You are here

मंगर समुदायको परम्परागत चाढ़ बारहिमिजोङको पुर्णिमाको रात झाँक्रीद्वारा पुजा सम्पन्न

गान्तोक, 6 दिसम्बर: प्रकृति पुजक मंगर समुदायको पावन पर्व बारहीमिजोङको पर्वाधको कार्यक्रमको रूपमा मंगसीरे पुर्णिमादेखि आरम्भ गरिने परम्परागत पुजा अर्चना मंगर झाँक्रीहरूको महत्वपूर्ण चिन्ताबाट आरम्भ भएको छ। पूर्खाहरूलाई सम्मान प्रदान गर्दै आयोजन गरिने पूर्णिमाको पुजा गत पुर्णिमाको रात पश्चिम सिक्किमको माङ्सारीमा राज्यभरिका वरिष्ठ मंगर झाँक्रीहरूको उपस्थितिमा चिन्ता आयोजन गरेर विधिवत पूजा अर्चना गरियो।

यसको मुख्य विशेषता सम्पूर्ण देवी देउताको सम्मानमा पुजा अर्चना गर्नु तथा हवन एंव संसारी माईको विशेष पुजा गरिनु हो। आगामी 7 दिसम्बरको दिन पालन गरिने मंगर समुदायको पावन पर्व बारहीमिजोङको पूर्वाधको कार्यक्रम पूर्णिमादेखि पञ्चमीसम्म चल्ने गर्दछ। पञ्चमीको दिन बारहीमिजोङ पर्व पालन पछि सम्पन्न हुने गर्दछ। झाँक्रीहरूले प्राकृतिक रूपमा परम्परागत पुजा अर्चनाको शुरूआतसितै बारहीमिजोङ पर्व शुरु हुने गर्दछ।

अखिल सिक्किम मंगर संघको आयोजनमा आयोजित चिन्ताको रात बारहीमिजोङ आयोजन समितिका मुख्य सल्लाहकार गोबिन्द थापा, सल्लाहकार जेबी थापा, डीएम थापा, जीवन थापा, अध्यक्ष टीएन थापा, तथा सिक्किम विश्वविद्यालयका लोपोन्मुख भाषा केन्द्रका प्रा. मिराबा थाकेलाम्बा र माङ्सारी गाउँका गाउँलेहरूको उपस्थिति रहेको भाषा विकास सचिव गङ्गीमाया मंगरले जानकारी दिएकी छन्। बारहीमिजोङलाई लक्षित गरेर आरम्भ गरिने पुजाको मुख्य विशेषता उत्सव भन्दा अघि सम्पूर्ण देवी-देउता र संसारीमाईको पुजा अर्चना गरेर आशिष र बल माग्ने तथा विश्व शान्तिको कामना गर्ने गर्दछन्।

यस पुजा कार्यक्रमलाई मंगर समुदायका जण्डा झाँक्रीहरूले सम्पन्न गराएका थिए। मंगर भाषामा भुसल भनिने झाँक्रीहरूमा गान्तोकबाट वाइबी मंगर, कामराङ नाम्चीबाट चन्द्र बहादुर मंगर, पश्चिम सिक्किमको सुल्डुङबाट नरबहादुर मंगर, कर्णबहादुर मंगर अनि रञ्जित मंगरले पूर्णेको दिनको आरम्भीक पुजामा चिन्ता गरेका थिए।

अखिल सिक्किम मंगर समाजका अध्यक्ष सन्तोष आले र बारहीमिजोङ आयोजन समितिका अध्यक्ष टीएन थापाले सबैलाई आगामी 7 दिसम्बरको दिन हुने माङसारीको मङ्गरजोङ संरक्षण र पुननिर्माणको निम्ति मुख्यमन्त्री पवन चामलिङको कर कमलद्वारा परियोजनाको शिलान्यासमा पनि झाँक्रीहरूलाई निम्त्याइएको बताइएको छ भने उक्त दिन पनि उनीहरूले विशेष पुजा अर्चना गर्नेछ। गत 3 दिसम्बरको दिन पूर्णीमाको रातमा आगामी 7 तारिक डिसम्बरको दिन आयोजन गरिने शिलान्यास कार्यक्रमको शुभको निम्ति पनि पुजामा विशेष प्रार्थना गरिएको थियो।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares