You are here

भूमिकाः आदर्श मिलन प्रधान/ एक्टिभिष्ट अक्षर

आगोको विरुद्ध लड्ने आगो

मनोज बोगटी


सिक्किमबाट काव्यिक एक्टिभिज्म होला भन्ने कुरामा मलाई धेरै समय विश्वास लागेन। मैले अनुभव गरेको कुरा के हो भने सिक्किमका सर्जकहरू सत्ताआतङ्कमा छन्। सिक्किममा एन्टिस्टाब्लिज्मेन्ट-को बाटो हिँड्नु जोखिम मोल्नु हो भनेर उहिलेदेखि सुन्दै आएको हुँ।

वारी हामी सत्ता हस्तक्षेप विरुद्ध प्रतिहस्तक्षेपको कुरा गरिरहँदा पारीका हामी झैं सर्जकहरू के भनिरहँदा हुन्? पारीतिरका धेरै आलोचकहरूको आलोचनाहरू पढिरहँदा पनि कविताले बोलेको आवाज म्युट गरी केवल कला र त्यसको सौन्दर्यको फेस्टुन बोकेर नाराबाजी गरिरहेझैं कटिपल्ट लागेकै हो।

पोष्टमोर्डनिज्मले पनि दबेको संवेदना, दबेको आवाज वा सिमान्तका लघु आख्यानलाई केन्द्रतिर हिँडाउने आइडिया दिन्छ। तर मैले सिक्किमका आलोचकहरूले त्यसलाई खोतलेर त्यहाँ सर्जकहरूलाई ‘समाजबाट नै ‘कला र विचार’ टिप’ भनेको कमै सुनेको छु।

विजयकुमार सुब्बा, कुमार नेपालीहरूका केही समूहले आफ्नै जिउका पसिनाले जीवन सौन्दर्यको सुरक्षाका आवाज लेखिरहेकै हुन्, तर उनीहरूलाई पछ्याउने छाया कुनै विरुवामा होला, मलाई लागेको थिएन। अझै पनि साङ्लीले बाँधिएका घोड़ाका टापहरू बोकेर जीवन थिङे चेतनाहरू अझ तल, अझ तल, अझ तल दबिँदै गइरहेकै हो।

जीवन थिङको सपना दबिएको ठाऊँमा उम्रिनुपर्ने विरुवा आदर्श मिलन प्रधानहरूले गोड्यो भने के हुन्छ?

कर्नाटकाका लेखक कलबुर्गीको हत्याले भारतीय शासनसत्ताको क्रुर अनुहार अघि ल्याएको थियो। बङ्गलादेशका ब्लगरहरूले पाएको यातना र असरफ फयादले थापेको कोर्रामा उस्तो भिन्नता छैन। आफ्नै चिह्नारी खतरामा परेको बेला दिमाग बोकेका कुनै पनि सर्जक रूप र सौन्दर्यको बखान गरिरहेको भेटिएको खण्डमा एउटा कुरा स्पष्ट हुन्छ कि उसलाई खतराबोध नै छैन।

धेरैजसो सर्जक र आलोचकहरू व्यक्तिको ऐन्द्रिक आस्वादनका कुरा गरिरहेका भेटिन्छन्। कवि र कवितामाथि आफ्ना नीजि आस्वादनले भाइब्रेट गरेको ‘फिलिङ’ पोख्नु कुनै पनि आलोचकको सर्वहिताय एक्टिभिज्म होइन। कृति वा रचनाले बोकेका सारा सम्भावनाहरूभन्दा पर आफ्नो तुष्टीव्याख्या गर्ने आलोचकहरू ज्यानमारा हुन्।

सिक्किममा धेरै ठूलाठूला आलोचकहरू छन्, तर पाठकलाई उद्वेलित गर्ने र भारतीय नेपाली साहित्यलाई विचार, दर्शन र कलाले उचाल्ने बल पाखुरामा बोकेका नयाँ सर्जकहरूका खड़ेरी पनि निक्कै छ।

मुख्यमन्त्री नै कवि रहेको ठाउँमा जुन साहित्य लेखिइरहेका छन्, त्यसको आवाज कति तीब्र छ? तिर आलोचकहरूको काम मृत्त छ।

हेर्दा धेरै सम्पन्न राज्यमा ‘सम्पूर्ण सम्पन्नता’-को भ्रममाथि जुन राजनीति हुन्छ, त्यो वेहद खतरनाक हुन्छ। ठूलो समूहले सानो समूहमाथि गर्ने चलखेलबाट कुनै पनि समाज अछुत हुन्न।

आदर्श मिलन प्रधानका कविता पढ्दैगर्दा सिक्किमप्रतिको रेडिमेड विश्वास भत्किन्छ। क्राफ्टले निक्कै कमजोर तर विषय उठानले निक्कै बलिया यी एक्टिभिष्ट अक्षरहरूको काँध किन पिल्सेका?

यी कविताहरूभित्र रहेको जाति, उसको ऐतिहासिकता, उसको संस्कृति, उसको उपस्थिति वा पहिचान नै खतरामा पर्दैगइरहेको सङ्केतकथनले अन्तर्यमा राखेको पीड़ा के हो त?

किन आदर्श मिलन प्रधानका कविताहरू उस्तो आदर्श छैनन? यी कविताहरूको बोलीमा किन छेचड़ापन छ? किन रुखो, अरट्ठ, बाङ्बुङे छ?

कवि निमा शेर्पा भन्थे, दुखेका मानिसको बोली मिठा हुन्नन्। आदर्श मिलन प्रधानहरूको दुःखको बेलो खोज्ने आलोचक के सिक्किममा होलान र?

शिलालेखबाट सुम्निमाको नामलाई परेको जोखिम,  अजस्र परम्परा बोकेका विम्बहरूको विनाश, भुइँमानिसका आवाजहरूमाथि लगाइएका साङ्गली,  गिद्धका आँखाहरूको निगरानीमा परेका संवेदना,  कञ्चनजङ्घाले हराइरहेको अनुहार… यस्ता अनेक क्रुर रिदमहरू छन्, जो आदर्श मिलन दबेको स्वरमा किन गाइरहेछन्?

तिमीले निल्ने प्रत्येक अन्नमा मेरो पसिना गन्हाउँछ

मेरै पसिना खसेर उम्रेको घाँस खान्छ तिम्रो माली गाई

र त्यै घासले उग्राएको दूधलाई तिमी शुद्ध मान्छौ

मलाई मान्दैनौं।

यी कविताहरू पढेपछि आदर्श मिलनका पुस्ता पर्खाल उभिएको हत्केलाका औंलीका चेपचापबाट घस्रि निस्किएर आफ्नो अनुहारको खोजमा हिँडेका एक्टिभिष्ट लाग्छ। कविताले बोक्ने कलाबारे त अनेकौं आलोचकहरूले लाखौं शब्द यसै पनि खर्च गरिहाल्लान्, किन भने उनीहरूसित कवितालाई चिरफार गरेर हेर्ने बाजारु र रेडिमेड सुत्रहरू छँदैछन्।

मलाई भने भाँच्चिएका खुट्टाले आफ्नो माटो टेक्न खोज्ने कविताका यी साहसहरूबारे बोल्न अनिवार्य छ, लागिरहेको छ। भाँच्चिएका औंलाहरूले आउने पुस्ताको निम्ति सुरक्षितबाटोतिर तेर्साएर आफ्नो समयलाई गाइड गर्न निस्किएका यी पीडित अक्षरहरूको एक्टिभिज्मलाई सलाम हान्न अनिवार्य छ, लागिरहेको छ।

हिँड्न सिक्नु कुनै पनि शिशुको अग्रगामी सोच हो। आदर्श मिलनले जहाँ पाइला राखिरहेछन्, त्यहाँ छ आगो। आगोको विरुद्ध लड्ने आगो त हो। अहिले मलाई पीडित कविको यो अभियानले भोलिका दिनका शक्तिशाली कविहरूको अनुहारको कल्पना गर्न लगाइरहेछ।

तपाईँ कल्पना गर्नु जान्नुहुन्छ भने नोक्सान छैन।

बधाई एक्टिभिष्ट कवि आदर्श मिलनलाई।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares