You are here

निबन्धः भूपाल ग्यास त्रासदी-को 33 वर्ष

फेरि अर्को भोपाल नदोहोरियोस्

राजा पुनियानी


3 डिसेम्बर, 1984। घाम लुकेको छ आजको बिहान। विषाक्त कालो धुँवाले ढाकिदिएको छ आकाश। डल्लै। त्यो दैत्याकार धुँवा फिँजिरहेको छ टाढो, अझ टाढो। निल्दै वरिपरिको आकाश पनि। निस्सासिएको छ समय। खुम्चिएको छ स्पेस। सडकहरू सडक देखिएका छैनन्। सडकहरू त छोपिएका छन् खापै-खाप खप्टिएका मान्छेहरू र जानवरहरूका काला-नीला लाशले। एकसाथ बाँचेका मान्छे र जानवरहरू मृत लडिरहेका छन् एकसाथै। (कति गणतान्त्रिक!) भग्नावशेषहरूको अराजक थुप्रोमा कहीँ केही अचल हात देखिन्छन्। कहीँ केही निश्चल खुट्टा। कहीँ केही मौन अनुहार। हरिया पातहरूको रङ्ग फेरिएको छ कालोमा। अचल हावामा डडेका खुर्सानीको गन्ध भरिएको छ। भयावह शुष्कताले रिङिरहेको पृथ्वीको एक चोक्टा माटो अहिले क्रन्दन, चित्कार र हाहाकारले चिरिएर लकलक कामिरहेको छ। मुश्किल छ बाटो पहिल्याउनु अन्धकारमा। कुल्चिँदै र कुल्चिमाग्दै कुद्दैछन् बचेखुचेका निर्दोष पुरुषहरू, स्त्रीहरू, बूढा बाहरू, बूढी आमाहरू र निरीह बालकहरू। अन्धाधुन्ध, जताततै। जीवनको हरेक विराट् परिभाषा अहिले यो समयमा आएर खोरण्डो भएको छ। तथाकथित मानव सभ्यता‘-का कायर, कुत्सित र कलङ्कित बिहानहरूमध्येको एक यो बीभत्स बिहान। यो अँध्यारो बिहान।

♦  भारतमा आर्थिक उदारीकरण-को उषाकालमा भोपालले भोगेको ‘त्यो अँध्यारो बिहान’ अनूदित भइरहन्छ आजका ग्लोबलाइजेशन बिहानहरूमा। वितर्कित डङ्कल प्रस्ताव र जनविरोधी जेनरल एग्रीमेण्ट अन ट्रेड एण्ड ट्यारिफ‘ (ग्याट) मान्दै उद्दण्ड अमेरिकाको दादागिरीसामु भारतले घुँडा टेक्न आँटेको बेला। बहुराष्ट्रिय निगम (एमएनसी)-को ‘औद्योगिक’ उत्पातको 2 डिसेम्बर 1984-को रातपछि त्यो कथान्त-बिहानले अन्यान्य बिहानको कथारम्भ गरिदिइराखेको छ। शुरु छ आँकडाको कथा
– 40 टन विषालु वायु। लगभग 25 हजार तात्कालिक मृत्युहरू। 1 लाख 20 हजार मानिसहरू अझसम्म पीडित। प्रभावित 8 लाखभन्दा बढी मानिस। 50 प्रतिशत गर्भवती महिलाको शिशुस्खलन हुन्छ। रइसा बाइलाई सासको रोग छ। निर्मला देवीको रक्तकण सङ्ख्या घट्दै गइरहेको छ। चौध वर्षे सूरज जन्मँदैको विकृताङ्ग हो। कार्तिकेय र खुशी पनि।
विषालु वायुको दुष्प्रभाव भोगिरहेका हजारौं यस्ता ज्वलन्त उदाहरण पाइन्छन् भोपालमा।

♦  अमेरिकी एमएनसी युनियन कार्बाइड कर्पोरेशन (युसीसी)-ले कीटनाशक उत्पादक भारतीय एकाइ युनियन कार्बाइड इण्डिया लिमिटेड (युसीआइएल) भोपालमा खोलेको थियो। मिथाइल आइसोसायानाइड (एमआइसी)-को बेलगाम रासायनिक प्रतिक्रियाको परिणामस्वरूप वातावरणमा तीव्र ताप र चापवृद्धि हुन्छ। सञ्चयालयमा केवल 50 प्रतिशत सञ्चय गर्नुपर्ने सीमा उल्लङ्घन गर्दै 87 प्रतिशत एमआइसी सञ्चय गर्दा त्यहाँबाट निस्किएको हानिकारक वायु एमआइसीको दुष्परिणाम आज जन्मिने शिशुले समेत गर्भैबाट लिएर आउँछ। एक पावा लाख मानिसको ज्यान एकैचोटि लिने विश्वकै सबभन्दा कुख्यात औद्योगिक दुर्घटना हुनपुग्छ भोपाल वायु त्रासदी

♦  त्रासदी भएको 26 वर्षपछि 7 जून 2010-को दिन सुनाइएको विडम्बनापूर्ण न्यायिक फसेलामा युसीआइएलका पूर्व अध्यक्षलगायत आठ अभियुक्तलाई 25 हजार मानिसको हत्याको अपराधमा मात्र 2 वर्षको कारादण्ड दिइएको छ। न्यायिक प्रक्रियाबाट दुर्घटनाका मुख्य आरोपी तत्कालीन युसीसी अध्यक्ष वारेन एण्डर्सन फेरि छुटेका छन्। फसेलाबाट न त त्रासदी पीडितहरू सन्तुष्ट छन्। न त सचेत नागरिक समुदाय। न मानव अधिकारवादीहरू। यहाँसम्म कि पूर्व राष्ट्रपति एपीजे अब्दुल कलाम पनि यस फसेलाबाट रुष्ट भए। ऐन र न्यायपालिकाको परिणाम जनताको पीडासँग सङ्गतिमा छैन,” तिनले भने। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष एवं भारतका पूर्व मुख्य न्यायाधीश के जी बालकृष्णनले न्याय ढीलो दिइएको गुनासो पोखे। किनभने ढीलो दिइएको न्याय वास्तवमा अन्याय हो।

♦  गएको शनिवार देवाशिषदाको लामो एसएमएस देखापर्छ। जनपक्षीय कलाकार-लेखक-मानवअधिकारवादी-बुद्धिजीवीहरूको समूह सृजन‘-को तत्त्वावधानमा सिलगढीको मुटु हाश्मी चौकमा यस अपूर्ण, पक्षपातपूर्ण र कोल्टे फसेलाको विरोध जनाउन प्रदर्शन गरिने सूचना छ। मानव अधिरकारकर्मी विवेकदा विद्यार्थी साथीहरूसँग गम्भीर गफ गरिरहेका छन्। सुमन, शैलेसहरू पनि आइपुग्छन्। भोपालका पीडित जनताले न्याय पाउनुपर्छ, एण्डर्सनलाई पक्राउ गरिनुपर्छ  लेखिएका प्लाकार्डहरू बोकेर घण्टौं उभिएपछि साँझ हामी मैनबत्ती जुलूसमा थियौं। सिलगढी आफ्नै स्वाभाविक व्यस्ततामा थियो। बाइक, कार र अटोहरू बाटो माग्दै कर्कश हर्न बजाइरहेका थिए। मानौं, यस मौन प्रतिवादको कारणसँग उनीहरूलाई केही लिनुदिनु छैन। उनीहरूलाई त कहीँ पुग्नु छ बस। आ-आफ्नो आत्मकेन्द्रिकता लिएर सबै व्यस्त।

♦  अहिले मौन जुलूस श्रीलाल मार्केटको बजारे भीडलाई चिर्दै निस्किएर विधान रोडतिर बगिरहेको छ। केवल प्लाकार्डका शब्दहरू र मैनका शिखाहरूले मात्र नारा बोलिरहेका छन्। यस्तैमा एकजना मानिस कौतुहलतावश केही बेर मेरो देब्रेतिर समानान्तर हिँडेपछि बङ्गलामा सोध्छन्- कहाँ के भयो भाइ?” मैले विषयबारे छोटोमा बुझाएपछि ती व्यक्ति मुस्कुराउँदै यस्तो त भइरहन्छ नि” भनिराखेर पछिल्तिर कता बिलाए कता। तिनको भनाइमा कुण्ठा पनि थियो र उदासीनता पनि। लागिरह्यो, उक्त अधबैंसे मान्छेले हाम्रो संवेदनहीनताको प्रतिनिधित्व गरिराखेर गए। तिनको अनुहार मैले राम्ररी हेरिनँ। यति ठूलो घटनालाई यस्तो त भइरहन्छ नि भनेर टार्नुले हाम्रो भुत्ते भइसकेको संवेदना र हाम्रो विसर्जनवादी आदर्शको सफा चित्र उतार्छ। निभ्न लागेको मैन बत्तीतिर हेर्दै मैले सोचिरहे, विसङ्गतिप्रति आत्मसमर्पण गरिरहेको अनुहार कति स्पष्ट देखियो। हार्नु कति सजिलो। समाजशास्त्रका अध्येता-अध्यापक साथी अम्लान चाहिँ भन्दैथियो- फेरि अर्को भोपाल नदोहोरियोस्”

♦  यसपालिको न्यायिक फसेलाले अझ केही ओझेल विषयलाई स्पष्ट पारेको छ। भारत सरकारले भोपाल काण्डमा उति सन्तोषप्रद भूमिका वहन नगर्नु कुनै दायित्वविहीन व्यवहार नभएर दायित्वपूर्ण व्यवहार हो। उदार अर्थनीति-को पूर्ण साफल्यको निम्ति विदेशी पूँजीपतिहरूलाई यहाँ सजिलो आर्थ-सामाजिक वातावरण प्रदान गर्नु भारत सरकारको वर्तमान प्राथमिकता छ। एण्डर्सनलाई पक्राउ गरेर विश्वकै दादा अमेरिकासामु आफ्नो समर्पणवादी छवि धमिल्याउने जोखिम पनि उठाउनु छैन। लाइसेन्स प्रथा न्यूनीकरणको नाममा शून्यीकरण गरिसकेको छ पेप्सीको, एमटीभीहरूको कब्जामा परिसकेको भारत सरकारले। विदेशी कर्पोरेटहरूको निम्ति प्रवेश गर्ने र सक्रिय रहने नियम-कानून नब्बेको दशकदेखि घटाएर पूरै लचिलो भइसकेको वैश्वीकृत भारतमा जनताको सुरक्षा दाउमा छ। औद्योगिक विस्फोटनको युगको सूत्रपात गर्नु उद्यत भारत सरकारले तर यो बुझेको छैन कि अन्यान्य जति पनि संसाधनहरू उत्पादन र अनर्थनीतिमा चाहिन्छन्, तीमध्ये सबैभन्दा गुरुत्त्वपूर्ण र जीवन्त संसाधन ठहरिएको मानव संसाधन-को जीवन, उन्नति र हितको रक्षा नगरी कुनै पनि विकास अन्तमा आत्मघाती र पङ्गु साबित हुनेछ। त्यो विकास र विनाशमा कुनै पार्थक्य रहला जुन विकासले विकासकै जनकको विनाशको बाटो खन्छ?

♦  व्यापारिक संस्थानहरू समाजमा चल्छन्। उत्पादन गर्न चाहिने समस्त संसाधन समाज र प्रकृतिबाटै चलाउँछन्। फेरि नाफा पनि समाजबाटै कमाउँछन्। त्यसैले व्यापारिक संस्थाहरू त सामाजिक संसाधनका ट्रस्टी हुन्। प्रत्येक संसाधनको रक्षा गर्नु र केही लाभांश समाजवासीलाई फर्काउनुपर्छ भन्ने विचार प्रबन्धन गुरुहरूले दिएका थिए पहिल्यै। कर्पोरेटहरूको सामाजिक दायित्व‘ (सोसियल रेस्पोन्सिबिलिटी) -बारे पूर्व र पश्चिमतिर धेरै सिद्धान्तहरू जन्माइए। व्यापारिक सङ्गठनहरूको सामाजिक दायित्व:  कुनै पनि व्यापारिक क्रियाकलापद्वारा समाज र प्रकृतिलाई हानि नपुऱ्याउनु। समाज र प्रकृतिसँग सन्तुलित सामञ्जस्य राख्दै समाजको निम्ति कुनै पनि किसिमको सामाजिक हितकारी योगदान दिनु। यसको ठीक विपरीत भोपालमा यस्तै दायित्वको निरङ्कुश हत्या गरियो र ‘गणतान्त्रिक’ सरकारले चुपचाप तमाशा हेरिरह्यो। प्रबन्धनको अतिप्रचलित यस ‘सामाजिक दायित्व’-को प्रस्तावनाको वकालती गर्ने कर्पोरेटहरूले व्यावहारिकतामा भने केवल पूँजी बढाउने एक्लो स्वार्थमा तल्लीन रहेको दृष्टान्त हामी पाउँछौं। सिद्धान्त र व्यवहारमा पार्थक्यको समस्या धेरै पुरानो हो। सिद्धान्त बनाउनु र व्यवहारमा उतार्नु दुइ बेग्ला-बेग्लै कुरा हुन् भन्ने कर्पोरेट संसारको कुकृत्य भोपाल त्रासदीले प्रमाणित गरेको छ। भोपालको कलङ्क समग्र मानव समाज र सभ्यतालाई लागिसकेको छ र त्यो अँध्यारो बिहान तबसम्म प्रत्येक बिहानमा सरिरहनेछ, जबसम्म भोपालवासीले सटीक न्याय पाउँदैनन्। तर त्यसभन्दा पनि महत्त्वपूर्ण के छ भने फेरि अर्को भोपाल विश्वको कतै पनि नदोहोरियोस्। साथी अम्लानले भनेको सम्झना भइरहेको छ – फेरि अर्को भोपाल नदोहोरियोस्

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares