अविच्युरी : कुँवर नारायण

19 सेप्टेम्बर 1927 –मा उत्तरप्रदेशको फैजाबादमा जन्मेका तथा ‘नयाँ कविता’-का सशक्त हस्ताक्षर कुँवर नारायण अज्ञेयद्वारा सम्पादित ‘तीसरा सप्तक’ (1959) –का प्रमुख कविहरूमध्ये एक थिए। कवि कुँवर आफ्ना रचनाहरूमा इतिहास र मिथकमार्फत् वर्तमानलाई हेर्न चाहन्थे। शुरुमा विज्ञानका छात्र रहेका र पछि अङ्ग्रेजी साहित्यमा स्नातकोत्तरसम्म गरेका उऩको कविता कविता सङ्ग्रह चक्रव्यूह हो। यो कविता सङ्ग्रह उनी 29 वर्षका हुँदा सन् 1956 सालमा प्रकाशित भएको थियो।

ज्ञानपीठ, साहित्य अकादमी,, व्यास सम्मान, कुमार आशान पुरस्कार, प्रेमचन्द पुरस्कार, राष्ट्रीय कबीर सम्मान, शलाका सम्मान आदि अनेकौंपुरस्कार र सम्मान पाएका वरिष्ठ कवि कुँवर नारायणलाई  २००९ मा पद्मभूषण सम्मानले सम्मानित गरिएको थियो।

उनका चक्रव्यूह (१९५६), तीसरा सप्तक (१९५९) परिवेश : हम-तुम (१९६१) अपने सामने (१९७९) कोई दूसरा नही (१९९३) इन दिनों (२००२) कविता सङ्ग्रह प्रकाशित छन्। यसका साथै उनका आत्मजयी (१९६५) र वाजश्रवा के बहाने (२००८) प्रकाशित छन्। कवितामा प्रसिद्धि पाएका कुँवर नारायणले कथा र समालोचना पनि लेखेका छन्।  आकारों के आसपास (१९७३) कथा सङ्ग्रह र आज और आज से पहले (१९९८), मेरे साक्षात्कार (१९९९), साहित्य के कुक्ष अन्तर्विषयक संदर्भ (२००३) प्रकाशित छन्।

हिन्दीका यी सम्मानित कविको निधन गत 15 नोभेम्बरको दिन 90 वर्षको उमेरमा भएको थियो- अनुवादक


अनुवाद

शैलेन्द्र समदर्शी


विद्रोह र समन्वयका कवि कुँवर नारायण

 

-अरुण कुमार त्रिपाठी


कुँवर नारायण मूलतः विद्रोह र समन्वयका कवि हुन्। वास्तवमा विद्रोह र समन्वय मानिसको मूल दार्शनिक प्रवृत्ति नै हो।  व्यक्ति र उसको संसार यसैले चल्छ। र एक पीढ़ी अर्कोपीढ़ीसँग यसकै कारण बाझ्छन्। यो दार्शनिक भावबीचबाटै एउटा व्यवस्थाबाट अर्को व्यवस्था सिर्जित हुन्छ।

यो द्वन्द्वबीच सत-असत निर्धारित हुन्छ। यसबाटै सत्यका धेरै अँध्यारा पाटोहरूबाट पर्दा उठ्छ। नयाँ रूपमा प्रकट हुन्छ।

कुँवर नारायणको मृत्यु हुनु भनेको स्वाधीनता सङ्ग्रामको त्यो पीढ़ीको मृत्यु हुनु हो, जसले देशलाई केवल राजनैतिक स्तरमा मात्र होइन, तर दार्शनिक स्तरमा पनि खोज्ने प्रयास गऱ्यो। र, जसले बिसौं शताब्दीको सर्वाधिक चेतनाशील समयकालमा आफ्नो सपनालाई आकार दियो।

एउटा विचित्र संयोग नै मान्नु पर्छ, कुँवर नारायणको जन्म 1927 भयो, यो त्यो समयावधि हो, जतिबेला देशले अङ्ग्रेज विरुद्ध मुक्तिको युद्ध लड़िरहेको थियो। जब अङ्ग्रेजहरू भारत छोड़ेर इङ्ग्ल्याण्ड फर्किए, त्यसपछि देशको बुद्धि र चेतनालाई कुण्ठित गर्ने र यसलाई कुनै नेताको गोजीमा, कुनै सङ्गठनको झण्डामा, केही सीमित नारा अथवा कानूनको कुनै धारामा बन्द गर्ने कोशिश गरिएको थियो। जुन अद्यावधि चलिरहेकै छ।

यस्तै निसासिँदो समयलाई लक्षित गरी कुँवरले ‘अयोध्या’ -मा रामलाई सल्लाह दिँदै लेखे-

‘‘हे राम तिमी फर्की आउ। किनभने यो तिम्रो त्रेता युग होइन, नेता युग हो। यहाँ अयोध्यालाई नै लङ्का बनाइएको छ।’’

उनको काव्ययात्रा ‘आत्मजयी’ र ‘बाजश्रवा के बहाने’ –बीच कवि कुँवरको जीवनयात्रा अयोध्यादेखि दिल्लीसम्म समेटिएको छ। यी दुई काव्य उनको सृजनको मूलमा छन्। र हाम्रो चेतनाको पनि। यो हाम्रो राजनीतिक यात्राको प्रतीक हो। र, हाम्रो समाजको सांस्कृतिक यात्रा पनि।

भारतीय परम्परा दर्शनमा केन्द्रित यो काव्य कठोपनिषदको कथामा उनिएका दार्शनिक संवादको माध्यमबाट हामी आजको समयसँग जुझ्छौं। सृष्टि-बोध, शान्ति-बोध, सौन्दर्य-बोध र मुक्ति-बोध खोज्ने कोशिश गर्छौं। यो युवा पीढ़ीको उद्देश्य हो, जुन अधिकार जमाउने पछिल्लो पीढ़ी जुझेर नयाँ समाजको रचना गर्छन्।

यसैले ‘आत्मजयी’ काव्यमा नचिकेता भन्छन् –

असहमतिलाई अवसर देऊ। सहिष्णुतालाई आचरण देऊ
बुद्धि शिर उच्च राख्न सकोस्…..
उसलाई हताश नगर

उपेक्षाले खिन्न न होस् कतै

मनुष्यको साहसिकता
अमूल्य थाँती छ, यो सबैको
यसलाई स्वर्गको लालचमा खोस्ने
अधिकार छैन कसैलाई
आह तिमी बुझ्दैनौं बाबा,
बुझ्नै खोजिरहेको छैनौं,
एक-एक सदाचारका लागि
कति महान् आत्माले कति कष्ट सहेका छन्….
सत्य

जसलाई हामीले यति सहजै

आ-आफ्नै प्रकारले मान्छौं, सधैँ
विद्रोहीजस्तै थियो।

उनी बिसौं शताब्दीको यो विद्रोही चेतनालाई जगाइरहने कवि हुन्। यसको प्रेरणा उनले केवल प्राचीन ग्रन्थ र आफ्नो काव्य दृष्टिबाट मात्र पाएनन् तर आफ्नो वरिपरि घटिरहेको राजनैतिक आन्दोलनबाट पनि प्राप्त गरे।

उत्तर प्रदेशको फैजाबादमा एक सम्पन्न परिवारमा जन्मेका कुँवर नारायणको वरिपरि गान्धीवादी आन्दोलनसँगै समाजवादी आन्दोलन पनि सक्रिय थियो।

समाजवादी आन्दोलनका दुई ठूला विभूति आचार्य नरेन्द्र देवर डा. राम मनोहर लोहिया यसै जिल्लाका थिए। उनीहरू कुँवरका घर पनि आउँथे।

यो सत्य हो, कुँवर नारायणले आफ्नो जीवनमा कहिले आर्थिक समस्या झेल्न परेन। अपितु उनले आफ्नो पीढ़ी र समाजकालागि सधैँ आत्मसङ्घर्ष गरे। उनको यो सङ्घर्ष हाम्रो युगको विचारधाराको सङ्घर्ष हो। सत्यको अन्वेषणका लागि सङ्घर्ष हो। र, अति सङ्घर्षले पट्यार मानिसहरूको समन्वयको विवेक हो।

कुँवर नारायण हिन्दीको व्यापक जातीय चेतनाका कवि हुन्। र उनको व्याप्ति सार्वजनीन, सार्वदेशिक र सर्वकालिक छ।

यसको अतिरिक्त उनको काव्य चेतनामा अवधको विद्रोही चेतना, गङ्गा जमुनको सभ्यता, नयाँ- पुरानोबीच समन्वय र भौतिकता र आध्यात्मिकताबीच समन्वयको सोच विद्यमान छन्।

कुँवरको काव्यको प्रमुखता हाम्रो सभ्यता र राष्ट्रियताका लागि आवश्यक छ, जसलाई घृणा र युद्धको नवनिर्मित इच्छामा हामी भुल्दै जाँदैछौं।

विडम्बनै हो, पछिल्लो शताब्दिमा युद्ध भोगिसकेका मानिस यो शताब्दिमा पनि युद्धकै कारण खोजिरहेका छन्। त्यस्ता मानिसहरूका लागि आफूभन्दा टाढ़ा गएका पुत्रको फर्काइमा हुने खुशीलाई कुँवरले ‘वाजश्रवा के बहाने’ –मा केही यस्तो प्रकारले व्यक्त गरेका छन्-

तँलाई गुमाएर थाह पाएँ मैले
हामीलाई के चाहिन्छ
कति चाहिन्छ
किन चाहिन्छ सम्पूर्ण पृथ्वी
जबकि यसको एक कुना धेरै छ
देह बराबर जीवन
जिउनका लागि
र पूरा आकाश खाली छ
एक सानो अहं भर्नुलाई

दल र लश्कर बनाएर लड़िरहेछ

एक सुरमा
जित्न के चाहन्छ

मारेर अन्यलाई
जबकि जितिसकेका छन् सबै कुरा
हारिसकेको छ जीवनको अन्तिम

सीमामा।
नचिकेताका पिता वाजश्रवासँग संवाद गरी विद्रोह गर्नु, यमसमक्ष जानु र मृत्यु एवं सत्यको रहस्य जान्नु प्रत्येक वर्तमानको आवश्यकता हो।

कुनै छोराले यदि आफ्ना बाबुसँग विद्रोह नगरे, नयाँ केही सृजना गर्न सक्दैनन्। यो सामान्य जीवनको अनुभव पनि हो,सधैँ छोरा आफ्ना बाबु नै सबैभन्दा धेरै अत्याचारी लाग्छ।

उनीहरूलाई लाग्छ, आफ्ना बाबु एक साँघुरो सोचमा कैद छन्। र आफ्नो जीवनलाई कुण्ठित गर्न चाहन्छन्। यसैले युवा आफ्नो परम्परासँग, आफ्नो घरसँग र आफ्ना बाबुसँग विद्रोह गरी जोखिम उठाउँछन्।

तर जीवनको लामो यात्रा हिँड़िसकेपछि उनलाई बोध हुन्छ, बाबुसँग लड़्नु निरर्थक थियो, उनका कतिपय कुरा सही थियो। पुरानो सम्बन्धलाई तोड़ेर टाढ़ा जाने र पुनः त्यसलाई प्राप्त गर्नका लागि फर्किएको कथा नै ‘आत्मजयी’ र ‘बाजश्रवा के बहाने’-मा छ। यो हाम्रो सभ्यताको क्रान्ति र निरन्तरताको भावना हो, जसले हामीलाई मानवीय बनाउँछ।

यसैले नचिकेता फर्किन्छ। उसलाई वापस घरेलु आतुरताको भावनाले घेर्छ। नचिकेता आफ्ना बाबुलाई भेटेर धेरै भावुक हुन्छन्। यद्यपि त्यसबेलासम्म धेरै कुरा परिवर्तन भइसकेको हुन्छ। यस्तै स्थितिलाई कुँवर यी शब्दहरूमा व्यक्त गर्छन् –

बाबुलाई हाल्छ आँगालो
नचिकेता आश्वस्त हुन्छ
कि उसको संसार जीवित छ अझै

उसलाई राम्रो लाग्छ- त्यो घर
जहाँ एक आँगन होस्
त्यो भित्ता लाग्छ राम्रो

जसमा कुँदिएको होस्-
कुनै नानीको तोते हस्ताक्षर
कि आमा केवल एक शब्द होइन
सम्पूर्ण भाषा हो
राम्रो लाग्छ
घरी घरी
टाढ़ा कतैबाट फर्किनु
आफन्तहरूमा
इच्छा हुन्छ उसको

कि यात्राका लागि
असंख्य ठाउँ होस्
असंख्य समय होस्
र-

फर्किनका
हरेक ठाउँमा
आफ्नो एउटा घर।

यात्राको यो अनन्त इच्छा लिएर हाम्रो सभ्यता विचरण गर्छ। कहिले यो महाद्वीपदेखि त्यो महाद्वीपसम्म। कहिले यो वनदेखि त्यो वनदेखि त्यो वनसम्म। र कहिले यो ग्रहदेखि त्यो ग्रहसम्म।

यो यात्रा व्यक्तिगत पनि छ, र समष्टिगत पनि। तर यो यात्रामा आफ्नो मूलमा फर्कि आउने इच्छा सधैँ विद्यमान रहन्छ। अपितु त्यो त्यो फर्काइ स्वाभाविक हुनपर्नेछ, जबर्जस्ती होइन। यो यात्रा र फर्काइमा असहमतिको अवसर दिनपर्नेछ, र सहिष्णुताको आचरण पनि।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares