You are here

बालापन

ग्यालाक्सी चप्पल र सुबास घिसिङ

लेखनाथ छेत्री


सानो छँदा स्कूल गएर बाँचेको समय यदि कहीँ बित्थ्यो भने त्यो रङ्गीत खोलामा पौड़ी खेलेर बित्थ्यो। खास हिउँदको बेला एउटा समस्या थियो। अन्डरप्यान्ट लगाएर मलिबाँसेको दहमा माथिल्लो ढुङ्गाबाट हाम फाल्ने साहसी लाक्पाटारमा त्यतिन्जेल कोही निस्किएको थिएन। बरफ जस्तो चिसो पानीमा पट्पटी फुटेको खुट्टा डुबाउन मात्रै पनि एक क्रुर सजाय बन्थ्यो। तर झार-पात, झाडी-जङ्गल एकाएक सुक्दै जाने अनि खेतका गह्राहरूबाट धान काटिएपछि बगर जब फराकिलो बन्थ्यो, त्यहाँ हामीले चाहेजस्तो एउटा यस्तो संसार बनिन्थ्यो जसमा बेधड़क कुद्नुजस्तो आनन्द अरू कुनै खेलमा थिएन।

यसरी खेलहरूमा हाम्रो प्रिय खेल बन्थ्यो चोर-पुलिसको खेल। धेर साथीहरू पुलिस बनिन्थे अनि कम साथीहरू चोर। चोरहरू आफ्नो ज्यान बचाउन भएभरको बल लगाएर उनीहरूलाई समात्न कुदेका पुलिस साथीहरूको अगाडि-अगाडि भागिरहेका हुन्थे। चोर साथीहरूसँग भाग्नैपर्ने कठोर बाध्यता बन्थ्यो किनकि भाग्दाभाग्दै भाग्न नसकेर समातिए पुलिस साथीहरूबाट जिउ दुख्नेगरि भकुरिने डर हुन्थ्यो।

बाल्यकाल यस्तो गरिबीबिच बित्यो कि आज यो ठाउँमा आएर जहाँ कमसेकम के खान्छु, कहाँ बस्छु अनि के लाउँछु भनेर सुर्ताउनु पर्दैन, यतिबेला ती दिन एक खतरनाक सपनाजस्तो लाग्छ। बाल्यकालका ती दिन, यस्ता अवस्थाहरू आए जतिबेला लाग्छ कि नचोरेरभन्दा बरू चोरेको भए जीवन केही सजिलो हुन्थ्यो। तर अर्काको बारीको सुन्तलाको एक दानासम्म नटिपी बाल्यकाल बित्यो। यसरी नचोर्नु कसैले दिएको नैतिक ज्ञान थिएन भन्दा धेर चोरी गर्दैगर्दा कथङ्काल पक्रा परिन्छ कि भन्ने डर जो रहन्थ्यो, यो त्यसको असर थियो।

ठिक यतिबेलैतिर बिहिबारे बजारमा एक कुखुरा चोर पक्रा परेको थियो जसले घरघरबाट कुखुरा चोरेर धेरैदिनदेखि आतङ्क मचाइरहेको थियो। पक्रा परेपछि त्यस चोरलाई मान्छेहरूले दाम्लोले बाँधेर सानो बजारको सड़कभरि घिसारेका थिए। हड्डी तोड़िनेगरि पिटेका थिए। कुखुरा चोरको यो घटनालाई मेरो मानसले नजानिँदो किसिमले रङ्गीतको बगरमा खेल्ने चोर-पुलिसको खेलसँग जोड़ेको थियो।

किनकि चोर-पुलिसको खेलमा म नै सबभन्दा धेर साथीहरूको सहमतिमा चोर बनाइँए। चोर साथीहरूमा भाग्दा-भाग्दै सबभन्दा सजिलोसँग पक्रा पर्ने चोरमा हम्मेसी म हुन्थें। पक्रा परेपछि पुलिस साथीहरूबाट भकुरिँदै गर्दा सबभन्दा रिस आफ्नो कमजोरीसँग रिस उठ्थ्यो। बार-बार सजिलोसँग पक्रा परिनुको कारण मैले मेरो खालिखुट्टालाई दिएँ। खालिखुट्टा बगरमा कुद्नु मुस्किल हुन्थ्यो। कोहीबेला काँडाले घोचेर या त ठेस लागेर खुट्टाबाट रगत बगिरहेको हुन्थ्यो।

आजसम्म जीवन आफैले देखेको कुनै न कुनै सपनाको पछि दिनरात भागिरहे जस्तो लाग्छ। जुन सपनाको पछि म सबभन्दा पहिले भाग्न शुरू गरेँ, त्यो थियो चप्पलको सपना। चप्पल लगाएका खुट्टाहरू मलाई सुकिलो लाग्थ्यो। फितावाला चप्पलको पखेटा लगाएर बगरमा चोर-पुलिसको खेलमा दगुर्न होइन, यस्तो लाग्थ्यो कि म बेगसँग उड्न सक्छु। चप्पल लगाएर खेतको कान्ला-कान्ला उडिरहेको मलाई कसैले समात्न सक्दैनन् भन्ने एउटा भ्रम मस्तिष्कमा बसेको थियो।

स्कूलबाट फर्किँदै गर्दा हरेक दिन देख्ने भान्जाको दोकान अगाड़ि झुन्डिएको निलो रङको फितावाला ग्यालाक्सी चप्पलले मलाई मोहनी लाउन शुरू गऱ्यो। बारबार त्यसको दाम सोधेर हैरान पारेपछि भान्जाले एकदिन गाली दिएर दोकानबाट खेदेको थियो। रमदानको बेला अनायस मुखबाट गाली निस्किएको कारण भान्जाले अल्लाहसँग माफी पनि मागे होलान्।

पैंतालिस रूपियाँ। मेरो पहिलो सपनाको दाम थियो, जो त्यसपछि कहिले भुलिन।

लाक्पाटारमा हाम्रो मालिकको एक अजङ्गको कोठी छ, जसको अगाडि रैतीहरूका ससाना घर निरीह लाग्छन्। मालिक   बर्षको धेर समय शहरको आफ्नो घरमा बसेर बिताउँछन्। जब बाली या कुत उठाउने समय हुन्छ, या त जब कोही उनको साथी अथवा आफन्त सुदुर गाउँको परिवेश हेर्ने इच्छा गर्छन्, उनी कोठीमा बस्न आउँछन्। केहीदिन बसेर जान्छन्।

हिउँदको त्यो बेला, कोठीको चिम्नीबाट पुतपुताएको धुँवा देखेर मन बुरूक्क उफ्रिएको थियो। चिम्नीबाट धुवाँ आउनु, मालिक कोठीमा हुनुको सुचक थियो। अनि हिउँदको समय भनेको अम्लिसोबाट कुच्चो थुत्ने समय हो। मालिक कुच्चो उठाउन कोठी आएका हुन्। मालिकले भएभरको जङ्गलमा अम्लिसो लगाएका थिए। बर्षको अन्तमा अम्लिसोले यति धेरै कुच्चोको फूल दिन्थ्यो कि लाक्पाटारको सारा मानिस लाग्दा पनि थुतेर सकिन्थेन। केटाकेटीलाई पनि ठूलो मान्छेकै भाउमा केही पैसा कमाउने मौका बन्थ्यो। आठआना प्रति केजी।

ग्यालाक्सी चप्पलको मोहमा आएर नब्बे केजी कुच्चो थुत्न मलाई लगभग तिन दिन लाग्यो। यसको लागि भीर पहरा चारियो। अम्लिसोको धारिला पातहरूले कोमल मासुमाथि कुनै दया देखाएनन्। जङ्गलबाट निस्कँदा जीउमा यस्ता कम ठाउँ थिए जहाँ चोट नहोस्। कपड़ामा रगत सुकेर टाटा बसेका थिए। कुच्चोको धुलो पसेर जीउ यति चिलाइरहेको थियो कि एकाएक ढुङगामा घसेर सञ्चो फील गरिदिन मन लाग्थ्यो।

हातमा पैंतालिस रूपियाँ देखेर भान्जाले यसचोटि गाली गरेनन्। धाकसँग चप्पलको नाप लिइयो। पहिलोपल्ट चप्पल समात्दा त्यसबाट आएको वासना साह्रै मीठो थियो। आजपनि म त्यसलाई महसुस गर्नसक्छु। परिश्रमको वासना सबभन्दा  मीठो हुँदो रहेछ। यो त्यतिबेला थाहा पाएको हुँ।

कुनै पनि कुरा आफूसँग आजीवन रहिबस्दैन। यो एक क्रुर यथार्थ हो। जब कुनै चिज आफूसँग हुन्छ, त्यो आफूसँग हुनु एक आदत बन्छ, त्यसको उपस्थतिलाई कम बोध गरिन्छ। चप्पल मेरो खुट्टामा हुनुले मेरो चोर-पुलिस खेलमा खास असर पारेन। कुटाई खाने क्रम जारी रह्यो। चप्पल लगाएर हिँड्ने आदत बसाउन नै गाह्रो भयो। रहरले किनेर खास महत्व नदिएपछि नाराज भएजस्तो एकदिन खोला तर्दैगर्दा खुट्टाबाट फुस्किएर देब्रे खुट्टाको चप्पल खोलाले बगायो। हाम फालेर निकाल्न मन लागेपनि, एकाएक गहिरोमा पसेर हराइरहेको चप्पललाई आँसुको दह बनिएको आँखाले हेर्न बाहेक केही पनि गर्न सकिन।

बग्दा-बग्दै खोलाको गहिरोमा पसेर ओझेल हुनेबित्तिकै आभास हुनथाल्यो कि त्यो मेरोलागि के चिज थियो। हिँड्दा हरेक पाइलामा त्यसको कमी महसुस भएपछि कतिचोटि रूँदै हिँडेको देख्दा मान्छेहरूले रूनुको कारण सोधेका छन्। जाबो चप्पलको लागि रूँदै हिँड्छ भनेर गिल्ला गर्लान् भन्ने पीरले कारण बताउन नसकेको दुःख अझ महसुस हुन्छ। चप्पल हराएपछि एउटा सपना धेरैदिनसम्म देखियो। सपनामा मालबाँसेको दहछेउ बालुवाको रासमा मेरो हराएको देब्रे खुट्टाको चप्पल उत्तानो परिरहेको हुन्थ्यो। म खुशीले नाचिरहेको हुन्थें। बिउँझेपछि जुनीभर नलाग्नुको दुःख लाग्थ्यो।

प्रिय पाठक, शायद मेरो देब्रे खुट्टाको चप्पल हराएको घटनालाई यति मायालाग्दो पाराले भनेर (मायालाग्दो भएन नैं भने पनि मायालाग्दो बनाउने कोशिश गरेर) म तपाईलाई भावुक बनाइरहेको छु। तर हिन्दी फिल्ममा जस्तो यसको पनि एउटा अविस्वासिलो ट्वीस्ट छ।  यो  ट्वीस्टलाई भनेर म यो प्लटको अन्त गरिदिन्छु।

खोलामा दुवाली थुनिरहेका भालु बाङाले एक दिन त्यो चप्पल भेटेर घरसम्म पुऱ्याउन आए।

गाउँमा कसैले त्यतिन्जेल सुवास घिसिङलाई देखेका थिएनन्। तर घिसिङको नयाँ-नयाँ किस्सा मान्छेहरू काम बिर्सेर सुनिदिन्थे। घिसिङ कस्ता छन्, कहाँ बस्छन्, के खान मन पराउँछन् – देखि लिएर उनका कतिजना स्वास्नी छन्, अनि घिसिङ सम्बन्धित चुट्किलासम्म मान्छेको खुब चासोको विषय हुन्थ्यो। गाउँका सबभन्दा हाउड़ेहरूले पनि घिसिङलाई नैं आफ्नो हावाको विषय बनाउँथे। सुवास घिसिङमाथि चिलौने धुरामा भएको प्राणघातक आक्रमण, छैटौं अनुसुचिको लागि बातचित गर्नको लागि राजधानी भ्रमण- यी सब खबर आकाशवाणी खरसाङको प्रादेशिक समाचारमा भवानी शर्माको मुखबाट सुन्थे। कालिम्पोङमा सिके प्रधानको हत्यालाई लिएर घिसिङले दिएको बयानबारे समाचार चुल्हामा बसेर सुनिरहेको बेला अचाहिँदो हल्ला गर्दा बाबाले सोंतेले घुँड़ामा हिर्काएर ठहरै पारेको आजसम्म थाहा छ।

एकदिन लाक्पाटारको इतिहासमा नघटेको एउटा घटना घट्यो। तामसाङ चियाबगानको बाटो भएर सुवास नयाँ साँघुको साइट हेर्न रङ्गीतको बगरसम्म आए। वारि गाउँलेहरूले थाहासम्म पाएनन्। बगरमा घाँस खोज्दै डुलिरहेका साइँलाले आफू अगाड़ि साक्षात घिसिङलाई उभिरहेको देख्दा एकछिन अवाक भए।

‘खोलामा असला माछा कसरी मार्छौ ?’  घिसिङले सोधेछन्।

सपना हो कि बिपनाको स्थितिमा साइँलाले जवाब दिन सकेनन्। भकभकिँदै मुखबाट आवाज निकाल्न खोजे तर मुखबाट हावा बाहेक केही निस्किएन। खासमा माछा मार्नुभन्दा धेर उनलाई बाँचेदेखि भोग्दै आएको दुःखको दबाई सोध्न मन लागेको हुँदो हो।

‘मौवाको पात माड़ेर हाल्नु’। यति भनिराखेर हत्केलामा खैनी पड़्काउँदै घिसिङ त्यहाँबाट हिँड़ेछन्।

पछि जब यो कुरा गाउँलेहरूलाई सुनाए, कसैले पत्याइदिएनन्। साइँलालाई हुनसम्मको विस्वाद भयो।

पछि गएर यो घटनाको पुष्टि बस्नेत बुढ़ाले गरे।

यिनी खासमा एक जण्ड़ा झाँक्री थिए। दार्जिलिङको जस्तै कुनामा भएको झाँक्रीसँग पनि लिङ्क बनाउने घिसिङले त्यतिबेला एक अभियान नैं चलाएका थिएछन्। बस्नेत बुढ़ाको नाम छुट्ने कुरा आएन। एकदिन बिहिबारेमा एउटा रातो रङको मारूती गाड़ी अड़ियो। सामा-सर्दाम बोकेर घिसिङको आतिथ्यमा बनबो महोत्सवमा भाग लिन एक घण्टाभित्रमा बस्नेत बुढ़ा दार्जिलिङ हिँड़े।

फर्केर आएपछि बस्नेत बुढ़ाको रवाफ हेर्नलायक थियो। बनबो महोत्सवमा झाँक्रीहरूको प्रदर्शनी अनि घिसिङबारे गफ चुटेर उनी धेरैदिन थाकेनन्। जहाँ पनि बस्नेत बुढ़ा जान्थे, मान्छेहरूको भीड़ले उनलाई पछ्याइरहेको हुन्थ्यो। बस्नेत बुढ़ाको पछिपछि उक्त बनबो महोत्सवको अडियो क्यासेट पनि आइपुग्यो। बुढ़ाकै छोराको क्यासेट प्लेयरबाट झाँक्रीहरूले मुन्दुम फलाकेको अनि महोत्सवको समापनमा घिसिङको भाषण सुन्न पाएर गाउँकाहरू धन्य भए। घिसिङले बस्नेत बुढ़ासँग दुइ-तीन साल पहिले तामसाङको बाटो भएर रङ्गीतको बगर आएको कुरा पनि गरेछन्।

रङ्गीतमा पुल हालिने अब निश्चय भयो। कहिले पुल बनिएला भन्ने आशमा गाउँकाहरू बसेको बसेकै भए तर घिसिङ शासनको अनौपचारिक अन्त हुन्जेल पनि पुल बनिएन।

गाउँमा व्यप्त घिसिङ मोहले मलाई पनि छोड़ेन। उनलाई हेर्ने एक अज्ञात रहरले मनमा ठाउँ बनायो।

नभन्दै, नयाँ साल मनाउन घिसिङ गाउँदेखि दस-पन्द्रह किलोमिटर टाढ़ा ह्याप्पी न्यू इयर ब्रिज (अहिलेको जामुने)-मा आउँदैछन् भन्ने गाउँमा हल्ला आयो। घिसिङको दर्शन लिन उत्साहित गाउँका ठुलाहरूको पछि लागेर म पनि पैदल  हिँड़ें।

अघिअघि झाँक्रीहरूको ताँत अनि पछिपछि बङ्गाल सरकारले दिएको जेड सेक्युरिटीलाई साथ लाएर रङ्गीतको बगरमा उनलाई हेर्न आएका मान्छेहरूको समुद्रबिच देखापरेका घिसिङ नयाँ अनि पुरानोको अद्भूत समागम लाग्थे।

भीड़भित्रभित्रै छिरेर मञ्चको लगभग अगाड़ि पुगेँ। सेतै फूलेको कपाललाई छोप्न खोजिरहेजस्तो ढाका टोपी। जिउमा लगाएको सेतो रङको बुलेटप्रूफ ज्याकेट। दाहिने हातमा चिउँड़ो टेकाएर पारी-पारी बस्तीतिर के हेरेका होलान्? अनि के गम्दै होलान्? उनको गम्भीर अनुहारले सबैलाई जान्न आतुर बनाउँथ्यो।

‘यो पारि ड़ाँडामा फलानो देवताको वास छ, फलानो ठाँउमा फलानो देवता…’ यस्तो ठाउँमा यस्तो देवता र उस्तो देवता भनेर वाक्क बनाएपछि चिउँडोमा हात राखेर घिसिङले केहीबेर अगाड़ि के सोंचेछन् भन्ने कुरा उनको भाषणले खुलायो। सबै देवी देवताहरूलाई तोङ्बा चड़ाएर खुशी बनाए छिटै घाउ-खटिरा, दुःख-पीर सब नाश भएर जाने सल्लाह नैं उनको न्यू इयर भाषणको थिम थियो।

उनले पुरा भाषणभरि कहीँ देवता बास बस्ने त्यो पारि भित्तामा बस्ने भोका-नाङगाहरू, जसले ती देवी देवताको आविष्कार गरे, उनीहरूको कुरा गरेनन्। रोगीहरूको लागि स्वास्थ केन्द्र अनि दसकौंदेखि घाँस काटेर गुजारा गरिरहेका ती भुक्तभोगीहरूको लागि रोजगारका विकल्पहरूको कुरा गरेनन्। हलो जोत्नेहरूको कष्टसँग उनी भावुक भएनन्। युगौंदेखि रगत र पसिना मुछेर त्यो पारि भित्ताको ढुङ्गे माटोलाई उर्वर बनाउनेहरूको परिश्रमलाई सलाम ठोकेनन्। पहिरो, मच्छड़, खड़ेरी अनि अनिकालसँग उनीहरूले गरेको सङ्घर्षको कुरा गरेनन्।

फेरि भेटिएपछि त्यो ग्यालाक्सी चप्पल लगाएर कहीं गएको यहीं अप्रिय सम्झना मसँग छ।

मलाई प्रिय लाग्ने त्यो चप्पलको फिता मर्मत गर्न नसक्ने गरी कहिले चुँड़ियो त्यो मलाई थाहा छैन। शायद चप्पल चुँडिएको त्यो दिनले मलाई खास दुखी बनाएन। किनकि दुखी नैं बनाएको भए त्यो दिनको केही झल्को मसँग रहने थियो। मेरो खुट्टाले टेक्न पाएको त्यो पहिलो चप्पलपछि अनेक चप्पलहरूले खुट्टामा त्यस चप्पलको ठाँउ लियो। चप्पल लगाउने सपनाको ठाँउ अरू कुनै न कुनै सपनाले लियो। कुनै न कुनै सपनाको पछाड़ि कुदिरहेछ जीवन।

२००७ सालमा विमल गुरूङ रेलिङ आए। रेलिङले त्यतिन्जेल या त्योभन्दा केहीदिन अगाड़िसम्म हिरो मानेका घिसिङलाई उनले खुलेआम गाली गरे। घिसिङको गुणगाण गाएर आजसम्म नथाकेको यहाँको लोकल नेता आरसीलाई ललकारे। छ्यासीको आन्दोलनमा मान्छेले गरेको सङ्घर्ष अनि भोगेको दुःख सम्झाए। हामीसँग धोका भएछ भन्ने कुरा हिजसम्म थाहा नपाएको धेरै जनताले त्यतिबेला विमलको भाषण सुनेर थाहा पाए। गोर्खाल्याण्डको निम्ति ज्यान दिन्छु भनेर मान्छेहरूलाई भावुक बनाउने विमलले घिसिङको ठाउँ लिएपछि घिसिङ रातारात मान्छेका दुश्मन भए।

आज आएर गाँउको स्थिति लगभग त्यस्तै छ। आजको मेरो गाँउ अनि दस साल अगाड़िको मेरो गाँउमा खास फरक केही छैन। घिसिङले सर्भे गरेर गएको छोटा रङ्गीतमा वारि बस्ती अनि पारि चियाकमानलाई जोड़्ने पुल बनिन बाँकी छ। पक्की सड़कमा गाड़ी गुड़ेको हेर्ने सपना पुरा नभई मरे बस्नेत बुढ़ा। युवाहरूको रोजगारको लागि पलायन हुने क्रम अझ ज्यादा छ। तर मान्छेहरूको घरको धुरीबाट राजनैतिक पार्टीहरूको झण्डा अझसम्म हटेको छैन। बस झण्ड़ाको रङ फेरिएको हो। नायक फेरिएका हुन्। उनीहरूको चल्ती कथाहरू फेरिएका हुन्। मान्छेका आस्था अनि तिर्खा उही हो। यही आक्रोशमा मैले ‘झण्डा’ शिर्षक दिएर धेरैसाल पहिले एक कविता लेखेको थिएँ जसको अन्तिम पङ्क्ति यस्तो छ-

रङ फेरिए पनि

झण्डाले

आफ्नो नीति कहिल्यै फेरेन।

 

कहिले पोतिएला

झण्डाको जीउभरि

मेरो भोकमरिको रङ?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares