You are here

जीटीए केवल जीटीए हो: सन्दीप छेत्री

दार्जीलिङ, 6 दिसम्बर: 2007 देखि शुरू भएको गोर्खाल्यान्ड आन्दोलनलाई गोर्खाल्यान्डसम्म पुग्ने घड़ेरी भनेर गोजमुमो अध्यक्ष विमल गुरूङलेनै 18 जुलाई 2011 मा केन्द्र अनि राज्यसित सम्झौता गरी जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन) थापेका हुन्। जीटीएको वास्तविक जन्मदाता विमल गुरूङ नै हुन्। गोर्खाल्यान्ड आन्दोलनलाई जीटीएमा सम्झौता गरी राज्य सरकारसित हात मिलाएपछि उनको राजनैतिक अदूरदर्शितापनको कारण जीटीए फेल भएको हो। यसो गरेर उनले जीटीएसितै गोर्खाल्यान्ड आन्दोलन पनि फेल बनाएका हुन्। यदि जीटीए चलाउनु थिएन भने उनले सम्झौता नगरी गोर्खाल्यान्ड आन्दोलनलाईनै निरन्तरता दिन पर्नेथियो, जीटीए सम्झौतामा सहीछाप गरिसकेपछि कमसेकम पहाड़का जनताको विकास अनि हितमा जीटीएमा बसी सहीप्रकारले काम गर्न पर्नेथियो। तर उनको अदूरदर्शिता अनि सही निर्णय लिन नसकेको कारण न 2007-को सशक्त गोर्खाल्यान्ड आन्दोलन टुङ्गोमा पुग्न सक्यो न त विकल्पमा थापेको जीटीएनै राम्रोसँग सञ्चालन हुनसक्यो।

गोजमुमो दार्जीलिङ महकुमा समितिका प्रवक्ता सन्दीप छेत्रीले यसो भन्दै अघि भनेका छन्-जीटीए संवैधानिक होस् वा असंवैधानिक, तर विमल गुरूङले यसलाई जन्माइसकेपछि यो सहजै खारेज हुन सक्ने स्थिति छैन। अहिले जनसाधारणमा हल्ला पिटिंदैछ 2011 देखि 2013 सम्म चलेको जीटीए 1 हो। त्यसपछि 2013 को आन्दोलन अवधि विमल गुरूङले जीटीए चीफबाट राजीनामा दिएपछि फेरि दुइ महीनापछि लगत्तै फेरि जीटीए चीफको रूपमा कलकत्तामा गएर राज्यपाल केशरीनाथ त्रिपाठीबाट शपथ ग्रहण गरी चलाएको जीटीए 2 अनि हालमा 2017 मा भएको आन्दोलन जीटीएलाई सञ्चालन गर्न गठन गरिएको बोर्ड अफ् एडमिनिसट्रेटरलाई जीटीए 3 भनिन्दैछ। तर यो केवल अफवाह अनि मनगढ़न्ते कुरा मात्रै हो।

जीटीए केवल जीटीए हो अनि यसका जन्मदाता विमल गुरूङ स्वयं हुन्। विमल गुरूङले राज्य अनि केन्द्र सरकारसित सहीछाप गरेर जीटीए थापेको हो भने विनय तामाङ र अनित थापालाई जीटीएको कानून अनि प्रावधानमुताविक राखिएको मात्र हो। यदि विनय तामाङ अनि अनित थापा नभएको भए कानूनी तौरमा राज्य सरकारले जसलाई पनि एडमिनिस्ट्रेटर बनाएर राख्न सक्थ्यो र कानूनी तौरमानै जीटीए चलिरहेको हुन्थ्यो। महत्वपूर्ण कुरा के छ भने व्यवस्था थाप्न र कसैलाई राख्न यी दुइ कुरा बेग्ला-बेग्लै शब्द हुन्। यसको अर्थ बुझ्न जरूरी छ।

उनले अझै भनेअनुसार, मुखले गोर्खाल्यान्ड भने पनि विमल गुरूङले दुइ-दुइचोटि जीटीए चीफ बन्नलाई शपथ ग्रहण गरे, तर विनय तामङ र अनित थापाले एकैपल्ट पनि शपथ ग्रहण गरेका छैनन्। यसैले पनि जीटीए थाप्न र राख्नमा कतिको अन्तर छ भन्ने छर्लङ्गै बुझिन्छ। वास्तवमा जीटीए थाप्नु गुरूङको रहर थियो, जीटीएमा राखेर बस्नु तामाङ अनि थापालाई राजनैतिक कर हो।

उनले भने-यदि जीटीए जन-विरोधी थियो भने दुइपल्ट विमल गुरूङले जीटीए थापेर चलाउँदा किन विरोधी भएनन्। जीटीए चीफबाट राजीनामा दिंदैमा र सभासदहरूले चौकी छोड़्दैमा जीटीए सकिन्दैन। जीटीएको चौकी बनाउने मिस्त्री राज्य, केन्द्र र विमल गुरूङ हुन्, अब विमल गुरूङले आफ्नो जीटीए चीफको मियाद सकिएपछि मात्र यो जीटीएको चौकीमा बस्दिनँ भनेर उठ्दैमा चौकी खाली हुँदैन। त्यो खाली चौकीमा कसैलाई पनि राख्न सक्ने प्रावधान उनीहरूले सहीछाप गरेको जीटीएको कानूनमा उल्लेखित छ। यसैले विनय तामाङ र अनित थापाले उक्त स्थानमा बसेर दूरदर्शीपूर्ण कार्य गरेका छन्। उनीहरूले जीटीएमा अरू कसैलाई बस्न दिएनन्, मोर्चाका यी दुइ नेताहरू आफै बसेका हुन्।

किनभने, अन्य पार्टी वा अरू कोही यस चौकीमा बसेको भए पार्टी अनि मुद्दाको निम्ति जेल परेका बन्दीहरूलाई कसले निकाल्ने थियो? केस खानेहरूको केस कसले मिलाउने थियो? घाइतेहरूको उपचार कसले गर्ने थियो? जनताले यो कुरा पनि ध्यान दिन आवश्यक छ। मोर्चाको सबै कार्यकर्ताहरूले 2007 देखि 2017 सम्मको केवल गोर्खाल्यन्डको निम्ति आन्दोलन गरेका हुन्। तर नेतृत्व गर्नेले सही दिशा दिन नसक्दा युद्धमा सेनापति ठीक नहुँदा सिपाहीहरूको कुर्वानी खेरो गएझैं मोर्चाको आन्दोलनमा पनि जनताको योगदान अनि संघर्ष खेरो गएको हो। अब फेरि यस्तै असफल सेनापतिहरूको आशा गरेर, उनीहरूमाथि भरोसा गरेर बसिरहे गोर्खाहरूले न आफ्नो गोर्खाल्यान्डको सपना पूरा गर्न पाउनेछन्, न आफ्नो भावी पिँढ़ीको र आफ्नो ठाउँनै उज्ज्वल बनाउन सक्नेछन्। यसैले समयमानै यो कुरा बुझेर सबैले सही समयमा सही निर्णय लिन आवश्यक रहेको छेत्रीले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares