You are here

विमलपन्थी नेता भाष्कर मुखियाको घर तोड़फोड़ अनि बहुमूल्य सामाग्रीहरू चोरी  

सजन शर्मा/सुके-पोख्रेबुङ, 5 दिसम्बर: पोख्रेबुङ चामोङ समष्टि अन्तर्गत सेलेम्बोङ चियाबारी सल्लाघारी निवासी गोजमुमो विमल पन्थी नेता भाष्कर मुखियाको घर तोड़फोड़ गरिएको अनि बहुमूल्य सामाग्रीहरू चोरी भएको घटना प्रकाशमा आएको छ। उल्लेखनीय छ, उक्त घरका मुख्य व्यक्ति भाष्करका पिता बीके मुखिया मुखिया फूल नर्सरीका मालिक हुन् साथै भाष्करका दाजु प्रभात मुखियाले अर्किड भ्याली होम स्टे परिचालन गर्दै आएका छन्।

पछिल्लो समयको आन्दोलनदेखि नै बङ्गाल प्रशासनले भाष्कर मुखियाको खोजी गरिरहेको थियो। भाष्करका पिता  बीके मुखिया अनि परिवारका अन्य सदस्यहरू हाल नेपाल गएका छन्। भाष्करको कुनै अत्तोपत्तो नरहेको परिवार पक्षले बताएको छ। घटनाक्रम अनुसार मङ्गलवार मध्य राती उक्त घर तोड़फोड़ गरिएको थियो तथा घरमा भएका बहुमुल्य सामान दुइवटा गोदरेज, एउटा वासिङ मशिन, सुनचाँदीका गहना तथा अन्य बस्तुहरू चोरी गरिएको परिवार पक्षको आरोप छ।

गेटमा लगाइएको  फलामको चेन काटेर भित्र पसेका असामाजिक तत्वहरूले घरको सबै कोठा अनि दैलो खिड़कीहरू तोड़फोड़ गरेको छ। बीकेका छोरा प्रभात मुखियाले फोनमार्फत यस घटनाको जानकारी दिएका हुन्। घटनास्थलको भ्रमण गर्दा घरायशी सामानहरू व्यापक रूपमा नष्ट गरेको देखियो। गाउँलेहरू अनुसार भाष्कर मुखियालाई दोषी मानिए पनि तिनका माता-पिता अनि परिवार बस्ने घरमा यसरी तोड़फोड़ गर्न नहुने बताएका छन् ।

परिवारका एक महिला सदस्यले बताए अनुसार घरमा कोही नभएको समयमा घरमा तोड़फोड़ गरिएको हो। तिनीअनुसार आफूहरू मूल घरदेखि केही पर बस्ने गरेका छन्। राती आउने स्थिति नरहेपछि बिहान आएर हेर्दा घरको अवस्था लथालिङ थियो। होम स्टेमा पनि तोड़फोड़ गरिएको थियो तथा नर्सरको फूलको गमलाहरू समेत फुटाइएको वा पटहरू लड़ाइएको देखियो।

खिड़कीको ऐनाहरू पनि फुटाइएको तिनले उल्लेख गरिन्। प्रशासनले हो वा असामाजिक तत्वहरू जसले यस्तो काण्ड गरेपनि बड़ा सन्तबीर मुखियाले फौजी जीवनको पैसा अनि ससुरा बीके मुखियाले फूलको व्यावसाय गरेर बनाएको घरलाई जुन प्रकारले क्षति पुऱ्याइएको छ त्यसको न्यायिक जाँच हुनुपर्ने तिनी अनि परिवारको माग रहेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares