You are here

भूमिकाः मनप्रसाद सुब्बाका प्रतिनिधि कविता

बद्लिँदो समयका साक्षी मनप्रसाद सुब्बा

महेश पौड्याल


“अब आजका पाठकसित हामी आजकै भाषामा बोल्छौँ ।”

सन्  २००८ मा प्रकाशित मनप्रसाद सुब्बा र रेमिका थापाको संयुक्त कवितासङ्ग्रह किनाराका आवाजहरूको भूमिकामा सुनियो यस्तो एउटा विद्रेही स्वर। केवल सात शब्दको यस वक्यले एकै प्रहारमा धेरै मान्यताहरूलाई प्रहार गरेको छ। पहिलो, यसले  उच्चआधुनिक परिष्कारवादी चिन्तनको पूर्ण अस्वीकृतिको घोषणा गर्दछ। ग्रिसेली सिद्धान्तकार हुँदै मिथ्यू आर्नोल्डको जमानासम्म, शताब्दियौँको समयभित्र विकसित कविताको उच्चभाष्य परम्परामाथि यो एक निर्मम प्रहार हो। दोस्रो, यसले अरस्तुकै पालादेखि बहसमा रहेको साहित्यको विषयमाथि नयाँ बहस सुरु गरेको छ।

सम्भ्रान्त र विशिष्टीकृतहरूको कित्ताबाट अपहृत भएर कविता अब आम मान्छेको यथार्थसम्म आउनुपर्छ भन्ने मान्यता यसले बोकेको छ। तेस्रो, यसले शास्त्रीयता र परम्पारगत क्लिष्टताबाट कवितलाई मुक्त गर्ने उद्घोष गरेको छ। चौथो, यसले कविताको पठन र निर्माणमा कविको एकाधिकारलाई समाप्त गरेर यसमा अब पाठकलाई ल्याएर स्थापित गरेका छ। र पाचौँ, आजका पाठकसँग आजको भाषा बोल्ने उद्घोषले कविताले अब सार्विकता, सर्वकालिकता र सर्वव्याप्तिका आदर्शवादी अभिप्रायबाट मुक्त हुँदै, “यहाँ र अहिले” को समसामयिकताको जगका उभिनुपर्ने कुरा स्वीकार गर्दछ। उनको आफ्नै स्वीकृति छ, “यहीँनेर (धरतीमै) अनि अहिले अर्थात् यस क्षणसित बढी सरोकार राख्छ आजको कविता” (किनाराका आवाजहरूको भूमिकामा)।

आनुधिकतावाद, विशेषगरी परिष्कारवादी चिन्तनको निकै ठुलो दबदबा रहेको बेलामा नेपाली कविताको मैदानमा देखापरेका मनप्रसाद सुब्बाले आफ्नो काव्यकर्मको लागि कति विद्रोही, कति क्रान्तिकारी र कति अपजसिलो बाटो अख्तियार गरेका रहेछन् भन्ने कुराको प्रमाण यही एक वाक्यले दिन्छ। लेखकको एकाधिकारबाट कवितालाई मुक्त गरी त्यसमाथि पाठकको सम्प्रभुता स्थापित गर्नु, त्यो बेला वा यो बेला, त्यति सजिलो विषय होइन हैन।

सन् १९७० को दशकमा दार्जीलिङ्को भूगोलबाट नेपाली कविताको मैदानमा प्रवेश गरेको एउटा वेगवान प्रतिभा मनप्रसाद सुब्बाको नाम आज करीब पाँच दशक पछाडि आइपुग्दा भारतेली नेपाली साहित्यको मात्र हैन, नेपाली भाषामा लेखिने सम्पूर्ण साहित्यको मानचित्रमा एउटा जाजल्यवान नक्षत्रको नाम बन्न पुगेको छ। आज नेपाली कवितामा मूल भँगालोको कुरा होस् वा आधुनिक भारतेली नेपाली साहित्यको कुरा, कुनै पनि समीक्षक, समालोचक वा साहित्यक इतिहासकार मनप्रसाद सुब्बा नामको त्यस काव्यिक भञ्ज्याङ्को बाटोलाई नाघेरा अगाडि बढ्न सक्दैन।

स्थानीयस्तरका विभिन्न पुरस्कार, सम्मान र विभूषणको बाटो हुँदै मनप्रसाद सुब्बाको कविता यात्रा सन् १९९८ सम्म आइपुग्दा भारतको अत्यन्त प्रतिष्ठित पुरस्कार “साहित्य अकादमी पुरस्कार” प्राप्तिसँगै एक अभेद्य उचाइमा उक्लिन पुग्यो, जहाँबाट हेर्दा क्रमशः उद्ध्र्वगामी उनको कविताकर्मको एक प्रमुख अभिष्टले अन्तर्राष्ट्रिय ध्यान पनि आकृष्ट गर्न सफल हुनपुग्यो। उनका अथक काव्यसाधनाका साक्षी हुन् उनका हालसम्म प्रकाशित कविताकृतिहरू बिब्ल्याँटो युगभित्र कार्टून मान्छेहरू (सन् (१९७९) बुख्याचाहरूको देशमा (१९८३), ऊष्मा (१९८७), आदिम बस्ती (१९९५), ऋतु क्यान्भासमा रेखाहरू (२००१), अक्षर अर्केष्ट्रा (२००४) किनाराका आवाजरू   (सहलेखन २००८) तथा भुइँभुट्टा शब्दहरू (२०१३)। साहित्य अकादमी पुरस्कारका अतिरिक्त दियालो पुरस्कार (१९७९), रत्नश्री स्वर्ण पदक (१९९३), असम नेपाली साहित्य सभा पुरस्कार (२०११) तथा अनेक सम्मानहरू प्राप्त गरिसकेका कवि मनप्रसाद सुब्बा नेपाली कविताको मूलप्रवाहमा एक वेगवान उपस्थिति हुन्।

कवि मनप्रसाद सुब्बाको सम्पूर्ण काव्यकारिता अपरम्परित तथा सतत् प्रयोगशील रहेको छ। त्यसैले, उनका कविता कुनै एक निश्चित स्थायी मूल्याङ्कन पद्धति, मापदण्ड वा टकसालीको दायरालाई तत्काल उच्छेदन गरिदिने प्रकृतिका छन्। यसै कारणले हुनुपर्छ, मनप्रसाद सुब्बालाई कुनै पनि समालोचकले अहिलेसम्म यो वाद वा त्यो वादमा सीमित गरेर गोलबन्द गर्न सकेका छैनन् । एक कविता सङ्ग्रहबाट अर्कोमा प्रवेश गर्दा हामी मनप्रसाद सुब्बालाई सधैँ नवीकृति भएको पाउँछौँ, र नवीन विषयप्रवेशका लागि उनले चयन गर्ने काव्यिक उपकरण पनि तुरन्तै

नयाँ बन्न पुगेको पाउँछौँ। यो संयोगमात्र होइन अपितु एक सचेत, सुनियोजित र सुविचारित रणनीतिको उपज हो। कारण, उनको स्वीकृति छ, “लेख्नेले एकैठाउँ स्थापित भइनबसेर आफूलाई समयको प्रत्येक बिहान नवीकृत गर्दै नलगे ऊ चाँडै पुरानिन्छ । उसको ग्रहणशीलता बोधो हुन्छ र पछिल्लो समयको परिवर्तित मूल्यलाई ऊ चिन्न नसक्ने हुन्छ” (कानारका आवाजहरूको “भूमिका” मा)। उनको १९८० तिरैको एउटा काव्यिक स्वीकारोक्ति उनको कविता यत्राको उपसंहार बन्न सक्छ, सायद :

अब मेरो आफ्नै गतिमा

यात्रा हिड्न मन पराइरहेको हुन्छु

मेरो यात्रालाई तर

पुराना बाटाहरू भत्किसकेको देख्छु

कतै देख्छजङ्गी झारहरूले बाटाहरू निलिसकेको

त्यसैले अब

यौटा नयाँ बाटो खन्नपर्ने आवश्यकताले

यौटा संकल्प बोल्छु                                                                                                                                      

( जन्मेको समय)

यस अर्थमा मूल्याङ्न गर्न, वर्गीकृत गर्न, कविताको इतिहासमा विषयगत हिसाबले सूचीकृत गर्न, कुनै एक युगको कुनै एक प्रवाहमा अभिलिखित गर्न, वा पूर्णतामा बुझ्न चाहने जोकोहीका लागि मनप्रसाद सुब्बा एक जटिल कवि हुन्, अथवा भनौँ एक चुनौति हुन्।

यस जटिलताका तीन प्रमुख कारणहरू छन्। पहिलो, मनप्रसाद सुब्बा आफूले बाँचेको युगको सटिक वर्णन गर्न तल्लिन इमान्दार प्रवक्ता बर्बरिक होइनन्। युग जुन मोडमा उभिएको छ, त्यस भञ्ज्याङ्मा उभिएर आसन्न भविष्यको कल्पनामा बढी भेटिन्छन् मनप्रसाद सुब्बा। नेपाली कविताको मूल भँगालोले छुँदै नछोएको समयमा उनले अर्थको अपरिमेयता, आधुनिकतावादी केन्द्रभीरु विचारको पटाक्षेप र उत्तराधुनिक विचारको प्रादुर्भाव, तथा किनारका मान्छेहरूको उपादेयताको कुरा गरेर नेपाली कविताका पारखीहरूलाई मार्गदर्शन गरेका हुन्। यसका पछाडि नेपाली र भारतीय साहित्यको गरिहो ज्ञानसँगसँगै पाश्चात्य कविता, काव्यिक सिद्धान्त तथा समालोचनाको गहन अध्ययन र प्रचूर ज्ञान एक प्रमुख कारण हुनसक्छ। उनका कविताभरि छरिएका पाश्चात्य विम्ब, उद्धरण तथा सङ्केतहरू यस दावीका आधारहरू हुन्।

दोस्रो, उनले विभिन्न दशकमा कविता लेखेका हुन्, र प्रत्येक दशकमा नेपाली कविताको मूल भँगालो कुनै निश्चित विचार, सिद्धान्त र शैलीले बढी तरङ्गित रहँदै आएको पनि सत्य हो। तर, ती सबै दशकहरूमा कविताका अन्य शिल्पीहरू त्यस मूलप्रवाहसँग एकाकार हुँदै एकातिर बहँदा, मनप्रसाद एक ब्यतिरेकी प्रवाह अर्थात् एन्टिकरेन्ट बनिरहे, जसले त्यस मूलप्रवाहको मोहभन्दा पृथक र माथि, अर्कै एक निजात्मकतालाई अपनाए र अगि बढाए। त्यसैले नै हुनुपर्छ, अरुले स्वच्छन्दताका कविता लेखिरहँदा उनले भुइँमान्छेको दृष्टिविन्दुबाट वातावरणका कविता लेखे, अरुले लीलाका कुरा गरिहँदा उनले उत्तरआधुनिकताका गैर–शास्त्रीय र व्यवहारिक कुरा गरे, अरुले वैकल्पित आधुनिकताका कुरा गरिरहँदा उनले उत्तरआधुनिकताका कुरा गरे, र अरुले साझा संस्कृति र महाआख्यानका कुरा गरिरहँदा उनले लघुआख्यानका कुरा गरे।

अरु वैश्विक कुरामा अल्झिरहँदा मनप्रसाद सुब्बा स्थानिकतामा आफूलाई खोजिरहे, सार्विकताको बोलबाला भएको बेला निजात्मकतालाई उनले आफ्नो कवितालेखनको राजमार्ग बनाए। प्रवाहबाट हटेर बालुवामा हराउने खतारालाई स्वीकार गरेरै हिँडेका सुब्बाले प्रत्येक दशकमा आफ्नो बागी बाटोलाई नै मूलबाटो बनाई छोडे, जुन मूलबाटो भएर हिड्ने कविहरूको सङ्ख्या आज भारतेली नेपाली समाजमा अनगिन्ती छ। के उत्तराधुनकिता साझा आकर्षणको विषय बनेको छैन? के किनाराका कुरा गरेर आफूलाई पृथक बान्कीमा खोज्नेहरूको भिड छैन आज? के धेरैको कविता वैश्विक विषय र विम्बको अल्झाइबाट स्थानीय विषयतिर क्रमशः अन्तमुर्खि हुँदै आएको सत्य सत्य होइन? हामीले यी सब सब समकालिक शैलीको सिरानमा मनप्रसाद सुब्बालाई भेट्टाएकै हुनुपर्छ।

र त्यो तेस्रो कारण, जसले मनप्रसाद सुब्बलाई त्यो जटिल र चुनौतिपूर्ण कवि बनाएको छ, त्यो हो उनको सधैँ आफूलाई नवीकरण गरिरहने बानी। उनले वकालत गर्ने गरेको अत्तरआधुनिकताजस्तै छन् उनी आफैँ पनि — पत्येक स्थायी परिभाषालाई तत्काल समन गरिदिने, उच्छेदन गरिदिने, भञ्जन गरिदिने। मनप्रसाद सुब्बाले कहिल्यै पनि कुनै स्थापित सिद्धान्त वा वादको प्रवक्ताको काम गरेनन्, बरु  उनले आफूले बाँचिरहेको दशकभन्दा अगाडि आउनसक्ने समयको पूर्वानुमान गरे, र त्यसको प्रवक्ताको काम गरे। उनलाई सधैँ थाह भएको हुनुपर्छ कि भोग्न बाँकी र अनूभूत गर्न बाँकी एक अज्ञात समयका बारेको उनको भविष्यदृष्टिलाई तत्काल कुनै झुण्डको समर्थन हुँदैन।

त्यसैले उनी सुरुमा एक्लै हिँडे, वा औँलाका गन्न मिल्ने एक वा दुई हितैसीहरू वा परिधीय मित्रहरूको साथ लिएर हिँडे, जस्तो कि किनाराका आवाजहरू को सन्दर्भमा उनले गरे। हुन पनि हो, कविताले अझ टेक्न बाँकी भुगोलको कल्पना गर्ने जोकोहीले पनि सो कल्पना एक्लै गरेको छ, र त्यसको मार्गचित्र  एक्लै कोरेको छ। त्यो स्थापित वा स्वीकृत भयो भने त्यसको जस लिने धेरै आउँछन्, त्यसमाथि दावी गर्ने वा धावा बोल्ने धेरै हुन्छन्। ती पुरोधाहरू जो आफूलाई सुरुमा किनारामा खडा गर्छन् र आफ्ना तर्कको औचित्य र सान्दर्भिकताको बलले मूल प्रवाहलाई नै अफूले खडा गरेको किनारतिर सम्मोहित गर्छन्, वास्तवमा नयाँ पिढीलाई नयाँ बाटो देखाउने तिनै हुने गर्छन्। मनप्रसाद सुब्बा त्यस्तै किनाराहरूका आर्किटेक्ट हुन्, जसले बाटोमा छोडिहिँडेका प्रत्येक किनारहरू एक दशक बित्तानबित्तै मूलप्रवाह बन्न पुगेका छन्। अनि उनी भने एक दशक अगाडि पुगिरहेका हुन्छन्, जहाँ कुनै नयाँ युगचेतनाको भ्रुण जन्मको तयारीमा प्रतिरक्षारत बसेको हुन्छ।

मनप्रसाद सुब्बाका केही समयको अन्तरालमा प्रकाशित कविताका प्राक्कथनहरूमा उनले वा उनका भूमिकाकारले व्यक्त गरेका विचारहरूको क्रमिक अध्ययनले उनीभित्रको परिवर्तनशीलतालाई उजागर गर्दछ। उनको प्रथम प्रकाशित कृति बिब्ल्याउँटो युगका काटून मान्छेहरूको भूमिकामा समालोचक कुमार प्रधानले उनका कवितामा एक “विश्वजनीन र तत्वदार्शिक चेतनाले” उनलाई एक दीर्घजीवनको अधिकारी बनाएको ठहर गरेका छन् भने यी कविताका कवि सुब्बामा “मान्छेको सम्पूर्ण जीवन÷अस्तित्वको तात्विक प्रश्नसँगै आत्मसात हुने प्रविृत्ति” विद्यमान रहेको दावी गरेका छन्।

१९८७ मा प्रकाशित उष्मा कवितासङ्ग्रहमा मनप्रसाद सुब्बा आफ्नो काव्ययात्राको मार्गचित्रका बारेमा निकै स्पष्ट भएको देखिन्छ। उनको आमुखले उनलाई अपरम्परित काव्य यात्राको एक अथक साधक भएको घोषणा गरिदिन्छ, र उनलाई मूर्तिभञ्जनको एक घोषित पुरोधाको रुपमा खडा गरिदिन्छ। आमुखमा उनी लेख्छन्, “काव्यगत धारणा तथा मान्यताको कुरा गर्नु हो भने आजसम्म मैले आफ्ना कविताहरूलाई कुनै एक विशेष मान्यताको एउटा निश्चित साँचोमा ढाल्न जानेको छैन। मेरो कविको धर्मले त्यसो गर्न दिएको छैन । कविता लेख्नलाई कुनै सैद्धान्तिक साँध–सिमानाको बारमा अडेसिनु पर्ने जरुरत मैले कहिल्यै महसूस गरिनँ। यत्ति हो कि म जे लेख्छु, इमान्दारीपूर्वक लेख्छु।”

हुन त कविताको इतिहासभरि छरिएका सैद्धान्तिक तर्क–वितर्क र तिनीहरूको विश्वव्यापी प्रभाव मनप्रसाद सुब्बामा पनि परेकै देखिन्छ, तर पनि समानान्तर सैद्धान्तिक बहसका बीच उनी सधैँ आफूलाई कुनै एक स्पष्ट सिद्धान्तको पक्षमा उभ्याएर आफ्नो काव्यिक अभ्यास स्पष्ट रोडमेपका आधारमा अगाडि बढेको प्रमाणित गरेका कवि हुन्। अर्थात उनी एक दिग्भ्रमित वा भनौँ कन्फ्युज्ड कवि होइनन्। कन्फ्युज्ड कविता–कर्मको बारेमा केही विश्लेषण गर्नु जरुरी छ। पढेसुनेका वा नेताले भनेर अलिअलि बुझेका सिद्धान्त पछ्याउँदा नेपाली कवितामा धेरै यस्ता कन्फ्युज्ड कविहरू देखापरे, जसलाई अर्धमाक्र्सवादी, अर्धलीलावादी, अर्धप्रकृतिवादी, अर्धस्वच्छन्दतवादी, अर्धप्रजातन्त्रवादी, अर्धउत्तराधुनिकतावादी अदि धेरै नाम दिन सकिएला। यसले एउटा अनावश्यक बोझ नेपाली कवितामाथि थोपरेको छ, जसले नेपाली कविताको छरितो र स्पष्ट बाटेमा रोडाको काम गरेको छ। आफूले लेख्ने कविताको सैद्धान्तिक बाटोमा स्पष्टताको कमीले यस्तो दुर्घटना हुने गर्दछ। मनप्रसाद सुब्बा यस दोषबाट सर्वथा मुक्त छन्।

आधुनिकतावादको केन्द्राभिगामी सिद्धान्तमा अभ्यस्त नभएका धेरै नेपाली कविहरू आज पनि वैकल्पित आधुनिकता, अझ परिपक्व आनुनिकता वा स्थानीय शैलीको आधुनिकताको वकालतमा अल्झिरहेकै छन् र आफूले विरासतमा प्राप्त गरेको महाआख्यानपरस्त आधुनिकताकै वरिपरि घुमिरहेका छन्। उनीहरूले उत्तरसंरचनावाद र उत्तरआधुनिकतावादका केन्द्रत्यागी सिद्धान्तहरूलाई त्यति सहजै स्वीकार  गरेको देखिँदैन।

उत्तराधुनिकतालाई आंशिक रुपले स्वीकार गरेका केही कविहरू निजात्मकता र स्थानिकताको कलेवरमा बढी साम्प्रादायिक, विगतप्रति अतिशय असहिष्णु तथा केही समुदायप्रति आक्रामक हुन पुग्दा उत्तराधुनिकताले अङ्गीकार गरेको बहुलतावादी विचारमाथि नै ग्रहण लाग्न पुगेको सत्य पनि हामीले देखिरहेका छौँ।  यो कुनै आपत्तिको विषय त होइन र देश काल र परिस्थितिको सापेक्षतामा हेरिनुपर्दछ कुनै पनि वाद वा सिद्धान्तलाई। तर पनि, विश्वव्यापीकरणले एक बनाइरहेको बौद्धिक विश्वमा परिवर्तनको आवाजलाई उपेक्षित गर्नु वा त्यसलाई एक अतिवादको तहमा स्वीकार गर्नुले हामी बढी नै रुढ, यथास्थितिवादी वा असहिष्णु हुने, र त्यसै कारणले असान्दर्भिक हुने खतरा पनि मोलिरहेका हुन्छौँ । यो खतरा मोलिरहनेको सङ्ख्या पनि निकै ठुलो छ।

उदाहरणका लागि, अरस्तुकै पालादेखि मूलप्रवाहमा हावी रहँदै आएका सत्ताशीन, प्रभाववान र शक्तिसम्पन्नहरूकै विषयमा रुमल्लिँदै आएको साहित्य,कविता, नाटक होस् वा अन्य कुनै पनि विधाको साहित्य, मनप्रसाद सुब्बाजस्ता परिवर्तनकामी कविहरूको पहलमा एक्कासि किनाराका पात्रहरूको आवाजलाई लिएर उभिन खोज्दा धेरैलाई पाच्य भएको थिएन। तर, यी तमाम सन्दर्भमा पनि बलिया, तार्किक र समसामयिक सिद्धान्तहरूलाई तिनीहरूको प्रभावको स्थानीय सम्भावनाको आधारमा, तथा भारतेली नेपाली चिन्तनको सापेक्षतामा तिनीहरूको ग्राह्यताको सम्भावनाको आधारमा एक्लै भए पनि अङ्गीकार गर्दै आए कवि मनप्रसाद सुब्बा।

फलतः मनप्रसाद सुब्बाको सम्पूर्ण काव्यकारिता सुरुदेखि नै महाआख्यानविरोधी, तरल, बहुअर्थी, केन्द्रत्यागी तथा किनाराका पक्षमा उभिँदै अगाडि बढेको देखिन्छ। सँगसँगै, बढ्दो विश्वव्यापीकरण, पर्यावरणमाथि विकासको कहर, वातावरणको क्रमिक क्षयीकरण, आदिवासीहरूको पहिचानको मुद्दा, जङ्गलका वासीहरूको विकासको प्रश्न आदि तमाम सममासियक मुद्दाहरूमा पनि उनीभित्रको कवि अत्यन्तै सचेत रहेको पाइन्छ।  यी मुद्दा कतै न कतै अल्पसङ्ख्यक, किनारीकृत र कमजोर समुदायको राष्ट्रको मानचित्रमा मजबूत उपस्थिति सुनिश्चित गराउने दिशामा गरिएका प्राज्ञिक वकालतहरू थिए। त्यसै कारणले ती अलिअलि राजनैतिक विषय पनि थिए।

तर यसको अर्थ मनप्रसाद सुब्बाले गैरराजनैतिक विषयहरूलाई आफ्नो काव्यको क्यान्भासका रङ्ग बनाएनन् भन्नेचाहिँ होइन। मानवीय स्वभाव र सम्वेदनाका प्राय सबैजसो पक्षहरूलाई मनप्रसाद सुब्बाले कतै न कतै समाएका छन्। प्रकृतिचित्रणमै केन्द्रित उनले ऋतुक्यान्भासमा कविताहरू दिएर गएका छन्, जसको अर्थ हो, प्रकृति पनि उनको कविताको अभिन्न अङ्ग हो नै, तर स्वच्छन्दावादीहरूसँगको उनको विमत्ति यो हो, कि उनीहरूलेजस्तो उनको प्रकृतिचित्रण सपाट मानवेत्तर कल्पनाशीलतामा उभिएको हुँदैन; त्यो अनिवार्यतय कुनै न कुनै मानवीय विषयको जगमा उभिएको हुन्छ, जसको साधनमात्रको काम गरिरहेको हुन्छ प्रकृतिले। सुब्बाको यस विषयगत विविधताका बारेमा ईश्वरवल्लभको बुझाइ छ, “कहिले गहिरो स्नेह र मोह जीवनको, कहिलेकाहीँ तटस्थता र संबद्ध असंबद्ध यात्रामा कहिले चिन्तन र सोचले विशेष अनुभूति परिसरले छोएर अर्कै काव्य–व्योम बन्छ।

परम्परित विषयमा पनि अपरम्परित र प्रयोगशील कवितालेखन मनप्रसाद सुब्बाको एउटा ट्रेडमार्क हो। पुराना विषय — मान्छे, प्र्रेम, जन्म–मृत्यु, प्रकृति, भगवान, पाप—पुण्य होस् अथवा होस् ऋतुहरूको परिवर्तन, मनप्रसाद सुब्बाले परम्परित परिभाषाभन्दा आफूलाई पृथक राख्दै सदैव आफ्ना पूर्वजहरूका मार्गलाई संसोधन वा परिमार्जन गर्दै, मानवेत्तर विषयभित्र पनि मान्छेलाई स्थापित गर्दै मानवतावादी कविताको एउटा लामो श्रृङ्खला तयार गरेका छन्। मानव सम्वेदनाविहीन कविता मनप्रसादका कविताको बाटो होइन। कतिपयले तर्क गर्लान्, “फलेदोको रुख” जस्ता कविता विसुद्ध प्रकृतिकेन्द्री कविता हुन्, तर कविताका हरफहरू बीचबीचमा मान्छेको उपस्थिति नहुँदो हो त सायद उनी भन्दैनथे, “यस्तरी सबको सामु नाङ्गो उभिन सक्नु सायद सबभन्दा कठिन काम हो।” यो मानवीय समाजको मूल्यमा आधारित उपसंहार होइन र?

यसरी हेर्दा, मनप्रसाद सुब्बाको अपरम्परित वकालतमा मान्छे सर्वथा नयाँ अवस्था, भूमिका र शक्तिमा देखिएको कुरा सर्वस्वीकृत छ। हालसम्म प्रकाशित उनका कवितासङ्ग्रहको सिढीमा मान्छेको चित्रणको हामी एक क्रमिक श्रृङ्खला तयार गर्न सक्तछौँ, जसले उनको काव्यिक अभिष्टको एक प्रामाणिक वकपत्र तयार गरिदिन सक्तछ।  उनको पहिलो प्रकाशित कविताकृति बिब्ल्याँटो युगभित्र कार्टून मान्छेहरू (सन् १९७९) मा सङ्कलित कविताहरूमार्फत आफूले बाँचेको समयका विपर्यासहरूका बीच, आफ्ना सम्पूर्ण अपूर्णताका साथ बाँच्न संघर्षरत मान्छेको मनोविज्ञानलाई चिहाउन खोजेका छन् कविले। वर्तमान समयको आक्रान्तता र अनिश्चिता, घट्दो मानावीय मूल्य, वर्तमानमा रुमल्लिएको मान्छेको भविष्यअन्धता, सम्वेदना घटेर यान्त्रिकतातिर उन्मुख मान्छेको मनोदशा, बाहिर जति आकर्षक देखिए पनि भित्र अपूर्ण र खोक्रो रहने एष्ट्रेजस्तो आडम्बरी सभ्यता जसभित्र “अनुनय छैन, हुकुम पनि छैन, केही छैन, केवल प्रश्न छ, प्रश्न छ जवाफ पर्खिरहेको” (“ऐनाभित्रको त्यो अनुहार”)। तर पनि, केही स्वच्छन्दावादीहरूले जस्तो मानवीय यर्थाथलाई निषेध गरेर कल्पनाको आकासतिर  वा नदेखिएको÷नभोगिएको स्वर्गतिर भाग्ने पलायनवादी सोच होइन उनको। उनी, सम्पूर्ण विपर्यास र अपूर्णताका साथ मान्छे यसै धरतीमा बाँच्नुको विकल्प देख्दैन् :

सबै अर्थहीन भए के भो?

यहीँ अर्थहीनताकै अर्थ खोजौंला

हो, यो सभ्यताले साह्रै सतायो तिमीलाई

नराम्राहरू अब छाँटौंला नि

हो, बिगाऱ्यो सभ्यताले पृथ्वीलाई

सभ्यताले नै अब श्रृङ्गालौंला नि 

मैले  उसलाई यस्तरी रोक्न खोजको थिएँ

सन् १९८३ मा कवि सुब्बाको अर्को कविताकृति  बुख्याचाहरूको देशमा प्रकाशित भयो, जसको शीर्षकले नै यस कृतिलाई मान्छेको अपूर्णताको अभिलेखको रुपमा स्थापित गरिदियो। कृतिभरि उनले पुनः अपरम्परित शैलीमा मान्छे र सभ्यताको बीचका अनेकन खटपटहरूलाई कुनै शिल्पकारको कलेवरले नछोपिकन जस्ताको तस्तै लेखे। यस अर्थमा सुब्बा आफ्नो समयका कुरुप स्वीकारोक्तिहरूको प्रवक्ताका रुखमा देखा परेका छन्। उनले लुकाउनै पर्ने केही देखेनन्, आफ्नो युगमा गर्व गर्नु पर्ने पनि खासै देखेनन्, र यसको पनि आवश्यता देखेनन् कि उनको कलाकारिताले उनको समयको नाङ्गो छोपिदिनुपर्ने गुरुदायित्व उनीसँग छ। बरु उनले निर्वाद लेखे, उनको देश बुख्याचाहरूको देश हो, जहाँ प्रमको स्पर्श खोजिरहेको एक “दुखिरहने अन्धकार” छ,र “सन्त्रासयुक्त अनिश्चितता” छ, जहाँ “मात्र विभत्स विपनाहरू आँखाभरि निरन्तर झुण्डिरहन्छन्”। सम्भयताको खेत सुक्दै गएको समयमा मान्छे गोडोको प्रतीक्षामा बाँचिरहेछ, यो खोक्रो आशा लिएर कि हाम्रा आफ्नै कारणले दिनदिन  रुखो हुँदै गएको खेतमा उनीहरू कुनै दिन “जिजीविषाका दानाहरू उमे्रर फैलिएको हेर्न” पाउनेछन्। उनका लागि सम्पूर्ण संसार सिसिफसहरूले भरिएको एउटा गन्तव्यविहीन जहाज हो, जो गइरहेछ निरन्तर, र यसमा सवार “रङ्गहीन यात्रीहरूका मन समुद्रका लहरसितै उठ्ने—बस्ने अनन्त क्रममा अल्झिरहेकै छन्।” यस सङ्ग्रहभरि यस्तै अर्थहीन उकाली र ओरालीहरूमा निस्सार यात्रा गरिरहेको खण्डित मान्छेका कथा–व्यथा अभिलिखित छन्, जसको बिसौनी कविले टालटुल गरेर पनि जिन्दगीलाई ओढ्न तयार हुनुमा देखेका छन् । उनी लेख्छन् ः

  निस्सारताहरूको अस्वीकारबीच पनि

            यो जिन्दगीलाई

            फेरि एक पटक स्वीकार छ!

(“कन्ट्रयास्ट : एक गीत”

यसको अर्थ हो, विद्रुप वर्तमान र विभत्स यथार्थको बीच पनि मान्छेसँग बाँच्नुको विकल्प त छैन। त्यसैले, हाम्रा आँखाका अगाडि सर्वाङ्ग फैलिएका सम्पूर्ण विसङ्गत यर्थाथहरूका माझ पनि आशा र प्रेमका पालुवा सङ्कलित गर्नु मान्छेका लागि एकमात्र सञ्जीवनी हुनसक्छ भन्ने कविको ठहर छ, जसबाट उनको आशावादिता र मानव पक्षधरता स्पष्ट हुन्छन् ।उनी निस्सारतावादी वा शून्यवादी होइनन्। नत्र उनी भन्ने थिएनन् :

तिम्रो आँखाका ज्योतिपुञ्ज

कहिल्यै झुल्केका छैनन्

उघारेर  एकपल्ट तिम्रा बन्द ढोकाहरू

महासूर्य उदाउन देऊ

अनि त्यही सूर्यको सेतो घोडामा चढेर

यात्राहरू बढ्न देऊ !

(महासूर्य उदाउन देऊ)

१९८७ मा सुब्बाको अर्को कविताकृति ऊष्मा  प्रकाशमा आयो। कृतिमा धेरै नितान्त निजी कविताहरू छन्, जसबाट पाठकले कविताको निजी भावभूमिबाट उनको विश्वदृष्टि चिहाउन सक्तछन्। यस सङ्ग्रहको आमुखमा कविले आफू अर्थको  ठोसताको स्पष्ट विरोधमा रहेको उद्घोष गरेका छन्, जसबाट उनको उत्तरसंरचनावादी दृष्टिकोण पहलिोपल्ट स्पतष्टताका साथ अभिलिखित भएको छ। उनी भन्छन्,“कवितामा अर्थको ठोसता एवं बोद्धिकताको बुत्ता खोज्नेहरूका लागि मेरा यी निजी कविताहरू केवल कोरा प्रलाप मात्र पो होलान् कि?”

कविले आफैँ स्वीकार गरेका यी निजात्मक कविता विम्बमा बढी अभिव्यक्त भएका छन्। यिनीहरूमा पनि पुनः कवि मान्छे हुनुका सीमाहरूमा बढी केन्द्रित छन्। नितान्त निजी भनिएका भएपनि कवि मनप्रसाद सुब्बाको ट्रेडमार्क शैलीको सार्विकता, र वृहत् मानवीय यथार्थको रङ्ग यस सङ्ग्रहमा पनि जताततै छरिएको पाइन्छ। व्यक्तिगत पीडा र प्रेमका अभिव्यक्तिका बीच मान्छेको पहिचानको सैद्धान्ति तर अत्यन्त जटिल प्रश्न यस कवितासङ्ग्रहभित्र मुखरित भएर आएको छ। यसको पुष्टीका लागि पाठकहरूले “मेरो नाम : मेरो अनुहार” कवितालाई आधार मान्न सक्नेछन् । यसै गरी “यो कविताको एन्टिक्लाइमेक्स” भावगत निजात्मकताभन्दा धेरै नै माथि उठेको कविता हो, जसले हामीले बाँचेको सिङ्गो युगलाई नै ईजलाशमा खडा गरेको छ र निर्णय सुनाएको छ कि आज बाँचिरहेका हामीलाई पलपल कक्र्याइरहने, भित्र पसेर आफ्नै घरलाई भूत्याहा घरजस्तो बनाउने तथा हामीबाट हाम्रा विश्वासहरूको सदैव हरण गरिरहने त्यो हाम्रै सभ्यताको “एन्टिक्लाइमेक्स” हो।

सन् १९९५ मा मनप्रसाद सुब्बाको कविताकृति आदिम बस्ती प्रकाशित भयो, जसलाई १९९८ मा साहित्य अकादमी पुरस्कार प्राप्त भयो। यस उपलब्धिले मनप्रसाद सुब्बको लोकप्रियताले चुली छोयो। आफ्नो युगका बारेमा पूर्ण सचेत मनप्रसाद सुब्बा यस कवितासङ्गमा आइपुग्दा वर्तमान समयको विसङ्गतिहरूको एक सफल शैल्यचिकित्सकको रुपमा पनि सामु आए। अपूर्ण मान्छेको सीमाहरूभित्रको उसको निर्मिति यति सुन्दर ढङ्गबाट सायदै कसैले कुनै कृतिमा प्रस्तुत गरेको होला! कृतिले यो कुरा स्थापित गरेको छ कि मान्छेको सम्पूर्ण कल्पनाशीलता, क्रियाशीलता र सिर्जनशीलताको मूल ऊभित्र स्वभावतः विद्यमान त्यो अपूर्णता हो, जसले उसलाई सदैव केही न केही गरिरहन कुत्कुत्यइरहन्छ। मनोविज्ञहरूले भनेजस्तो “लेक थ्योरी” अर्थात् अपूर्णताको सिद्धान्तको धेरै नजिक छन् सुब्बाका यी तर्कहरू। चाहे त्यो यस कविताभित्रको लामो कविता “आदिम बस्ती” होस् वा “म आएँ÷आएको छु म”, “गङ्गा सम्झेर गङ्गाको किनारमा” अथवा भनौँ “रक्सी, रक्सी जिन्दगीको” जस्ता प्रनिनिधि कविता हुन्, सबैमा कविले मान्छेको त्यो पशुतत्व अर्थात् डायोनिसियन प्रवृत्तिको सम्यक  स्वीकृति दिएका छन्। यसो गरिरहँदा उनले यस प्रवृत्तिलाई निषेध गर्ने लामो छद्मनैतिक परम्परामाथि प्रहार पनि गरेका छन्। वास्तवमा, मान्छेभित्र नैसर्गिक रुपमा निहित पाशविकतालाई सिर्जनक्षमतामार्फत उत्पादक उर्जामा परिणत गर्नु नै मानव हुनुको सारभूत अभिष्ट हो भन्ने कुरालाई सशर्त निशर्त अस्वीकार गर्न सकिँदैन नै। यसै यथार्थलाई यस कृतिका कविताहरूले स्थापित गरेका छन्।

साहित्य अकादमी पुरस्कार विजेता यस कृतिको केन्द्रीय कविता पनि “आदिम बस्ती” शीर्षकको त्यही कविता हो, जसले मान्छेको सास्वत अपूर्णतालाई आफ्नो मूल कथ्य बनाएको छ। त्यसैले, यस कविताबारे यहाँनिर केही चर्चा गर्नु मनासिब हुनसक्छ। सभ्यतासँगै मान्छेको जीवनशैली फेरियो होला, तर मान्छेभित्र निहित आदिम अपूर्णता आजपर्यन्त अपूर्ण नै छ। अर्थात्, प्यालाहरू फेरिए होला, तर मान्छेको ऐतिहासिक तीर्खा आज पनि उत्तिकै व्यग्रताका साथ विद्यमान छ। सभ्यताका कलेवरहरूभित्र क्रमशः आफूलाई अभ्यस्त र परिमार्जित गर्दै हिँड्न खोजिरहेको मान्छे  तर त्यस आदिम अपूर्णतासँग कहिल्यै पनि मुक्त हुनसकेको भने देखिँदैन र त्यसको सम्भावना पनि देखिँदैन। यसरी हेर्दा, यस कविताले दावी गरेझैँ, मान्छे ती तमाम अपूर्णता, अनिश्चितता र अव्यक्तताको अप्रतिम विम्ब हो, र मान्छेको परिभाषा यस्तै अपूर्णताकै वरिवरि खोजिनु पर्दछ। प्रवृत्तिगत अपूर्णता, आस्थाका बन्धनहरू, पाशविकता, थिति र बेथितिको कहर आदिमा अल्झिएको मान्छे आज पनि यिनै उल्झनहरूका बीच आफ्नो सभ्यता र सिर्जना विकास गरिरहेको छ, यद्यपि, फेरि पनि ऊ निरर्थकताको शुष्क सतहमा बजार्रिन अभिषप्त छ। समय र स्थानको अविराम प्रवाहमा, त्यसैले मान्छे एउटै चक्रमा घुमिरहन श्रापित छ। त्यसैले कवि भन्छन्ः

बित्नुहरू भन्नु भोगाइहरू कहिल्यै नबिन्तु रहेछ

            नबितेर भइरहनु नै मानिसहरू भइरहनुको भ्रम

            यही क्रम मानिसमा हरदम बितिरहेका

            कहिल्यै नबित्ने त्यो अभिशप्त श्रम म। (आदिम बस्ती)

यस समयचक्रमा पुनारावृत्तिको भुँवरी भोगिरहेका मान्छे, त्यसैले “आफैँबाट तर्सिदैँ, कतै पस्रिँदै, कतै पर्सिंदै” बाँचिरहन्छ, “बाँधेर नग्नतालाई यस्तरी मान्छे आफैँभित्र” रहन्छ हरदम बाँधिएको। यी खण्डित बँचाइ अर्थात् कन्टिन्जेन्ट एक्जिस्टेन्सहरूमा मान्छे सधैँ त्रसित छ, दिशाहीन छ, र द्रवित छ :

त्रासद आवाजका बाजहरू

आइरहन्छन्, आक्रमण हानिँदै

कुरुक्षेत्रको अन्धा आकाशबाट

निर्ममतापूर्वक लुछ्नलाई

रियाजमा लीन साजहरूलाई।

                        (आदिम बस्ती)

समयको घेराभित्र बन्धित चेतनाले आक्रान्त मान्छे सदैव अफैँमा खण्डित–विखण्डित देख्छन्  कवि, र यसै विखण्डित अस्तित्वभित्र बन्धित मान्छेको यत्रा कहीँ, कतै पनि पुग्दैन, कहिल्यै पनि। वास्वतमा समयको प्रवाहको गतिभन्दा पनि मान्छेको प्रवृतिगत विकासको गति सधैँ सधैँ नै कुण्ठित छ, र त्यसै कुण्डित यथार्थभित्रबाट मान्छेले जिन्दगी टिप्नु परिरहेको छ। यसलाई सारमा यसरी बुझएका छन् कविलेः                                                                                                                                              

            यो गाउँ यो ठाउँ यस्तै नै हो जहिले पनि

            यहाँ धरापका कुराहरू कहिल्यै पनि टुङ्गिँदैनन्

            यहाँ सरापका कथाहरू कहिल्यै पनि सकिँदैनन्

            अनि रहस्यमय नाटकहरू खेलिइन कहिल्यै पनि छाडिँदैनन्।                                   

      (आदिम बस्ती)

अदिमबस्ती, र सँगसँगै कुनै पनि समयका मानवबस्तीको यी “टिठ्लाग्दा र मायालाग्दा” बासिन्दाहरू, यद्यपि जोखिम मोल्नबाट डराउँदैनन्, मारिने थाह हुँदा हुँदै पनि अभिमन्युलेजस्तो चक्रव्यूहमा पस्न डराउँदैनन्। यो जोखिम नै मानिसको सबैभन्दा सिर्जनशील जोखिम हो, जसले मानव सभ्यतालाई आफ्नो तमाम विपर्यासहरूका बावजूद आजपर्यन्त जीवित राखेको छ। यस्तै जोखिमले मान्छेलाई “निर्माणको एक अथक सिलसिला” बनाइदिएको छ। त्यसैले पूर्ण मान्छेको स्पर्श यी तमाम अपूर्णता र खण्डतासहित गरिनुपर्छ। हाम्रा आदर्शहरूले परिकल्पना गरेको पूर्ण संस्कारित, देवत्वकृत र स्निग्ध मान्छे फगत एक मिथ्या हो।

मनप्रसाद सुब्बाको कविताकारिको इतिहासमा आदिम बस्ती को प्रकाशनसँगै केही मानेमा नयाँ मोडहरू आएको देखिन्छ। यसअघि वैश्विक विषयको उठानमार्फत सर्वजनिन् र सर्वकालिन विषयलाई अङ्गीकार गर्दै आएका कविले यस सङ्ग्रहबाट स्थानिक र निजी विषयलाई पनि आफ्नो कविताको सार्विकताको गर्भभित्र अटाउन थालेको देखिन्छ। हुन त उष्मा कवितासङ्ग्रहका कविता “निजी” भएको उद्घोषसँगै उनले यस अघि नै यस परिवर्तनको सङ्केत गरेका थिए। तर आदिम वस्तीमा आइपुग्दा, बृहत् मानवीय यथार्थको सम्प्रेषण पनि बिल्कुनै निजी अनुभूति र स्थानीय विम्बमार्फत गर्न सकिन्छ भन्ने कुराको उनले पुष्टि गरिदिए। वास्तवमा, कुनै पनि सार्विक अनुभूतिको मार्ग निजात्मकताको बाटो काटेर अगाडि बढ्न सक्दैन। यस चेतनाले मनप्रसाद सुब्बाका आदिम बस्ती पछि प्रकाशित सम्पूर्ण कविताको व्याकरण नै बल्दिदिएको छ। आदिम बस्तीको प्रकाशनलाई नितान्त नयाँ मनप्रसादको पादुर्भावको घोषणापत्रको रुपमा लिन सकिन्छ, जसले उनलाई अब निजी, स्थानीय र किनाराका वस्तु वा अथार्थहरूको आत्मसातबाट सार्विकताको खोजीतिर उन्मुख एक उत्तराधुनिक र अपरम्परित खोजकर्ताको कोटीमा पुऱ्याइदिएको प्रतीत हुन्छ।

२००१ मा प्रकाशित ऋतु क्यान्भासमा रेखाहरू मा हामी यस कुराको साबिती भेट्न सक्तछौँ। समान्यतः ऋतुहरूका व्याख्या–विश्लेषणमा स्वच्छन्द कविहरू सिड्नी, सिम्प्सन, लेखनाथ वा सिद्धिचरणको चित्रात्मक हृदयविलासिता नै मूल प्रवृति भएको बेला मनप्रसाद सुब्बाले यस क्रमलाई भङ्ग गरिदिए, र ऋतुहरूलाई मान्छेको आँसु, हाँसो र पीडाको पर्दाको दायरामा ल्याएर खडा गरिदिए। यस कृतिमा दार्जीलिङ्को विद्रुपताको सापेक्षतामा तथा दार्जीलिङ्को वरिपरि बस्ने भुइँमान्छेको सपेक्षतामा ऋतुहरूका पृथक व्याख्यानमाला तयार गरिएको छ। सङ्ग्रहमा ग्रीष्मलाई गर्मीको डढाउँदो नात्सीवादसित युद्ध लडिरहेका प्राचीन तर अपरिचित लोन्नेमान्छे र स्वास्नीमान्छे, विपनाको बगरमा अव्यक्त पीडाको रोडा कुट्दै बस्ने सपनाका आमाहरू तथा पानीमात्र पिएर छाक टार्ने मान्छेहरूको आँखाबाट हेर्न खोजिएको छ। त्यसै गरी, वर्षाका विद्रुप विम्बहरूको नयाँ आख्यान छ, जसलाई कवि सुब्बाले सहरका केही गाढा घाउहरू फुटेर बाटोभरि धमिलो पीप पोखिरहेको दार्जीलिङ्, असहायपनको पहिरो झरेर जिउँदै पुरिएका मान्छे तथा प्रकृतिसँगको आदिम प्रेमका कारण एक नैसर्गिक रत्यात्मकतामा उन्मत्त किसाहरूका आँखाबाट हेरेका छन्। उनले यस्तै अपरम्परित र अफ–द–बीट दृष्टिविन्दु शरद्, हेमन्त र वसन्तको परिपे्रक्षमा पनि देखाएका छन्। नत्र, वसन्तको यस्तो विद्रुप व्याख्या ऋतुकविताको परम्पराका कहाँ पढ्न पाइन्थ्या?

      रामलाई फक्र्याइल्याउन गएको भरत

            खिएको खडाउ मात्र हातमा लिएर फर्केको

            कुनै उत्साहबिना फागुन बित्यो

            अब चैत पनि त्यस्सै बित्दैछ 

(वसन्त (?) आइपुगेको )

यसरी, ऋतुहरूलाई हेर्ने आँखालाई पलायनवादी स्वच्छन्दवादबाट विच्छेद गरेर मानवीय यर्थाथका आँगनमा ओलार्नु ऋतुकविताको अभ्यासमा एउटा क्रान्तिकारी पाइलो थियो, जसका कारण मनप्रसाद सुब्बाले नेपाली कविताको इतिहासमा सधैँ जस पाइरहनु पर्दछ।

यो सूक्ष्मदृष्टि र अन्तर्मुखी प्रयोगवादमार्फत सर्वजनिन यर्थाथको अभिव्यक्ति अक्षर अर्केष्ट्र (२००४) मा पनि जारी नै रह्यो। ईश्वरत्व तथा मृत्युचिन्तनको दार्शनिक प्रस्थानविन्दुबाट उठान गरिएको यस सङ्ग्रहले मान्छेमा व्याप्त आडम्बर, प्रकृतिको सास्वसता, बढ्दो सहरीकरण र घट्दो मानवीयता, मातृप्रेम र माटोको मायाजस्ता विविध पक्षहरूलाई पनि समेटेको छ, जसमार्फत मनप्रसाद सुब्बाले पाठकलाई यसपछि आउने उनका कवितसङ्ग्रहका सम्भावित विषयवस्तुहरूको पूर्वसङ्केत गराएका छन्। यसै सङ्ग्रहमा व्यक्त गरेका अक्षर–उत्कण्ठा, प्रकृति र विज्ञानको घर्षण तथा माटोको कुरा यसपछि लेखिएका कवितामा कसरी मनप्रसाद सुब्बको कलमको केन्द्रीय कथ्य बन्न पुगे, त्यो उनका पाठककलाई राम्रै गरी थाह छ।

रेमिका थापासँगको सहलेखनमा किनारका आवाजहरू भुइँमान्छेप्रति मनप्रसाद सुब्बाले अघिदेखि नै प्रस्तुत गर्दै आएका धारणाहरूको एकीकृति र परिपक्व रुप हो। यस कृतिको दार्जीलिङ् र त्यस छेउछाउको कविता लेखनमा दूरगामी प्रभाव परेकोले पनि कृति निकै नै विशिष्ट बन्न पुगेको छ। सर्बाल्टन अर्थात् राज्यको दृष्टिबाट टाढा रहेका र मूलधारको प्रवाहले नछोएका भुइँमान्छेको पक्षमा यसअघि यस भेगका कविहरू यति जोडतोडले लागेको देखिएको थिएन। यस सङ्ग्रहका कविताहरूले मनप्रसाद सुब्बा पूर्णतः उत्तरवर्ती विमर्शका पक्षधर भएको कुरालाई पुष्टि गरिदिएको छ।

किनारका आवजहरूलाई फगत  एक अर्को कविता–सङ्ग्रह मात्र मन्न मिल्दैन। यो एक घोषणापत्र पनि हो, जसले विश्वभरि चलिरहेको सबाल्टर्न आन्दोलनलाई नेपाली कविताको मूलधारको तर्फबाट अनुमोदन गरेको छ। यसले राष्ट्रिय मानचित्रमा अदृश्य मान्छेहरूको आवाजको गाम्भीर्यतलाई स्वीकार गरेका छ र  अनेकौँ योगदान र बलिदान गरेर पनि इतिहासका पानाहरूमा नअटाएका भुइँमान्छेहरूको एक वैकल्पित इतिहास लेखिनुपर्छ भन्ने नवइतिहासवादी दृष्टिकोणलाई अङ्गीकार गरेका छ। कविलाई थाह छ, अनेकौँ हैकम्वादी सङ्कथनमार्फत किनारामा धकेलिएका आवाजहरूको पुर्नउत्खनन् हुन सक्तछ, जसका लागि यी किनारीकृति मान्छेहरूको कल्पनाशीलतालाई नै प्रशिक्षित गराउनु जरुरी छ, ताकि उनीहरूको सोच दीनहीनताभन्दा माथि उठोस् र उनीहरूले आफैँलाई चिनुन्।

तर, कवि लेखकहरूसँग सत्ताशक्ति हुँदैन। उनीहरूले यस कार्यका लागि प्रयोग गर्ने अस्त्र भनेको कलम हो, भाषा हो, रचना हो। यहीँनेर वहसको विषय बन्छ — के किनाराका मान्छेहरूको कल्पनाशीलताको प्रशिक्षण मानक, विम्बात्मक काव्यिक भाष्यमार्फत गर्न सकन्छ? वास्तवमै सकिँदैन। यस्ता धेरै अभ्यासहरू विगतमा यसै कारणले विफल भएका पनि छन्।  यसका लागि काव्यको वा साहित्यका कुनै पनि विधाको भाषा उनीहरूकै जीवनबाट टिप्नु अपरिहार्य हुनजान्छ। मनप्रसाद सुब्बाले किनारका आवाजहरूमा त्यही गरे। त्यसै कारणले पनि यस सङ्ग्रहको आमुख एक नयाँ काव्यसिद्धान्तको दस्तावेज पनि बन्न पुग्यो। उनीहरू लेख्छन् :

एउटा उपनिवेशबाट मुक्त भएपछि फेरि देशभित्रै उपनिवेशित बन्नु, किनारीकृति भई अश्रुत अदृश्य रहनु, चिनारीस्थापना नभएकोले परायीकृति हुनुजस्ता यथार्थको विद्रुपतालाई चित्रित गर्न अब भावुकताको भाषाले सक्तैन, आवेशको चित्कारले त्यसलाई बुझ्दैन, आँसुको थोपामा त्यो प्रतिविम्बित हुँदैन। त्यस किसिमको भाषाले  निकै लामो राज गरेको देखिन्छ। अझै पनि यसको छायाँ प्रतिध्वनिले छोडेको छैन। (किनाराका आवाजहरू  ३९)

त्यस छायाँ र प्रतिविम्बबाट कवितालाई मुक्त राख्न उपनिवेशकको भाषालाई पनि सर्वथा परित्याग गर्नु जरुरी हुन्छ, जसका लागि लोकभाष्यको प्रयोग एक विकल्प हो, एक विद्रोह हो। यस्तो लोकभाष्य, जनबोली र भुइँमान्छेको आवाज कुनै पनि मानक व्याकरणको परिधिभन्दा बाहिर रहने गर्दछ, जसलाई प्रयोगमा ल्याउनु एक विद्रोह नै हो। इतिहासभरि उदाहरण छन्, एक विशिष्ट काव्यपरम्पराको दबदबा रहिरहेको बेला यस्तो अभ्यास कति जोखिपूर्ण हुनसक्छ। मार्टिन लुथरले बाइबालको भाषा जर्मनेली लोक भाषामा अनुवाद गर्दा मुद्दा खेप्नुपरेको थियो। लोक बोली अर्थात “रस्टिक डिक्सन” अबको कविताको भाषा हुनपर्छ भन्दा वर्डस्वर्थले आफ्नै सहकर्मी कविहरूबाट आलोचित हुनुपरेको थियो, यद्यपि उनको भाषाप्रयोगको अभिष्ट अर्कै थियो। नेपाली कविताको सन्दर्भमा यस्तो जोखिम मोल्नुको अर्थ, कवितालाई आधुनिकताले हाँकिरहेको उच्च र विशिष्ट भाषालाई अस्वीकार्नु हो। अर्थात, यो अधुनिकताका कतिपय भाषिक मान्यतालाई नै अस्वीकार गर्नु हो। यसबारे कवि पूर्ण सचेत छन्। लेख्छन् :

भाव विचारलाई केन्द्रित गरेर सकेसम्म खँदिलो पार्ने आधुकितावादी भाषा झन्नै हैकमवादी जस्तो छ। मीथ, प्रतीक अनौठा विम्बहरूको आकर्षक पहिरनभित्रै खोज्नुपर्ने हुन्छ आधुनिक कविताको गूढ तत्व। विशिष्ट स्वभावको भएकोले आधुनिक कविता आम पाठकहरूबाट पन्सिँदै गयो। आम सरोकारको कुरा नै तर कलागत विशिष्टीकरणले त्यो आम हुन नसकेको वास्तविकतासित लामै समय बिताइसकेका छौँ। (किनारका आवाजहरू  ३९)

फलस्वरुप, यस सङ्ग्रहले अनौपचारिक, आकस्मिक र अनलङ्कारिक भाषालाई नै काव्यको भाषा स्वीकार गऱ्यो। कवितामा उनीहरूको मूल दृष्टिविन्दु भन्नु नै कविताको ग्राह्यता अर्थात् लक्षित वर्गसम्म उनीहरूको कुरा उनीहरूकै भाषामा पुग्नुपर्छ भन्ने अभिष्ट हो, जसमा किनारका आवाजहरू सफल भएको देखिन्छ।

अहिले पनि सञ्चारमाध्यम र पत्रपत्रिकामा देखा परिररहेका नवरचित कवितालाई एकछिन एकातिर थन्क्याउँने हो भने हालसम्म प्रकाशित मनप्रसाद सुब्बाका कविताकृतिहरूमा  सन् २०१३ मा काठमाडौँबाट प्रकाशित कृति भुइँभुट्टा शब्दहरू नै अन्तिम हो। यसै कारण पनि यो कृति सुब्बाको काव्यिक परिपक्वताको प्रमाणपत्र हो, र उनको काव्यकर्मका निचोडको अभिलेख हो। यो कृति त्यो ऐना पनि हो, जसमा करीब पाँच दशकको यात्रापछि आज यस मोडमा आइपुग्दा मनप्रसाद सुब्बाको काव्यिक अनुहारलाई हेर्न सकन्छि। उनले समयसमयमा व्यक्त गर्दै आएका अर्थका अस्थिरता, बहुअर्थी विश्लेषणको प्रधानता, मान्छे र प्रकृतिको अनुन्याश्रित सम्बन्ध, भुइँमान्छेको कुरा आदि विषयहरूको संश्लेषित सार यी कविताकृतिको मूल आसय हो । उनको यस कवितमा हामी मोटामोटी रुपमा  धरती र मान्छेको सम्बन्ध, सांस्कृति चेतना र किनारीकृतको आवाज, जीवनदर्शन तथा उत्तरआधुनिकता — यी चार विषयमा पोखिएको पाउँछौ। तर कविता जुन विन्दु वा विषयबाट उठान गरिएको भए पनि उनको बृहत्तर अभिष्ट एकै हो : धरतीलाई अझ बाँच्न लायक बनाउनु, मान्छे र प्रकृतिको अन्तक्रियमा सन्तुलन कायम गर्नु, मान्छेलाई मान्छेमाथि गरिने हिंसाबाट मुक्त गर्नु तथा एक समातामूलक समाजको निर्माण गर्नु जहाँ जो कोही पनि आफ्नो जीवनलाई पूर्ण स्वतन्त्रतामा बाँच्न सकास्।

मान्छे र धरतीको सम्बन्ध यस कविताकृतिभित्र मुखरित एक प्रमुख आवाजहरूमध्ये एक हो। धरतीका बारेमा श्रृङ्खलाबद्ध कविताहरू छन् सङ्ग्रहमा। उक्त कृतिबाट यस सङ्कलनका लागि छानिएका कविताले पनि पुष्टि गर्छन्, कि यी कविताको पहिलो प्रयोजन भनेकै मानव–धरती सम्बन्धलाई स्थापित शक्तिकेन्द्रहरूले निर्माण गरेका ज्ञानधारा र परिभाषाहरूलाई एक आम मानवको दृष्टिकोणबाट पुनर्परिभाषित र व्याख्यातित गर्नु हो। धरतीको नापतौल,  यसबारे गरिने प्राज्ञिक तर्कहरूभन्दा पृथक, कवि धरतीलाई खान नपाएको एउटा भोको वा दूधमुखे बालकका मृदु र सुक्ष्म अनुभूतिहरूबाट परिभाषित गर्छन्। यसको अर्थ हो, अनेकालेक सङ्कथनहरूको सृङ्खलाबद्ध परम्पराको आडमा व्याख्यातित “यथार्थ” संसारको एकमात्र शास्वत यथार्थ होइन, र दृष्टिविन्दुको परिवर्तनसँगै संसार फरक र नितान्त नौलो देखिनसक्छ भन्ने यथार्थतिर उनको यो प्रयोगशीलता केन्द्रित भएको भान हुँन्छ। उनी भन्छन् :

भनौँ भने यो धरती

एउटा भोकोले खान पाएको

एक थाल भातभन्दा गह्रौँ हुँदैन

…..

आँगालोमै नअटाउने बृहत् होइन यो

दूधमुखे नानीले चुसिरहेको

आमाको स्तनका मुन्टाभन्दा ठूलो पनि होइन यो

                        (धरती )

मनप्रसाद सुब्बाका लागि धरती एक रुपक अलङ्कार हो, जसलाई दुई वर्गले दुई प्रकारले परिभाषित गर्दछन्। सम्भ्रान्त र शक्तिशालीहरूका लागि धरती त्यो क्रीडास्थाल हो, जहाँ उनीहरूका बेलगाम आकांक्षाहरू अन्य सम्पूर्ण कुरालाई किल्चेर उडिरहेका हुन्छन्। आम जनताका लागि धरती जीवनको श्रोत हो। यी द्विचर भिवाजनका बीच मनप्रसाद धरतीको यस जीवनप्रदायक चरित्रलाई सामान्य मानिसहरूको दृष्टिविन्दुबाट पुनरपरिभाषित गर्छन्, यसरी :

धरतीको ओजन चैं कति ?

यो कुरा जान्नु भने

लत्रिएको टाउको थामिरहेको

कुनै हत्केलालाई हेरे हुन्छ। 

            (धरतीको नापजोख)

आज वातारवतणमा देखिएका अनेकानेका समस्याको जड यसप्रतिको भोगवादी दिृष्टिविन्दू हो। यस भोगवादी दृष्टिविन्दुका विरुद्ध, एक समतामूलक दृष्टिविन्दूको फेरि वकालत गर्नुपर्ने समय आएको छ, र त्यस नवीन प्रकृतिवादी दृष्टिविन्दूको वकालत धरतीको पूर्वीय गोलार्धले नै गर्न सक्छ  भन्ने मनप्रसाद सुब्बाको ठहर छ। यस मानवकेन्द्री सभ्यताका विरुद्ध, धरतीपुत्रहरू आफूलाई माटोमै समाहित गर्छन्, र माटोमै आफ्नो सम्पूर्ण जीवनको निजत्वलाई स्थापित गर्छन्ः

खेतका भर्गबाट जन्मेका खेतका सन्तानहरू

            खेतआमा बचाउन

            खेतअघिल्तिर उभिन्छन्। (खेतमाथि आक्रमण)

यसरी, मानव र प्रकृति, र विशेष गरी मानव र धरतीको सम्बन्धका आधारमा मानव सम्भताका आगामि आयामहरू निर्माण हुनुपर्छ भन्ने मनप्रसाद सुब्बाको धारणालाई उनको यस कृतिले सम्बोधन गरेको छ।

जीवनदर्शन र यसको गहिराइ मनप्रसाद सुब्बका लागि लोकप्रिय विषय हुँदै हो कविता लेखनको। तर उनको जीवनदर्शन आमरुपमा बुझिएको अध्यात्मवादभन्दा पृथक छ । उनी कुनै अमूर्त, कपोलकप्लित संसारको परिकल्पनाबाट जीवनको मार्ग र आयतन निर्धारित गरिनुपर्छ भन्ने पक्षमा देखिँदैनन्। बरु मानव जीवनको सम्पूर्ण आयतन यही पृथ्वी, माटो र जीवनप्रदायक पञ्चभूतकै सापेक्षतामा परिभाषित गरिनुपर्ने तर्क गर्छन्। यस अर्थमा उनी एक आदर्शवादी कवि होइनन्। बरु उनी एक प्रेग्मेटिक कवि हुन्। उनको सम्पूर्ण जीवनदर्शन पञ्चमहाभूतले कोरेको सीमाबाट एक सीमाहीन अस्तित्वतिरको महाप्रस्थानतिर परिलक्षित छ भन्ने कुराको शक्तिशाली प्रमाण उनको “मुक्त–उन्मुक्त मेरी आमा” शीर्षकको कविता हो । यस कवितमा आफ्नी आमा, माटो, पानी, प्रकाश, हावा, आकाश हुँदै, आकाशबाट पनि एक अमूर्त अस्तित्वमा परिणत भएको कुरालाई सुन्दर शैलीगत कौशलमार्फत प्रस्तुत गरिएको छ :

मेरी आमा फैलेर बनेको आकाश

            मैले आँ गर्दैपिच्छे पस्छ मुखभित्र

            अनि मेरो चेतनाको सिलिङ्सम्म टाँसिएर बस्छ

            भोको भाँडोको पर्खाइ भएर पनि बस्छ

            अनि सपनाहरूको क्षितिज उघार्दै फैलिरहन्छ

            मेरो सारा अस्तित्व नै आकाशमय बनाइराखेर

            मेरी आमा अब

            आकाशमै पनि नबाँधिने गरी मुक्त भइन्।

            (मुक्तउन्मुक्त मेरी आमा)

पञ्चभूतका अरु पनि आयामहरू छन्, जसको ओर्गानिक सम्बन्ध जीवनसँग छ नै। मनप्रसाद सुब्बाले यी पञ्चभूतका अन्य आयामहरूलाई पनि आफ्ना कविताका विषय बनाएका छन् र जीवनका कुनै पक्षको प्रतीकको रुपमा प्रयोग गरेका छन्।

यसै गरी उनको यस कृतिको अर्को सबल पक्ष भनेको उनको उत्तरआधुनिक चिन्तनको प्रतिविम्बन हो।  नेपाली कविताको सन्दर्भमा उत्तरआधुनिकलाई सैद्धान्तिक रुपमा स्वीकार गरेर यसका केही आधारभूत मान्यतालाई कवितामार्फत मुखरित गर्ने पहिलो पुस्ताकै कवि हुन् मनप्रसाद सुब्बा। उत्तरआधुनिकतालाई अन्धाधुन्द पूर्णतामै स्वीकार गर्नुभन्दा पनि उनले यसका केही तर्कसङ्गत मान्यतालाई आत्मसात गरेका छन्, तर उत्तरआधुनिक समयका केही विक्रृत मान्यताप्रति उनी असहमत पनि छन्। उनले स्वीकार गरेका र आत्मसात पनि गरेका दुई शक्तिशाली उत्तरआधुनिक मान्यता हुन् : कुनै पनि सङ्कथनको अन्तिम र एकमात्र अर्थ हुन सक्दैन र सन्दर्भसँगै त्यो फेर्रिइरहन्छ, र दोस्रो, शक्तिवालाहरूको कित्ताबाट इतिहास बहुलतातर्फ गइरहेको छ, जसमा स–साना समूहहरूको लघुइतिहास, बोली र यथार्थको पनि उपादेयता उत्तिकै शसक्त बनेर आएको छ।

जहाँसम्म सङ्कथनको प्रश्न छ, मनप्रसाद सुब्बा कुनै पनि सङ्कथनका आधारहरूलाई विनिर्माणको पद्धतिबाट फरक दृष्टिविन्दुसहित अध्ययन गरिँदा, परिवर्तित समय र सन्दर्भमा त्यसको अर्थका जडताबाट त्यो स्वयं मुक्त हुन जान्छ, र त्यसले नयाँ अर्थहरू ग्रहण गर्दै जान्छ भन्ने पक्षमा देखिन्छन्। यो विनिर्माणवादको एक आधारभूत मान्यता पनि हो। उनको बहुचर्चित कविता “मेरो शब्द” मा सुब्बाले यसलाई सुन्दर ढङ्गले यसरी सम्प्रेषित गरेका छन् :

एक पल्ट सोधेँ उसलाई

तँ किन यसरी बद्लिइरहन्छस् हँ, मेरो शब्द?

यसले ठाडै जवाफ दियो

अरे! तिमी चैँ किन बदलिन चाहँदैनौ?

के तिमीले आफूलाई कहिल्यै नबदलिने भगवान सम्झेको?

बद्लिरहनुमा आनन्द छ। बद्लिरहनुमा

गति अनि जीवन छ। बुझ्यौ? (मेरो शब्द)

कुनै पनि कवि लेखकले लेखिसकेपछि, लिपीमा देखापरेका अक्षरहरूले कविको हैकम स्वीकार्दैनन्, र कविकै निजी अनुभूतिलाई मात्रै प्रतिनिधित्व गरिरहँदैनन् भन्ने तर्क उत्तरआधुनिक तर्क हो। फ्रान्सेली दार्शनिक मेरिस ब्लेङ्कोले त यहाँसम्म भने, आलेख तयार भएपछि लेखकको मृत्यु हुन्छ। अर्थात्, आलेखले सधैँ लेखककै आग्रहको प्रतिनिधित्व गरिरहेको हुँदैन। यस मान्यतालाई मनप्रसाद सुब्बाले पनि स्वीकार गरेको पाइन्छ। यसमा पाठकहरूले याक्स डेरिडाको “मेटाफिजिक्स अफ प्रेसेन्स” सँग पनि जोडेर मनप्रसाद सुब्बलाई हेर्न सक्लान् :

 

यति भन्नलाई पनि

मैले शब्दहरूकै हात समात्नु पऱ्यो

अनि हेर

यति भनिसक्दा नसक्दै

मेरो हात झट्कारेर शब्दहरू मदेखि टाढिँदै गइसके

      (अक्षर, शब्द अनि संवेदना)

यसरी हेर्दा, कवि मनवप्रसाद सुब्बा लेख र कथ्यको एक विशाल आयतन भएका कविको रुपमा देखापर्छन्, जसलाई अत्याधुनिक समयका विशिष्ट प्राज्ञिक तर्क र मान्यताको पूरापुर जानकारी छ, र उनी आफूले लेख्ने भूगोलप्रति पूर्णतः सचेत र जिम्मेवार छन्। जीवनलाई केन्द्रबाट भन्दा पनि बढी सीमाबाट हेर्न रुचाउने कवि सुब्बाको सम्पूर्ण कवित्व छुटेका वा छुटाइएकाहरूबाट उठेर एक वैकल्पित र विभेदरहित संसारको निर्माणतर्फ लक्षित छ। क्रमशः विभेदकारी र हिंसक बन्दै गरेको मान्छेलाई उसका भूल र सीमबारे सूचित गर्दै उक्त विभेदकाररिता र हिंसक प्रवृतिबाट विमूख गराई एक समतामूलतक संसारतर्फ डो¥याउनु मनप्रसाद सुब्बाको कविताकारिताको प्रमुख अभष्टि हो भन्न सकिएला।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares