You are here

बाह्रौँ कक्षा उत्तीर्ण गरेका युवाहरूका लागि सरकारी सेवाको सुनौलो मौका : केन्द्र सरकारका विभिन्न विभागमा भर्ती

कालेबुङ / 5 दिसम्बर 2017


बाह्रौँ श्रेणी उत्तीर्ण गरेका बेरोजगार युवाहरूका लागि भारत सरकारका विभिन्न मन्त्रालयअन्तर्गत रहेका विभागहरूमा प्रतियोगितात्मक परीक्षामार्फत् भर्ती प्रक्रिया सुरू भएको छ। सरकारी अधिसूचनामार्फत् प्राप्त जानकारीअनुसार केन्द्र सरकारका कार्यालयहरूमा पोस्टल एसिस्टेन्ट, सर्टिङ एसिस्टेन्ट, एलडीसी, जुनियर सेक्रेटेरिएट एसिस्टेन्ट अनि डेटा एन्ट्री ओपरेटरका 3259 पदहरूका लागि आगामी वर्षको मार्च महिनामा प्रारम्भिक परीक्षाको आयोजना हुनेछ। यो परीक्षा गान्तोक, सिलगड़ीलगायत भारतका विभिन्न मुख्य सहरहरूमा सम्पन्न हुनेछ। बाह्रौँ श्रेणीको परीक्षा उत्तीर्ण गरेका भारतीय युवाहरूलगायत नेपाल, भुटान अनि तिब्बती शरणार्थीहरूपले पनि यस परीक्षामा अंशग्रहण गर्नसक्नेछन् जसको लागि उनीहरूको उमेरसिमा 18- देखि 27 वर्ष रहेको हुनुपर्दछ अथवा उम्मेद्वारको जन्म 2 अगस्त, 1991-देखि 1 अगस्त, 2001 –भित्र भएको हुनुपर्दछ।

यद्यपि यस उमेरसिमामा अनुसूचित जाति, अनुसूचित जनजाति अनि अन्य पछौटे वर्गलगायत दिव्याङ्ग, केन्द्र सरकारअधीन 3 वर्ष सेवा पूर्ण गरेका कर्मचारी, 1980-देखि 1989-सम्म जम्मु-काश्मिरमा बसेका व्यक्ति, विधवा, विवाहविच्छेद भएर पुनर्विवाह नगरेका महिला, रक्षासेवामा घाइते भएका सैनिकहरू आदिलाई नियमअनुसार छुट दिइएको छ। यी पदहरूमा नियुक्त उम्मेद्वारहरूमा पुरानो केन्द्रिय वेतनमानअनुसार पोस्टल एसिस्टेन्ट वा सर्टिङ एसिस्टेन्ट अनि डेटा एन्ट्री ओपरेटरको मासिक तनखा 5200-20200 रहनेछ अनि ग्रेड पे रहनेछ 2400 भने एलडीसी वा जेएसए-को मासिक तनखा रु 5200-20200 अनि ग्रेड पे रु. 1900 रहनेछ। यी रिक्त स्थानहरूमा नियमअनुसार आरक्षित वर्गका लागि आरक्षण पनि निर्धारण गरिएको छ। डेटा एन्ट्री अपरेटरका पदका लागि आवेदन गर्ने उम्मेद्वारले बाह्रौँ कक्षा गणितसहित विज्ञान विषयमा उत्तीर्ण गरेको हुनुपर्दछ।

आगामी 18 दिसम्बरभित्र उम्मेद्वारहरूले यस परीक्षाका लागि आवेदन अनलाइन पद्धतिमार्फत् भर्नुपर्नेछ जसका लागि अनारक्षित वर्ग र अन्य पछौटे वर्गका पुरुष उम्मेद्वारहरूले रु. 100 को शुल्क तिर्नुपर्नेछ जबकि अनुसूचित जाति, अनुसूचित जनजाति अनि कुनै पनि जातिका महिला उम्मेद्वारलगायत दिव्याङ्ग अनि भूतपूर्व सैनिकहरूले कुनै शुल्क तिर्नुपर्ने छैन।

परीक्षाको पाठ्यक्रमअनुसार उम्मेद्वारहरूले तीनवटा जाँचमा भाग लिनुपर्नेछ। पहिलो जाँच प्रक्रिया गान्तोक, सिलगड़ीलगायत भारतका विभिन्न प्रमुख सहरहरूमा आगामी वर्षको 4 मार्चदेखि 26 मार्चभित्र सम्पन्न हुनेछ जसमा कम्प्युटर आधारित परीक्षामा उम्मेद्वारहरूले भाग लिनुपर्नेछ। पाठ्यक्रमअनुसार, जम्मा 200 अङ्कको परीक्षामा बेसिक इङलिस, जेनेरल इन्टेलिजेंस, बेसिक एरिथमेटिक्स अनि जेनेरल अवेरनेस गरी 50 अङ्क प्रति विषय बाँड़िएको हुनेछ। प्रत्येक प्रश्नका चारवटा उत्तरहरू रहेका हुनेछन् जसबाट सही उत्तर उम्मेद्वारले चुन्नुपर्नेछ। यद्यपि उत्तर गलत भएको खण्डमा आधा अङ्क काटिइनेछ। यो परीक्षाको समय रहनेछ एक घन्टा।

यो जाँचमा उत्तीर्ण उम्मेद्वारहरूले टायर दुइ परीक्षामा भाग लिनुपर्नेछ जहाँ विवरणात्मक  (डिस्क्रिपटिभ) प्रश्नहरूको सामना गर्नुपर्नेछ। 100 अङ्कको यस परीक्षाको अवधि रहनेछ एक घन्टा। यो परीक्षामा उम्मेद्वारको लेखन क्षमताको जाँच हुनेछ। निबन्ध लेखन अनि पत्र लेखन विषयमा हुने यस परीक्षामा उम्मेद्वारले निम्नतम 33 प्रतिशत अङ्क प्राप्त गर्नुपर्नेछ। यी दुवै परीक्षामा उत्तीर्ण उम्मेद्वारहरूले बेसिक कम्प्युटर ज्ञानको जाँचमा भाग लिनुपर्नेछ।

आगामी 18 दिसम्बरभित्र अनलाइन आवेदन गरेर यस परीक्षाका लागि तयारी गर्नसकिने जानकारी दिँदै चरित्र प्रकाशन, कालेबुङले इच्छुक अनि योग्य उम्मेद्वारहरूले अन्य सूचना र सहयोगका लागि यस प्रकाशनसित सम्पर्क राख्नसक्ने जानकारी बिपना छेत्रीले दिएकी छिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares