You are here

विशेष व्यक्तिः सरोज अर्थात क्यान्टिनका भित्तामा अल्झिएका भ्यानगग

विशेष व्यक्ति : चित्रकार

शैलीका छेत्री, दार्जीलिङ


चित्रकला पनि एउटा सानो नाटक वा निबन्ध जस्तै हुन्छ।

कुनै चटकिलो व्यक्तित्त्वको संक्षिप्त चित्रण। अथवा विश्रृङ्खल नाटकको लागि रचित शब्दचित्र। कुनै सामयिक घटना या प्रवृत्ति देखाउन व्यङ्ग्य प्रमुख हुन्छ, त्यसरी नै चित्रकारिताका निम्ति सर्जनात्मक सनक हुनु अनिवार्य मानिन्छ।

जोसित यो सनक छ, कल्पनाशक्तिले उसलाई उड्न लगाउँछ। कहीँ पुग्न लगाउँछ। चित्रकारको रङलाई त्यही सनकले भाषा दिन्छ। सनक भनेको दिमागको ‘तिलस्मी-ढोका’ हो, त्यो खोलिएपछि उ सर्जक बन्छ।

हामी दर्शक त, चित्रकारले इङ्गीत गरेका अर्थतिर रङको भाषाबाट छिरेर हिँड्ने सामान्य यात्री त हौं। त्यो यात्रामा  संयोगवश, कसैलाई भेटियो भने त्यो चित्रकारको सनक हो।

चित्रसम्म पुग्ने बाटो चित्रकारले दर्शकलाई खनिदिएकै हुन्छ। अर्थसम्म पुग्न दर्शकले पहिलो ढोकालाई ढक्ढक्याँछ, खोलिँदैन। दोस्रो ढक्ढक्याउँछ, खोलिँदैन। फेरि ढक्ढक्याउँछ, अहँ खोलिँदैन। चौथोले……. त्यसप्रकार, जब धेरै उत्सुकताले प्रयास गर्दा नखोलिएको त्यस ‘तिलस्मी-ढोका’ छुने बित्तिक्कै उघ्रिन्छ।

‘तिलस्मी-ढोका’ हो त्यो सर्जनात्मक चाहको। त्यसलाई कुन प्रकारमा ढक्ढक्याउन पर्छ, सो जान्ने कला क्रिएटिव चित्रकारमा मात्र हुन्छ, सो बुझेपछि चित्रकलाको ढोका स्वत: उघ्रिन्छ।

र, सायद यस्तै ‘तिलस्मी ढोका’-लाई ढकढक्याउने प्रयासमा सधैं प्रत्यनशील छन् क्रिएटिव चित्रकार सरोज तिरूवा।

हिमालयन नर्सरी स्कूल दार्जीलिङ छेउको एउटा सानो क्यान्टिन दोकान चलाउँछन् चित्रकार सरोज तिरूवा। तर सरोजको क्यान्टिनभित्र पस्ने बित्तिकै दर्शकलाई सामान्य फिल हुँदैन। दर्शकको आँखा स्वत: क्यान्टिनको भित्तामा टाँसिएका सुन्दर स्केच अनि पेपर शिल्पकारितापट्टि जान्छ।

जो कोहीले पनि एकपल्ट सोध्छन् नै- ‘यो स्केच अनि शिल्पकारीगरी कसको हो?’

अनि दोकानमा बसिरहेका अतिसाधारण व्यक्तिले बढो भद्रतासित उत्तर दिइरहन्छन्-‘सानैदेखि चित्रकलामा रूचि रहेर यसोतसो फुर्सतमा कोरेको चित्र मेरै हो नी…।’

त्सपछि दर्शकको मुखबाट स्वतस्फूर्त ‘वाऊ!’ त निस्किन्छ। तर…

के साँच्चै चित्रकलालाई कदर गर्ने महानुभावको कमी रहेको छ?

दार्जीलिङ शहरमा चित्रकारिताको भविष्य सोचनीय छ। चित्रकारिताले तत्कालीन परिवेश, पुस्ता र विभिन्न पक्षका बेथित, आइडेंटिटी क्राइसिस भोगिरहेका वर्तमान आँगनमा ल्याएर केलाइरहँदा पनि यसका पाठक/दर्शक भने संधै न्यून किन त?

चित्रकारिताले पनि समयबारे बोल्छ। हाम्रो कथा भन्छ। यसको ‘कला’ नै त हो भाषा, जुन भाषाले कुरूप समयको गीत गाइरहेकै हुन्छ। फेरि पनि किन हेलित रहन्छ चित्रकला? चित्रकारको सङ्घर्षमय अवस्था देखेर कुनै दिन नेपाली समाजका संवेदी मस्तिष्कका तिलस्मी ढोका खोलिँला?

तर, त्यतिञ्जेलसम्म चित्रकारको भविष्य चाहिँ कस्तो हुन्छ त?

सायद त्यतिबेलासम्म चित्रकारको जीवन्त ‘स्केच’-ले जीवनको भाषा बोल्नु छोड़िदेला। लाटा बन्ला चित्रकार। रङहरू नबोल्लान्। तर रङ र चित्रकारले आऱ्नो अस्तित्व त हराउने छैनन् नै। जस्तो सरोज तिरुवा।

जसरी शिल्पकार/चित्रकार सरोज तिरूवाका सर्जनात्मक उत्साह त्यो क्यान्टिनको निर्जीव भित्ताहरूलाई चिर्दै सल्बलाउँदछ।

चित्रकलालाई श्रीमती मनमाया तिरूवा अनि स्वर्गीय किशोर तिरूवाका कान्छा छोरा सरोज तिरूवाले बढ़ो प्रेम गर्छन्।

भन्छन्, ‘धेरै प्रकारका कलाहरू छन्। जस्तै नाट्यकला, हस्तकला, गायनकला, लेखन कला, नृत्यकला अनि चित्रकला। मेरो विचारमा ‘भावना’-द्वारा नै कलाको जन्म हुन्छ। बाल्यकालदेखि नै चित्रकलामा ढल्किएको कारणले चित्रकलामा नै विशेष रूचि राख्ने गर्दछु। भनिन्छ, कलाले नै मानिसलाई ईश्‍वरसम्म पुऱ्याउँछ। यसै कारणले चित्रकारहरूले विशेष तथा देवी-देवताको चित्र बनाउने गर्दछन्। तर मेरो भाव प्रकृति तर्फ आकर्षित रहेकोले जीवन सम्बन्धित चित्रहरू बनाउने गर्दछु जस्तै-‘‘स्टील लाइफ’।

विशेष गरी ओइल पेन्ट, वाटर कलर, एक्रिलिक पेन्टिङ गर्नु रूचाउँछु अनि पेपर शिल्प-कारिगरीमा विशेष रूचि राख्दछु। मेरो चित्रकारिता अनि पेपर शिल्प-कारिगरीको रियल सुन्दरता देखेर, जब दर्शकवर्गले ‘वाह-वाह! र के राम्रो भन्छन्- त्यसक्षण मलाई भित्री खुशी अनि गर्व अनुभव हुने गर्छ, र सायद यही मेरो क्रिएटिविटीको चरमता हो।’’

चित्रकलामा वास्तविकतालाई संक्षेपण अनि पुनर्गठनद्वारा प्रभावपूर्ण, सङ्गठित अनि समतलबाट उभार गराउने भाव-प्रक्रियालाई नै कलामय स्पर्श मानिन्छ। जसको निर्जीवपनमा नीजिपन घोलेर चित्रकारले प्राण प्रतिष्ठा गरेको हुन्छ। यसरी, चित्रकारले निर्जीव रेखाहरूमा सजीव रङ भरेर आफ्नो असाधारण कल्पनाशक्तिद्वारा सूक्ष्म विशिष्टताले भरिएको रेखाचित्र जब तैयार हुन्छ, त्यसबेला दर्शकले चित्रकारको कलाशिल्प देख्ने बित्तिकै प्रभावशाली ढमा चमत्कृत बनेको हुन्छ।

यसै चित्रकलाको रूचिमा हुर्किंदै गरेको युवा चित्रकार सरोज तिरूवाको चित्रकारिताले २००९ मा हिमालयन आर्ट अकादमीमा सदस्यता ग्रहण गर्ने मौका पायो। त्यसपछि सरोजले भटाभट, SUMMER ART SHOW 2009 जीमखाना क्लब, DARTS 2009 हेडन हल दार्जीलिङ, DARTS 2011 क्यापिटल हल दार्जीलिङ,SUMMER ART SHOW 2011 गुडवील सेन्टर, दार्जीलिङ, MODART 2012 गुडवील सेन्टर दार्जीलिङ र SUMMER ART SHOW 2012  गोर्खा रङ्गमञ्च भवन; भानुभवन, दार्जीलिङ इत्यादिमा आफ्नो चित्रकारितालाई दर्शाउने अत्यन्त सुन्दर मौका पाए।

चित्रकारिताको क्षेत्रमा सरोज तिरूवा केन ड्रापरका Last Light; शैली स्ट्राण्डका, Egg Under Water; सोफिया ऐगहाजानियनका, Mirror Image; डानिया आर्मफिल्डका Campos Angelo, Venice मार्ग्रेट ग्लासका, Free Range;शान्ति थोमसका, sleeping women पल्वो पोकासोका, women seated at the window -बाट प्रभावित बनेको कुरा गर्छन्।

‘स्टील लाइफ’ पिक्चर तयार पार्दा, सरोजले ‘लोकल कलर’ अनि प्रकाश अनि प्रतिविम्ब बिचको डार्क, हल्का अनि रिच कलरको माझका सही अभिज्ञतामा विशेष ध्यान दिन्छन्। त्यसरी नै परिदृश्य पेन्टिङमा धेरमात्रामा स्कम्बल टेक्निकद्वारा जीवन्त रूप दिने प्रयास गर्छन्।

कतिपय परिदृश्य पेन्टिङमा ‘DRY WASH’, ‘EXPLORING TEXTURE’, ‘CHARCOAL’ अनि ‘PASTEL’  -को पनि बढ़ी प्रयोग गर्छन्। त्यसैले जीवन्त चित्रकार हुन्- सरोज तिरूवा।

चित्रकारिताको डिमाण्डमा नेपाली समाजमा ठूलो क्राइसिस छ। यहाँ चित्रकार वा चित्रकारिताको गम्भीरतालाई बुझ्ने दर्शक नै छैनन्। अब चित्रकारितालाई समाजतिर उन्मुख गराउने नयाँ बाटो चाहियो।

नत्र चित्रकार जन्मनु एउटा सुन्दर व गतिमान झिल्को जन्मिनु जस्तै मात्र बनेको छ। त्यो झिल्कोलाई व्यवस्थित गर्ने पुस्ता चाहियो।

नेपाली समाजमा साहित्यजस्तै, सङ्गीतजस्तो चित्रकलाको गम्भीरताबारे चर्चा नहोलान् त? सरोजहरू कति दिन क्नान्टिनका भित्ताहरूमा रम्ने होला? सरोजहरूलाई भित्ताबाट निकालेर मानिसको मनमा राख्ने काम कसले गर्लान्?

युवा चित्रकार सरोज तिरूवा अहिले दार्जीलिङ गुडवील सेन्टरमा चर्चित चित्रकार हेमु राई, ठेन्डुप लेप्चा अनि नरेन्द्र लामा जस्ता चित्रकारहरूसित मिलेर चित्रकलालाई सुन्दर भविष्य दिने बाटोमा लागिपरेका छन्, उनीहरूलाई हात दिने यदि कोही छन् भने त्यो तपाईँ नै हुनुहुन्छ प्रिय पाठक, तपाईँ जो सरोजलाई चिन्नुभयो।

सरोज अर्थात क्यान्टिनका भित्तामा अल्झिएका भ्यानगग।

अब सबैलाई सरोज चिनाउनुहोस्, त्यही त हो तपाईँको जिम्मेवारी।


सरोज तिरूवा

            Ph. No- 9002067183/7872099585

      Email ID- Sarojtirwa65@gmail.com।


सरोजका सिर्जना


  

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares