You are here

 27 दिसम्बरदेखि उत्सवमय बन्नेछ पहाड़: आउन सक्छन्  मुख्यमन्त्री  र शाहरूख खान 

टिस्टा रङ्गीत पर्यटन उत्सव 2017

» दार्जीलिङ- 27 देखि 29 दिसम्बर

♦ कार्यक्रम-सांस्कृतिक कार्यक्रम, रक क्लाइम्बिङ, डग शो, हाल्फ म्याराथान, टुरिष्ट ट्यालेन्ट शो, प्याराग्लाइडिङ, टोय ट्रेनमा सांस्कृतिक कार्यक्रम (दार्जीलिङदेखि घूम रेलवे स्टेशन), उद्योगमाथि संगोष्ठी, कार पार्किङको उद्घाटन

» खरसाङ 28 र 29 दिसम्बर

♦ कार्यक्रम-टोय ट्रेनमा सांस्कृतिक कार्यक्रम (खरसाङदेखि गिद्दे पहाड़), माउन्टेन बाइकिङ दिलारामदेखि चिम्नी भएर खरसाङ, प्याराग्लाइडिङ नयाँ बस्तीदेखि रानीखोप,  सिटोङमा होमस्टेबारे संगोष्ठी,

» कालेबुङ 29-30 दिसम्बर

♦ टिस्टा वा त्रिवेणीमा बल्छी खेल, वाइट वाटर र्याफ्टिङ,  डेलोदेखि रेली प्याराग्लाइडिङ, पुष्प प्रदर्शनी साथै अन्य

» मिरिक 30-31 दिसम्बर

बोटिङ, हर्स राइडिङ, बेबी शो, सुन्दरी प्रतियोगिता,  हाल्फ म्याराथान, डग शो साथै अन्य


मोहन लामा/ दार्जीलिङ, 7 दिसम्बर।

आगामी 27 दिसम्बरदेखि उत्सवमय बन्नेछ दार्जीलिङ पहाड़। जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-ले आगामी 27 दिसम्बरदेखि दार्जीलिङ पहाड़भरि 5 दिनव्यापी पर्यटन उत्सव पालन गर्ने घोषणा गरेपछि पहाड़ पुनः एकपल्ट उत्सवमय बन्ने निश्‍चित भएको छ। जीटीएले यसपालीको पर्यटन उत्सव नयाँप्रकारले गर्ने घोषणा गरेको छ अनि जीटीए प्रमुख विनय तामाङले एक पर्यटन स्थलमानै पत्रकार सम्मेलनको आयोजना गरेर यसको शुरूआत गरेका छन्।

दार्जीलिङ पहाड़मा चलेको 104 दिनव्यापी कठोर गोर्खाल्यान्ड आन्दोलनपछि दार्जीलिङ पहाड़ पर्यटकशुन्य बनेको छ। खास पर्यटन मौसममा पनि यसपाली दार्जीलिङ पहाड़मा पर्यटकहरूको आगमन हुन सकेन, यसैले यो दिसम्बरको चिसोमा पनि दार्जीलिङमा पर्यटकहरूलाई आकर्षित पार्ने उद्देश्य राखेरनै जीटीएले आगामी 27 दिसम्बरदेखि 5 दिनव्यापी पर्यटन उत्सव पालन गर्ने योजना बनाएको छ। जसअनुसार, 27 दिसम्बरको दिन दार्जीलिङमा यो पर्यटन उतसवको उद्घाटन गरिने भएको छ भने यसैको अवसर पारेर दार्जीलिङमा निर्माण भएका दुइवटा कार पार्किङ पनि जनताको नाममा समर्पण गरिने भएको छ।

जीटीएको बोर्ड अफ् एड्मिनिस्ट्रेटरका अध्यक्ष विनय तामाङले आज यहाँको एक आकर्षक पर्यटन स्थल स्रवरी नाइटिङ्गेल पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी पहाड़मा 5 दिनव्यापी पर्यटन उत्सव पालन गरिने घोषणा गरे।

उनले भने-दार्जीलिङमा 27, 28 र 29 दिसम्बरका दिन पर्यटन उत्सव पालन गरिनेछ, जसमा देशका दुइजना ख्यातीप्राप्त सेलिब्रिटी पनि आउनेछन्, तर तामाङले उक्त सेलिब्रिटीको नाम भने सार्वजनिक गर्न मानेनन्। तरै पनि यस पर्यटन उत्सवको अवसरमा बलिवुडका प्रसिद्ध सेलिब्रिटी शाहरूख खान यहाँ आउने जानकारी पाइएको छ। यसका साथै उनले दार्जीलिङमा प्रथमपल्ट देशका 5 जना प्रसिद्ध उद्योगपतिहरूको आगमन हुने अनि उनीहरूलाई लिएर यहाँको घूमस्थित स्टर्लिङ रिसोर्टमा उद्योग विषयमा संगोष्ठीको आयोजना गर्ने तय गरिएको पनि बताए।

उनले भने-दार्जीलिङ पहाड़ चिया र पर्यटनको लागि मात्रै प्रसिद्ध छैन, यहाँ उद्योगको लागि पनि पर्याप्त अवसरहरू छन्। यसैले दार्जीलिङ पहाड़मा के-कस्तो उद्योग शुरू गर्न सकिन्छ, त्यसमाथि पनि विशेष चर्चा हुनेछ अनि ती उद्योगपतिहरूलाई यहाँ उद्योगको लागि लगानी गर्न लगाइनेछ। यदि पहाड़मा कुनै उद्योग शुरू भए यहाँका बेरोजगार युवा-युवतीहरूले पनि आफ्नै ठाउँमा रोजगारको अवसर पाउनेछन्। यसअघि दार्जीलिङ पहाड़मा यसप्रकारको पहल कहिले भएको थिएन।

टिस्टा रङ्गीत पर्यटन उत्सव 2017-को नाममा शुरू हुने यो उत्सव दार्जीलिङसँगै कालेबुङ, खऱसाङ अनि मिरिकमा पनि पालन गरिनेछ। टोय ट्रेनमा सांस्कृतिक कार्यक्रमसितै यस पर्यटन उत्सवको अवसरमा प्याराग्लाइडिङ, घोड़ा, बोटिङ सवार, हाल्फ म्याराथान, डग शो, रिभर र्याफ्टिङ, सुन्दरी प्रतियोगिता, बेबी शो, फूल प्रदर्शनी, माउन्टेन बाइक राइडिङ, गुड्डी उँड़ाउने प्रतियोगिता, पर्यटकहरूमाझ ट्यालेन्ट शो-का साथै अन्य रोमाञ्चक कार्यक्रमहरू सामेल रहनेछन्।

जीटीए प्रमुख तामाङले भने-दार्जीलिङ पहाड़को पर्यटनमा हाल होमस्टे प्रसिद्ध बन्दै गइरहेको छ, पहाड़ाक धेरै मानिसहरू यो पेशामा संलग्न भइसकेका छन्, यसैले होमस्टे प्रथालाई प्रोत्साहन दिने उद्देश्यले यसै पर्यटन उत्सवको अवसर पारेर सिटोङमा होमस्टेमाथि संगोष्ठीको आयोजना गरिनेछ।

यसैबीच, राज्यकी मुख्यमन्त्री यस उत्सवको अवसरमा पहाड़ आउनेबारे प्रश्‍न गर्दा तामाङले भने-राज्यकी मुख्यमन्त्रीलाई यस कार्यक्रममा उपस्थित भइदिने अनुरोध गरेका छौं, तर उपस्थित हुनु-नहुनु मुख्यमन्त्रीमा नै निर्भर छ। यद्यपि, मुख्यमन्त्री 27 दिसम्बरको दिननै दार्जीलिङ पहाड़ आउने विश्‍वस्त सूत्रबाट जानकारी पाइएको छ, जसले 28 दिसम्बरको दिन स्टर्लिङ रिसोर्टमा हुने उद्योगपतिहरूको संगोष्ठीमा पनि उनले भाग लिनसक्ने जानकारी पाइएको छ। उनले यस पर्यटन उत्सवको अवसरमा पहाड़का होटल व्यवसायी साथै रेलवे विभागलाई आ-आफ्नो दरमा कम्ति गरिदिने पनि अपील गरेका छन् साथै पहाड़का चारैवटा नगरपालिकालाई आ-आफ्नो क्षेत्रलाई सफा अनि सुन्दर राखिदिने पनि आह्वान गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares