विशेष व्यक्ति : एक नाइजेरियन लेखिका

अचिबेको लिगेसी पछ्याइरहेकी लेखिका

⁄⁄ उपेन्द्रराज पाण्डेय ⁄⁄


विश्व साहित्यको कुरा गर्ने हो भने अमेरिका र बेलायतबाट अङ्ग्रेजी भाषामा लेखिएका रचनाहरूकै बढी चर्चा हुने गर्छ। अफ्रिका तथा एसियाका लेखकहरूले लेखेका कृतिहरूको कमैमात्र चर्चा हुन्छ। त्यसो त लेखनको स्तरको प्रसङ्ग आउला, तर पनि अफ्रिकी तथा एसियाली लेखकहरूका रचना प्रकाशित गर्नै पश्चिमा प्रकाशन गृहहरू हच्किन्छन्। उनीहरू व्यवसायिक सफलता हात पार्न नसकिने आशङ्कामा अफ्रिकी तथा एसियाका लेखकहरूका कृतिहरू छाप्ने हिम्मत गर्न सक्दैनन्। केही अफ्रिकी तथा एसियाली लेखकहरू छन्, जसले पश्चिमी जगत् उनीहरूप्रति पूर्वाग्रही हुँदाहुँदै पनि विश्वसाहित्यमा आफ्नो दबदबा कायम राख्न सफल छन्। सलमान रुस्दी, भीएस नइपाल, हारुकी मुराकामी, चिनुवा अचिबे, गुगी वा थियोङ्गो, वोल सोयन्का केही पुराना पुस्ताका नाम हुन्, जसले विश्व साहित्य बजारमा आफ्नो वर्चश्व कायम राखेका छन्।

पछिल्लो समयको कुरा गर्ने हो भने मारलोन जेम्स, झुम्पा लाहिरी, अमिताभ घोष, अरुन्धती रोय, चिमामान्डा अदिचीहरूले विश्व साहित्यमा हस्तक्षेपकारी भूमिका खेलिरहेका छन्। त्यतिमात्रै होइन, पश्चिमा पाठकलाई आफ्नो भूगोलमा तानिरहेका छन्। उनीहरू आफ्नो कथा आफैं भन्न सक्षम भएका छन्। अब अफ्रिका र एसियाका इतिहास हुन् वा लोककथा, अफ्रिकी तथा एसियाली लेखकहरू नै त्यसलाई प्रस्तुत गर्न सक्षम देखिएका छन् र उनीहरूकै प्रस्तुति आधिकारिक पनि हुनेछ। जोसेफ कोनार्डहरूले प्रस्तुत गरेजस्तो प्रस्तुतिको खाँचो पनि देखिन्न अब। इएम फोस्टर, रुडयार्ड किप्लिङका एकतर्फी कथाहरू सुन्न पनि चाहँदैनन् अब यहाँका पाठकहरू।

सन् १९५८ मा चिनुवा अचिबेको ‘थिङ्ग्स फल अपार्ट’ प्रकाशित भएपछि विश्व साहित्यमा अफ्रिकी लेखकहरूको सम्मानजनक उपस्थिति भएको हो। अचिबेले यस उपन्यासमा उपनिवेशले अफ्रिकामा पुऱ्याएको असरलाई प्रस्तुत गरेका छन्। यो उपन्यासलाई अफ्रिकी ग्रामीण परिवेशलाई अफ्रिकी दृष्टिकोणबाट प्रस्तुत गरिएको पहिलो उपन्यासका रूपमा लिइन्छ। यो उपन्यासको प्रकाशनले अफ्रिकी लेखकहरूलाई विश्वसाहित्यको ढोका खोलिदिएको चाहिँ पक्कै हो, भलै उपन्यास र उपन्यासकार भने विवादमा आए। अचिबेले उपन्यास आफ्नो भाषा इग्बोमा लेखेनन्। उनले उपनिवेशककै अङ्ग्रेजी भाषालाई पछ्याएको भन्दै अफ्रिकामा ठूलो चर्चाको विषय बन्यो। त्यसो त त्यो विवाद अहिले अफ्रिकामा मात्रै होइन, अरबमा पनि सुरु भएको छ। गुगीले अफ्रिकी साहित्य अङ्ग्रेजी भाषामा लेख्न सकिँदैन भन्दै ‘डिकोलोनाइजिङ द माइन्डः द पोलिटिक्स अफ ल्याङ्ग्वेज इन अफ्रिकन लिट्रेचर’ लेख्दै अङ्ग्रेजी भाषालाई ‘फेयरवेल’ नै गरे।

साहित्यमा भाषा र पहिचानको मुद्दा सबै राष्ट्रमा नै जोडिएर आउँछ। अङ्ग्रेजी भाषा र इतिहासले उनीहरूको घाँटी थिचिदिएको कुरा अचिबे आफैंले पनि भनेका छन्। यदि उनले अङ्ग्रेजीमा नलेखेको भए के त्यो उपन्यास ८० लाखभन्दा बढी पाठकले पढ्थे त? भन्ने प्रश्न पनि उठ्ने गर्छ। अचिबेले अङ्ग्रेजीमै लेखेको भए पनि उनले इग्बो संस्कृति तथा लोककथालाई राम्रोसँग समेटेका छन्। त्यतिमात्रै होइन, उपन्यासमा इग्बो शब्दहरूको बाक्लै उपस्थिति छ। ‘थिङ्ग्स फल अपार्ट’ पश्चिमा उपन्यासभन्दा पृथक नै छ। अचिबे आफैं पनि जोसेफ कोनार्डले अफ्रिकालाई गलत ढङ्गले प्रस्तुत गरेको भन्दै आलोचना गरेका थिए। अहिलेको समयलाई अफ्रिकी डायस्पोराको स्वर्ण युग भने पनि हुन्छ। अफ्रिकाका विभिन्न मुलुकको प्रतिनिधित्व गर्दै लेखकहरू उदाएका मात्रै छैनन्, साहित्यिक बजारमा राम्रै उपस्थिति राख्न सफल भएका छन्। वोल सोयन्का, गुगी वा थियोङ्गो र चिनुवा अचिबेहरूको लिगेसीलाई हेलन हबिला, तेजु कोल, अदाओबी न्वाबानी र चिमामान्डा अदिचीजस्ता युवा लेखकहरूले कायम राख्न सफल देखिएका छन्।

सन् १९७७ सेप्टेम्बर १५ मा नाइजेरियाको इनुगुमा जन्मेकी चिमामान्डा अदिची छोटो समय र थोरै कृतिबाटै विश्वसाहित्यमा चर्चित बनेकी लेखक हुन्। प्रायः अफ्रिकी डायस्पोरा र नाइजेरियाको इतिहासलाई केन्द्रमा राखेर लेख्ने अदिचीले नयाँ पुस्ताका पाठकलाई अफ्रिकी साहित्यतर्फ आकर्षित गर्न सफल भएकी छन्। सानै उमेरदेखि पठनमा रुचि राख्ने अदिचीलाई चिनुवा अचिबेको ‘थिङ्ग्स फल अपार्ट’ले अभिप्रेरित गरेको बताउँछिन् उनी। उनले यो उपन्यास १० वर्षकै उमेरमा पढेको र आफ्नै जीवनसँग मेल खाने कुराहरू भेटेको भन्दै आफूजस्तै देखिने मानिसहरू उपन्यासका पात्र भएको बताएकी छन्।

चिमामान्डा अदिची सानोमा चिनुवा अचिबे बसेकै घरमा हुर्केको र त्यसले गर्दा पनि साहित्यतर्फ आकर्षित भएकी हुन्। त्यसो त पारिवारिक पृष्ठभूमिले पनि उनलाई पठन र लेखनमा सघाउ पुगेको देखिन्छ। उनका बुवा नाइजेरिया विश्वविद्यालयका तथ्याङ्कशास्त्रका पहिलो प्राध्यापक थिए। पछि उनी सोही विश्वविद्यालयका उपकुलपति बन्न पुगे। उनकी आमा पनि सोही विश्वविद्यालयमा प्रथम महिला रजिस्टार थिइन्। विद्यालयको पढाइ पूरा गरेपछि उनी नाइजेरिया विश्वविद्यालयमै चिकित्सा र औषधि विज्ञानमा भर्ना भएकी थिइन्। उनले १९ वर्षको उमेरमा नै अमेरिकाको इस्टर्न कनेक्टिकट विश्वविद्यालयमा छात्रवृत्ति पाएर राजनीतिशास्त्र र सञ्चारमा स्नातक गरिन्। त्यसपछि उनले सन् २००३ मा जोन हप्किन्स विश्वविद्यालयबाट क्रियटिभ राइटिङमा स्नातकोत्तर गरिन्। सन् २००८ मा उनले फेरि यल विश्वविद्यालयबाट अफ्रिकी साहित्यमा स्नातकोत्तर पूरा गरेकी छन्। सन् १९९८ मा नै उनले बायफ्रा–नाइजेरिया युद्धमा आधारित भएर ‘फर लभ अफ बायफ्रा’ नाटक लेखेकी थिइन्। उनले यस नाटकमा १९६० को दशकमा नाइजेरिया र अलग बायफ्रा गणतन्त्रको माग गरिरहेका अलगवादीहरूबीचको युद्धलाई नाटकमा उतारेकी छन्। उनले यसै परिवेशलाई आधार बनाएर थुप्रै कथाहरू पनि लेखेकी छन्। उनको उपन्यास ‘हाफ अफ अ यल्लो सन’को विषयवस्तु पनि यसमै केन्द्रित छ।

चिमामान्डा अदिचीले आफ्नो पहिलो उपन्यास ‘पर्पल हिबिस्कस’ इस्टर्न कनेक्टिकटमा पढ्दै गर्दा नै लेख्न सुरु गरेकी थिइन्। नाइजेरियाको भूगोल र समाजमा आधारित यस उपन्यासले १५ वर्षीया काम्बिलीको सङ्घषपूर्ण जीवनलाई उतारेको छ। काम्बिलीको बुबा धनी र समाजमा प्रतिष्ठा कमाउन सफल व्यक्ति थिए, तर घरमा भने उनी एकदमै कठोर रूपमा प्रस्तुत हुन्थे। जब नाइजेरियामा सैन्य विद्रोहको साथै राजनीतिक अन्योल बढ्छ, काम्बिली र उसको दाजुलाई विश्वविद्यालयकी प्राध्यापक काकीकोमा पठाइन्छ, जुन उनीहरूको घरभन्दा एकदमै पृथक हुन्छ। त्यहाँ उनीहरूले आफ्नी काकीलाई आफ्ना बाबुभन्दा उदार पाउँछन्। काम्किली र उसको दाजुले त्यहाँ बस्दा नै जीवन र माया के हो भन्ने थाहा पाउँछन्। उपन्यासले स्वतन्त्रताको पक्षमा वकालत गर्दै, बाल्यकाल र वयष्ककाल, माया र घृणा, पुरानो धार्मिक सोच र नयाँ धार्मिक सोचबीचको अन्तरसङ्घर्षलाई प्रस्तुत गरेको छ।

उनको दोस्रो उपन्यास ‘हाफ अफ अ यल्लो सन’ चार वर्षको अनुसन्धानपछि लेखिएको हो। यसमा खासगरी अदिचीले आफ्ना आमाबुबाले नाइजेरिया–बायफ्रा युद्धका बेला भोगेको अनुभवलाई समेटेकी छन्। करिब १० लाख मानिसको मृत्यु भएको सो युद्धको हिंसात्मक पाटोलाई अदिचीले उपन्यासमा उतारेर आफूलाई युद्धविरोधी लेखकका रूपमा उतारेकी छन्। उनले यस उपन्यासले नाइजेरियाको इतिहासलाई नजिकबाट बुझ्न चाहनेका लागि सहयोगी हुने भन्दै बीबीसीलाई अन्तर्वार्ता दिने क्रममा भनेकी छन्, “बायफ्राको बारेमा हामी इमानदार भएर कुरा गर्दैनौं, मलाई आशा छ– यो किताबले हामीलाई हाम्रै इतिहासलाई बुझ्न र प्रश्न गर्न सहयोग पुऱ्याउँछ।”

नाइजेरियाली लेखक, नारीवादी लेखकका साथै अफ्रिकी–अमेरिकी लेखकका रूपमा परिचित चिमामाण्डा अदिची आफूलाई त्यसरी लेबल लगाइएको भने मन पराउँदिनन्। उनी आफू नाइजेरियाली, अश्वेत, नारीवादी, र अफ्रिकी भनेर चिनाइँदा आपत्ति नभए पनि कुनै एउटा वर्गमा सीमित गरेको भने मन नपर्ने बताउँछिन्। उनी भन्छिन्, “एउटा अश्वेत लेखकले अफ्रिकाको बारेमा लेखेको पुस्तक छ भने त्यसलाई अमेरिका र बेलायतका अधिकांश पुस्तक पसलहरूमा ‘आदिवासी’ लेखकहरूको सेल्फमा राखिन्छ र त्यसलाई मूलधारको लेखनबाट अलग गरिन्छ। एउटा श्वेत लेखक जस्तो कि पोल्याण्डका लेखक रिसजार्ड कापुचिन्सकीका कृतिहरू विषयवस्तु समान भए पनि मूलधारका लेखकका रूपमा वर्गीकृत गरेर राखिन्छ।”

अदिचीले लेखकको रङ हेरेर उसको कृतिलाई वर्गीकरण गरिने क्रियाकलापको आलोचना गरेकी छन्।

ओरेन्ज प्राइज, ओ हेनरी प्राइज, कमनवेल्थ राइटर्स प्राइजलगायत थुप्रै पुरस्कार विजेता चिमामान्डा अदिचीले सन् २०१३ मा तेस्रो उपन्यास अमेरिकाना प्रकाशित गरिन्। अदिचीले यो उपन्यासमा अफ्रिकी डायस्पोरालाई समेट्दै अफ्रिकी नागरिकहरू अमेरिका आइसकेपछि भोग्ने विभिन्न कठिनाइहरूलाई चित्रण गरेकी छन्। ‘अमेरिकाना’-की प्रमुख पात्र इफेमेलु भन्छे, “म त्यस्तो देशबाट आएकी हुँ, जहाँ रङलाई मुद्दा बनाइँदैन, म नाइजेरियामा रहँदा आफूलाई कहिल्यै अश्वेत ठानिनँ तर अमेरिका आएपछि अश्वेत भएको महसुस गरें।”

यो भनाइले हामी कुनै अलग सांस्कृतिक वातावरणमा नपुगेसम्म वा त्यसलाई सामना नगरेसम्म आफू अरुको दृष्टिकोणमा अलग भएको महसुस गर्दैनौं भन्ने कुराको पुष्टि गर्छ।

यो उपन्यासमा विभिन्न राजनीतिक तथा सामाजिक परिस्थितिका कारण इफेमेलु अमेरिका अध्ययनका लागि प्रस्थान गर्छे। यो उपन्यासमा धेरैजसो अविकसित तथा अल्पविकसित देशहरूका नागरिक सुरक्षित भविष्यको खोजीमा युरोप, अमेरिका जाने चरित्रको प्रतिनिधि कथा समेटिएको छ।

‘अमेरिकाना’-ले एउटी नाइजेरियाली महिलाले पहिचानको लागि गर्नुपरेको सङ्घर्षलाई सरल भाषामा प्रस्तुत गरेको छ। इफेमेलु महिला भएकै कारण पुरुषहरूसँग र अश्वेत भएकाले श्वेतहरूसँग समाजका विभिन्न संरचनाहरूमा दोहोरो रूपमा लड्न बाध्य पारिएकी हुन्छे। ‘अमेरिकाना’ शब्दले अमेरिकाबाट फर्किएका नाइजेरियाली नागरिकहरूलाई जनाउँछ।

उपन्यास इफेमेलु र उसको प्रेमी ओबिन्जेबीचको प्रेमसम्बन्धमा आधारित छ। लेगोसमा अध्ययनरत दुवै सुन्दर भविष्यको कल्पना गर्दै अमेरिका जान चाहन्छन्। सेनाको तानाशाही चलिरहेकोले उनीहरू नाइजेरिया छोड्न चाहन्छन्। इफेमेलु उच्च शिक्षाका लागि अमेरिका जान पाए पनि ओबिन्जेलाई भने सेप्टेम्बर ११ को घटनाका कारण भिसा दिइँदैन। ऊ लण्डनमा अवैधानिक तवरले बसिरहेको हुन्छ। केही वर्षपछि ओबिन्जेले आर्थिक रूपमा सफलता हात पार्छ भने इफेमेलु एक सफल लेखक र ब्लगरका रूपमा स्थापित भएर नाइजेरिया फर्कन्छे। दुवैले आफ्नो देशप्रतिको माया देखाउँछन्। उपन्यासले अफ्रिकी घुमाउरो कपाल र अमेरिकी सिधा कपाल, नाइजेरियाबाट गएका र अफ्रिकी अमेरिकीबीचको द्वन्द्वलाई रोचक ढङ्गले प्रस्तुत गरेको छ। उपन्यासले डोन्ना टार्टको ‘द गोल्डफिन्च’-लाई पछि पार्दै नेसनल बुक क्रिटिक्स सर्कल अवार्ड हात पारेको थियो।

चिमामान्डा अदिची उपन्यास र कथा लेखनमा मात्रै सीमित नभएर विभिन्न मुद्दामा आधारित भएर लेखहरू लेख्ने तथा अभिव्यक्ति दिने गरेकी छन्। उनले सन् २०१२ मा लण्डनमा दिएको नारीवादी मन्तव्य ‘वि शुड अल बी फेमिनिस्ट’ निकै चर्चित बनेको थियो। यसै मन्तव्यमा आधारित भएर बियोन्सेले ‘फ्ललेस’ गीत रेकर्ड गराएकी छन्।

महिलाका मुद्दामा खरो रूपमा प्रस्तुत हुने अदिची भन्छिन्, “हामी सबै प्रेमका बारेमा लेख्दैनौं र? जब पुरुष लेखकले प्रेमका बारेमा लेख्छन्, त्यो राजनीतिक टिप्पणी हुन्छ। त्यही महिलाले लेख्यो भने केवल प्रेममात्रै हुन्छ।”

अदिचीले प्रायः महिलाका कुरा, डायस्पोरा र लैंगिक विभेदका मुद्दा उठाएको पाइन्छ। उनले नाइजेरियाली सरकारले जारी गरेको समलिंगीविरोधी कानुनको समेत खण्डन गरेकी छन्। उनले समलिंगी सम्बन्ध राख्नु कुनै अपराध नभएको भनेकी छन्।

“अपराध ठहरिनका लागि कारण चाहिन्छ। अपराधमा पीडितहरू हुन्छन्। अपराधले समाजलाई हानि गरेको हुन्छ। कुन आधारमा समलिंगी व्यवहार अपराध हुन सक्छ? युवाहरूले कसरी प्रेम गरे र कसलाई प्रेम गरे भन्ने कुराले समाजलाई कसरी हानी पुऱ्याउँछ ?”

यो अभिव्यक्तिले उनलाई विवादमा पनि तान्यो, तर पनि उनले स्वतन्त्रताको पक्षमा कलम चलाइरहेकी छन्। चिमामान्डा अदिची अहिलेकी चर्चित लेखक हुन्। उनी धेरै युवतीदेखि बियोन्सेजस्ता पपस्टारसम्मका लागि रोलमोडल हुन्। विश्वविद्यालय पढ्दाताका ब्लगरका रूपमा लेखन यात्रा सुरु गरेकी अदिची अहिले नारीवादी लेखकका साथै समसामयिक विश्व राजनीतिमा कलम चलाउने लेखकका रूपमा चिनिन्छिन्। विशेषगरी आफ्ना रचनाहरूमा नाइजेरियाली संस्कृति, इग्बो संस्कृति र भाषाको प्रचुर मात्रामा प्रयोग गर्ने अदिची साहित्यमा अचिबेको लिगेसी पछ्याइरहेकी छन्।


साभार- बाह्रखरी

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares