You are here

काव्यसंवाद-मा कृतिका दाहाल

संवाद »

कविताले पाठकलाई छोएको हुनुपर्छ


कृतिका दाहाल


कविता के हो? कविताको उत्पत्ति कहाँ हुन्छ? कविताको उत्पत्ति हुन्छ? कविता विचारदेखि कति टाढो छ? कविता कहाँ छ? विचार, भाषा, शैली, अभिव्यक्ति के कविता हो? कविता कसरी लेखिँदैछ? कविता लेखन हो? आदि प्रश्नहरूले कवितामाथि विचार गर्न आवश्यक भएको छ।
हामी नेपाली भाषीले त झनै, अनि ग्लोबली चियाउन आवशयक छ। संसार अहिले कविताको लहरमा कहाँ के गर्दै छ? मेरो व्यक्तिगत विचार अनुसार: कविता स्वतस्फूर्त हो। स्वतः बग्छ र बगिरहने प्रक्रिया हो।
कविता सबैको लागि हो। जुन दिन संसारले यो कुरा बुझ्छ, त्यो दिन साहित्य संसारभरिका ज्ञानानुशासनमध्ये एक नम्बरमा उभिनेछ। जीवन जिउने क्रममा अनुभव गरेका अभिव्यक्ति कविता हो। आचार्य विश्वनाथ अनुसार वाक्यं रसात्मक काव्यम् अर्थात व्यवहारिक, सामाजिक, राजनैतिक तथा संसारिक जीवनमा भोगिने नौ रसहरू जस्तै प्रेम, घृणा, रिस, आदि भावना व्यक्त हुन्छ भने त्यो काव्य अथवा कविता हो।
कविता, कसैले राम्रो भाषा शैलीले सजाएर लेख्छन भने कसैल मिठो भावना सजाएर त कसैले दुवै भाषा र भावना सजाएर लेख्छन्। कसैले प्रोज कविता पनि लेख्छन त कसैले भर्स कविता अनि छन्द शास्त्र त छँदै छ।
कविताले जत्ति खुशी लेखकलाई लेखिसकेर सुनाउनमा दिन्छ त्यत्ति खुशी पाठकलाई पढेर बुझ्नमा पनि दिन्छ। जसरी अक्सिजन चराचर जगतको लागि हो, त्यसरी कविता पनि पाठकसँगै कविको लागि पनि हो।
कविताको फर्म्याट जे भए पनि कविताले पाठकलाई छोएको हुनुपर्छ। कविताले क्रान्तिको काम गर्छ त कहिले प्रेरणाको, कविता धारिलो तलवार देखि कोमल गुलाफ पनि हुन्छ। हामी सम्पूण मानव जातिलाई जिउने उर्जाको श्रोत पनि बन्छ। कविता आफैमा एक मनन र चिन्तनको विषय पनि हो।
साहित्य समाजको दर्पण हो तर कविताले त समाज मात्र नभएर पुरै ब्रह्माण्ड नै समावेश गराउन सक्छ। भावनालाई शब्द मिले पुरै ब्रह्माण्डलाई कागजमा छर्न सक्ने क्षमता कवितासँग छ।


दार्जीलिङ बोलिरहेकी छु!

हो म
दार्जीलिङ बोलिरहेकी छु।

मलाई लुछेको
मलाई लुटेको
मलाई हेपेको, होच्चाएको कथा
यो बदनामीको कथा बोकेर उभिरहेकी छु

हो म
दार्जीलिङ बोलिरहेकी छु।

म चुपचाप बसें
तर मेरो लुछाचुँड भयो
तानातानी भयो!
मानहानी भयो

अब बस! धेरै भयो
यो नाटक / यो षड्यन्त्र
यो नेतावाद / यो गण्डागोल
धेरै मनमानी भयो।

हेर
मेरा बीर सन्तान
आमाको आन, मान, सम्मानमा
हिलो छेपेर सहस्र मैली बनाइसक्यो
हेर हाम्रो आँगनमा
माछा कुहेर गन्हाइसक्यो

मैले जन्माएको
सन्तान होस् तँ
उठ्
मेरो आँशु देखेको छस् भने उठ्
मेरा सन्तानका घाँटी रेटिएको
छाती घोंचिएको देखेको छस् भने उठ्

थाहा छ मलाई
धैरे भयो तैंले
सिरानीमुनि लुकाएको त्यो खुकुरी
ऐंठनको बाहनामा
र बिग्रिएको तेरो सपना

उठा त्यो खुकुरी!
छिना
सपना बिगार्नेहरूको गर्दनमा

चौरस्ता साक्षी छ, त्यो मालरोड साक्षी छ
कोमल प्रेमको बीज उम्रने तेरो मनसित
ज्वालामुखी फुटाउने शक्ति छ
तँसित
आगो, हुरी हावा, बतास पचाउने क्षमता छ!

त्यसैले उठ् अब
हे वीर उठ् उब!

इमिनेमको धुनमा झुम्न सक्ने तैंले!
देखाई दे दुनियाँलाई
नाङ्गो खुट्टा र नाङ्गो खुकुरी
नचाउने तेरो सिप कत्ति छ?

म हुङ्कार दिन्छु तँलाई हे वीर
म हुङकार दिन्छु
उठ् अब!
धैरे सुतिस तँ
धैरे सहें मैले।
चिन्हारी
जाति
अस्तित्व
बोली
भाषा
आमाको इज्जतमा दाग लाग्न न दे।

हो म दार्जीलिङ
हुङ्कार दिन्छु तँलाई
जल जलाइदे
सल्काइदे
बल बलाइदे
ननिभ्नेगरी
हो ननिभ्नेगरि
हावा, हुरि, बतास
वर्षा सबैलाई पचाइदे।

गोर्खाको इमान बँचाइदे
गोर्खाको सम्मान फर्काइदे।

 



बिचरी म,
आमालाई प्रश्न गरें
आमा म किन पर सरेको?

आमा मलाई किन अशुद्ध भनी कराएको?
आमा मैले छोएको पानी किन नचलेको?
मैले किन भाई र बाबालाई छुन नभएको?

आमा मलाई देवी भनी पुजेको होइन,
आज म नै मन्दिरबाट कसरी किन निकालिएको?
रातो चुरा, रातो सारी, रातो टिका
हजुरले नै लाइदिएर मलाई
देवी मानी पुजेको होइन?

आज म र मेरा राता रगतका भलहरू
कसरी अशुद्ध भए?
आमा भन्नु होस् न किन म पर सर्नु परेको
यसरी किन बस्नु परेको?

ठीक यही बेला
आमा भुटुनमा
साग हाल्दैछिन्
मेरा कलिला प्रश्नहरू त्यहीँ
सागसँगै गल्दै गइरहेछ
नूनले गलाउँदै लगिरहेको छ।

मेरा प्रश्नहरू हेर्दा हेर्दै कराहीमा
पाक्न थाले
र सबैले खान थाले।

म त्यसरी नै पर सरिरहेकी छु
म त्यसरी नै पर बसिरहेकी छु।

 


काटिएका हरफहरू

नथुन मलाई कारागारमा
नसिलाउ मेरो मुख
म मेरै भाषामा
म बोल्न चाहान्छु
आफैलाई खोल्न चाहान्छु।

तिम्रो हृदयको अथक
व्यथा हुँ म
त्यो खोल्न चाहान्छु

सत्य हो म
एकै आभासले
निस्केको भाव हुँ म,
म बोल्न चाहान्छु।

नटाक मलाई
जीवनको हरफ हुँ म
म तिम्रो
भावना हुँ कल्पना हुँ
नमेट मलाई
नकाट मलाई।

म बोल्न चाहान्छु
म खोल्न चाहान्छु
मनको त्यो गीत
सुनाउन चाहान्छु।

म पनि अरू हरफझैँ
रम्न चाहान्छु।

हो, मेरो शीर्षक छैन
तर
बाँच्न सक्छु म
शीर्षकविहिन

म अरूको ह्रदयलाई
छुन चाहान्छु
आफूलाई व्यक्त गर्न चाहान्छु।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares