सुरक्षा देवल भत्किएपछि असुरक्षित भयो टिस्टा ब्रिज हाई स्कूल: विभागले अनदेखा गरे विद्यार्थीहरूलाई सडकमा निकाल्ने चेताउनी

कालीझोडा: गत एक वर्ष अघि भत्केको टिस्टा ब्रिज उच्चतर माध्यमिक विद्यालयको सुरक्षा देवालको हालसम्म पनि मरमत्ति नगरिएको कारण विद्यालयको अवस्था सङ्कटपूर्ण बनेको छ। उक्त विद्यालयको सम्पूर्ण सुरक्षा देवल कुनैबेला पनि भत्केर ठूलो दुर्घटना हुनसक्ने प्रबल सम्भावना देखा परेको छ। उक्त समस्या माथी हालसम्म कुनै पनि सम्बन्धित विभागहरूले चासो नराखेको अनि यस विषय माथी अनदेखा गरिरहेको विद्यालय पक्षको गुनासो छ। गत दुई वर्ष अघिको भारी वर्षाको कारण टिस्टा ब्रिज उच्चतर विद्यालयको सुरक्षा देवल भत्किएको हो।  यता भत्केको सुरक्षा देवललाई पुन: निर्माणको निम्ति विद्यालयपक्षबाट विभिन्न विभागिय अधिकारीलाई ज्ञापन-पत्र चढाइसकेको बताइएको छ। कालेबुङ जिल्ला शासक, मह्कुमा शासक, खण्ड विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, जीटीए प्रशासक आदिलाई ज्ञापन-पत्र चढाएता पनि अहिलेसम्म कुनै विभागले पनि पहल नचलाएको विद्यालयपक्षबाट शिक्षक विशाल राईले बताएका छन्। उनले भने, विद्यालयको सुरक्षा देवल भत्केको कारण आज सम्पूर्ण विद्यालय चर्किसकेको छ। कुनै पनि समय विद्यालय भवन भत्कन सक्छ। तर हालसम्म पनि सम्बन्धित विभागबाट भने केही पहल चलाइएको छैन। यसरी विभागले कानमा तेल हालेर बस्नु भनेको शिक्षासित सम्बन्धित विषयको अवहेलना गर्नु हो। राईले भने, कतिपय विभागहरू यसको निरिक्षण गर्न आएता पनि उक्त विभागबाट केवल झुटो आश्वासन मात्र प्राप्त भयो। अर्कोतिर उक्त समस्यामाथि एनएचपीसी विभागलाई पनि ज्ञापन चढाएको राईले जानकारी दिएका छन् भने उक्त विभागबाट पनि केवल निरिक्षण गर्ने काम भएको उनको भनाइ छ। सम्बन्धित अधिकारीहरूसित बात गर्दा उच्च स्तरमा कुरा चलिसकेको तर यस कार्यको निम्ति कुनै बजट नआएको कुरा अधिकारीहरूले बताएको राईले बताएका छन्। हाल जीटीए बोर्ड अफ एड्मिनिस्ट्रेटस पक्षबाट पनि कुनै पहल नचालेको विशाल राईले बताएका छन्। यसवर्षको वर्षको बर्खा त जसोतसो थेग्यो तर आँउदो बर्खामा भने सम्पूर्ण देवलसितै स्कूल भवन पनि भत्कन सक्ने उनको भनाइ छ। यता उक्त सुरक्षा देवलको कारण भोलीको दिनमा स्कूल भत्किए, केहि अप्रिय घटना घटे त्यसको जिम्मेवार को हुने? भनि राईले प्रशन राखेका छन्। यदि भोलीको दिनमा विद्यालय नरहे बाटोमा नानीहरूलाई पढाउनु पर्ने अवस्था आउनसक्ने पनि उनले बताएका छन्। यसरी सम्बन्धित विभागहरूले अनदेखा गरेर विद्यार्थीहरूलाई लिएर कालेबुङमा जुलूस निकालन आफूहरू वाध्य हुने पनि राईले बताएका छन्। विद्यालयसँगै शिक्षाको संरक्षणको निम्ति चाँडै उक्त सुरक्षा देवललाई पुन: निर्माण गरिनु पर्ने विद्यालयपक्षबाट माग राखेका छन। हाइवे 10 अन्तर्गत उच्चत्तर शिक्षा प्रदान गर्ने एउटै विद्यालय हो टिस्टा उच्चत्तर विद्यालय। यदी साँच्चै भोलीको दिनमा विद्यालयमा कुनै सङ्कट आइपरे त्यसले शिक्षा माथी ठुलो असर पर्ने प्रबल आशङ्का देखा परेको छ। अर्कोतिर उक्त सुरक्षा देवलले विद्यालयको प्राङ्गनमात्र नभएर सम्पूर्ण गाँउको सुरक्षा पनि बोकेर बसेको छ। जसले गर्दा विद्यालयसितै गाँउको स्थायी सुरक्षा गर्नु हो भने उक्त सुरक्षा देवललाई दह्रो गरी निर्माण गर्नु अनिवार्य रहेको देखा परेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares