You are here

छैटौँ अनुसूचीको सम्झौता दिवस पालन: संसदमा पारित हुनलाग्दा जनजातिको भाग्यमाथि कुठाराघात भयो

दार्जीलिङ, 6 दिसम्बर: गोरामुमोले आज दार्जीलिङका विभिन्न समष्टिमा छैटौं अनुसूचीको 13औं सम्झौता दिवस पालन गऱ्यो। पार्टीका संस्थापक अध्यक्ष स्व. सुवास घिसिङको तस्वीरअघि पार्टी नेतृत्व तथा पार्टी कार्यकर्ताहरूले 108 छिमी (बत्ती) प्रज्जवलन गरेर पालन गरिएको छैटौं अनुसूचीको सम्झौता दिवस पालन गरिएपछि पार्टीका दार्जीलिङ महकुमाका मुख्य  संयोजक एमजी सुब्बाले एक महीनापछि पार्टीले एक जनसभा गरेर पार्टीको भावी कार्यक्रमहरूको तय गर्ने योजना बनाएको बताए।

उऩले भने-पार्टी नेतृत्वको निर्देशअनुसारनै आज पार्टीद्वारा समष्टि स्तरमा सामान्य ढङ्गले छैटौं अनुसूचीको सम्झौता दिवस पालन गरिएको हो। आज जनसभाको कुनै कार्यक्रम थिएन, यद्यपि आगामी एक महीनापछि पार्टीले एक वृहत जनसभा गर्ने योजना बनाइरहेको छ। हाल पार्टी विस्तारको काम तीव्र गतिले अघि बढ़िरहेको छ। यसैले पार्टीले एक महीनापछि विराटरूपमा समर्थकहरूको सहभागितामा दार्जीलिङमा एक जनसभा गर्ने कार्यक्रम बनाएको छ।

उनले आज गोरामुमो दार्जीलिङ महकुमा समिति कार्यालयमा आयोजना गरिएको छैटौं अनुसूची सम्झौता दिवस कार्यक्रमको अवसरमा गोरामुमो दार्जीलिङ सदर 1, सदर 2, सिंहमारी-तकभर समष्टि, लेबोङ समष्टिका पार्टी समर्थकहरूले सहभागिता जनाएको पनि जानकारी गराए। यसका साथै उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्-संविधानको धारा 244 अनुसार, दार्जीलिङको भू-भागलाई छैटौं अनुसूचीमा गाभ्नसक्ने प्रावधान छ, यसै प्रावधानको आधारमानै गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङको चाप अनि पहलमा 6 दिसम्बर 2005-को दिन यसको विधेयक बंगालको विधानसभामा पारित भएको थियो।

त्यसपछि 2007-मा दिल्लीको क्याविनेटले पनि यसलाई पारित गरेको सत्यता कसैबाट लुकेको छैन। तर यसको विधेयक संसदमा पारित हुन लाग्दा दार्जीलिङ पहाड़ी जनजातिहरूको भाग्यमाथि कुठाराघात भयो। गोर्खाल्यान्डको नाममा झुटो आन्दोलन गर्न लगाएर संसदमा पारित हुनैलागेको छैटौं अनुसूचीको विधेयक रोक्न लगाएको सबैलाई थाह छ। पहाड़का कतिपय कुतत्वहरूले माछाबुद्धिसित मिलेर एजेन्टको काम गरे। विज्ञप्तिमा अझै भनिएको छ-स्व. सुवास घिसिङले गोर्खा जातिको लागि जे-जति त्याग र बलिदान दिएका थिए, जनताले अहिले बिस्तारै थाह पाउन थालेका छन्। यसैले छैटौं अनुसूचीको बाटो भएर मात्रै गोर्खाल्यान्डसम्म पुग्न सकिन्छ भन्ने कुरो स्व. घिसिङले अघिबाटनै स्पष्ट गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares