You are here

चिमामाण्डा अधिचि-को लोकप्रिय स्पीच/ नेपाली अनुवाद

सन् १९७१ साल नाइजेरियामा जन्मेकी चिमामाण्डालाई आज चिनुवा अचेबेपछिको सबैभन्दा शक्तिशाली अफ्रिकी लेखक मानिन्छ । कविताबाट शुरू भएकी चिमामाण्डा आज आएर कथा उपन्यास अनि निबन्ध लेख्नमा सक्रिय छिन् । पश्चिमी साहित्य पढेर हुर्किएकी अधिचीले लेखन शुरू गर्दा-गर्दै पश्चिमा साहित्यको अफ्रिका लगायत अन्य देशहरूलाई हेर्ने खोटबारे थाहा पाइसकेकी थिइन् ।

अफ्रिकी संस्कृति, परम्परा अथवा त्यहाँ बस्ने मानिसहरूको जीवनशैलीलाई ठीकसँगले विश्व अगाडि ल्याएर उनीहरूको अफ्रिकाप्रति हेर्ने पारम्पिक दृष्टि बद्लिनु जरूरी छ भन्ने बोध गरेकी अधिचीको मुल तत्व नैं यहीँ हो । बारबार उतार – चडावमा रहने अफ्रिकी राजनीति अनि यस उतार – चडावले ल्याएको विनाश अनि विसङगति हेर्न उनले लेखेकी छिन् । यस लगायत नारीवादसँग सम्बन्धित लेखन अनि बहसहरूमा पनि उनी चासो राख्छिन् । नाइजेरिया अनि युनाइटेड स्टेट्सबीच आफ्नो समय बाँड्ने अधिची एक असल लेखकमात्र नभएर, एक असल वक्ताको रूपमा पनि ख्याति कमाइसकेकी छिन् ।

वी सुड अल बी फेमिनिस्ट उनको सबभन्दा लोकप्रिय वक्तव्यहरूमा एक हो । प्रस्तुत वक्तव्य उनले २००९ साल टेड टक्समा दिएको पूरा अंश हो । यसमा उनले कुनै पनि स्थानको संस्कतिलाई ठीकसँग नहेरिनु अथवा त्यसलाई ठीकसँग प्रस्तुत नगरिनुको खतराबारे कुरा गरेकी छिन् –अनुवादक


अनुवाद

लेखनाथ छेत्री


 

एकलो कथाका खतरा

चिमामाण्डा अधिचि


म एक कथावाचक हूँ। म तपाईंलाई केही निजी कथा सुनाउन चाहान्छु, जसलाई मैले ‘एकलो कथाको खतरा’ नाम दिएकी छु। म पूर्वी नाइजेरियाको एक युनिभर्सिटी क्याम्पसमा हुर्किएकी हूँ। आमा भन्नुहुन्छ, मैले दुइवर्षको हुँदैदेखि पढ्न थालेकी हुँ रे। तर मलाई लाग्छ म चारवर्षको हुँदा पढ्न सिकेकी हूँला। तर मैले छिटै पढ्न शुरू गरेकी हुँ। उतिखेर म ब्रिटिस वा अमेरिकी बाल साहित्य पढ्थेँ ।मैले लेख्न पनि छिटै थालेकी हूँ, लेख्न थाल्दा म त्यस्तै सात वर्षकी थिएँ हुँला । मैले पेन्सिल र क्रेयनले कोरेर कथा लेख्न थालें । मैले लेखेको कथा बिचरी मेरी आमालाई पढ्नैपर्ने हुन्थ्यो । म जस्तो कथा पढ्थेँ उस्तै कथा लेख्थेँ । मेरो कथामा सबै चरित्र गोरा हुन्थे अनि हुन्थे उनीहरूको आँखा निला ।

उ हिउँमा खेल्थ्यो, आइफल खान्थ्यो अनि मौसमबारे धेरै कुरा गर्थ्यो । जस्तोकि घाम निस्कँदा कति रमाइलो लाग्ने गर्छ । जबकि म शुरूदेखि नाइजेरियामा नै बस्थेँ, त्यहाँबाट बाहिर कहिल्यै गएकी थिइनँ, हामीले हिउँ कहिले देखेनौं । हामी आइफल त खान्थ्यौँ तर मौसमबारे कहिल्यै कुरा गर्थेनौं । किनभने कसैलाई त्यसको चासो थिएन । मेरो कथाको पात्र जिन्जर बियर धेरै पिउँथे किनभने म यस्तो चरित्रहरूलाई ब्रिटिस कथाहरूमा पढ्थेँ जो जिन्जर बियर पिउँथे । जिन्जर बियरबारे उतिखेर मलाई केही थाहा थिएन । धेरै वर्षसम्म मलाई यो जिन्जर बियर पिउने उत्कट इच्छा थियो । तर त्यो कथाको अर्कै पाटो हो ।

कथाहरू हामीमाथि कस्तो छाप छोड़ेर जान्छन् भन्ने बुझाउन यी कुराहरू काफी छन् । विशेषगरी तब, जब हामी केटाकेटी हुन्छौं । विदेशी चरित्रहरू हुनु पुस्तकहरूको मुल स्वाभाव हो भन्ने कुरामा त्यतिबेला म आश्वस्त भएँ । किनकि मैले पढ्ने गरेका किताबहरू विदेशी थिए ।  मलाई लाग्न थाल्यो कि किताबमा ती तत्वहरू हुनु पनि स्वाभाविक हो जसलाई मेरो आम जीवनसँग जोड्न म असफल रहन्थेँ ।

तर जब मैले अफ्रिकी किताबहरू पढ्न शुरू गरेँ, यसले मेरो धेरै कुराहरूमा बदलाव ल्यायो । त्यतिबेला अफ्रिकी किताबहरू धेरै कम मात्रामा उपलब्ध थिए ।  जति किताबहरू उपलब्ध थिए, तिनीहरूलाई विदेशी पुस्तकजस्तो सजिलै बजारमा पाउन मुस्किल थियो । तर चिनुआ अचेबे अनि कमारा लाए जस्तो लेखकहरूलाई पढेपछि मेरो साहित्यबोधमा स्वाभाविक रूपले धेरै परिवर्तन आयो । मलाई लाग्नथाल्यो कि म जस्तो चकलेटी रङको छाला भएकी केटीहरू अथवा ती केटीहरू जसको घुङरिलो कपालको पनिटेल बनाउन सकिँदैन, उनीहरू पनि साहित्यको अङ्ग बनिन सक्छिन् ।

मैले ती चीजहरूबारे लेख्न शुरू गरेँ जोसँग म नजिकबाट परिचित थिएँ । यद्धपि मलाई अमेरिकी अनि ब्रिटिस पुस्तकहरूसँग प्रेम थियो । ती पुस्तकहरूले मेरोलागि संसारलाई हेर्ने नयाँ द्वार खोलिदियो । मलाई कल्पनाशील बनायो । तर ती विदेशी किताबहरू पढिरहँदा मलाई कहिले थाहा भएन, म जस्तो मान्छेको लागि पनि साहित्यमा स्थान छ । अफ्रिकी पुस्तकहरूबारे मलाई जानकारी हुन थालेपछि किताबहरू एकै किसिमका हुन्छन् भन्ने मैले बालखादेखि बनाइराखेको भ्रमबाट म मुक्त भएँ ।

मेरो जन्म एक पारम्परिक मध्यमवर्गीय नाइजेरियाई परिवारमा भएको थियो । मेरो बाबा एक प्रोफेसर हुनुहुन्थ्यो । चलनअनुसार हाम्रो घरमा केही नौकर – चाकर थिए जो नजिकको गाउँ – देहातबाट काम गर्न आउँथे । जब म आठ सालकी थिएँ, हाम्रो घरमा काम गर्नको लागि एकजना केटा आयो । उसको नाम फीडे थियो । उसको परिवारको गरिबीबारे आमाले एकदिन मलाई भन्नुभयो । आमाले उसको घरमा चामल, अन्य खानेकुरा अनि हाम्रो पुरानो कपड़ाहरू पठाउनुहुन्थ्यो । जब म आफ्नो खाना छोड्ने गर्थेँ आमा भन्ने गर्नुहुन्थ्यो, ‘खाना छोड्ने नगर, तिमीलाई थाहा छ फिडे जस्तो मान्छेहरूको लागि खानलाई केही छैन’ । त्यतिबेलादेखि मलाई फिडेको जस्तो अनेक गरिब परिवारमाथि धेरै दया जागेर आउनथाल्यो ।

एक शनिबार म उसको गाउँसम्म गएँ । फिडेको आमाले मलाई सुन्दर बुनाइ भएको एक बास्केट देखाइन् जो उसको भाइले ताडको पत्तालाई रङ्गाएर बनाएको थियो । त्यो बास्केटलाई हेरेपछि म हक्कबक्क रहेँ । त्यति सुन्दर वस्तु बनाउन सक्ने उसको परिवारको सृजनशीलताबारे मैले सोंच्न सकेकी थिइनँ । म केवल यहीँ सुनिरहेकी थिएँ, उनीहरू बेहद गरिब हुन् ।  म उनीहरूको बारेमा थप केही जान्न सकिरहेकी थिइनँ । मसँग उनीहरूको यहीँ एउटा कथा थियो । उनीहरूको गरिबीको कथा ।

धेरैसाल पछि मैले यो घटनालाई सम्झिएँ । उतिखेर म युनाइटेड स्टेट्सको एक विश्वविद्ध्यालयमा पढिरहेकी थिएँ । म उन्नाइस सालकी थिएँ । मेरो अमेरिकी रूम – मेट मलाई भेटेर धेरै अचम्भीत थिइन् । उसले मसँग सोधिन् कि मैले यति राम्रो अङ्ग्रेजी कहाँबाट सिकेर आएँ । मबाट यो कुरा सुनेर छक्क परिन् कि अङ्ग्रेजी नाइजेरियाको राजकीय भाषा हो । उसले त्यतिबेलै मबाट एक आदिवासी गीत गाइदिने फर्माइस राखिन् । उनी त्यतिबेला अझ निराश बनिन् जब उसलाई मैले मारिया केरी अङ्कित एक टप देखाएँ । उ यहीँ सोंच्थ्यो, मलाई स्टोभ चलाउन आउँदैन । म अफ्रिकी हुनुको कारण उभित्र मप्रति कृपा अनि करूणा जागिसकेको थियो । मेरो रूम – मेटसँग अफ्रिकाको केवल एउटै कथा थियो – घोर दुर्गतिपूर्ण कथा । एक अफ्रिकी नागरिक कुनै पनि प्रकारले उसको समान हुन सक्छ भन्ने उसको कथामा कुनै सम्भावना थिएन । दयाभाव छोडेर उसभित्र मेरो लागि अरू कुनै अनुभूतिको सम्भावना बाँकी थिएन ।

अमेरिका जानअगाडि मैले आफैलाई एक सचेत अफ्रिकीको रूपमा कहिल्यै हेरिन । म यो कुरा खुलेर स्वीकार गर्छु । तर जब अमेरिकामा अफ्रिकीबारे कुनै कुरा हुन्थ्यो तब सारा आँखाहरू ममाथि आएर अडिन्थ्यो । नामिबियाबारे मलाई खास कुनै जानकारी थिएन । यो कुरा मान्नको लागि उनीहरू तैयार थिएनन् । बिस्तारै म आफ्नु यो नयाँ पहिचानसँग राम्रोसँग जोडिन थालेँ । अब धेरै अर्थहरूमा म स्वयंलाई अफ्रिकाकै नागरिक मान्छु । जबकि त्यतिबेला मलाई दिक्क लाग्छ जब अफ्रिकालाई एक ठूलो देशको रूपमा हेरिन्छ । यसको ताजा उदाहरण यो हो, मेरो यो सुन्दर यात्राअवधिमा लागोसदेखि दुइ दिन अगाडिको उडानबीच भर्जिन एयरवेजको विमानमा विमान कम्पनीले भारत, अफ्रिका या अन्य ‘देश’मा जारी उनीहरूको परोपकारी कार्यहरूको बारेमा उदघोषणा गरिरहेका थिए ।

एक अफ्रिकी नागरिकको रूपमा अमेरिकामा केही साल बिताएपछि मेरो रूम मेटको मप्रतिको प्रतिक्रियालाई मैले ठीकसँग बुझ्न थालेँ । यदि म नाइजेरियामा नहुर्किएकी भए मेरो मनमा अफ्रिकामाथिको प्रचलित छविहरू मात्र बाँकी रहन्थ्यो । मलाई पनि यहीँ लाग्नेथियो, अफ्रिका यस्तो स्थान हो जहाँ रमणीय परिदृष्य, सुन्दर- सुन्दर जीवजन्तु अनि अबुझ मान्छेहरूमात्र बस्छन् जो बिनाकारण आपससँग झगडा गर्छन् , गरिबी अनि एड्सको कारण मर्छन् अनि जो आफ्नो अधिकारको लागि केही पनि गर्न सक्दैनन् । मसँग यो भ्रम पनि रहन सक्थ्यो,  यो अफ्रिकी नागरिकहरू उनीहरूलाई बचाँउन आउने कुनै गोराहरूको समुहको प्रतिक्षामा बस्छन् । म अफ्रिकालाई त्यसै प्रकारले मात्र देखिरहने थिएँ जसरी मैले सानोछँदा फिडेको परिवारलाई देखेकी  थिएँ । मेरो विचारमा अफ्रिकाको यहीँ एउटा कथा पश्चिमी साहित्यबाट आउने गर्छ ।

मसँग यहाँ एक उदाहरण छ जो जन लक नामक एक व्यापारीले लेखेका हुन् । उनी १५६१ मा पश्चिमी अफ्रिका आएका थिए । उनले आफ्नो यात्राको रोचक विवरण लेखेका छन् । अश्वेत अफ्रिकावासीहरूको लागि उनले लेखेका छन्, अफ्रिकीहरू जङ्गली जानवार हुन् जो घरमा बस्दैन्। उनले यो पनि लेखेका थिए, अफ्रिकामा यस्तो मान्छेहरू बस्छन् जसको शिर हुँदैन अनि उनीहरूको आँखा अनि मुख उनीहरूको वक्षस्थलमा हुन्छ । यसलाई हरेकचोटि पढ्दा म खुब हाँस्नेगर्छु । जान लकको कल्पनाशक्ति प्रशसनीय छ । तर उनको कथामा खास कुरा छ। उनको कथाले अफ्रिकाबारे कथाहरू भन्ने पश्चिमी  परम्पराको शुरूवाती निरूपण गर्छ, एउटा यस्तो परम्परा जसले अफ्रिकालाई असमानता अनि अन्धकारजस्ता नकरात्मक कुराहरूसँग जोडेर हेर्छ । अफ्रिकाका वासिन्दाहरूलाई होनहार कवि रुडयार्ड किप्लिङको शब्दमा – आधा राक्षस आधा शिशु –  भन्ने तरिकाको छ ।

त्यतिबेला मैले बुझ्न शुरू गरेँ, मेरो अमेरिकी रूम – मेटले उसको पूरा जीवनकालभरि अफ्रिकाबारे यस्तै एकलो कथाको रूप देखेको अनि सुनेको हुनुपर्छ । जसरी मेरो एकजना प्रोफेसरले एकपल्ट मलाई भनेका थिए, उनलाई मेरो उपन्यास प्रामाणिक तरिकाले हेर्दा अफ्रिकी उपन्यासजस्तो लाग्दैन । मेरो उपन्यासमा केही गडबडी पनि रहेको हुनसक्छ, अनि कति ठाउँहरूमा मैले गलती पनि गरेको हुनसक्छ । म स्वीकार गर्छु ।

तर म यो मान्न तैयार छैन कि म अफ्रिकी प्रामाणिकतालाई प्राप्त गर्न असफल रहेँ । अफ्रिकी प्रामाणिकताको अर्थ असलमा मलाई थाहा थिएन । मेरो प्रोफेसरले मलाई भने, मेरो उपन्यासका चरित्रहरू धेरै हदसम्म उनीजस्तै पढे – लेखेका अनि मिडल क्लाससँग सम्बन्धित छन् । मेरो चरित्रले गाडी चलाउँछ । ती चरित्रहरू भोकले मरिरहेका छैनन् । ती प्रोफेसरको विचार अनुसार,  यसैकारण उनीहरूलाई प्रामाणिक हिसाबले अफ्रिकाको भन्न सकिने थिएन ।

मलाई पनि कतिपटक यस्तै एकलो कथाहरू स्वीकार गर्नुको दोष लागिसकेको छ । मैले यो कुरा छिटै स्वीकार गरिहाल्नुपर्छ ।  केही साल अगाडि म अमेरिकाबाट मेक्सिकोको यात्रामा गएकी थिएँ । त्यतिबेला अमेरिकामा राजनैतिक वातावरण तनावपूर्ण थियो । आप्रवासनबारे धेरै वाद – विवाद भइरहेको थियो, जस्तो अमेरिकामा सधैजसो हुनेगर्छ । आप्रवासनको विषयलाई यसचोटि मेक्सिकोवासीसँग जोडिएको थियो । त्यहाँ मेक्सिकोवासीहरूबारे धेरै किसिमका कथाहरू चल्तीमा थिए । जस्तोकि तिनीहरू अमेरिकी स्वास्थ्य सुविधाहरूलाई चौपट गरिरहेका छन् । अथवा सिमानामा डाका मारिरहेका छन् । उनीहरूको गिरफ्तारी भइरहेको छ । यस्तै कुरा ।

गुआडालाहारा भन्ने स्थानमा पहिलो दिन पैदल घुमिरहेको बेला, जब मैले मान्छेहरूलाई काममा गइरहेको, बजारमा टर्टिला बनाइरहेको, सिग्रेट पिइरहेको अनि हाँसिरहेको देखेँ, म छक्क परिरहेकी थिएँ । उनीहरूको जीवन अमेरिकामा उनीहरूबारे भनिने कथाहरूभन्दा फरक थिए। मैले यतिबेला शरम महसुस गरेँ । मलाई लाग्नथाल्यो कि म पनि मिडियावालाले मेक्सिकोवासीमाथि रचेको छविलाई सत्य मानिरहेकी थिएँ । मैले उनीहरूलाई अराजक अप्रवासी मानिसकेकी थिएँ । मेक्सीकोवासीहरूमाथि बनिएको यो एकलो कथाले मेरो मनमा घर बनाएर बसेको थियो । जब मान्छेलाई केवल एक वस्तुजस्तो देखाइन्छ, केवल एक वस्तुजस्तो बारबार देखाइन्छ, अन्तमा उनीहरू त्यस्तै बनिन वाध्य हुन्छन् ।

शक्तिको चर्चा नगरिकन एकलो कथाको कुरा गर्न असम्भव छ । इग्बो नामक पश्चिमी अफ्रिकाको भाषामा एउटा शब्द छ । जब म शक्तिको स्वरूपको बारेमा सोंच्नेगर्छु तब त्यतिबेला नकाली भन्ने त्यस शब्द मेरो दिमागमा आउनेगर्छ । यो एक संज्ञा शब्द हो जसको शाब्दिक अनुवाद हुन्छ अरूभन्दा अधिक ठूलो या महत्वपूर्ण हुनु । हाम्रो आर्थिक वा राजनैतिक जगतको सदृश कथाहरूको व्यख्या पनि नकालीको सिद्धान्तद्वारा नै गरिन्छ । त्यसलाई कसरी भनिन्छ, त्यसलाई कसले भन्छ अनि जब त्यसलाई भनिन्छ तब कति भनिन्छ, यो सब कुराको निर्णय शक्तिद्वारा नैं हुन्छ । शक्तिशाली हुन केवल कुनै व्यक्तिको कथाको क्षमताभरि सिमित छैन । उसले एक निर्णायक कथा पनि बुन्नपर्छ । फिलिस्तीनी कवि मौरिद बरघुतीले लेखेका छन् – ‘यदि तिमी कुनै व्यक्तिहरूको स्वत्व लुट्न चहान्छौ भने यसको सबभन्दा सजिलो तरिका हो उनीहरूको कथालाई अर्को तरिकाले भन्न  शुरू गर।’ अमेरिकी मुल निवासीहरूको तीरको बातबाट कथालाई शुरू गर, व्रिटिस कम्पनीहरूको आगमनबाट होइन । यसरी तिमीसँग एकदम फरक किसिमको कथा हुन्छ । अफ्रिकी राज्यहरूको विफलताबाट कथाको शुरूवात गर । अफ्रिकी राज्यहरूको औपनिवेशिकरणलाई हटाइदेऊ अनि तिमीसँग एकदम फरक तरिकाको कथा हुन्छ ।

मैले भर्खरै एक विश्वविद्धालयमा एक व्याख्यान दिएकी थिएँ । मेरो उपन्यासमा चित्रित एक पिताको कथालाई आधार गरेर एकजना विद्यार्थीले मसँग भन्यो, यो एक लाजको कुरा हो, नाइजेरियाई पुरूष – स्त्रीहरूको त्यस्तै प्रकारले शारिरिक शोषण गर्छन् ।

मैले उसलाई भनें, हालै मैले एउटा उपन्यास पढेकी छु जसको नाम हो ‘अमेरिकन साइको’ । यो शरमको कुरा हो, युवा अमेरिकीहरू क्रमिक हत्यारा हुन्छन् ।

मैले यो कुरा केही हतास भएर भनेकी थिएँ । मैले पढेकी उपन्यासको त्यो पात्र जो एक क्रमिक हत्यारा थियो – उसले कुनै पनि हालतमा सबै अमेरिकीहरूको चित्रण गर्न सक्दैन । यो कुरा मैले यसकारण भनेकी होइन कि म त्यस विद्यार्थीभन्दा असल मान्छे हुँ । तर यसकारण कि मैले अमेरिकाको सांस्कृतिक अनि आर्थिक शक्तिको धेरै कथाहरू सुनिसकेकी थिएँ । मैले टाइलर, अपडाइक, स्टाइबैक अनि गैट्सकिललाई पढिसकेकी थिएँ । मसँग अमेरिकाको एउटै कथामात्र थिएन ।

मैले मेरो बाल्यकालको समयका धेरै दुखद कथाहरू सुनेकी छु । तर साँचो कुरा यो हो, मेरो बाल्यकाल धेरै सुखद थियो । हाम्रो परिवार धेरै प्रेम अनि आनन्दसँग एकजुठ भएर बस्ने गर्थे । तर मेरो बाजे – बराजुहरू पनि थिए जसको मृत्यु शरणार्थी क्याम्पमा भएको थियो । मेरो काकाको छोराको मृत्यु भयो किनकि उसलाई उचित स्वास्थ्य सुविधा उपलब्ध भएन । मेरो नजिकको साथी ओकोलोमा विमान दुर्घटनामा जलेर मरिन् किनकि हाम्रो अग्निशमन गाड़ीहरूमा पानी थिएन । म दमनकारी सैनिक शासनबीच हुर्किएँ जसले शिक्षाको मुल्यलाई नष्ट गरिदिए, जसको कारण कहिलेकाहिँ मेरो आमा – बाबाले मासिक वेतन पाएनन् । यसपछि मैले केटाकेटी छँदा नैं खानाको टेबलबाट जामको बोत्तल गायब भएको देखेँ । त्यसपछि मारजरिन गायब भयो । फेरि ब्रेड एकदम महँगो भयो अनि दूध राशनमार्फत आउनथाल्यो । सबभन्दा मुख्य कुरा, एक सामान्यीकृत राजनैतिक भयले हाम्रो जीवनलाई छोप्यो । यी सब कथाहरूले मलाई त्यो व्यक्ति बनायो जो म आज छु ।

तर नकरात्मक कथाहरूलाई मात्र महत्व दिनु भनेको मेरो अनुभवलाई कम गरेर यसको मुल्याङ्कन गर्नु जस्तो हुन्छ । यसको कारण मलाई रूप दिने अन्य धेरै कथाहरू गायब हुन पुग्छन् ।

एकलो कथाहरू रूढि निर्माण गर्छन् । सत्य नहुनु मात्र रुढिहरूको मुल समस्या होइन ।  उनीहरू अपूर्ण हुन्छन्, यहीँ मुख्य समस्या छ । यसले कथाहरूलाई एकलो कथा बनाइदिन्छ ।

यसमा कुनै दुइमत छैन कि अफ्रिका दुख अनि दुर्गतिहरूको महागाथा हो । कोही अत्यन्त भयभ्कर छन्, जस्तो कि कङ्गोको विभत्स बलात्कार । कति अझ अवसादपूर्ण छन् जस्तो कि नाइजेरियामा एउटा रिक्त स्थानको भर्तिको लागि ५००० जनाले आवेदन भर्ने गर्छन् । तर यहाँ यस्तो कथाहरू पनि छ जो दर्दनाक छैनन् । चर्चा गर्नलाई यी कथाहरू पनि उत्तिकै महत्वपूर्ण छन् । कुनै पनि परिवेश या व्यक्तिसँग ठीकसँग नजोडिएसम्म त्यस स्थान या व्यक्तिको सबै कथासँग सम्बन्ध बनाउन सम्भव छैन । एकला कथाहरूको परिणिति यो पनि हुन्छ । यसले हाम्रो मानिसहरूबीच समानताको पहिचानलाई कठिन बनाइदिन्छ । हामी कति समान छौं भन्ने कुरा दर्शाउनको साटो यसले हामी कति अलग छौं भन्ने कुरा देखाइदिन्छ ।

यदि मेक्सिको जान अगाडि मैले आप्रवासनमा भएको सारा वाद – विवादमाथि संयुक्त राष्ट्र अमेरिका अनि मेक्सिको – दुवै पक्षको कुरा सुनेकी भए के हुन्थ्यो होला ?

मेरी आमाले मलाई यदि फिडेको परिवार गरिबमात्र होइन तर मेहनती पनि छन् भन्ने बताइदिएको भए के हुन्थ्यो होला ?

यदि हामीसँग विविध अफ्रिकी कथाहरूलाई संसारभरि प्रसारित गर्नको लागि अफ्रिकी टिभी नेटवर्क भएको भए के हुन्थ्यो होला ? ठीक त्यस्तै हुन्थ्यो, जसलाई नाइजेरियाई लेखक चिनुवा अचेबेले कथाहरूको सन्तुलन नाम दिएका छन् ।

के हुने थियो होला यदि मेरो अमेरिकी रूम मेटलाई नाइजेरियाई प्रकाशक मुक्ता बकारेको बारेमा थाहा भएको भए ? मुक्ता बकारे –   जो एक असाधारण मान्छे हुन्  जसले ब्याङ्कको नौकरी छोडेर आफ्नो सपनाको बाटो हिँडेर प्रकाशनगृहको स्थापना गरे । उनको समयमा आम धारणा थियो, नाइजेरियाई मान्छे साहित्य पढ्दैनन् । उनले यसै कुराको खुलेर विरोध गरे । उनलाई लाग्यो, किन्न योग्य मुल्यमा उपलब्ध भए पढ्न आउनेहरूजतिले जरूर पढ्छन् ।

जब उनले मेरो पहिलो उपन्यास छापे त्यसको केही समय पछि म लागोसको एक टिभी स्टेशनमा साक्षात्कार दिन गएँ । त्यहाँ मेसेन्जरको काम गर्ने एक महिला मेरो नजिक आइन् अनि मलाई भनिन् ,

‘मलाई तपाईको उपन्यास मनपऱ्यो, तर मलाई यसको अन्त ठीक लागेन । अब तपाईले त्यसको सिक्वेल पनि लेख्नु पर्छ अनि त्यसको अन्त यस्तो हुनपऱ्यो ……..’

………उनले मलाई बताउन थालिन्, सिक्वेलमा के लेखिनुपर्छ । उसको कुराले मलाई मक्खमात्र पारेन । तर म भित्रैदेखि उनको कुराले छोइएँ। नाइजेरियाई जनताको एक अंशमात्र मानिन सक्ने उनी त एक साधारण महिलामात्र थिइन् जसलाई हामी पाठकवर्गमा गन्दैनौं । उसले मेरो पुस्तकमात्रै पढिनन् । तर त्यस पुस्तकलाई उनको आफ्नै पुस्तकजस्तो मानिन् अनि उनलाई मैले पुस्तकको सिक्वेल लेख्नुपर्छ भनेर आग्रह गर्न तर्कसँगत पनि लाग्यो ।

के हुन्थ्यो होला यदि मेरो रूम मेटलाई मेरो निडर मित्र फूमी ओंडाको बारेमा थाहा भएको भए ? फूमी ओंडा – जो लागोसको एक टीवी कार्क्रममा मेजमान छन् अनि ती कथाहरूलाई अगाडि ल्याउन चहान्छन् जसलाई हामी भूल्न ठीक सम्झन्छौं ।

यदि मेरो अमेरिकी रूम मेटलाई अघिल्लो हफ्ता लागोसमा भएको हृदयको अपरेशनको बारेमा थाहा भएको भए के हुन्थ्यो ?

यदि समकालीन नाइजेरियाई सङ्गीतबारेमा मेरो साथीलाई थाहा भएको भए के हुन्थ्यो ? नाइजेरियाई सङ्गीत – जसमा  प्रतिभाशाली गायकहरू अङ्ग्रेजी अनि पिजिनमा, इग्बोमा, येरूबामा अनि इजोमा जे – जीदेखि लिएर फेला, अनि बब मार्लीदेखि लिएर आफ्नो पितामहको सुमेलित प्रभावलाई लिएर गाउँछन् । के हुन्थ्यो होला यदि मेरो रूम – मेटलाई ती महिला वकिलहरूको बारेमा थाहा भए जो हालैमा नाइजेरियाको एक अदालतमा एक हास्यास्पद कानूनलाई चुनौती दिन गइन् ?

हास्यास्पद कानून –  जसको अनुसार कुनै पनि स्त्रीलाई आफ्नो पासपोर्टको नविकरणको लागि आफ्नो  स्वीकृति लिन आवश्यक थियो ?

यदि मेरो रूम – मेटलाई मेरो कपाल बनाइदिने एक जब्बरजस्त महत्वाकांक्षी केटीको बारेमा थाहा भएको भए के हुन्थ्यो होला ?

एक जब्बरजस्त महत्वाकांक्षी केटी  – जसले भर्खरै कपालको एक्सटेन्शनको व्यापार शुरू गरेकी छिन् ।

अथवा के हुन्थ्यो होला ती लाखौं नाइजेरियाई मान्छेहरूको बारेमा थाहा भएको भए, जो कामधन्धा त शुरू गर्छन् तर कहिलेकाहीँ असफल हुन्छन् – तरै पनि आफ्नो महत्वाकांक्षाहरूको पोषण गर्छन्?

जबजब म घर जान्छु, नाइजेरियाई जनताको आम समस्याहरूसँग मेरो भेट हुन्छ । जस्तो कि त्यहाँको बुनियादी ढाँचा खराब छ, सरकारले जनतालाई नकारिरहेका कुरा, आदि । तर म उनीहरूको अविश्वस्नीय जुझारूपनलाई पनि हेर्ने गर्छु, जो शासन व्यवस्थाको छाँयामुनि होइन तर त्यसको अभावमा हुर्किन्छन् ।

म हरेक गरम महिनाबीच लागोसमा लेखन कार्यशालामा पढाउने गर्छु । कार्यशालामा आवेदन भर्न आउनेहरूको संख्या देखेर म हैरान रहन्छु । कति धेरै मान्छे लेख्नको लागि व्यग्र छन् । कति छन् जो आफ्नो कथा भन्न चहान्छन् । मैले आफ्नो नाइजेरियाई प्रकाशकसँग मिलेर एक नन – प्रफिट ट्रस्ट बनाएकी छु जसको नाम फाराफिना ट्रस्ट हो । पुस्तकालय बनाउने हामीसँग एउटा ठूलो सपना छ । पुरानो पुस्तकालयहरूको नविनीकरणको लागि पनि हामीले काम गर्ने सोंचेका छौं । हामी ती शासकीय विद्यालयहरूमा पनि पुस्तक उपलब्ध गराउन चाहन्छौं जहाँ पुस्तकालयहरूमा केही पनि छैन ।  पठन – पाठनसँग सम्बन्धित अनेक कार्यशालाहरूको आयोजन गर्ने पनि हामीले सोंचेका छौं । ताकि आफ्नो कथाभन्न चहाने मान्छेहरूलाई अवसर मिलोस ।

कथाहरू महत्वपूर्ण छन् । कथाहरू धेरैमात्रामा हुनुको पनि एक विशिष्ट महत्व छ । केवल वञ्चित गर्नको लागि कथाहरूको उपयोग हुँदै आइरहेको छ । तर कथाहरूले हामीलाई सामर्थ्यवान बनाउँछन् अनि मानवीकरण गर्छन् । कथाहरूमा मान्छेको गरिमालाई भङ्ग गरिदिने शक्ति हुन्छ । तर त्यसले उसको खण्डित गरिमाको उपचार पनि गर्न सक्छ ।

अमेरिकी लेखिका एलिस वाकरले उनको दक्षिणी सम्बन्धीहरूबारे लेखेकी छिन् जो उत्तरमा गएर बसेका थिए । उनले आफ्नो सम्बन्धीहरूलाई एउटा पुस्तक पढ्ने सल्लाह दिइन् जसमा पछि छुटेको उनीहरूको दक्षिणी जीवनको वर्णन थियो । उनले यस पुस्तकबारे भनेकी छिन् –  ‘उनीहरू मेरो छेउमा बसेर आफै त्यो पुस्तक पढिरहेको बेला या मबाट त्यो पुस्तक सुनिरहेको बेला स्वर्ग पुन:प्राप्त भएजस्तो लाग्यो’ । म यो विचार तपाईहरूसँग राखेर वक्तव्यको समापन गर्न चहान्छु कि जब हामी कुनै एकल कथालाई टुक्राईदिन्छौं अनि जब हामीलाई यो कुराको ज्ञान हुन्छ कि कुनै स्थानविशेषको कहिलेपनि एकलो कथा हुँदैन, त्यतिबेला पनि हामीले स्वर्गको पुन:प्राप्तिगरेका हुन्छौं ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares