बुक रिभ्युः द मिनिस्ट्री अफ अटमोस्ट ह्याप्पीनेस

धेरै पीडा , केही प्रेम अनि थोरै खुशीको कथा

लेखनाथ छेत्री


नब्बेको दसकको अन्ततिर आफ्नो पहिलो उपन्यास गड अफ स्मल थिङ्स लेखेर चर्चित बनेकी अरुन्धति रोयलाई यस पुस्तकले बुकर सम्मान दिलायो। विश्वका धेरै भाषाहरूमा अनुवाद भइसकेको उनको यो उपन्यासले उनलाई अङ्ग्रेजी भाषामा लेख्ने भारतीय लेखकहरूको अघिल्लो पङ्क्तिमा लगेर उभ्यायो।

लालित्यपूर्ण लेखन अनि हेर्दा चार्मिङ देखिने यस उपन्यासकारको आड़मा बजारले त्यतिबेला सुन्दर सपना देखिरहेको थियो। उनलाई  रूचाएर पढ्ने भारत लगायत अन्य देशका पाठक उनको अर्को उपन्यासको प्रतिक्षामा बसेका थिए। तर केही साल नबित्दै उनको लेखनले नयाँ बाटो लियो।

पहिलोपल्ट परमाणु परिक्षण गरेलगत्तै भारतीय राजनैतिक हावा फेरियो। फेरिएको हावाले अरुन्धति रोयलाई पनि छोयो।  सफल परमाणु परिक्षणको खुशियाली मनाइरहेको देशको माहौलबीच उनले  बमको त्रासदीबारे एक लामो निबन्ध लेखिन्। यो उनको राजनैतिक निबन्धलेखनको शुरूवात थियो। यसपछि उनले भारतको नयाँ शासकवर्ग अनि उनीहरूको कुरूप राजनैतिक चलखेलबारे सोंच्न थालिन्। यिनै नयाँ शासकको छायामुनि खेल्ने कोर्पोरेट अनि यिनीहरूले अल्पसंख्यकहरूको जीवनमा ल्याएको त्रास उनको निबन्ध लेखनको वृहत पाटो बन्यो।

उनले देशको आन्तरिक सुरक्षाको लागि सबभन्दा ठूलो खतरा मानिने नक्सलीहरूबीच गएर उनीहरूलाई सुनिन्। ‘वकिङ विथ द कमरेड्स’ शिर्षकमा एक लामो निबन्ध लेखिन्।

यिनीहरू आफ्नो बाँच्ने हकको लागि लडिरहेका सिपाहीहरू हुन्, जोसँग हतियार उठाउनबाहेक अरू विकल्प छैन।

आफूलाई विकासका भगवान् बनाएर जनतासमक्ष भोट माग्न आउने ती नयाँ शासकहरूले आफ्नो फाइदाको लागि उनीहरूको जल, जमिन अनि जङ्गल लुटिदिएर बासविहीन बनेपछि ती असह्यहरूले उठाएको आवाजलाई देशले कहिल्यै सुनेन, – देशको शासकवर्गलाई यसो भनेर उनले चुनौति दिइन्।

उनले आजादीको नाराले गुन्जिरहेको कश्मीरबाट संसारसामु यस्ता कुराहरू ल्याइन् जसलाई भारतीय मीडियाले १९९० देखि लुकाएर राखेको थियो। बाँध हाम्रो राष्ट्रीय सम्पदा हो भनेर भाषण पिट्नेहरूलाई बाँधको कारण उच्छेदित अल्पसंख्यक अनि पर्यावरणमा यसले ल्याउने विनाशको एकएक हिसाब बुझाइन्।

उग्र हिन्दु राष्ट्रवादलाई लिएर गरिने राजनीतिको शल्यक्रिया गरिन्। यसरी  राजनैतिक लेखनबाट उनले थोरै प्रशंसा बटुलिन् अनि धेरै गाली। आज अरुन्धति रोय देशको सबभन्दा विवादस्पद फिगरहरूमा एक हुन् ।

एकपछि एक गर्दै पाँच राजनैतिक निबन्धहरूको किताब निकालिसकेपछि धेरैले अरुन्धतिको  उपन्यासमा वापसीबारे  सोंच्न छोडिसकेका थिए। तर त्यस्तो भएन। आफ्नो पहिलो उपन्यास छापामा ल्याएको बिस सालपछि अरुन्धतिको नयाँ उपन्यास अहिले बजारमा छ।

अरुन्धतिको यो नयाँ उपन्यासलाई अहिले मेन बुकर प्राइजको लागि प्रारम्भिक सुचिमा सामेल गराइएको छ। भारतको भयावह अन्तरिक राजनैतिक रूपलाई कुनै पनि उपन्यासले यसरी ल्याउन सकेको थिएन, अन्तराष्ट्रिय पत्रिकाहरू यसो भनेर अरुन्धतिको उपन्यासबारे रिभ्यू लेखिरहेका छन्।

सायरीले कुनै पनि रोग निको हुन्छ भन्ने विश्वासमा बाँचेका हकिम मुलाकात अली अनि उनको पत्नी जहानारा बेगमबाट पुरानो दिल्लीको साँघुरो गल्लीदेखि उपन्यासको शुरूवात हुन्छ। उनीहरूबाट जन्मेको समलिङ्गी अन्जुमले दुनियाँमा गरेको सङ्घर्षबाट अरुन्धतिले प्रेम गर्नुको सांस्कृतिक निर्मितिबारे उपन्यासको शुरूवातमा केही बुझाउन खोजेकी छिन्।

कुनै पनि समयलाई निर्माण गर्ने सत्य कुराहरूको संवेदनशील हरकतबाट नै साहित्यको जन्म हुन्छ भन्ने कुरालाई दह्रोसँग विश्वास गरेकी अरुन्धतिको वैचारिक टेक यस उपन्यासमा त्यही छ जो उनको गैरआख्यानहरूमा देखिन्छ

आफ्नो राजनैतिक निबन्धहरूमा आफैले भनेको कुराहरूलाई उपन्यासमा अरुन्धतिले पात्रहरूको कथामार्फत भनेकी छिन्। अत्याचार, दमन, अल्पसंख्यकहरूले भोगेका मार्काको प्यानोरामा जस्तो छ अरुन्धतिको नयाँ उपन्यास।

कथा अगाडि बढ्दै जाँदा उपन्यासका पात्रहरू देशका ती ठाउँहरूमा पुग्छन् जहाँ एकातिर गणतन्त्रको छायामूनि देशका नयाँ शासकहरू मुनाफा अनि सत्तामोहकै लागि सबभन्दा भयानक रूपमा देखा परेका हुन्छन् अनि यस कुरूप नाचमुनि पिसिएर बाँच्नको लागि सङ्घर्ष गरिरहेका आम मान्छे।  कहिले उपन्यास गुजरातको २००२ को हिन्दू – मुसल्मान दङ्गातिर पुग्छ त कहिले आजादीको नाराले गुन्जिरहेको २००७ को कश्मीर। कहिले भारतीय गणतन्त्रको खिल्ली उडिरहेको जन्तर – मन्तर पुग्छ त हतियार लिएर बाँच्ने अधिकारको लागि लडिरहेको रेड करिडर।

उपन्यासमा उग्र हिन्दु राष्ट्रवादको पोषण गरेर सत्ता हडपने नरेन्द्र मोदी पनि छन् अनि शासकको उक्त अभियानका शिकार बनेका अल्पसंख्यक मुसलमान समुदायको दहनीय कथा पनि। कर्पोरेटको आशीर्वादमा भ्रष्टाचारविरूद्ध नारा पिटेर लोकप्रियता कमाउने अन्ना हजारे पनि छन् अनि कर्पोरेटद्वारा कच्चा माल बनाइने आम मान्छे अनि उनीहरूको जल, जमिन, जङ्गल पनि।

यसमा आम दुनियाँबाट उच्छेदित गरिएपछि चिहानघारीमा बास बस्ने समलिङ्गी अन्जुम पनि छिन् अनि कश्मीरको स्वातन्त्रताको लागि लड्ने क्रान्तिकारी प्रेमी मुसालाई भेट्न जाने तिलोत्तमा पनि। उपन्यासको हरेक चरित्र एक विशेष व्यक्तिको रूपमा मात्र नभएर उनीहरूले एक – एक समुदायलाई प्रतिनिधित्व गर्छन्।

मिहिन तरिकाले बुनिएका हरेक पात्रका कथाटुक्राहरू जोडिएर उपन्यासलाई रूप दिएका छन्। हरेक जटिल कन्टेन्टमा पनि पाठकलाई समातेर राख्न सक्ने क्षमता अरुन्धतिको भाषामा छ। अकल्पनीय अनि जादुई लाग्ने ती पात्रका कथाहरूलाई कवितीय भाषामा भनिएको छ।

अरुन्धतिको पूरानो उपन्यास पढेर त्यस उपन्यासमा जस्तै टिपिकल मध्यमवर्गीय पाठकहरूलाई उत्सुकता दिन सक्ने मसालेदार किस्साको अपेक्षा राख्नेहरूलाई अरुन्धतिले निश्चय नै निराश गरेकी होलिन्। सहानुभूति नपाएका उत्पीडितहरूलाई समपर्ण गरेर लेखिएको यस उपन्यासमा तर ती मान्छेहरूले आफैलाई भेट्छन् जो कुनै न कुनै प्रकारले एक कुरूप राजनैतिक परम्पराको शिकार भएको महसुस गर्छन्।

देशको तमाम मुद्दाहरूलाई एकैचोटि एउटै उपन्यासमा भन्न हतारिए जस्तो देखिएता पनि  अरुन्धतिले घृणा अनि उत्पीडन मात्र उपन्यासका मुख्य तत्वहरू बनाएकी छैनन्। यसका साना – साना कथाहरूमा साना – साना खुशीहरू छन् अनि छन् साना साना आशा – जसले भोगिएका अनेक पीड़ाहरूबीच पात्रहरूलाई बाँच्ने अनि बाँच्नका लागि सङ्घर्ष गर्ने साहस दिन्छन्। यस्तो लाग्छ, धेरै पीडा, केही प्रेम अनि थोरै खुशीहरूका कथा हो- मिनिस्ट्री अफ अटमोस्ट ह्याप्पीनेस

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares