You are here

काव्यम् : छम गुरूङ-का पाँच कविता : लेखनाथ छेत्रीको केरकार : मनप्रसाद सुब्बाको टिप्पणी

काव्यम् »

वर्ल्डकप


म लगायत अरु मध्यरातमा छौँ

घाम आउन पर्दैन

 

ट्विटर–फेसबुक सब बेवास्ता खुल्लै

 

कोक–बोतल र च्यी–पमको छायाँमा केही चीज सल्बलाइरहेछ

 

यदि अँधेरो नै भइगए पनि

ग्याजेटको मधुरो उज्यालो मात्र भए पनि सन्चै हुने भएको छ

 

एउटा टिभी सेट व्यस्त छ

 

म पनि छु

कमिलाहरु यतै आउँदै छन्

 

वर्ल्डकपको नियन्त्रित हल्ला जारी छ

गाउँको यस पुरानो ढुङ्गे घरले म छोपिएको छु

 

भुइँका कमिला

उनीहरुकै टाउको जत्रै एक गेडो कोदो खेल्दैछन्

 

मसिनो धर्सामा अलिअलि चर्किएको कोदोको गेडो

ड्रमको बाहिरी पीँधमा टाँसिएको प्लुमको हो

 

म मैदान नटेकेर फुटबल आँखाले खेल्दैछु

किनारमा चकटीमाथि छु, टिभीमा भर परेको छु

 

मेरो उमेर कमिलालाई बढी हुन्छ

कमिलाको उमेर मलाई थोरै नै हुन्छ

 

मेरो साम्ने मैदान छैन फुटबल छैन

 

कमिलासित साँगुरो मैदान छैन

एक गेडो कोदो फुटबल भएको छ

 

कमिलाको सपनाभित्र मेरो संसार अटाउँदैन।


प्लुम : तमु भाषामा रक्सी पार्न तयारीमा रहेको जाँड।

च्यी–पम : तमु भाषामा ‘च्यी’ले रक्सीलाई र ‘पम’ ले खासगरी दारको काठबाट निर्मित विशेष रक्सीबोतललाई अर्थ्याउँछ।


खुट्टाको ताली

बाटो कसैले नछेकिदिए पनि

म जान चाहिरहेको छैन कतै

 

झ्यालको काखमा एउटा प्लाष्टिक फूलको गमला

आकारले प्लाष्टिक पनि फूल भैदिएको छ

 

मानिसको लागि सर्वोत्तम प्रिय चीज आकार पनि हो

 

कसैले थाहा पाओस् नपाओस्

बिर्सेर हराइरहेको छु कि म दुइचार मानिसकै संसार छेउ

डढेको पोलिथिनजस्तो फोक्सो साथमा

एउटा बन्धकी कोठाभित्र आफैलाई सम्झेर

 

खाली चुरुट–बट्टा स्वास्थ्य मन्त्रालयझैँ मौन लडिरहेछ

 

अन्तर्राष्ट्रिय क्यान्सर दिवसको ऱ्यालीसँगै

मेरो खोकीको हल्ला एक्कासी बढ्यो

 

बट्टामाथि झिँगो नाच्दै दुइखुट्टाले ताली बजाइरहेछ

 

गम्नुस् है कसको लागि होला?


एक साँझ चक्रपथमा

यो माइक्रोबस यति ऐठन कि मास्कसहितको मुख भुक्नै खोज्छ

 

दोब्बर यात्रु, खचाखच, सास्ती

सिस–झ्यालबाहिर भने गुडिरहेछन्–

रित्तै निजी पजेरोमा यातायात मन्त्री

कोही कारमा

कोही मोटरबाइकमा….

 

एकथरी यात्रु दोब्बर खाँदाखाँद

छेउबाटै खाली–खाली गुड्ने साधनहरू किन?

 

मेरो आमाले स्कुटर हाँक्ने युग छैन

फराकिलो चक्रपथमा

एकछिन डुब्ने मौका पाउँछु म मैभित्र

 

खाली छ.. खाली, अलि पर सर्नुस्, खुट्टा सार्नुस्

यात्रु मानौँ सामान प्याक गरिएको बोरा हो, आलु–प्याज हो

 

चटपट, पानीपुरी, ठेला–मःमः हिँडिसके, नाङ्लो–पसलेहरू गइसके

म चैँ हरसाल असार कुरुवा सडकमा पाङ्ग्राले हिँड्दै

धुलोले आँखा कब्जामा लिइहालेको छैन

धुवाँले फोक्सोमा खोकी लुकेर बस्न दिइएको छैन

इयरफोनले कानभित्र कुनै जीवित स्वरलाई बास दिएको पनि छैन

 

यात्रुका प्रायः मुर्ति–टाउको, खुट्टाका अमिलो थकाइ जुत्ताभित्र

 

माइक्रोको एउटै करङभरि मुट्ठी–चमेराहरू

 

एउटा हिँडिरहने कारागार

नहोस् यो संसार।


कविता थुक हैन

म केही सिक्नु अघि सास फेर्छु

 

सास फेर्न सिक्नु पर्दैन

 

म कलम–परम्पराबाट अलग्गिँदै छु

ल्यापटपसँग छु

 

कुनै एक शब्द खोजेरै पनि नपाएजस्तै

मलाई कसैले पाउन नसकिने होइन

 

म जहाँसुकै भने उपलब्ध हुने छैन

 

सास अघिपछि शब्द बोलाउँछु, जोख्छु

एकै शब्दले मलाई पनि जोखाउँछ

वाक्यसँग शब्द डराउने कुरै छैन

 

शब्द थुक जस्तो सजिलो निल्न–ओकल्न सकिन्न

 

कविता कुनै शासकको एक थोपा थुक होइन, सुकीजाँदैन

शब्दको सास विश्वकोशमा उपलब्ध हुँदैन

 

शब्दको सास हो कविता।


दुःखै थाकिसक्यो

कुनै पनि समयमा सोच्न पाइन्छ

 

बीच बाटोमा सोचिँदैन

छेउछाउ हिँडिरहेछु

 

म बाटो हिँड्छु लाग्दैन

खालि एउटा दूरी मात्र हिँडिरहेछु लाग्छ

 

फलैचामा एकछिन निदाए

आकाश तर्फको हवाइजहाज–उडान बिर्सिइएर जान सकिने बेर लाग्दैन

बच्चाले उडाइरहेको प्लास्टिक–हेलिकप्टरले ब्यूँझाइदिन सक्छ!

 

एउटा बाच्छोले आफ्नो सिङ कति पलाइसकेको पत्तो नपाएजस्तै

आफ्नै पनि धेरै कुरा मलाई नै थाहा हुँदैन

बितेर जान्छन्, आइहाल्छन् पनि उसै धेरै थोक एकसाथ

केही चैँ यादमा बस्छ, आँसुको प्रहार दुई मिनेट लुकाइँदैन

आई–फोनको चार्जर नै बिग्रिए संसारमा दुःख थपिदिन्छ

बुद्धको दुःख–धारणा थाहा पाउँदापाउँदै

एउटा मान्छे थपिहाले चैँ संसारमा दुःख त्यसै घट्छ त?

 

दुःख मलाई दुःख दिन थाकिसक्यो

 

सोच्छु म जसरी पनि सोच्न त पाइन्छ।


म मेरै मातृभाषामा जीवित अभिव्यक्तिन सक्छु, तर… : छम गुरूङ


केरकार »

लेखनाथ छेत्री


 

वर्ल्ड कपकवितामा बुझ्नलाई अन्तमा अर्थ राखेर दुई गुरूङ शब्द चलाइएका छन्। मौलिक भाषाका शब्द अथवा मिथलाई लेखनमा ल्याइनुका औचित्य के होला?

यस्तो अन्तर्वार्ता यो अघि कैल्यै नदिएको, यसमाथि यो त स्कुलीय परीक्षाकेन्द्रित लिखित प्रश्नमाला जस्तो, एक हिसाबले यसो सोचिल्याउँदा तनाव जस्तो पनि र अन्तर्वार्ता नभई बाध्यवार्ता हो पो लाग्ने! जेहोस् ठिक छ, उत्तिकै मजा पनि लागिराछ।

म प्रश्नमै छिर्छु।

कविताको एकार्थी बुझाइ ठिक हुँदैन लाग्छ। हरेकलाई व्याख्याउने र बुझ्ने स्वतन्त्र सुविधा हुन्छ। ‘वर्ल्ड कप’ कविताको हकमा, मैले प्रवेश गराएका दुइटा गुरूङ शब्द, प्रयोगकै लागि मात्र वा कवितान्तमा अर्थ नखुलाई बुझिँदैन भने उक्त कविता गर्भमै तुहियो भन्दा फरक नपर्ला।

दुइटा शब्दार्थ नखुलाइए पनि कविताले अर्थ खुलाउन सक्नु पर्थ्यो, सकेन, तसर्थ यो कविता शब्द–प्रवेश निमित्त केन्द्रित मात्र भयो र असफल भएको मान्छु। खासमा मलाई मेरै मातृभाषामा लेख्न नै सहज हुन्छ, यही भाषामा जीवित अभिव्यक्तिन सक्छु।

यो कविता पनि मेरो तमु वा गुरूङ भाषामै लेख्ने मन थियो, लेख्दै जाँदा यी दुइटा शब्द खस नेपालीमा सहजै आएन, ‘प्लुम’ र ‘पम’ नै प्रवेश गराइदिएँ, आखिरमा दुइटा शब्दमा सीमित भएँ। हामीलाई हिन्दु राज्यले भाषिक–सांस्कृतिक आतङ्क दिँदै आएको हो।  नेपालमा पूर्ण भाषिक–सांस्कृतिक लोकतन्त्रीकरण छैन अझै।

आन्तरिक भाषिक–सांस्कृतिक उपनिवेशवाद कायम छ। त्यत्तिका शताब्दीदेखि जिब्रो नै भाडामा राखेजस्तो गरी बोल्नु पऱ्या छ। एकल भाषाले नागरिकको स्तरीकृत गरेको छ, मातृभाषाबाट बन्चित गराउनु भनेको राज्यले दास बनाउनु हो।

नेपाल त एउटा अपाङ्ग देश हो भन्न सकिन्छ। मैले खस नेपाली सिक्न मात्रै छ–सात वर्ष खर्चियो, बुझ्न–लेख्न त अझै पनि कहीँ न कहीँ चिप्लिदिन्छ। मेरो जीवित सिर्जनाको आवाज र अस्तित्व मेरै मातृभाषामै छ। हरेक मान्छेको अक्सिजन उसैको मातृभाषा हो, मातृभाषा इतरलाई अन्यकरण र निषेध गर्ने कुरा पनि आउँदैन। प्रायः मौलिक शब्दले अनुवादित अर्थमा अभिनय गर्न मान्दैन। यसैगरी, लेखनमा मिथको प्रयोग पनि गर्न पर्छ।

लेखनको काम समाज, इतिहास र सत्ताप्रति मौन बस्नु हैन, राज्यको साँगुरो चरित्र र एकोहोरो शासकपक्षीय इतिहासमाथि प्रश्न र प्रहार गर्नु पो हो। यसर्थ मिथक बिना राज्यद्वारा किनारीकृत समुदायहरूको इतिहास–लेखनको सम्भवै छैन भन्ने लाग्छ। मिथक र मातृभाषा ज्ञान–परम्परासँग जोडिएर आउँछ। मिथकले इतिहास र समयसँग सीधा संवाद गराउन सक्छ। भाषा बिना त संवाद हुँदैन, संवाद भएन भने जेको पनि द्वन्द्व हुन सक्छ।

 खुट्टाको तालीकविताले केही गर्न नसक्नुको एक चरम छटपट्टीबारे बताइरहेजस्तो लाग्छ। यो छटपटी तपाईं बाहेक अरू कसकसको हो?

केही गर्न नसकेको थाहा पाउनु धेरै गर्न खोज्नु पनि हो। यो छटपटी संयम विद्रोह पनि हो। सडकमा लाखौँ खेप चिच्याउनेहरूले कुनै कुनाको अँधेरो कोठामा एउटा वास्तविक समस्याको आवाजलाई बेवास्ता गर्दिन सक्छ।

यस्तो कोठा संसारको जुनसुकै कुनामा हुन सक्छ। केके–केकेको भोक छ, तर जो भरिएर पनि चुरूटको बट्टा भरिनु जस्तो हुनु परेको छ। राज्य वा समग्र विश्व–व्यवस्थाले म र मजस्ताहरूलाई रित्तो चुरूट–बट्टा जस्तो हुन बाध्य पारिएकाहरूको संयुक्त छटपटी हो यो। जहाँ समाजघातक सत्तामुखी झिँगाहरू विष्मयकारी ताली बजाउनमा व्यस्त छन्।

 एक साँझ चक्रपथ’ – मा शहरी सभ्यता, यसको होहल्ला अनि साँघुरोपनबाट अवाक बनेको मान्छे छ। एउटा सुदुर गाउँबाट काठमाडौं खाल्डो पसेपछि गाउँको कुनकुन कुराको धेर तिर्खा लाग्छ?

कविताको सापेक्षमा ठुलो कुरा गर्न पनि बेठिक, मेरा कविताहरू अधिक कमजोर छन्। सामान्यतः म कविता भोगाइमा र कम्तीमा एउटा व्याख्यायोग्य ठोस बिम्बमा टेकेर थाल्नु मन पराउँछु। एक साँझ म काठमाण्डौं चक्रपथमा यात्रारत थिएँ, आमासँगै। आमालाई खस कुरा आउँदैन, महिला सिट आरक्षण पनि छ, सिटमा बसेकी एउटी महिलाले अलि परचक्री दृष्टिकोणले हेर्न थालिन्।

मेरो आमाको कखरा चिनाइ पनि छैन, लवाइ–बोलाइ पनि नितान्त अलग। एकछिनमा आमालाई सिट मिल्यो। उठेर जानेले औँलाले देखाएर बस्न लगायो, आमाको जिब्रो भन्दा निरीह औँला वाचाल हुन पुग्यो। चारतिर सास्ती व्याप्त, आमा चैँ चुपचाप। म कोचाकोच यात्रुबीचमै थिएँ, केही सोच्दै थिएँ।

पछि कविता लेख्न कोसिस गरेँ। काठमाडौं ठाउँ मात्र हैन, चक्रपथको घेरो त केन्द्रीय सत्ता–चरित्रको प्रतीक हो। केन्द्रीकृत राज्य प्रणालीले गर्दा जो कोहीको सपना यहीँ सप्रन्छ, लुटिन्छ पनि। यहाँ स्वचालित भन्दा बढी सञ्चालित भएर जान्छन्। वर्ग–सङ्घर्ष यहीँ छ। चरम विभेद र समानताको दृष्टान्त पनि यहीँ उपलब्ध छ।

सबैभन्दा लाटो पनि यहीँ बोल्न सक्छ। सबैभन्दा टाठो पनि यहीँ लाटो हुन सक्छ। काठमाण्डौंमा सबसे पैले ‘काठमाडौं पनि कुनै समयमा एउटा दुर्गम गाउँ थियो’ भन्ने विस्मरण र म आफैलाई स्मरण हुन्छ। काठमाडौँमा मलाई गाउँका गाउँबासी, उनीहरूको भाषा, संस्कृति, लोकश्रुतिपरम्परा, जीवनशैली, श्रमशील हात र पर्यावरणको तिर्खा लाग्छ।

भौतिक पहुँच र विकासको हिसाबले चैँ गाउँलाई नै काठमाडौंको तिर्खा बढी लाग्छ, गाउँको कुराले काठमाडौंमा कमै तिर्खा लाग्छ, याद हुन्छ। जब काठमाडौंबाट गाउँमा पुगिन्छ, त्यसै बेला गाउँमै गाउँको याद बढी हुन थाल्छ, गाउँको हरेक चीजको खसखस लागेर आउन थाल्छ, जरा उखेलिनु र हाँगा काटिनुमा धेरै फरक छ। काठमाडौंमा बसेर नै काठमाडौंको बढी तिर्खा लाग्छ, गाउँमा बसेर लाग्दैन होला।

कवितालाई राजनीतिसँग जोड्ने अनि यसलाई छुट्याएर हेर्नेहरूबीच बहस चलिरहेछ। कविता थुक होइनकविता मार्फत सहज अर्थमा कविताबारे राखिएको टेक के हो?

राजनीतिबाट अलग्गिनु भनेको एउटै झ्याल–ढोका नभएको बन्द घरमा बस्छु भने जस्तै हो। कविता भनेको पनि समाजबाट सिर्जित हुने कुरा हो। राजनीति भनेको नेता, मन्त्री, चुनाव–भाषण वा सरकार–सत्ता मात्र हैन। यो त ज्ञान हो, दर्शन हो, विज्ञान हो, परिवर्तन हो, प्रतिरोधी चेतना हो, मानव समाजको दिशा निर्धारक पनि हो।

एउटा सुन्दर समाजको लागि उत्तिनै सुन्दर राजनीतिको जरूरी पर्छ लाग्छ। शासक वर्गले गरिखाने शासित वर्गको बाध्यात्मक शोषण गर्नु भएन। समाज शक्तिको प्रयोग भइरहन्छ, यसबारे पनि थाहा पाउनु पऱ्यो।

राजनीति कुनै धर्मशास्त्र जस्तो बुझ्नेले कविताबाट राजनीति अलग्याएर हेर्लान्। तर यो बुझ्नु जरूरी लाग्छ कि कवितालाई राजनीतिले निर्धारण गर्दैन, गर्नु हुँदैन। कविताले चैँ राजनीतिलाई निर्धारण गर्ने सामर्थ्य राख्न सक्छ। राजनीतिलाई कवितामा ल्याउँदा कविताकै भाषामा ल्याउनुपर्छ।

‘शासक’ शीर्षक वा शब्द लेख्दैमा राजनीतिक कविता नै हुन्छ भन्ने लाग्दैन। ‘सूर्य’, ‘आगो’ वा ‘रातो’ शीर्षक वा शब्द लेख्दैमा त्यो प्रगतिशील, विद्रोहात्मक वा परिवर्तनमुखी वैचारिक कविता भैहाल्दैन जस्तो पनि लाग्छ। कवितामा मलाई सीधै शब्द ‘आगो’ लेख्नु भन्दा पनि एउटा बिम्बात्मक वाक्य वा हरफ वा सिंगै कविताले ‘यो’ लेख्न सके हुन्थ्यो लाग्छ।

मलाई यस्तो लाग्छ, मैले प्रयोग गर्ने कुनै पनि एक शब्दले अभिनय नगरोस् भन्ने चाहन्छु। हरेक परिचित शब्द नयाँ कविताको लागि अपरिचित होस् लाग्छ। हाम्रो पैलो सास भनेको आमा भए जस्तै भाषाको निरन्तर आमा (एकैछिनको हैन) भनेको कविता हो। त्यसैले शब्दको सास कवितामा हुन्छ। कुनै कवितामा शब्द उल्टै मर्न पनि सक्छ। कविता खराब शासकको क्षणिक थुकाइ पनि हैन, सधैँ त्यसको प्रतिपक्षी हुनुपर्छ।

छम गुरूङ कविताहरूमा अलि निराशावादी लाग्छन्। यसो हुनु निराशाबाहेक कविता लेख्न बाध्य गराउने अन्य केही नभएर हो?

मलाई निराशावादी लाग्नु पनि स्वाभाविक हो। निराशा पनि मानवीय सत्य हो, यसलाई अलग्याइनु ढोंग हो। तर यसलाई यसरी सोच्छु म कि ब्रेख्तकृत ‘अँधेरो बारे’ कविता जुन छ— ले भन्छ: अँधेरोबारे पनि गीत गाइन्छ? गाइन्छ, अँधेरोकै बारेमा।

यो बाहेक लेख्न बाध्य पार्ने अन्य थुप्रै छन्। सबभन्दा पैले राज्यले बहुसंख्यकलाई न्युनतम सामाजिक न्याय विपरीत लादिएका भाष्यहरूमाथि प्रश्न गर्ने बेला हो यो। पिछाडिएका उत्पीडित बहिष्कृत समुदाय, दलित मुक्तिको मुद्दा, पहिचान, ‘टोटेम’ राष्ट्रिय प्रतीकहरूमाथिको प्रश्न, विप्रेषणको आम्दानीमा राज्यबाट नागरिकको व्यापारीकरण, लैङ्गिक मुद्दा, कोहीसित व्याङ्कमा करोडको मौज्दात हुने र कोही चैँ दश रूपे खल्तीमा छामछुम गरिरहनु पर्ने अर्थव्यवस्था छ, पृथ्वीको निरन्तर तापवृद्धि, पर्यावरण सचेतना, भुमण्डलीकरण अनेक छन्।

खकुलो कविताहरू पढ्ने आदत बसाइसकेकाहरूलाई तपाईंले चलाउने बिम्बहरूले कवितालाई चाम्रो बनाइदिन्छन्। यस्तो गुनासो राख्नेहरूलाई तपाईं के भन्नुहुन्छ?

ठिकै हो। मेरो बिम्ब असहज पनि हुन सक्छ। गुनासो आउनुपर्छ, स्वीकार्छु। शाब्दिक बिम्ब निर्माणमा र समाजसित विज्ञानसम्मत संवाद गराउने कोसिसमा सचेत नै छु लाग्छ तर कथ्यगत बिम्बमा अलि समस्या भएको लाग्छ।

सक्दो सहज बनाउने कोसिसमा हुन्छु। मलाई नबोलिकन बोल्ने बिम्ब मन पर्छ। बिम्ब भनेको भाषा हो, कथ्यकला हो। मुर्त बस्तुमाथि उभिएको वाक्यात्मक वा कथात्मक बिम्ब ठिक लाग्छ। मलाई तयारी पाउरोटी जस्तो कविता उचित लाग्दैन, बरू खेतकै गहुँको फल जस्तो कविता ठिक।

पाउरोटी त पाउरोटीमै सीमित हुन्छ, गहुँको फलसँग त अरू सिर्जना हुने सम्भावना रहन्छ। अझ भनौँ मलाई त्यो गहुँ उत्पादन गर्ने श्रमिकको हात जस्तो कवितै मन पर्छ।

चाम्रो लेखन यता आयामकालीन टेक्निक थियो, त्यो पुरानो भइसक्यो भनिन्छ, तपाईंको कविताले संवाद गर्ने समाज एलिट नै हो है?

कविता लेखन पनि निरन्तर लेखन श्रृङ्खला नै हो। कहीँ न कहीँ र कसै न कसैको प्रभाव त परि नै हाल्छ। स्वाभाविक हो। आयामकालीन टेक्निक पुरानै भो होला, तर यसको प्रभाव अझै होला लाग्छ। मलाई खासमा शासित र बहिष्कृत वर्गको पक्षधरतामा नलेखिएको कविता नै चाम्रो लाग्छ। मेरो कविताले संवाद गर्ने समाज एलिटको पनि हो तर उनीहरूको प्रतिपक्षमा संवाद गरिरहेको हुन्छ।

कवि छम गुरूङ हल्ला पिट्दैनन्। स्टन्टबाजी गर्दैनन्। सोसियल मिडियाहरूमा एक्टीभ छैनन्। किन ?

म कविताले फैलाउन सक्ने सम्मको आवाजमा विश्वास गर्छु। भौतिक भेटघाट नै ठिक सन्चो लाग्छ। सोसियल मिडियामा प्यासिभ नै चैँ नभन्न मिल्ला। जरूरी भएसम्म अपडेट हुन्छु, यो पनि एउटा विश्व–ज्ञान स्रोत हो। दुई लिटरको प्रेसर–कुकरमा एक पाथी चामल त पाक्दैन होला। जति पाक्ने क्षमता छ, त्यति पकाउन सचेत छु, र पकाउँदा पनि कति सिटी हान्नुपर्छ, थाहा छ। कुकरको क्षमता वृद्धि गर्दै जाने विकल्प छँदैछ।

अनेक कविहरूको भीडबीच छम गुरूङ फरक लाग्छन्। छुट्टै किसिमको शिल्प छ। यसो हुनु हरेक कविको लागि कति जरूरी छ भन्ने लाग्छ?

छुट्टै हुन्छु भनेर हरेक सिर्जनकर्मी लागेकै हुन्छ, म पनि कोसिममा छु। लेख्नु भनेको आविष्कार गर्नु पनि हो। पैले त जो कसैमा खास आधारभूत विचारधारा प्रष्ट हुनैपर्छ। फरक हुनु भनेको कृत्रिमताबाट जोगिनु हो पनि लाग्छ। ब्रोइलर कुखुरा लाखौँ–अरबौँ भए पनि उस्तै मात्र हुने रैछ। यसो पनि हो, मैले मेरो लेखन उत्कृष्टताको निरन्तर अतिक्रमण गर्नुपर्छ। लेखनमा खासै सुझाव र आदेश–निर्देशनको फलिफाप हुँदैन!

एउटा कविता संग्रह छापिसकेका छम गुरूङ अहिले पनि कवितै लेखिरहेका छन्। उपन्यास लेख्ने होडबाजी चलिरहेको यो बेला कवि छम गुरूङलाई उपन्यासकार छम गुरूङ अथवा लेखक छम गुरूङ भइदिनु मन लाग्छ कि लाग्दैन?

एउटा लेखकले जे सक्छ, विविध विधा लेख्न सकिन्छ। कवितासँगै उपन्यास लेख्दा पनि, कथा–नाटक नै लेख्दा पनि, पटकथै लेख्दा पनि हुन्छ। मैले कविता अतिरिक्त अनुसन्धानात्मक लेखहरू लेखिरहेको पनि छु। कथा कोर्दैछु। स्क्रीप्टतर्फ पनि संलग्न हुँदैछु। कुनै एक वर्षको एक दिन छम गुरूङको उपन्यास पनि नआउन सक्छ भन्न मिल्दैन।

कवितामा आदिवासी संवेदनालाई नेपालतिर प्राथमिकता दिने लहड नै चलेको छ, सामाजिक सतहमा कविताले खेल्ने भूमिका के हो त?

आदिवासी संवेदनालाई नेपालतिर लेखनमा लहड मात्र भन्न मिल्दैन। प्रतिबद्धता छ र युगीन माग हो। नेपालमा मात्र होइन, अहिले संसारभर नै आदिवासी संवेदना, हक र विद्रोहको आवाज उठिरहेको छ, स्थापित पनि हुँदै गइरहेको छ।

आजको युग आदिवासी–जनजाति मुद्दाको युग पनि हो। राज्यद्वारा उत्पीडित, शासित र बहिष्कृत आदिवासी जनजाति, दलित, महिला, मधेसी, अल्पसंख्यक समुदाय, मुस्लिम लगायत सबैको न्याय, समानता, समावेशी, अग्राधिकार र निर्णय तहमा स्थापित गराउनेमा कविताको भूमिका रहँदै आएको सत्य हो। सर्वहारा वर्गको मुक्ति, पुँजीवाद र साम्राज्यवाद विरूद्ध लड्ने अभियानमा कविता सामाजिक सतहमै निःसन्देह संलग्न छ।

तपाईंको कविता किन पढ्नु?

मेरो कविता कुनै धर्मशास्त्रको अंश होइन। पढ्नकै लागि पढ्न भन्दा पनि जिम्मेवारी सहित मेरो कविता पढिदिए सन्चै हुन्थ्यो। पृथ्वीको एक सचेत नागरिक हो र इतिहास, कला, साहित्य, विज्ञान, सिनेमा आदिको बुझाइ घेरा तोड्न र मलाई पढ्नु पर्नेले पढून्।

समाजको तह थाहा पाउन, गलत भाष्यमाथि प्रश्न गर्न, केही नयाँ सोचको थालनी गर्न, मान्छे मात्र उस्तै मान्छे होइन थाहा पाउन, सत्ताको प्रतिपक्षमा उभिन र सिंगो संसारै कवितामा छ भन्दा पनि संसार बदल्न सक्ने एक अंश सत्य यसमा छ भनेर खोज्नेले मेरो कविता पढ्न थाल्दा बेसै होला।


इग्नोर गर्न नमिल्ने कविता


काव्यम् टिप्पणी

मनप्रसाद सुब्बा


छम गुरूङका पाँच कविताहरू पाँचपल्टजति पढेपछि यस्तो लाग्यो कि यी कविताका धेर जसो पङ्क्तिहरू छम गुरूङको अवचेतन (सबकन्सस) मनबाट निस्केका हुन्।  छम गुरूङलाई मैले यदाकदा मात्र पढेको हूँ। उनका कविताहरूबाट म खासै परिचित छुइनँ। तर मनोज बोगटीले पठाइदिएका यी पाँच कविताहरू हेरेपछि लाग्यो छम गुरूङ इग्नोर गर्न सकिने कवि होइनन्।

कविताको निमित्त गृहित कथ्यलाई हेर्ने, छाम्ने ढङ्ग निकै भिन्दै छ छमको। कथ्यलाई अन्य सापेक्षित वस्तुसित हाराहारी राखेर हेर्ने उनको आनुपातिक संवेद (सेन्स अब् प्रोपोर्सन) टड्कारो देखिन्छ र यसलाई कवितीय बिम्बमा प्रकट गर्ने शैली पनि उनको आफ्नै छ। सूक्ष्म सेन्स अब् प्रोपोर्सनको अभावमा काव्यिक दृष्टिले अपेक्षित सन्तुलन हराउन सक्छ र असन्तुलित दृष्टिले काव्य रचना नै असन्तुलित बन्न सक्छ।

यी कविताहरू, विशेषतः ‘वर्ल्ड कप’ शीर्षकको कविता, पढ्दा छममा आनुपातिक संवेद सहजतासित आएको बुझ्छौं हामी। (यस कवितामा प्रयुक्त दुइ तमु शब्दहरू तर तमु शब्दमै राखिनुपर्ने आवश्यकता भने क्यै देखिँदैन। तमु संस्कृतिको स्वर सुनाउन खोजिएको भए तापनि सम्बन्धित संस्कृतिको अविच्छेद्य झलक भने त्यहाँ त्यसले बोकेको देखिन्न)।

यी पाँच कविताहरूमा सामान्यतः कुनै पङ्क्ति पनि अनावश्यक लाग्दैन।

कवितामा कुराहरू भनिँदैनन् तर देखाइन्छन्। भन्ने कुरालाई जीवन्त स्वरूप दिइन्छन्। खराब कविले कवितामा कुरा गर्दा बढ्ता बोलिपठाउँछन् जसले पाठक तथा स्रोतालाई आकर्षित गर्दैनन्। तर छमको कवितामा पाइने शाब्दिक मितव्ययिताले काव्यास्वादनमा थुप्रै सम्भावनाका कौतुहलतामय गल्ली र गल्छेंडाहरू उघारिदिएको छ।

छम गुरूङका कविताहरूमा पाठकले पर्याप्त ग्याप (रिक्त स्थान) भेट्नेछन् र यी ग्याप अर्थात् स्पेसले सृजनात्मक पठन (विपठन)-लाई आमन्त्रित गर्छ। असल कविताले नै सचेत पाठकलाई यस्तो सृजनात्मक पठन-विपठनको निमित्त आकर्षित गर्नसक्छ।

उनको कवितामा एक-दुइ ठाउँ अचानक विचार पनि घुस्रेर पस्ने गर्छ, जस्तो कि ‘खुट्टाको ताली’-मा कविता बग्दाबग्दै बिचमा एक ठाउँ यो पङ्क्ति घुसारिएको छ – ‘मानिसको लागि सर्वोत्तम प्रिय / चीज आकार पनि हो।’ यो विचार उनीभित्र निहीत आनुभूतिक संवेदकै गाद्यिक रूप हो।

कविको मनमा उम्रेको विचारको बीज कवितामा अनेक अवतारमा प्रगटित हुन्छ। हाँस्ने-रूने-नाच्ने-खेल्ने स्वरूप लिई अवतरित हुन नसके त्यो बीजकै ठोस रूपमा रहला। तर कतिपय कवितामा भने विचारको बीज बज्छ ड्रमसेटमा ड्रमस्टिक उफ्रेजस्तो यौटा विशेष रिदमसित, प्रभावको ध्वनि-प्रतिध्वनि तरङ्गित गर्दै।

झन्डै त्यस्तै छाँटको यौटा कविता छ यहाँ छमको – ‘कविता थुक हैन’।  पाँच कविता गुच्छ्मा यै कविता बढी प्रभावकारी बज्छ भने यौटा पिल्सिसकेको पारम्परिक स्वर सुनाउने कविता चाहिं ‘एक साँझ चक्रपथमा’-हो भन्ने लागेको छ मेरो आफ्नो हेराइमा।

अन्य तीन कविताहरूका स्वर र स्वरूप तिनीहरूका आआफ्नै वैशिष्ट्यका छन् र तिनीहरूमा छन् यस्तो नजानिँदो किसिमको आकर्षण जुन पाउने गर्छौँ कुनै सफल अर्धअमूर्त पेन्टिङ्मा। ‘कवितालाई जतिकै मूर्ततामा उभ्याउन खोजे पनि त्यसभित्र एक किसिमको अव्याख्येय अमूर्तता रहेकै हुन्छ’, मैले कतै एक ठाउँ अघिबाटै भनेको छु।

अब उपसंहारमा के भन्न चाहन्छु भने छम गुरूङको कवित्वमा एक किसिमको ताजा स्वाद पाउन सकिन्छ जसले उनलाई एक प्रबल सम्भावनायुक्त कविका रूपमा चिनाउँछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares