You are here

काव्यसंवाद-मा महेश दाहाल

संवाद »

आधारहीन आधार बरू एक अर्को आधार

महेश दाहाल


पाँच वर्षअघि विचारहरू बद्लिरहन्छन्। मलाई निश्चिततामा विश्वास छैन भनेको रहेछु।  आज पनि त्यस्तै लाग्छ।

कविता विषय नै बोल्न कठिन हुन्छ। झनै आफुलाई पर्गेलेर आत्मोद्गार दिन असहज। तथापि दिनचर्या निर्वाह गर्दै जाँदा हेल्लिएर नै अवस्थिति कुनै कुनै विचार ग्रहण गरेर पर्यायित हुँदारहेछौँ।

त्यसैले मलाई कविता पनि स्वत रूपायित हुन् लाग्छ विविध अवस्था, धारणा, अनुभव र आवश्यकताबाट।

काव्याभिव्यक्ति सापेक्षित हुन्छन्। सिर्जन र पठन नै समेत। त्यसो र त निश्चित सिद्धान्तलाई आधार बनाएका विश्लेषकहरू अपूर्ण नै लाग्छन्। कुनै न कुनै पाटोबाट। आधारहीन पनि केही हुँदैन। आधारहीन आधार बरू एक अर्को आधार। मलाई लाग्छ आधार पनि सापेक्षिक हुन्छन्।

हो, अन्य भारतीय भाषाका कविताका तुलनामा भारतीय नेपाली साहित्यमा विविधताको न्यूनता देखिन्छ नै। काव्यिक गुणस्तर भने प्रशंसनीय लाग्छ। युवा जमातमा रहेका उर्जाले विविधता पनि देखिँदैछ। त्यही उर्जाबाट प्रभावित र प्रेरित हुँदा मलाई पनि केही प्रयत्न गरौँ लाग्छ। क्षमता बरू अर्कै कुरो हो। बस् ! प्रयत्न गरिरहूँला। निरन्तर।


काव्य »

समय र म

समय

क्रुर हुँदैन

दयालु पनि हुँदैन।

 

समयलाई साधक सम्झँदै थिएँ।

 

एक दिन

समयले मेरो पाइताला रोक्यो

मेरो घुँडा टेकेर उक्लियो

र पेटसितै रित्तियो। लाग्यो मलाई।

म मौन रहेँ।

 

फेरि

समयले छातीमा हर्षको ड्रम ठोक्यो

उक्लिएर घाँटी उचाल्यो।

कानभरि प्राप्तिका सूचना गञ्जाएर

समयले मेरो आँखा चम्काउन खोज्यो

तर म मौन रहेँ।

 

त्यसपछि

समय मेरो मस्तिष्कमा पुग्यो

म समय बनेँ। समय म भयो।

 

म बुद्ध बनेँ

समय बुद्ध थियो।


बादलमा झुल्केको घाम

अरूजस्तै जन्मिएको हो ऊ।

संसार नजानी। आफूलाई नजानी। अर्थात् केही नजानी।

 

तर उसले सानैमा

भोक जान्यो। तिर्खा जान्यो। तिरस्कार जान्यो।

जान्यो रातको ठण्डी / दिनको गर्मी।

 

विस्तारै जान्दै गयो उसको भोकसँग टाँसिएको रेस्टुराँको प्लेटको वजन

तातो जुत्ताको गन्ध र

हसिया, गिट्टी, ईँटा, मार्तोल र थुप्प्रै स्पर्श…

 

उसले आमाको समर्पण चिन्यो। भोक जान्यो।

सानो काखमा सानी बहिनी बोकेर फेरि

उसले अभिभावक हुनु सिक्यो। त्याग जान्यो ।

ओठबाट राल चुहाएर नखाई आइफल बेच्न थालेपछि

उसले सङ्कल्प पनि जान्यो। साँच्चै ?

 

तर

सर्वशिक्षा अभियानमा

या त मानव अधिकारको फेस्टुनमा

उसको नाउको रङ्ग पोतिएको जानेन।

किनकि उसले केवल बाध्यता जान्यो।

 

उसले सानो मन ठूलो दिमागले भत्केको जान्यो

तर ठूला-ठूला भवनहरू साना हत्केलाले बनिएको जानेन।

उसले जान्दै जानेन के गर्नसक्छ उसले

अहँ ! जानेन केका लागि यति बिघ्न खट्छ ऊ।


गङ्गा घाट, साँझ र …

पारी क्षितिज टेकेर

साँझको हत्केलालद्वारा घामले

छोप्दैछ आफ्नो अनुहार

बिस्तारै।

 

सुन-पानीले नुहाउँदैछ विश्वास

गङ्गाको घाटमा।

 

घण्टी, शङ्ख र भजनको ध्वनिबीच

ओहोर-दोहोर छ हल्लाहरूको।

 

उत्साहसँग मन्त्र फलाक्दैछ एउटा युवा

चर्को स्वरमा। उसलाई लाग्छ सप्पै जान्दछ ऊ।

छेवैमा बाबा छ जटाधारी

जीवनबाट वैराग्य लिएको।

जीवन बुझै जस्तै-जस्तै केही नबुझेपछि

ज्ञान समुद्र लाग्छ। तर संसार शून्य शून्य।

 

त्यहाँ, कसैसँग ठोक्किनुछ एउटा छट्टु युवक

बेलुकीको छाक टार्नलाई।

त्यहाँ, कसैसँग गफ्फिनु  छ एकजना ज्योतिष

यो वर्षको माग टार्नलाई।

 

सङ्कटा, राहू र केतूको बखान सुनेर

विश्वास त्यत्ति त लाग्दैन

तर डर डर लागेपछि

औँठीको दाममा मोल-तोल गर्दैछे

एउटी अधवैँशे आइमाई।

 

पक्का चन्दनकै हो यो पट

भन्दै गरेको पछिबाट

गङ्गा नुहाएर पवित्र हुन्छ मान्नेले नै

बेच्दैछ गङ्गा-पानी र शिवजीको पोष्टर।

 

सुहाग रातमा पति नै हो भन्ने विश्वासले

पाएको आनन्दमा जस्तै

डुबुल्कीबाट मैला फाक्दैछन् महिलाहरू।

छेवैमा उभिएर एकहुल युवकहरू

उस्तै आनन्द मान्छन् भिजेको रूप देखेर।

 

चिया रूङ्दा-रूङ्दा दोकानको बुढोको अनुहारको दिक्क

रूपवती तरूणी खोज्दै गरेको युवकको आँखाको उत्साह

परमात्मा खोज्दै गरेका केही साधुका विश्वासहरू

यी सबैलाई त्यहाँ एउटै देख्छ जापानी अनुहार।

 

एकलै

कविता खोज्दैछु त्यहीँ

म पाहाडे कवि।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares