You are here

थप दाइजो दिन नसक्दा ससुरालीबाट निकालियो महिलालाई

सिलगढ़ी, 27 नोभेम्बर: कानूनको कागजबाट मेटिसकेको दाइजो प्रथा समाजको कागजबाट अझ मेटिसकेको छैन। द डाउरी प्रोहिबिसन एक्ट, सन् १९६१ -ले कानूनी बन्देज लगाए पनि देशभरि दाइजो लिने-दिने प्रथा जारी नै छ। आर्थिक रूपले असक्त परिवारका चेलीबेटीहरूले दाइजोको नाममा जीवनकै समेत दाउ हालिरहनु परेको छ। कसैलाई घरबाट निकालिन्छ, कसैलाई तलाक दिइन्छ, कसैकसैलाई त आगोमै झोसिन्छ।

यस्तै एक जघन्य घटनामा सिलगढ़ीको एक युवकले आफ्नो बालिका छोरीसँग पत्नीलाई घरबाटै निकालेको आरोप उठेको छ। दालखोलाबाट सिलगढ़ी बिहे भएर आएकी खुशबु रे-लाई उनको पतिले घरबाट निकालिदिएको लिखित आरोप उनले आशीघर थानामा बुझाएकी छन्।

बिहेको समय नै १.५ लाख रू. दाइजोस्वरूप दिइएको हुँदा हुँदै पतिले घरि घरि पैसा मागिरहेका थिए। थप दाइजो तिर्न नसकेपछि पतिले उनलाई दिनरात कुटपीट गर्न थालेको आरोप उनले लगाएकी छन्। भारीमाथि सुपारी कसरी थपियो भने उनले गत साल छोरीलाई जन्म दिइन्।

छोरी जन्मिएपछि छोरा किन नजन्माएको भन्ने कचकच बढ़्यो। कुटपीट पनि थपियो। हिजो माइतबाट आफ्नो आमा उनकी छोरी हेर्न आएको बेला साँझ पतिले आफ्नो आमासँगै आफूलाई घरबाट निस्केर जाने हुकुम दिए। त्यसपछि निक्कै झैँजमेला भएको थियो।

अन्ततः केही सीप नलागेपछि दुधमुखे छोरी लिएर आफ्नो ससुराली छाड़ेर निस्कन उनी बाध्य भइन्। राति नै रिपोर्ट दर्ता भएपछि आशीघर थानाबाट पुलिसटोली आशीघर इलाकामा रामकृष्ण रे-लाई पक्राउ गर्न उनलाई खोज्दै उनको घर पुग्यो। पुलिसले धुइँधुइँ खोज्दा पनि रामकृष्णलाई भेट्न सकेन। उनले पहिल्यै सुइँको पाएर चम्पट कसिसकेको थाहा लाग्यो। पुलिसले रामकृष्णलाई पक्राउ गर्न हरसम्भव कोशिश गरिरहेको जनाएको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares