसम्म लगातार मान्छेलाई  कुरो बुझाइरहनु र ‘गो हेड ‘ भनि रहनु हो। ‘गो हेड’ सरण । ‘गो हेड’ कविता।

एक दिन मान्छेले कुरो बुझ्छ र कविको चेतनाको दायरामा आउँछ। प्रोस्टिच्युट महिला माथि त कैयौं कविता लेखिएका छन्। सरणले फेरि लेखे। फेरि समाजमा कुरो बुझायो। फेरि एलिटहरू बिरूद्धमा बोल्यो। यसरी बारम्बार बोलिरहदा भोलुम ठुलो हुन्छ। उनी चेतनाको लागि भोलुम बटारी रहेका छन्।

तेस्रो कविता कुरूसले फुलबुट्टे न्यानु स्वीटर बुनेर प्रेमीलाई उपहार दिए जस्तो सुन्दर छ। हृदयको कुनासम्म प्रेमको स्पर्स चल्छ ।

 

उ मेरो पेवा अकास उपहारमा माग्छिन्र

मेरो निधारका जुन ताराहरू उक्काएर

अफ्नो निधारमा टाँस्छिन् ।

मेर आँखाको सपनाहरू चुडाएर उनी

पछ्यौरीमा बाँद्छिन्  ( म सल्लाघारी )

मसम्म आएका पाँच कविता मध्ये यो कविता अलिक फरक स्वादको छ। सँधै मकैको भात खाँदा खाँदा वाक्क भएको बेला चामलको भात खान पाए जस्तो स्वादिलो छ वा सहर तिरका मनुवाले कहिले काँही गाउँ तिर गएर मकैको ढिँडो खाए जस्तो फरक छ।

यो कविताको पाठक फराकिला छन्। प्रेम त संसारको सबै भन्दा सुन्दर चिज भैइहाल्यो। सुन्दर चिज संसारका सबै कुनाका मान्छे मनपराउँछन्।

हामी कविताको भाषा र कलामा स्वअस्तित्वको लडाईँ लडिरहेका छौं। हाम्रा आम कविताले समयको रथ चढेको छ। समयका तीनटै काँटा हाम्रा कविताका मुटु हुन्। तर प्रेम कविताको मुटुचाँही घडीका तीन काँटा मात्र हैनन्। प्रेम समयसँग अल्झेर बस्दैन। यो कविता जुनसुकै कुनामा पुगेर जुनसुकै कुनाको मान्छेले पढे पनि कविताको एक एक लाइनमा आफूलाई महसुस गर्न सक्छ।

 

विश्वास लाग्दैन

यो त्यही फूलबारी हो

जहाँबाट हजुरले मेरी श्रीमतीलाई गुलाबी अक्षरहरूले प्रेमप्रस्ताव लेख्नुहुन्थ्यो

त्यही प्रेम-प्रस्तावहरूको थाकले किच्चिएर

आत्महत्याजस्तो मर्न बाध्य भइन् दोजिया त्यो। ( सम्झता )

यो कविता मैले कैयौंपल्ट पढें। म पनि मालिकको काम गर्ने कारिन्दा हुँ। सत्य मलाई मालिक मन पर्दैन तर मेरो भोकलाई मालिक असाध्य मन पर्छ। भोक टार्न सक्दिनँ यसकारण मालिकको फेरो समात्न पुग्छु।

यसकारण मालिकको मानसिक्ता बुझ्दछु। यसकारण यो कविताको चेत बुझ्दछु। म जस्ता कैयौं पाठकले यो कविता मेरै निजी बुझाइमा बुझे होलान्।

मालिक अघि त प्रेम पनि निजी हुँदैन। कविले गजब स्केच गरेका छन् मालिकको हर्कत माथि।

मालिकहरू साह्रै हर्कतदार हुन्छन्। मान्छेले सहन सक्छ हदैसम्म। यो कविता पनि समाजमा भेट्टिरहने, देख्खि रहने र छुइरहने यथार्थको परकाष्ट हो।

कवि सरण यथार्थको परकाष्ठमा उत्रिन सक्छन्। जसले पाठकलाई सियोको टुप्पोले पैतालामा घोचे जस्तो चेतनाको सियोले मस्तिष्कमा घोच्छ। मलाई घोच्यो। गिदी थिलथिलो हुने गरि घोच्यो।

सरणको कविताको आवाज,  आवाज नभएकाहरूको आवाज हो। उनको कविता कतिसम्म प्यारो छ भने उनले एकदमै सामान्य मानिसको आवाज बोलेका छन्।

धरतीमाइको कसम

मैले तिम्रा सपनाहरूसित कहिल्यै बैइमान गरेको छैन

बैइमानी त पसिना किन्नेहरूले मसित गर्छन्

म सपनाको खुल्ला आकास बोकेर खेतबारी पस्छु

उनीहरू खडेरी बोकेर मकहाँ उँछन् । ( सपना हार्ने पुतलीला )

उल्लेखित पाँचौ कविता निम्न वर्गीयहरूले सन्तान माथि देख्ने न्युनतम सपना हो। जुन अनिवार्य हो। तर मालिकको भरमा सपना देख्दै बिउँझदै गर्नु पर्ने नियतिको कारण सामान्य सपना पनि पुरा हुँदैन।

हामी मान्छेसँग एउटा गुण हुन्छ। पहिले आफू सपना देख्ने। अफ्ना सपना पुरा भएन भने छोराछारी माथी सपना देख्ने। यसरी सपनारू पुस्तामा हस्तानतरण हुँदै जान्छ तर भुँइ मान्छेको सपना पुस्तान्तरण त हुन्छ तर पुरा हुँदैन। सपनाको चाबी मालिकको खल्तिमा हुन्छ। जुन चाबीले सपनाको ताला खुल्दैन। उसै खिया लागि जान्छ।

सरणले भव्य लेखे यो कविता।

सरणको कविताको क्राफट सफ्ट छ। कविले भन्न खोजेको जे कुरा हो! त्यो पाठकसम्म कलात्मक तबरले संचार हुन्छ। कवितामा जिकज्याक छैन। सिमिन्टेट कुलामा बगेको पनि जस्तो शान्त छ। पाठक कन्भिन्स हुन्छ। कविको यो बल हो। पाठकले कविता बिर्सँदैन। कविताको प्रत्येक लाइनले पाठकको मगजमा स्केच उतार्छ।

यो त मेरै कुरा लेखिदियो। यो दृष्य त भर्खरै देखेको हुँ। यो भाग त म बाँचिरहेको छु। यो मेरै समस्या हो। भनि ठान्छ। यसकारण पाठकको प्रेम छ सरणको कवितामा।

सरणको कवितालाई जो कसैले प्रेम गर्छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares