You are here

कथा

भित्रै थुनिएको कथा

 

 मनोज बोगटी


त्यो जोडी नाङ्गोमान्छे सम्झिएकी थिइनँ मैले। रेस्टुरेन्ट हिलटपको त्यो खिड्‌कीबाट के हेरिरहेकी थिएँ म, आँखा नै छोपियो। दुइहत्केला अँध्यारो मेरै निम्ति मात्र थियो।

‘हटा न’-भनेँ।

उसले मेरो दुइगालामा पॉँचपॉँच औंली जोडेर बनाएको चुच्चोले नरमसित छुँदै ‘सो क्युट’ भनी।

‘किन ढिलो?’ चुच्चो बनाइएको हात पन्साउँदै मैले सोधेकी थिएँ।

‘त्यो स्याल्लेलाई’-उसले मेरो गालामा चुमेर भनेकी थिई,-‘खाइदिएँ।’

‘वाट? खाइदिएँ? ’ मेरा आँखाहरू प्रश्नवाचक मुद्रामा फारिएको थियो। घिच्रो बाङ्गिएको अलिकति ढल्किएको टाउकोले हेरेकी थिएँ मेरै अनुहारतिर फर्किएका दुइवटा उसका आँखातिर।

मानिसहरू आँखा पढ्न सकिन्छ भन्छन्। म त्यही पढ्न नसकेर अवाक थिएँ।

‘या’, मानौं घटना सामान्य हो, त्यसकारण स्लोमोसनमा उसले दुइवटै कुम उचालेर भनेकी थिई।

♦♦

ड्रेसिङमा मैले आफैँलाई हेरेँ। मलाई थाहा छ, मेरो गाला रन्किसकेको थियो। हत्केलाको पसिना म्याट्रेसको फेरमा पुछेँ। सुकेको घाँटी थुकले भिज्यो। काखीको लुगा पसिनाले भिजेको थियो। कम्पजस्तो केही थियो शरिरमा।

‘छ्‌या’-अचानक निस्किएको थियो शब्द, जब म आफ्नो शरीरलाई खुकुलो बेह्रेको चुरिदालाई टाइट गरिरहेकी थिएँ। टाइट गर्दा लुगै नलगाएको शरीर देखेकी थिएँ।

लुगा नलगाएको शरीर।

ऐनामा मेरो मुख बाङ्गिएको नक्सा थियो।

मार्थाले लगाएको छोटो चेकस्कर्टले मार्थालाई मात्र सुहाउँछ। लिटल मङ्‌कीटेडी तुर्लुङ्ग झुण्डिएको व्याग, खुकुलो गरी बॉंधेको टाई र छातीमा दुइटॉँक छोडेको पहेंलो सर्ट। ब्ल्याकबेरीको टचस्क्रीनमा ग्यालेरी खोतल्दै उसले देखाएको इमेजमा एकजोडी नाङ्गो मान्छे थियो।

त्यो नाङ्गोमान्छे नेपाली त होइन तर केटीको अनुहार नेपालीकै जस्तो।

‘कोरियन हौ’-मार्थाले सिरकभित्र मलाई भनी।

‘हेर्छस अरु?’-फेरि भनी।

‘हेर्दिन है छ्‌या’-उतिरै कोल्टिएकी थिएँ तर यति भनेर पनि। आँखा चिम्म गर्दा पनि त्यो पुरुष नाङ्गो मान्छेको अनुहार आयो।

आयो र मेरो रातो गाला मुसाऱ्यो।

काँपेकी थिएँ म।

त्यो अनुहार कतै चिनेजस्तो लाग्थ्यो। सोम सर, हो सोम सरजस्तैजस्तै। हिसाब सिकाउने सर। ट्यूसन पढाउने सोम सर।

भुइँ कोट्याइरहेको म, त्यतिखेर तर्सिन्थेँ जतिखेर सोमसर मेरो आङमा चारवटा औलाले हल्कासित हिर्काएर भन्थे, ‘सकिस्?’

तर त्यो नाङ्गो मान्छे होइन सोम सर। सोमसरलाई मैले नाङ्गो कहिल्यै देखिन। सपनामा पनि। तर उनका चार औंला मलाई तर्साउन आङ छुन्थ्यो, मलाई पसिना आउँथ्यो। पहिले हत्केलाको पसिना पुछ्थेँ रुमालले र त्यसपछि मात्र भन्थें, ‘जानिन सर।’

त्यसपछि सरका औंला मेरो दुइ कानमा हुन्थ्यो, नदुख्ने निमोट्न।

मेरा कानका लोती राता हुन्थे।

मैले ट्युसन पञ्न छोडेकोमा आमा रिसाएकी थिइन्।

‘हेर्न एई’- भनी मार्थाले।

मैले मार्थाको पेटमा हात बोकाएकी थिएँ।

‘ओरल रैछ’-फेरि भनी।

उसले भनेको ओरल देखेर म त्यसरी कहिल्यै हाँसेकी थिइनँ। मार्था मेरो मुख थुन्न मैमाथि चढेकी थिई। ममाथि चढेकी मार्थाको हालत देखेर झन हाँसेकी थिएँ। लुगा सोरिएको थियो।

‘एई केटी हो, सुत्‌। भेट्‌छेस्‌ ऐले,’-आन्टी कराइन्‌।

♦♦

उ सेन्ट वुमेन कलेज गई, म सरकारी कलेज।

मलाई वेभसाइट हेर्नु आँउदैन। युआरएल छ। नोट्‌स त्यहीँ छ। मैले सोम सर सम्झिएँ। ‘कलेज भनेको स्कूलजस्तो होइन’ सरले भनेका थिए हामीलाई।

बिएसएनएल नेटवर्क मुस्किलले भेट्‌ने मेरो हातमा सामसुङको सिङ भएको फोन थियो। त्यही फोनबाट मैले आन्टीलाई भनेकी थिएँ-‘कलेज उतै पढ्‌छु।’

एकवर्षपछि म त्यही आन्टीको घरमा थिएँ। विशाल शहरमा मार्था आन्टीको एउटी क्युट छोरी थिई, कालीकाली। आन्टीलाई थाहा छैन तर मार्थाको बोयफ्रेन्डले मलाई ‘हाइ दी’ भन्छ।

रेस्टुरेन्ट हिलटपमा उडिरहेको धुँवापछिल्तिर भेटेकी थिएँ रोवर्टलाई। कानको कुन्डल गालामा थियो। केश ठाडो र पहेंलो। लामो पर्सलाई साङ्लीले बाँधेर बेल्टहोलमा गाँसेको। उसले मार्थाको गालामा त्यसरी नै म्वाई खाएको थियो जस्तो एचबीओबाट आउने एउटा मुवीमा देखेँकी थिएँ।

मार्थाले ननभेज कुरा गरेको रहिछ फोनमा। उसैले सिकाएकी ननभेजको माने। मलाई लाज लाग्थ्यो।

‘के फुटानी गर्छस ए? यू …फक्…वास्टर्ड’ -उसले एक्कासी कुन्नी कसलाई गाली गरी।

मैले कानमा रुई खाँदे।

उ ‘सिट्‌ सिट्‌’ भन्दै घोप्टो परेपछि मैले सुनेँ ‘तँ रिचार्ड, तँलाई म खाइदिन्छु।’

मैले उसको फोन उठाएँ। राती मेरो अनुहारमा फोनको उज्यालो थियो। कोठा अन्धकार। फोनको उज्यालोमा म रातोरातो भइरहेकी थिएँ हुँला। मैले वेबसाइटको युआरएल कहाँ लेखेँ कुन्नी खोलिएन। तर खोलियो अरु नै।

मार्था सुतेपछि सधैँ फोन मेरो भयो।

♦♦

म घर पुग्दा मार्था कोठा थुनेर सुतेकी थिई।

आन्टीले भनिन्‌-‘ट्याब्लेटको कति पर्छ हँ सरिता?’

‘के को ट्याब्लेट?’-आन्टी हॉंसिन्‌।

‘फोन जस्तै हुन्छ नी ठूलो’-भनिन्‌।

‘मर्नु आँटीसक्यो’-फेरि भनिन्‌।

‘कुन्नी त नी, सोधुँ मार्थालाई?’

‘होस्‌ पर्दैन।’

त्यो राती मैले हरि काका सम्झिएँ। काकाले लगाएको चप्पल मलाई मनपरेको थियो। झन्नै एकै उमेरको हामीबिच त्यसैको झगडा थियो। भोलिपल्ट बाजेले मलाई जुत्ता ल्याइदिए। कालो प्लास्टिकको। काका चप्पल लगाएर जाँदा म त्यो जुत्ता लगाएर स्कूल जान्थें।

‘तिम्रो चप्पल त हो नी’-म यति नै भन्थेँ। बाजे हाँस्नुहुन्थ्यो।

अनि शुरु हुन्थ्यो काकाको झगडा।

हामी दुवै जुत्ता लगाएर स्कूल गइरहेका हुन्थ्यौं।

मार्थाको ट्याब चलाउन जानेको दिन मैले बजारमा पुच्का खुवाएकी थिएँ। मार्थालाई पुच्का नै मनपर्थ्यो। अमिलो, पिरो मलाई मन परेन। मार्थाको व्यागको तितौरासित मेरो कुनै लगाव थिएन।

‘दि, म क्लिनिक गएर आउँछु, यी पर्खि ल?’ पुच्काको दुना कुनामा फ्याँकेर भनी मार्थाले।

‘पर्खि आन्टीलाई भन्दिन्छु म’, भनें तर सुनिन। आँखा झिम्काई र गई।

मैले पिउन राखेको तातो पानी हातमा बोकी, प्याकिट खोली र आकासतिर फर्किएर मुखमा हाली। पानीले निली।

‘गइस तँ चैं खेरो’, मन नपरेको मेरो कुराले त्यसलाई छुँदैनथ्यो।

एउटा आँखा बलले चिम्थी, एकापट्टिको ओंठ बाङ्गिन्थ्यो। यसरी झिम्काउँथी आँखा, उत्तरमा।

♦♦

आन्टी अफीस गएपछि अङ्‌कलको पालो। आन्टी स्कूटीमा, अङ्‌कल कारमा। हामी पैदल। आमाको काकाका छोरी ज्वाईँको यो रवाफ हाम्रो गाँउका मानिसहरूले देखे छक्क पर्दा हुन्। गाउँमा कसैको स्कूटी थियो न कार।

एउटा बस थियो, सरकारी।

 

‘दी’- उसले पार्कमा भनी।

‘के?’

‘म एकछिन उसित गएर आउँछु, पर्खिनु ल यैं।’

मैले देखेँ, उ उसको बोयफ्रेन्ड थिएन। मलाई उसले ‘हाइ दी’ पनि भनेन। तर हातमा हेल्मेट झुन्डाएको त्यो केटो बोयफ्रेन्ड भन्दा केही अग्लो र मोटो थियो।

पार्कमा एक्लै बस्नु गाह्रो हुन्छ। मेरै कलेजको विकासले रन्जनालाई अङ्गालो मारेर बसेको थियो। चिनेको आर्मीकी स्वास्नी अर्थात रिता भाउजु एउटा टीन केटोसित कुरा गरिरहेकी थिइन्‌। नचिनेका केटा र केटीहरू के कुरा गरिरहेका होलान्, थाहा छैन। म पार्कबाट निस्किएर रेस्टुरेन्ट हिलटप पसेकी थिएँ।

‘मलाई थाहा छैन’

‘भन न भन।’

‘थाहा छैन, साँच्ची थाहा छैन।’

‘म प्रपोच गरूँ?’

‘गर्न, मलाई के सोध्‌छस्‌‌‌।’

मैले हेरेँ, दुइजना म्यानेजमेन्टका केटाहरू कुरा गरिरहेका थिए। उनीहरुबीचमा बसेकी केटीले घोप्टिँदै सिगरेट तानिरहेकी थिई।

♦♦

मलाई मार्थाले लुकाएको क्लिप खोज्नु गाह्रो परिरहेको थियो।

‘साँच्ची नै हेर्ने?’

‘देखा न’

‘पक्का?’

‘मम्मीलाई नभन्नु नी।’

‘ल’

‘पक्का?’

मैले उसको टाउकोमा हात राखेपछि उसले मलाई देखायो।

एक्कासि आन्टीले मेरो गाला चड्‌काइन्‌। मार्थाले मेरो केश भुत्लाई। म दह्रो उभिएकी थिएँ, जसरी पहाड उभिन्छ। जसरी मेरो गाउँको चिलाउनेको रुख उभिन्छ। हुरी थाकेर जाने त्यो चिलाउनेको रुख मैले सम्झिएको थिएँ। जहाँ आत्महत्या गर्ने नितिकालाई सम्झिएकी थिएँ।

पेटमा बच्चा बोकेर झुण्डिएकी नितिका मेरो नजिककी साथी थिई। त्यो दर्शनभन्ने मान्छेको अनुहार त्यस्तै सुन्दर थियो जस्तो रिचार्डको थियो। दर्शनले नितिकालाई झुण्डाउनु परेन, तर त्यो एउटा कालो रातले झुण्डायो जुन रात निकिताको पेटमा एउटा चरम आवेश सर्प भएर पसेको थियो।

त्यही सर्पको डोरी बनाएर निकिता झुण्डिई। तर रिचार्डले केवल ‘काली’ भन्दा मार्थाको मुखबाट त्यही ननभेज ईख किन फुत्किनुपर्‍यो?

मेरो शरीर पसिनाले जहिल्यै लथपथ हुन्थ्यो। जहिल्यै म काँपिरहेकी हुन्थेँ। जहिल्यै नाङ्गोजोडीले आँखालाई छोप्थ्यो। त्यो जोडी मभित्र पस्थ्यो र मैले सिरक जोडले समात्नु पर्थ्यो।

तर मार्था भने घुर्थी।

मलाई मार्थाले त्यसरी घुरेको कहिल्यै मन परेन। न त त्यसको लेस्बियन क्लिप मन पऱ्यो। मार्थाले फिला टाँसेर सुतेको पनि मन परेन। न त त्यसको रिलेसनशीप मन पऱ्यो।

मलाई त्यो ट्याबसित रिस उठ्थ्यो। ट्याबभित्र कैद अनेकौं नाङ्गा मानिसहरूसित सिर उठ्थ्यो। जब म पढिरहेकी हुन्थेँ, उ हेडफोन कानमा लाउँथी। तर सित्कार छिरेर बाहिर आउँथ्यो।

‘हेर न दि, त्यो हब्सिनीको एक्सप्रेसन,’ टाउको दुखेर दसैवटा औंलाले अनुहार छोपेको मलाई किन त्यसरी सताएकी मार्थाले?

म पढ्‌न चहान्थेँ तर यो मार्था मेरो बुढी आमाको सपनाको हत्या गरिरहेकी थिई। युट्यूब, पोर्न, सेक्स, किसिङ, इन्जोय, बोयफ्रेन्ड, लभ रिलेशन र  फ्रिडम भन्ने शब्द यो मार्थाले मलाई जबरजस्ती कोचारिरहेकी थिई। मलाई बेहद रिस् उठथ्यो। मसित कुनै अप्सन पनि त थिएन। म सायद बिमार भइसकेकी थिएँ। मार्थालाई पिट्न मन लाग्थ्यो, जो मेरो हैसियतको काम थिएन।

तर अहिले मेरो जगटा लुछ्‌ने मार्था र मलाई थप्पड हान्ने आन्टीको अनुहारप्रति मेरो कुनै रिस्‌ थिएन। कुनै गुनासो थिएन।

मलाई पुलिसले गाडीमा हाल्दैगर्दा मैले मार्थालाई हेरेँ, उसको अनुहारमा कुनै घृणा थिएन तर आन्टीको अनुहारमा यस्तो घृणा थियो, जसलाई हेरेर मलाई भन्न मन लागेको थियो-‘ट्याब्लेटको दाम कति हुँदोरहेछ आन्टी?’

♦♦

होटल ओक्सको कोठा न. 17। केटोलाई केटीले बेडमा अचानक आक्रमक व्यवहार गरिरहेकी छन्‌। एकएक गर्दै केटोको लुगा खोलिरहेकी थिइन्‌ केटी। दुवै नाङ्गा छन्‌। जब दुवैले नाङ्गै बनेर एकार्कालाई चुम्न थाल्यो, तपाईँले ‘यो त पोर्न फिल्म’ भन्नु भयो होइन?’

हो, यो क्लिप मैले नै यूट्यूबमा हालेकी थिएँ। ट्याबबाट। मार्थाकै एकाउन्टबाट।

र यी नाङ्गा केटाकेटी मार्था र रिचार्ड हुन्‌।

रिचार्डलाई मार्थाले यसरी खाइदिएकी थिई।  मानिस बाँच्नलाई भात खान्छन्। तिर्खालु पानी पनि खान्छन्। बोर भो भने हावा पनि खान्छन्। तर मार्था? मेरो दिमाग खान्छे। रिचार्ड, बिदुर, फुर्तेन, हमिदहरू खाने यो भोकसित मेरो दुश्मनी थियो। यो ‘खाइदिनु’ शब्दकै खिल्ली उड्नेगरी लाग्ने भोकसितमात्र मेरो रिस थियो।

हो कथाकार, तपाईँलाई मेरो यो दोष माफै गर्न नमिल्ने लागेको होला तर मलाई यो भोकलाई सबक सिकाउनु थियो। जीवनमा एनेकौं कता लेख्नु भयो होला, तर सबकको कता पनि लेख्नुहोस्।

ती बहिनीहरू जसले हातमा ट्याब बोकिरहेकी होलिन्। फोन बोकिरहेकी होलिन्। इन्टरनेट कोट्याईरहेकी होलिन्। टुजी, थ्रीजी, फोरजी हुँदै उकालो चढिरहेका जनेरेशनले पनि तपाईँको कथा पढुन्।।

♦♦

मनोज बोगटी अर्थात कथाकार, थानाबाट निस्किरहेको छु। तर म थुनिएको छु भित्रै।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares