You are here

कवि वीरेन्द्र सुब्बासित संवाद

(यो अन्तर्वार्ता कृष्ण गिरी अनि डी.कुमार परियारले मई 12, 1973मा लिनुभएका हुन्, वीरेन्द्रलाई बुझ्न यसले केही सहयोग गर्नेछ भन्ने विश्वासमा दार्जीलिङका केही नेपाली साहित्यिक प्रतिभाहरू-नामक पुस्तकबाट साभार गरिएको हो-सम्पादक)


फिलिङ्ग्समा आयाम हुँदैन


लेखक एवं उनको कृति साहित्यका निम्ति कि समाजका निम्ति?

दर्शनको आधारमा प्रत्येक काम हुने हुनाले प्रश्न दर्शनसम्बन्धी छ। जीवनमा दर्शन भएकोले नै उक्त प्रश्नको सृष्टि हुन्छ औ आफूलाई कुनै कलाकार वा केहीको रूपमा प्रस्तुत गर्छ। दर्शनहीन साहित्य उपयोगी हुन्न, बसिबियाँलो मात्र हुन्छ। साहित्यिकले आधारभूत दर्शनलाई नियालेर लेख्नुपर्छ। दर्शनको छलफल साहित्यका निम्ति हुँदैन, मानवका निम्ति हुनुपर्छ, हुन्छ। तर त्यसमा नै सामाजिक विभिन्नता छ – मेरो तेरो इत्यादि। मेरोको अर्थमा नभएर समूहका निम्ति हो भने साहित्य हुन्छ, सङ्कीर्णता हुँदैन। लक्षण मिमांसित हुनपर्छ; प्रेम, श्रद्धा इत्यादि सब कुरामा साहित्यिकले जाँचेर भनेको हुन्छ। एकतिर बाझ्ने र प्रकाश गर्ने; प्रकाश मात्रले कार्य हुँदैन र उसले बाझेर भन्छ – कतिवटा पक्षलाई छाड़िदिन्छु जुन सङ्कीर्ण छ, शोभाहीन छ। लेखाइमा प्राण आउनुपर्छ। समाजको साहित्य याथार्थिक हुनुपर्छ, वास्तविक हुनुपर्छ। यथार्थको धर्ममा आड़ हुनुपर्छ; यथार्थ दुइवटा आत्मा (जिह्वा); एउटा आफ्नो प्रकाश र अर्को निरूपण वा आलोचना पनि हुनुपर्छ। आलोचनाको दुइ पक्ष हुन्छ-

(1)  Perennial Source-  स्वतःद्वारा कला सम्झेको हुन्छ (2). बसिबियाँलोको निम्ति।

  1. अप्रकाशित मूल (स्रोत) – जनगणीयले प्रकाशित हुन खोजिरहन्छ किनभने यो epidemic जस्तो हुन्छ र वितण्डावादी हुन्छ; अर्कोले थुत्न खोज्छ उसको कला किनभने यसले प्रकाश खोज्छ, समूह खोज्छ यसैले अन्यत्र फैलिन्छ।
  2. व्यक्तिगत हुन्छ र वितण्डावादी हुन्छ, अबजस इत्यादि ढङ्गहरू ल्याउँछ। व्यक्तिगत बुद्धिगम्य पनि हुँदैन र हानिकारक हुन्छ। अहिलेको वाद र ढङ्गहरू व्यक्तिगत आस्थाको देन हो। यो एक प्रकारको degradation हो (व्यक्तिपरक) – सामूहिक हुँदै गए पनि बुद्धिगम्य हुन्छ र सबैले प्राप्त गर्छन् र फैलिन्छ। व्यक्तिवादले आफूलाई चुड़ान्त मान्छ, आफूलाई स्तरीय मान्छ। समूहमा यो छैन, प्रयोजन पर्दैन। तर व्यक्तिले भनेको कुरा आफूले राम्रो भनेर प्रमाणित गर्नुपर्छ – समूह आफै important हुन्छ।

साहित्यिक रचनामा के विशेषता हुन्छ?

साहित्य रचना हुँदै हुँदैन र हुनुहुँदैन। कतिवटा रचनाले आफ्नो विवेक mould  गर्छन् दोहोऱ्याउँछन् – यस्तो, यस्तो हुन्छ कि त्यसको स्वयं विशेषता; साहित्यिक रचना – सौन्दर्यलाई मात्र लिएर कुरा गर्छ, पण्डित्याइँ देखाउँछ। भूइँ टेकेर भोक लाग्नुपर्छ, त्यसलाई आफ्नो जीवनसित नछुवाई हुँदैन र यस्तो हुँदा त्यो कुरा आफ्नो आउँछ – त्यसले हामीलाई किसिम किसिमले सताउँछ, प्रतिपादित गर्दा प्रदान गर्छ। त्यो प्रखरता हो त्यो त्यतिको जीवनको हिसाबले जीवनको हिसाब गर्छ। साहित्य शास्त्रत्व हो, शास्त्र पढ्नुपर्छ पहिले।

यथार्थ साहित्य जीवनत्व हो, शास्त्रत्व होइन। यसको साहित्यिक रचनासँग मत मिल्दैन। साहित्यिक रचनामा लावण्य मात्र हुन्छ तर याथार्थिक साहित्यमा पनि लावण्य छ सुहाउँदिलो र राम्रोपनका निम्ति होइन; यथार्थ साहित्यले कुण्डल लगाएर सुन्दरता बढ़ाएको हुन्छ। तर यथार्थ लावण्य जीवनरूपी हुन्छ – प्रचारवादी हुँदैन; प्राकृतिक हुन्छ; प्रवृत्ति अनुरूप हुन्छ – अर्को केवल सुन्दर हुन्छ। साहित्यिक रचना कहिल्यै मस्तिष्कीय हुँदैन हार्दिक हुन्छ। उदाहरण – कविताका निम्ति टाउकोले मात्र छोएर हुँदैन हृदयले छुनुपर्छ। आलोचनात्मक विचार सृष्टि हुँदैन केवल स्पर्शी हुन्छ भनेदेखि टाउकोमा आउनुपर्छ तर टाउकोबाट मनमा जाने हुँदैन – त्यहीँ सकिन्छ; शब्द त्यही हो भनाइचाहिँ आफूले बुझेको कुरो मात्र हुन्छ। उसले प्रशंसा गर्दैन उ stand हुन्छ, त्यही appreciation हो।

कुनै साहित्यमा आदिकवि वा लेखक हुनु कति आवश्यक छ?

भए पनि नभए पनि त्यति केही छैन, उ आफै हुन्छ। यसको त्यति प्रयोगिता छैन। तर नेपालीमा भन्नुपर्छ ‘को आदिकवि?’ भनेर, किनभने उनीहरूका बाटोको विषय लिएर, कसले के गऱ्यो इत्यादि। अर्थात् नेपाली साहित्य बुझ्न हामीले सर्वप्रथम भानुभक्तलाई चिन्न तथा बुझ्नपर्छ। नेपाली realist हुन् – यसैले हाम्रो साहित्यलाई अध्ययन गर्दा यो गाम्भीर्यता छ कि जसका निम्ति हामीले भानुभक्तलाई मान्नैपर्छ।

यो हाम्रो रगतको देन हो – र भानु हाम्रा सम्पदा हुन्। यसैले भानु आदिकवि हुन्। भानुले जति समाधान गरे त्यो एउटा modernist ले गर्नुपर्ने काम सम्हालेका छन्। यसर्थ भानु प्रमुख छन्। आधुनिक समलाई पनि भानु चाहिन्छ – भानुलाई जान्नुपर्छ। यसर्थ भानुभक्त आदिकवि हुन् भनेर पुष्टि गर्नु राम्रो हो – यसो गर्नुमा महात्म्य रहन्छ – यो आफ्नो देन हुन्छ।

प्रत्येकको आफ्नै परिपाटी हुन्छ – नेपाली बङ्गाली आदिको आआफ्नै सुस्केरा छ, परिपाटी छ, हिसाब छ – यो कलाको सूक्ष्म भेद हो। यसैकारण भनिन्छ-पश्चिमकोले पूर्वको गीत गाउन सक्दैन किनभने उ हामी हुन सक्तैन; किनकि हामीले झैँ बिसाउनुपर्ने ठाउँमा बिसाउन, लय हाल्नुपर्ने ठाउँमा लय हाल्न जान्दैनन् – पश्चिमकाहरूले।

पुनः हामीले पनि पश्चिमकाले झैँ ‘बेला’ (भायोलिन) बजाउन जान्दैनौँ जति नै कोशिश गरे तापनि। हामीले पनि उनीहरूकै पारामा केही गर्न सक्तैनौँ – यो आ-आफ्नो विशेषता हो। यस्तो हुनु भूमिगत हो, व्यक्तिगत होइन, यो राम्रो पनि हो। हाम्रो पारालाई कायम राख्नलाई भानु चाहिन्छ।

यसैले हामीलाई आदिकविको आवश्यक छ, पर्छ। आज हामी यहाँ अस्तित्ववादको तीरले पिरोलिएका छैनौँ तर अर्कै प्रकारले पिरोलिएका छौँ। हामीले साटेको अस्तित्व लिएर पिरोलिनु हुँदैन।

साहित्यमा प्रतीकवादको स्थान?

सूक्ष्म भेद ठिम्याएका छैनौँ, केवल पढ़ेर थोपर्दैछौँ। कृत्रिम उपायद्वारा हाम्रो साहित्यमा अस्तित्ववादको के आवश्यकता छ, यो हामीले विचार मात्र गरेको हो; अस्तित्ववादले हामीलाई वास्तविक रूपमा पिरोलेको छैन, हाम्रो आफ्नै हिसाबको अस्तित्व stock मा छ तर अस्तित्ववादको एक्कासी कुरा गर्न सुहाउँदैन, हामीलाई यस्तो किसिमको रोग लागेकै छैन।

प्रतीक यस्तो चीज हो जो मस्तिष्कीय वा सिद्धान्त मात्रमा प्रतीक आउँदैन।

साहित्य नै, कला नै प्रतीकात्मक हो। प्रतीकको आधारमा साहित्य सृजना हुन्छ र अहिले यो कुरो सृष्टि भएको छ। देखेको चीज नै प्रतीक हो – जुन राम्ररी चिनिनुपर्छ। जस्तै कथामा भङेराको स्थान; कारण – हामीले भङेरालाई देखेका छौँ। प्रतीक निश्वसित हुन्छ – यो अथाहमै प्रयोग हुन्छ, यसले आफ्नो साहित्य सृष्टि गराउँछ। अहिले चाहिँ जबरजस्ती Egypt को प्रतीक हाल्छौँ; यस्तो गर्नुहुँदैन – यो अनुकरण मात्र हो; यो थोपरिएको प्रतीक हो।

जसरी भङेरा आँगनमा आफै आउँछ त्यस्तै प्रकारले  साहित्यमा स्वयं प्रतीक स्वतः आइहाल्छ। साहित्यमा प्रतीक हुनैपर्छ – यसले गुणात्मक विशेषता बढ़ाउँछ। जस्तै भङेरा सिकुवामा देखाउनाले स्पष्टात्मक विशेषता हुन्छ – यस्तै कलकत्तामा काग; तर जबरजस्ती थोपर्नु भने हुँदैन।

नेपाली साहित्यिक रचनाको समालोचना पश्चिमको आड़मा गरिन्छ – तपाईँको विचार भन्नुहुन्थ्यो कि?

आजसम्म नेपाली साहित्यिक रचनाको समालोचना भएकै छैन। देवकोटाले लेखेको हामी बुझ्दैनौँ भने उनको सूत्र कहाँबाट आयो भन्न सक्तैनौँ। अहिले समालोचना बाह्य छ, तर समालोचकले कविको शब्दको गूढ़ पाउँदैन, पर्याप्त मूल्याङ्कन हुँदैन कृतिको यसले गर्दा। देवकोटाको कृतिलाई कति नबुझिने भन्छन् ‘उफर’ उफ्रको बदलामा किन प्रयोग गरे त्यो बताउनुपर्छ, तर समालोचक केवल अबगाल लगाउँछ उसलाई।

तर कविले भनिहालेपछि उसले ‘किन भन्यो’ त्यो खोज्नुपर्छ त्यस्ता कविले; त्यसको कारण छ, त्यो समीक्षकले जान्नुपर्छ तर जान्दैनन् र हुँदैन भन्छन्। अर्थात् समीक्षकले आफ्नो काम जान्दैनन् र समालोचना भएकै छैन। समालोचनाले राम्रो नराम्रो खुलाउनु होइन, उसको सृष्टिको स्रोत खोज्नुपर्छ। कवि स्रष्टा हो – त्यो स्रोत खोज्नुपर्छ।

समालोचकमा ईश्वर बराल, रामकृष्ण शर्मालाई समालोचकको रूपमा मान्न सक्छौँ। मैले माछा मारेकोमा उसले टीका गर्न सक्छ जसले मलाई बुझ्न सक्छ। यसर्थ उसका निम्ति माछा मार्ने नै हुनुपर्छ। टीका मात्र गर्ने, माछा मार्न नजान्नेले कसरी अरूको विषयमा भन्ने। ईश्वर बरालले कविता गर्न जान्दछन् – उनको टीका अलिक राम्रो हुन्छ, अनुकूल हुन्छन् किनभने उनले कविलाई बुझेका हुन्छ। माधवप्रसाद घिमिरे पहिलो श्रेणीका कवि हुन् (मैले देखेर, सुनेर आएको छु); उनको कविता अति राम्रो छ – आधुनिकताको सुख छ, शास्त्रीय छैन।

तर लेखनाथ शास्त्रीय छन्, एक थोक लेख्छन्, सार अर्को हुन्छ। साधारण कुरामा नै ज्ञान दिनसक्ने हुनुपर्छ – त्यसै पनि उनमा यो कमी छ, उनमा कविताको चरितार्थता छैन; भानुको कवितामा चरितार्थता छ-माटोको गन्ध छ।

कारण हामीले हामी भएर लेख्न सकेका छैनौँ उनले केही जानेका छन्। यसर्थ हामीलाई एकाअर्काका कविता भनेर आलोचना गर्छन्। यो त हामीमाथि थिचावट हो। उसले जानेर गरेको भूल हो – उसको पाण्डित्यको कारणले। आफूलाई नचिनी हाम्रा समालोचकहरू समालोचना गर्छन्। समालोचना शब्दमा आउनुपर्छ, भावमा आउनुपर्छ।

श्रोता हेर्नुपर्छ, लेखक हेर्नुपर्छ, भन्नुपर्छ, गल्ती देखाउनुपर्छ, सुन्नुपर्छ। एउटा राम्रो एउटा नराम्रो भन्नु होइन। किनभने समालोचनाको उपयोगिता हुन्छ, त्यसले श्रोतालाई सुझाव दिन्छ। सृष्टि त स्रष्टा गर्छ – वस्तु नियाल्न सिकाउनुपर्छ मुख हेर्नु हुँदैन।

समालोचना किन गरिन्छ? – सूक्ष्म विभेद बुझ्नलाई गरेको हो; ठाउँ पनि चिन्नुपर्छ, परिवेश चिन्नुपर्छ, वातावरण बुझ्नुपर्छ – स्थितिभित्र पस्नुपर्छ, पश्चिमको हिसाबले गर्नुभन्दा आफ्नो ancestry भुल्नुचाहिँ हुँदैन, भुल्यौँ भने केवल पश्चिमी हुन्छ – अस्वाभाविक हुन्छ।

समालोचना साहित्यको शोषक कि पोषक? साहित्यमा यथार्थवाद, आदर्शवाद र अस्तित्ववादको संयोजन हुनु कति आवश्यक छ?

पोषक।

यथार्थ जीवन चिन्नु; जीवनलाई मान्नु नै आदर्शता हो – आदर्शबिनाको साहित्य हुँदैन। यथार्थलाई नाङ्गो सम्झनु मूर्खता हो; यथार्थ राम्रो कुरा हो – सत्य हो – जीवन अनुरूप हो। यथार्थ मानिलिनेलाई आदर्श र अस्तित्वको आवश्यकता पर्दैन – यथार्थ नै साहित्य अस्तित्व हो; जीवन नै त अस्तित्व हो भने अस्तित्वको प्रश्नै किन? हाम्रो अस्तित्व राम्रो छ, बाँचेको छ – निःसहाय बनेका छैनौँ।

हाम्रो अस्तित्व छैन भन्ने सोच्नु हाम्रो काम छैन – यो सुहाउँदिलो छैन। आफ्नो स्थानमा आफै सुरक्षित छ। तर यस्तै मान्छेको अस्तित्वको जोगावटमा बाधा पर्छ। आफ्नो अस्तित्वको बारेमा हामी आफैले बुझ्नुपर्छ।

के मृत्यु जीवनको अन्तर नभएर पूर्णता हो?

नमर्नु पाए हुन्थ्यो जस्तो लाग्छ (यहाँ यथार्थ साधारण छ) बाँच्न चाहनेले जीवनलाई चाहेको हुन्छ – Self abuse हुँदैन।

आफ्ना कृतिहरूबारे तपाईँको मन्तव्य?

कसैले प्रशंसा गर्दा आफूलाई अर्कै भएँ कि जस्तो लाग्थ्यो तर आजकल म भिन्दै छु – मैले केही आफ्नो सम्झेको छैन। कविता गर्दा कुरा गर्छु र याद हुन्छ; झट्ट कोरी कोरी राम्रो राम्रो कुरा पाउँछु र कविता बनाइहाल्छु।

कविता गर्नुअघि एक प्रकारको सोच र भाव आउँछ र सोध्न, लेख्न मन लाग्छ र लेख्छु। तर नियमानुसार गर्दिनँ तर आफ्नो उद्देश्य बढ़ाउँछु – जीवनसँग यो मेल भएको हुन्छ। उपन्यास पनि यसरी नै कुनै राम्रो कुरो पाएर लेख्दा राम्रो हुन्छ होला भन्ने लाग्छ।

मेरा पाठक छन् कि छैनन् जान्दिनँ; म सहज रूपले आएको छैन – 45 वर्षको उमेरमा मात्र मेरो कविताको लेखा भएको छ। कारण यही होला – दुःख सुखको कुरा हुनुपर्छ – मलाई कसैकसैले मात्र मन पराउँछन्।

नेपालको क्रान्तिमा अलिक हात थियो – त्यहाँ मेरो विचारले केही मान्यता पाएको थियो। ‘म चुपचाप छैन’ – काठमाडौँमा Exhibition मा Prin. B.T. College – तपाईँलाई त मैले Darjeeling Cop. Hall जाँदा पस्नुभएको थियो अरे – पछि मलाई थाहा भयो – म पसेँ पनि, मलाई चोरको आशङ्का गरियो। दार्जीलिङको धेरै कुरोमा हात हुन्थ्यो। Govt. High School  मा पढ़्दा हात हुन्थ्यो – Strike  इत्यादिमा।

साहित्यमा सामूहिक Appeal गरेँ – प्रगतिशील नेपाली साहित्य परिषद् स्थापना गरियो। नेपाली शिक्षक श्री एम.एम. गुरुङ हुनुहुन्थ्यो। उक्त परिषदमा अगमसिंह गिरी, अच्छा राई ‘रसिक’ थिए – नामकरण रसिकबाट भएथ्यो। परिषद्लाई स्वयं नियन्त्रण गर्थेँ – नियमित रूपमा काम गर्थेँ – मुखले केही भन्दिनथेँ। कतिले आफै सिक्थे।

साहित्य दुई प्रकारको हुन्छ – सार्थक शब्दले साहित्य हुन्छ, मैले भनेको थिएँ तर सुकुल गुण्डा भनिमागियो; धेरै कुराहरू हुन्थ्यो – स्वस्थ विचार थियो। व्यक्ति पूजाको विरोध गरेँ। अगमको हृदय दुखेछ। मान्छे अगाड़ि आउन चाहने कारण छैन, आफै अगाड़ि हुन्छ।

कालेबुङ अच्छा राई, अगम, म को संस्था। अच्छाले………। अगमले त्यहीँदेखि पिउन थालेका हुन्। मर्नुअघि एकदिन वीरेन्द्रको छेउ आएर भने – ‘तपाईँको सामुन्ने म कविता गर्न सक्तिनँ – न सकेको थिएँ।’ – उनी गए। Painting संस्था पनि खोलेका थियौँ। दार्जीलिङको कुनै पनि सभादिमा मैले कविता सुनाउनुपर्ने हुन्थ्यो – सबले चुप भएर सुन्थे – त्यो appreciation हो तर पछि बुझिदैन भन्ने सुनेँ।

‘मेघमाला’ जस्तो 8 वटा थियो, छ हेरिरहन्थेँ। पछि रामकृष्णले सुनेछन् – त्यतिबेला नेपाली साहित्य सम्मेलन शुरू भएको थियो। चन्दाका निम्ति रामकृष्णकोमा जाँदा भनेछन्- ‘पहिले वीरेन्द्रको किताब छाप्नुपर्ने’ – त्यसले मेरो छापियो पनि; पहिले प्रश्न गरे तर निकै कठिन थियो; reply दिएपछि ‘मेघमाला’ फेरि फर्काइयो।

पछि व्यथितज्यूलाई सुनाएँ। एक बिहान उनले अगमको कविता पनि पढ़े। उनको स्वागत सभा पनि आयोजित गरियो; सभामा ‘कसलाई लाने काठमाडौँ’ मा घोषणा दिनुपर्ने थियो। अन्तमा उनले भने – मलाई लाने कुरामाथि फेरि अप्ठ्यारो पऱ्यो र जबरजस्ती जस्तो गरेँ। पैसा चाहियो – केशरशमशेरकोमा गएँ र छापेँ; कति लाग्यो हिसाब किताब मैले पाइनँ र पनि ‘मेघमाला’ निस्क्यो। धेरै झेलिएर यति ठाउँ आजसम्ममा बनाउन सकेको छु।

मन्यव्यः म जो गर्छु – निहुँ मात्र हो, भित्री हो अनुशीलनीय हुने चाहना; म कलाकार, सङ्गीतकार, चित्रकार भएर मात्र मलाई हुँदैन। कसैले भने – किताब किन चाहियो? Royalty भए हुन्छ भनेर कसैले भने; तर मैले भनेँ – मैले मेरो किताब गाउँ गाउँमा पुऱ्याउनुपर्छ। किताब प्रकाशनले मात्र मलाई सन्तुष्टि हुँदैन। मेरो दियाइ आफ्नो हिसाबको छ। उपन्यास लेख्दा वास्तविकता केही भन्न चाहेको छु – थोपरेको छैन।

 नेपाली साहित्यमा आयामिक परम्परा छ कि छैन?

आयाममा परम्परा छैन – यो अस्वाभाविक छ। आयामको कुरा गर्दा घनत्वको कुरा हुन्छ। नदेखेकालाई पनि देखाउँछन् – (पिक्कासो) यो (आयाम!) पेन्टिङमा ठिक हुन्छ – ज्यामितिमा ठिक छ तर साहित्यिकबाट यो अर्थ किन? यो आयाम होइन, यो feeling हो – feeling कसरी सर्वाङ्गीण रूपमा व्याख्या गर्नु हो। आयाम तारहरू हो; जब सबै तारलाई संयोजित गर्न सकिँदैन – उनीहरू सबै तारलाई प्रयोग गर्न चाहन्छन्। सबै तार छुनलाई समाजको व्यवहार बुझ्नुपर्छ; व्यवहार र बुझाइलाई जाँच्नुपर्छ। जो पीर हुन्छ त्यो व्यक्तिगत हुँदैन भए कसैले कसैको पीर बुझ्दैन; यसर्थ ती तारहरू व्यक्तिगत हुँदैनन् तर Class सम्म हुन्छ; जस्तै –  Students, Labour.

कविता लेख्नु रुनु हो तर चाहेर रुन सकिँदैन; रुवाइ एउटा देख्ने हुन्छ र अर्को नदेख्ने। साहित्यिक रुवाइ सामूहिक हो; किनभने उ जान्दछ, जुन भाव उसमा छ- सबैले बुझिदिन्छन्। सबैको तार एकै छ र एकैप्रकारको झट्काले झड़्कन्छ। सात तारका निम्ति आयाम पुग्नुपर्दैन, तर प्रत्येक व्यथा-तार, सामूहिक हो भन्ने लिन सक्नुपर्छ। आयाम सामूहिक भन्दैन, व्यक्ति-परकको कुरा गर्छ। यसो हो भने दोटा तार पनि छुन सक्तैनन् यिनीहरू।

इन्द्र राई एउटाले गीत गायो – सर्विसको मान्छे। ‘सुन्ने भन्यो- तिमीले किन गीत गायौ भनेर। अर्थात् इन्द्र अन्यको मतलाई मान्दैन; उ आफ्नो चुनाउमा मात्र वस्तु लिन्छ (फेमस हुने कुरा मात्र हो) – केही छैन निचोड़। Feeling मा आयाम हुँदैन।

स्व. अगमसिंह गिरीको नेपाली साहित्यमा देन?

समालोचना कृतिमाथि हुनुपर्छ; अनुशीलनीयता छ साहित्यमा। विकास क्रमशः हुनुपर्छ – पीर मर्का त्यसभित्र मलिन भएर आउनुपर्छ। भनाइ र गहिराइको समन्वय हुनुपर्छ। उ एउटा जुगुत्साह हो; प्रेमको रूपको उचित प्रयोग नहुँदा अर्को रूप लिन्छ। गिरीमा केवल कृत्रिम क्षोभ छ – यसैको आधारमा कविता गर्थे। अगमको स्थिति राम्रो छैन – जहाँ क्षोभ पलाउँछ help गर्छु भन्छ तर Monster जस्तो छ। उनको क्षोभ बेकारण छ। उनको age अनुसार भए उनमा त्यसरी क्षोभ नहुनुपर्ने तर प्रखरता हुनुपर्ने – उत्साहपूर्ण छन् गिरी; तर हुनुपर्ने यौवनिक प्रखरता छैन अनुशीलन छैन। Union Jack – यसै विकृतिको देन रूपनारायण पनि हो।

 तपाईँको चित्रकार बन्नुको उद्देश्य? कहाँ, कसबाट प्रेरणा पाउनुभो?

जब म जान्दिनँ, प्रयोजन जान्दिनँ, प्रेरणाको प्रयोजन पर्दैन। प्रेरणाको रूपमा थोपर्ने कुरा गरिएको छैन। त्यहाँ सब मेरो आफ्नो छ, मैले बुझेको कुरा छ। प्रेरणा सबैबाट पाएँ वा जो देखेँ त्यहीबाट केही लिन चाहेँ – म चोर हुँ। जस्तै – दुई दम्पति कलाकार गाउन दार्जीलिङ आएका थिए; तिनीहरूले गाए – कलाकारले राम्ररी सुने सबै वहाँले चोरे यहाँसम्म कि श्वाससम्म पनि चोरे। बिहान उनले सबै गाउँदै रहेछन् – दुई तीनजनाले सुनेर छक्क परेछन् तर वीरेन्द्रलाई थाहा भएन। लेखक संवेदनशील हुनुपर्छ; आत्मासित पनि लीन हुन सक्नुपर्छ – जीवनको सम्पर्कबाट।

चित्रकारीको उद्देश्य छैन – न मान्छेसँग सम्बन्धित छ। कसैले कविता लेख्न लगाए त्यहाँ कविताको प्रभाव कहिल्यै होला।

 चित्रमा अनुशीलन र यथार्थवादको कत्तिको प्रयोजन छ?

अनुशीलन साधन होइन, आत्मा सूक्ष्म हो, अनुशीलन पार्नुपर्छ हृदयलाई। जस्तै मुनाको वृद्धिको अध्ययनमा बाह्य र आन्तरिक अनुशीलन छ – वास्तविकतालाई महत्त्व दिनुपर्छ। अनुशीलन प्रत्येक कुरामा हुनुपर्छ। यथार्थबिना कला हुँदैन, स्थानीय हुनुपर्छ, स्थितिगत हुनुपर्छ; जस्तो हुनुपर्छ यसैले।

कलामा प्रतीकवाद, बिम्बवाद र व्यक्तिवादतिर अग्रसरता?

कला नै प्रतीक हो। विम्ब हुन्छ नै यो केवल व्याख्याको साधन हो। कलामा विम्बवाद, प्रतीकवाद व्यक्तिवाद हुनैपर्छ। कलाकारले कुनै सुन्दर चरित्रको बाहिरी रूपलाई बनाउँछ अनि बिस्तारै बिस्तारै सम्पूर्ण सत्य कुरालाई खिँच्छ। भित्री कला डरलाग्दो हुन्छ।

 हिजोआज कलाको विभाजन कसरी गर्न सकिन्छ?

कला दुई प्रकारको हुन्छ – 1. बाहिरी रूप बुझ्ने 2. भित्री अर्थ बुझ्ने। बाह्य रूप रूख फलफूल, मान्छे इत्यादि। तर एकदिन कलाकारले देख्छ – रूख ढल्किएको छ – गाँठो परेको छ – त्यो देख्छ, र कारण बुझ्छ र त्यो पनि बनाउँछ। पहाड़को बीचमा सानो घर कस्तो हुँदोरैछ – त्यो बुझ्छ र त्यसको रूप खिच्छ। यसर्थ उ सत्यतिर प्रगति गर्छ, उ रिसाउँछ – किनभने सत्य राम्रो छैन। उसमा dissatisfaction आउँछ र (आन्तरिक) क्षोभ लिएर भयानक हुन्छ (आफ्नो कुरा भनिदिएको हुन्छ) – उसले आफ्नो सत्य खोज गर्छ र टाढ़ा जान्छ। उ फेरि आउँछ र विकृत रूपलाई नै लिन्छ तर उसलाई थाहा हुन्छ – यसमा अनुशीलन र मान्छेको रूप घटाउन थाल्छ। जति हेर्दै जान्छ उति त्यसले हेर्नेलाई दुःख दिन्छ। अन्तमा एउटा काठको रूप लिन्छ। ( तर यसमा धेरै धेरै gap छ)

कला अखण्ड ज्ञान हो?

चित्रकला अखण्ड ज्ञान हो – यसको आफ्नै क्षेत्र छ; आँखाले हेरेर मात्र कुरा गर्छ चित्रकारले। उसले form र colour लाई बुझ्छ। उमेरको हुँदैन। उ तब कलाकार भएको हुन्छ। चित्रकला निचोड़िया र आधारभूत कला हो – यो पछिसम्म छ। कविता पछिबाट आउँदैन। हाम्रो बाहिरदेखि भित्रसम्म चित्रले छाड़्दैन। प्रकृतिसँग पनि सम्बन्धित पार्छ। तर अरूले पार्दैन। साहित्य शास्त्रीय हुन्छ – केही तर trained गर्दैन; चित्रले मात्र गर्छ यसर्थ अखण्ड हो।

शब्दले प्रष्ट्याउन नसकेको भाव चित्रले प्रष्ट्याउन सक्ला?

चित्रले शिशु हृदयसम्म छुनसक्छ – चित्रकलाले शुरूदेखि अन्तसम्म डोऱ्याउँछ। यसैले शब्दले प्रष्ट्याउन नसकेको भाव चित्रले प्रष्ट्याउन सक्छ।

 चित्रमा आकार र रङ प्रयोगको अर्थ?

चित्रमा आकार र रङको अर्थ पूर्ण छ। रङको आफ्नै अर्थ छैन किनभने रङ एकैप्रकारको मात्र हुँदैन; रेखासँग मात्र उच्छवास आउँछ। रङले व्यवहार ल्याए पनि रेखा महत्त्वशील छ (बाङ्देलमा उच्छवास छैन, केवल रङ छ) यसैले यथार्थ ल्याउनु हो भने थोपा थोपा हुनुपर्छ – थोपासँग रङ हुन्छ।

 Modern Art  र Abstract Art मा के भिन्नता र विशेषता छ?

Abstract छैन – किनभने यो रूपबिनाको हो तर रूपबिनाको कुनै चीज हुँदैन – चित्र कहिल्यै रूप बिनाको हुँदैन यसैले त्यो abstract ठहर्दैन।

Modern एउटा गल्ती भनाइ हो (तेञ्जिङले मात्र हिमाल चढ़ेन एक्लै) एउटा Painting मा सम्पूर्ण विकास र अनुभवको समिश्रण हुन्छ।

चित्रकलामा आयामिकता छ या छैन?

चित्रकलामा आयामिकता छ र हुन्छ पनि। पिकास्सो आदिले यो प्रस्ट गरेका छन्। कल्पना गरेर बनाएको चित्रमा आयामिकता हुँदैन।

चित्रकलामा दृष्टि र सोचाइको समन्वय हुन्छ कि हुँदैन?

दृष्टि साधारण हुँदैन। प्लान गरेर गरिँदैन प्लान भएको कला होइन नै। तर विशेषमा हुन्छ पनि। सोचाइको क्रममा ज्यादा थोपराइ हुन्छ। म मेरो ‘सोचाइ’ हुँ, जे गर्छु – मेरोपनले बोलेको हुँ – यहीभित्र सोचाइ हुन्छ। Philosophical र सैद्धान्तिक Painting हुँदैन – यस्तो कला होइन कारण हाम्रो गाउँमा आयो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares