You are here

प्रतिक्रियाः विमल गुरूङलाई केही प्रश्न

प्रतिक्रिया


अनित थापा, महासचिव, गोर्खा जनमुक्ति मोर्चा।


सर्वोच्च न्यायालय (सुप्रिम कोर्ट)- ले गोजमुमोका पूर्व अध्यक्ष विमल गुरूङको याचिकामाथि सुनवाई गर्दै उनीविरूद्ध लागेका थुप्रै मुद्दाहरूमध्ये केही मुद्दाहरूको सिलसिलामा आगामी दुई साता अथवा दोस्रो सुनवाई नभइञ्जेलसम्मलाई उनलाई पक्राउ गर्न नपाइने जुन निर्देश जारी गरेका छन् हामी सर्वोच्च न्यायालयको उक्त फसेलालाई सम्मान अनि स्वागत गर्दछौं।

तथापि उक्त मुद्दाको सुनवाई पछि गोजमुमोका पूर्व अध्यक्ष विमल गुरूङको राजनैतिक इमान्दारिता अनि जनता अनि उनको निम्ति मरिमेट्ने कार्यकर्ताहरूमाथि उनको सोच कस्तो रहेको छ भन्ने विषयमा धेरै प्रश्नहरू उत्पन्न भएको छ।

यसर्थ पूर्व अध्यक्ष विमल गुरूङलाई हामी यस सन्दर्भमा हामी निम्नलिखित प्रश्नहरू राख्न चाहन्छौं-

सर्वोच्च न्यायालयमा विमल गुरूङको पक्षमा मुद्दा लड़्ने वकीलहरूमा ती शीर्ष वकीलहरूको नाम छ जसको एकदिनको फीस 30 लाखदेखि उभो रहेको छ। यसबाहेक केशको सिलसिलामा बात गरेको मात्रै उनीहरूले 2 लाख रूपियाँ अलग फीस लिने गर्छन्। ती वकीलहरूले देशका शीर्षस्थ धनी उद्योगपति मुकेश अम्बानी अनि रतन टाटा आदिका मुद्दाहरू हेर्ने गर्छन्।

यस हिसाबमा हेर्ने हो भने एक राजनैतिक नेताकोमा दैनिकरूपमा वकीलहरूलाई  30 लाख फीस लिने पैसा कहाँबाट आयो?

एउटा राजनैतिक नेता भएर मुकेश अम्बानी अनि रतन टाटाजस्ता शीर्षस्थ उद्योगपतिहरूको हाराहारीमा सम्पति उनले कहाँबाट आर्जन गरे ?

हामीले भनिरहेको जीटीएमा भएको भ्रष्टाचार अनि पर्सन्टेजको सत्यता यसले पनि उदाङ्गो गराउँछ।

जनतासमक्ष जीटीएको भ्रष्टाचारको रिपोर्ट पेश हुन बाँकी नै छ यसभन्दा अघि विमल गुरूङले आफू बाँच्नको निम्ति पानीजस्तो बगाइरहेको पैसा पनि पहाड़को जनताको पैसामा भएको भ्रष्टाचारकै एक अंश हो। यो कुरा केहीदिनभित्रमा आधिकारीक तौरमा नै उदाङ्गो हुनेछ।

गोर्खाल्याण्डको नाममा विमल गुरूङको आदेशमा पूर्ण इमान्दारिताको साथ सड़क आन्दोलन गर्ने जनता अनि कार्यकर्ताहरूको योगदान अनि समर्पण विमल गुरूङको निम्ति केही महत्व नराख्ने पनि पुष्टि भएको छ।

आफू जेल सजायबाट बाँच्नुको निम्ति दैनिकरूपमा 30 लाख खर्च गर्नसक्ने उनले जेलमा सड़िरहेका अन्य कार्यकर्ताहरूको रिहाईको निम्ति किन एक पैसा पनि खर्च गरिरहेका छैनन्?

आन्दोलनको अवधिमा शहीद बनेका परिवारहरू कुन हालतमा बाँचिरहेका छन् त्यसको बारेमा किन कुनै जानकारी लिएका छैनन् अथवा उनीहरूलाई आर्थिक सहयोगको बन्दोबस्त किन गरिरहेका छैनन्। आन्दोलनको अवधि साधारण जनतालाई पुलिसमाथि ढुङ्गा- मुढ़ा गर्न लगाएर, सरकारी सम्पति जलाउन लगाएर तथा पहाड़मा बम विस्फोटजस्ता कार्यहरू गर्न लगाएर जनतालाई लाठी तथा गोली खानु लगाउने, जेल पठाउने तर आफू चाहिँ हतियारधारी कार्यकर्ताहरूको सुरक्षाको घेरोमा बस्ने विमल गुरूङ आफ्नो सुरक्षाको निम्ति मात्रै सोच्ने गर्छन् भन्ने त्यति बेला नै पुष्टि भइसकेको थियो।

यसपल्ट पनि जेलमा सड़िरहेका आफ्ना कार्यकर्ता एवं जनताको निम्ति केही नगरी  आफ्नो निम्तिमात्रै पानीसरी पैसा बगाएर फेरि यो कुरालाई प्रमाणित गरिदिएका छन्।

सुप्रिम कोर्टको उक्त फसेलालाई लिएर पहाड़मा जुन प्रकारको हल्ला फिजाइँदैछ त्यो वास्तवमा महत्वहीन अनि अर्थहीन छ। विमल गुरूङले केही मुद्दाहरूमा केवल दुई साताको निम्ति केही राहत पाएका हुन्। यस्ता अनेकौं मुद्दाहरू अझै छन् जसको सुनवाई भएकै छैन।

सम्भवतः उनको गोजीमा पैसा भइञ्जेल उनलाई उनीपक्षका वकीलहरूले उनलाई यसरी केही दिनसम्मलाई सुरक्षा दिन सक्छन्।  यसैले अब हामीलाई हेर्नुछ जीटीएमा भ्रष्टाचार गरेको पैसा उनकोमा कति रहेका छन्। कति पैसा उनले लुकाएर राखेका छन्। विमल गुरूङले त्यसपछि अहिले दैनिकरूपमा 30 लाख गरेर बगाइरहेको पैसाको एक- एक हिसाब हामी अवश्यै खोज्नेछौं।

अहिले बाघ फर्किरहेको जुन डङ्का पिटिँदैछ त्यो बाघको सत्यता पनि अब पहाड़वासीले उदाङ्गो रूपमा देख्नेछ। लामो समयदेखि बाघको खोल ओड़ेर साधारण जनतालाई तर्साएर, डराएर आफ्नो स्वार्थ पूरा गरिरहेको तथाकथित बाघको खोल असली अनुहार अब जनतासामु उदाङ्गो हुनेछ।

पहाड़ अहिले शान्त अनि स्थिर बनिसकेको छ। चियाबारी, सिन्कोनावासी अनि गाउँ- शहरका मानिसहरू 104 दिनको  बन्दको  विकट समस्याहरूबाट भर्खरै उक्लिने मौका पाइरहेका छन्। पहाड़ फेरि विस्तारै व्यवस्थित बन्दै गइरहेको छ।

यो अवस्थामा फेरि पहाड़को परिवेश फेरि कसैले भङ्गाल्न चाहन्छन् भने अब जनताले नै माफ गर्नेछैन। पहाड़को शान्ति भङ्ग गर्न चाहेको खण्डमा अब जङ्गलबाट निस्किएकाहरूलाई कुनै नेताले होइन जनता आफैले उनको असली ठाउँमा पठाउनेछन्।

यसैले विमल गुरूङ अब हाम्रो निम्ति कुनै फ्याक्टर होइन। उनी क्लोज भइसकेका च्याप्टर हुन्।

हामीले ओपन गरेको च्याप्टर भनेको सिन्कोनावासी, चियाकमानको विकास- व्यवस्थापन, बेरोजगार युवा-पीढ़िको उज्ज्वल भविष्य,  लामो समयदेखि चलिरहेको गुण्डाराजको अन्त, पहाड़वासीको आत्म निर्णयको अधिकार आदि आदि हो। यो मार्गमा हामी हिँड़िसकेका छौं। जनता हाम्रो साथमा छन्। अब पहाड़मा नेताको हैकम होइन जनताको आवाज सर्वोपरि हुनेछ।

विमल गुरूङ मदन तामाङको मुद्दामा पनि एक्लै कानूनी दावँपेचबाट फुत्किएका हुन्।

नेताहरूको मानसिकता त्यस्तो हुनु हुँदैन| पहिला आफ्नो जनता त्यसपछि आफ्नो कार्यकर्ता अनि पछिबाट मात्रै आफ्नो विषयमा सोच्ने नेतामात्र वास्तवमा साँचो जनताका नेता हुन्।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares