You are here

समालोचक रूपेश शर्माको ‘सिर्जना र दृष्टि’-कृतिमाथि विमर्श कार्यक्रम सम्पन्न: सिर्जना र दृष्टि कृति भारतीय नेपाली साहित्यमा प्रगतिवादी सिद्धान्तको आधारमा लेखिएको पहिलो समालोचनात्मक कृति हुनसक्छ- डा० कविता लामा

 

डुवर्सः समालोचनाको कठघरामा सिर्जना र दृष्टि नामक समालोचनात्मक कृतिलाई उभ्याएर हेरिएको भन्दै यो कृति भारतीय नेपाली साहित्यमा प्रगतिवादी सिद्धान्तको आधारमा लेखिएको पहिलो समालोचनात्मक कृति हुनसक्छ भनी वार्ताकारको रुपमा बोल्दै सिक्किम विश्वविद्यालयका प्रोफेसर डा० कविता लामाले बताएकी छन्। तिनले डुवर्स नेपाली साहित्य विकास समितिको तत्वाधानमा मालबजारको नगरपालिका भवनमा आयोजित समालोचक रुपेश शर्माको समालोचक कृति विमर्श कार्यक्रममा बोल्दै अघि भनिन्-यो कृति भारतीय नेपाली साहित्यमा प्रगतिवादी सिद्धान्तको लेखाजोखा हो।

प्रगतिवादी सिद्धान्तमा चिन्तन गरेर, अध्ययन गरेर लेखिएको पुस्तक हो। वार्ताकारको रुपमा बोल्दै डा. लामाले समालोचना लेख्दा मित्रताको नाताले लेख्नु हुँदैन भन्दै प्रभाववादी र प्रायोजित समालोचना पनि लेख्नु नहुने बताइन्। समालोचक शर्माले मार्क्सवादी र प्रगतिवादी सैद्धान्तिक पृष्ठभूमिलाई लिएर समालोचना गरेको पनि बताइन्। तिनी भाषाको मैदानमा सठिक रूपमा आएका छन्, लेखनमा लेखकीय प्रतिबद्धता निकै आएका छन् अनि मार्क्सवाद र प्रगतिवाद नबुझ्नेले यो किताब पढेर बुझ्न सक्छ भनी बताइन्। त्यसरी नै डा. लामाले रुपेश शर्माको कृति सिर्जना र दृष्टिलाई समालोचनात्मक कठघरामा निष्पक्ष रुपमा उभ्याएर निर्णायक कुरा गर्दा सफल भएको पाउँछौँ भनी बताइन्।

अजय खड्काद्वारा सञ्चालित विमर्श कार्यक्रममा डुवर्स नेपाली साहित्य विकास समितिको सभापति सितम राईको अध्यक्षता र वरिष्ठ समालोचक एवं साहित्यकार डा. जस योञ्जन प्यासीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा वार्ता कारको रुपमा डा. कविता लामा उपस्थित थिए। स्वागत वक्तब्य मूल सचिव रविन खवासले राखे। कार्यक्रममा उद्बोधन गीत अजय थापाले प्रस्तुत गरे भने सङ्गीतकार/ गीतकारद्वय कुमार सुन्दास र दिलिप गदाइलीलाई सम्मान पनि गरियो। दुवैको छोटो परिचय पत्रकार लीलाबहादुर छेत्रीले राखे। कार्यक्रममा डुवर्स नेपाली साहित्य विकास समितिका आजीवन सदस्यहरुलाई अतिथिको बाहुलीबाट स्मृति चिन्ह पनि प्रदान गरियो। कार्यक्रममा गोकुल दर्जीद्वारा पात बजाएर प्रस्तुती दिइयो।

कृतिकार रुपेश शर्माले पनि आफ्नो वक्तव्य कार्यक्रममा राखे भने उपस्थित विद्यार्थीहरूले सोधेका विभिन्न प्रश्नहरुको उत्तर पनि दिए। कार्यक्रममा उपस्थित प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं समालोचक डा. जस योञ्जन प्यासीले प्रगतिवादको आधार माक्सवाद हो भन्दै समालोचक रूपेश शर्माको विषयमा पहिलेबाटै आफ्नो समालोचक कृतिमा भारतीय नेपाली साहित्यमा मार्क्सवादीय समालोचना नामक लेखमा उल्लेख गरिसकेको पनि बताए। तिनले रूपेश शर्मा भारतीय नेपाली साहित्यको सशक्त समालोचक हुन् भनी बताएका छन्। तिनले सिर्जना र दृष्टि समालोचना कृतिमाथि पनि आफ्नो टिप्पणी राखेका थिए। तिनले यस कृतिको ख खण्डलाई समालोचना नभनेर अध्ययनशीलता भन्न सक्छौ भनी बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares