You are here

प्रवीण खालिङ-को भुइँकुरा

प्रवीण खालिङ


“हो हिमाल! अब हामीले आफ्नै प्रकारले सोच्नै पर्छ। हाम्रो भावनालाई अहिलेसम्म सम्वेदनाको साङ्गलोले बाँधेर राखेको एक शताब्दि भइसक्यो। जहिले पनि कष्ट गरेर बोकेर कञ्चनजङ्घा भन्दा साह्रो पहाड़मा पुर्‍यायो। पुनः फेदीबाट यात्रा शुरु गर्नु पर्ने स्थिति छ। अब युटोपियनहरूको कुरा सुन्नु हुँदैन, झाम्तेबुङको कथा सुनेर मक्ख भइबस्नु हुँदैन, ” एकै सासमा यत्ति भनेपछि आफ्नो उकुसमुकुस पोखाउन पाएकोमा शान्तिको श्वास फेर्‍यो।

सिसिफसले ढुङ्गा बिसायो। सिसिफसलाई आर्दशीकरण गर्नेहरूको साक्षी हिमाल हो र उ एकाबिहानै मर्निङ वकमा जाँदा चिया पसलछेउमा उभिएर कञ्चनजङ्घाको फोटो खिचिबस्ने महाकालले पनि उत्तिकै नजिकबाट देखेको छ, लोक कथाका महामानव झाम्तेबुङ आर्दशहरू।

सुन्दा अधैर्य हुने अनि त्यसको रोमाञ्चक र सहासपूर्ण गाथा सुन्दा साँच्चै एकपल्ट झाम्तेबुङको खोजीमा कञ्चनजङ्घाको फेदीतिर क्यामेरा भिरेर हुइँकिनु सोचिबस्छन् युवा मनहरू।

झाम्तेबुङ, जसको कथा चुल्हाको डीलमा बसेर सुन्दै आएका छन् हिमालका सन्तानले। पुस्ता दर पुस्ता झाम्तेबुङले गरेको करामति अवधारणाहरू जन जिब्रो हुँदै नयाँ नयाँ स्वाद र चाख भएर हस्तान्तरण भइरहेको छ।

उनीहरू झाम्तेबुङको पवित्रता र चमत्कारको कुरा गर्छन् । जसरी युटोपियनहरू सिसिफसको कुरा गरेर माटोको आदर्शवादी संस्कारलाई अघि सार्दै आफ्नो अवधारणाहरू हिमालको गाउँमा रोप्न चहान्छन्।

उनीहरू युटोपिया बनाउन चाहन्छ। पुस्तौदेखि उनीहरूले यो सोच बोकेर विभिन्न रूपमा पुरानै पुस्तकमा नयाँ गाता लगाएर नयाँ शिर्षक लेखेर युटोपिया पढाइ रहेकाछन्। यत्ति कुरा अब हिमालको सन्तानले बुँझ्नै पर्छ।

महाकाललाई थाहा नहोला तर उ भन्दा ठूलो र छिप्पट साक्षी अर्को को हुनसक्छ। जसले बाघजुरेबाट सुर्योदय नहुँदा पनि इतिहासको चिहानमा उभिएर युटोपियाको फ्याउरो कराएको देखेको छ र सुनेको पनि छ।

अहिले अलबर्ट कामुको द मिथ अफ सिसिफस पुस्तक हातमा च्यापेर दोबाटोमा उभिएको छ, सिसिफस।

उसले आफैले नबुझेको श्रापित मिथ र उसको श्रापित गाउँको कुरा बुझ्न चाहन्छ। उसको पाइलाले टेकेको इतिहासको पृष्ठबाट बगेको रगतको फाल्सा शहिदको हो की आफ्नै भाइले मारेको दाज्युको हो छुट्याउन सकिरहेको छैन्।

युटोपियनहरूले हालिदिएको उसको मगजमा पुनः त्यही श्रापित ढुङ्गा बोकेर उक्लने तरखर गर्नु बाहेक उसले अर्को कर्तव्य नै सोच्दैन। भर्खरै गाउँबाट माटोको गन्ध आउँने नयाँ पाइलाहरू बोकेर आएको पिजोमा बजिरहेको सिडीको आवाज विस्तारै माथि डाँडासम्म आइरहेको छ।

गोपाल योञ्जन बजिरहेको छ बुढेसकालको लाठी देश, यज्ञ भित्र होमी मेरी बुढी आमा, गोठमै हाँसीखुसी देखिन्छन्… आमाको मलिन अनुहार र धमिलो आँखासित आँखा जुधाउन नसकेर रेनकोर्टको बाहुलाले आँखा लुकाउँदै घरबाट हिँड्ने सिसिफस छोराहरूको छात्तीको चौडाइ कत्ति होला क्षितिज भन्दा पर हुनुपर्ने।

उनीहरू झरी मन पराउँछन् अनि रेनकोटमा टाउको र जिउ हालेर झरीमा बजारको साँघुरो गल्लीमा हिँड्छन् त्यत्तिबेला पनि घोचिबस्छ गोपाल दाइको पुरानो गीतले। छ्या ! यो गाउँलेहरूलाई पनि कत्ति पुराना गीतहरू सुन्न मन परेको, पाखेहरू।

यत्ति भनेर मन हलुको पार्न खोज्छ। यद्यपी बजिरहन्छ त्यो पुरानो गीत गाउँबाट माटो लागेको टायर र हिल्लाम्मे बनेट भएको पुरानो ल्याण्डरोभरबाट। सिसिफसको मुटु रेटिन्छ गीतले तर रगताम्मे सुरहरू बजिबस्छन् बजिबस्छन्, सक्दिन म त बाँच्न निर्धा भएर, एक छिन बरु शहीद भएर वीरकै मृत्यु मर्छु, हामी वीर बनेर मर्छौं, गोली त उ सहन्छे माग्दिन सुनको अक्षर ….

गीतको धारले रेटिएको छात्ती सुमसुम्याएर भए पनि उठ्ने प्रयास गरिबस्छ, सिसिफस विस्तारै पहाडमा अनुवाद हुँदैछ। ईश्वरको श्रापले होइन आफ्नै सराप लागेको हो उसलाई। उसले आफैले रोजेको बाटी सही नहुँदै प्रत्येकपल्ट पर्वतको चोटीमा पुर्‍याइराखेको ढुङ्गा पुनः लडेर झर्छ, उसको अडिन नसक्ने विचार र युटोपियनहरूको चिप्लोमा चिप्लेर पुनः बगरमा पुग्छ, आत्मसम्मानको ढुङ्गा, चिन्हारीको ढुङ्गा अनि राष्ट्रिय पहिचानको ढुङ्गा।

पहाडले सँधैं बगरबाट सङ्घर्षको ढुङ्गा उठाएर चुली उल्किन थाल्छ। सङ्घर्षको बाटोमा बुलेटले छेडिएको निधारबाट बग्ने रगतमा सम्झौताको निब चोबेर गान्धीजीको नक्सा भएको कागजमा हस्ताक्षर गर्दै जान्छ, ढुङ्गा फेरि लडिझर्छ।

अनन्त सङ्घर्षको यात्राबाट चुलीमा उल्किन लाग्दा चिन्हारीको त्यो ढुङ्गा चिप्लाउन तयार युटोपियन र सम्झौतावादी अवधारणाहरू अघि सर्छन्। फलतः उसले आफ्नो मुटु रेटेर भेटेको शिखरमा अडिन नसकि श्रापित सन्तानलाई पुनः ढुङ्गा बोक्न बाध्य गराउँछ।

सिसिफसको ढुङ्गा बोक्ने क्रम चलिबस्छ, युटोपियनहरू झाम्तेबुङको कथा सुनाइरहन्छन्। सुन्दै रोचक, सुन्दै रोमाञ्चक र सहासिला लाग्ने तर आखिर युटोपियनहरूले सुनाएको कथा कसरी सत्य हुनसक्थ्यो।

युग युग सिसिफस चुलीमा ढुङ्गा ओसारी रहेछ, युग युग सिसिफसहरू झाम्तेबुङको कथा सुनेर उत्तेजित भइरहेका छन्।


(सिसिफस- ग्रीकको मिथक कथाको श्रापित पात्र

झाम्तेबुङ- लेप्चा भाषाको लोक कथाको पात्र अर्थात सोक्पा (यति), जसको कथा सुनिन्छ भेटिएको छैन। चमत्कारी हिम मानव युटोपियन- आदर्श लौकिय व्यक्तित्व)

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares