You are here

एसयूएमआईमा अतिरिक्त श्रेणी कक्षाको शिलान्यास, अनित थापाले विद्यार्थीहरूलाई दिए पार्टीको झण्डा नबोक्ने सुझाव

कालेबुङ: 7 दिसम्बर।

जीटीए उपाध्यक्ष अनित थापाले आज एसयूएमआईको अतिरिक्त श्रेणी कक्षा भवनको शिलान्यास गरे। जीटीएको प्रायोजनामा निर्माण हुन गइरहेको  उक्त अतिरिक्त श्रेणी कक्षा भवनको शिलान्यास कार्यक्रमअघि विद्यालयपक्षबाट उनलाई सम्मान जनाउन एउटा कार्यक्रमको आयोजना गरिएको थियो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए उपाध्यक्ष अनित थापाले विद्यार्थीहरूलाई पार्टीको झण्डा बोकेर नहिड्ने सुझाव दिए। विगतका राजनेताहरूले शिक्षा अनि विद्यार्थीहरूलाई जीर्ण अवस्थामा पुऱ्याएको आरोप पनि उनले लगाए। राजनीति गर्ने श्रेणी अर्कै हुन्छ विद्यार्थीहरूले राजनीति गर्नु हुँदैन भन्ने थापाले विद्यार्थीहरूले झण्डा होइन पढाईलाई नै प्रमुखता दिएर अघि बड्नुपर्छ भन्ने आह्वान पनि गरे।

यसअवधि विद्यार्थीहरूद्वारा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो भने प्रधानअध्यापक नवरत्न प्रधानले छोटो अवधिभित्र नै जीटीए उपाध्यक्षले उक्त भवनको निम्ति पहल गरिदिएकोमा आभार व्यक्त गरे।

यसरी नै जीटीए उपाध्यक्ष अनित थापाले आज कालेबुङ कन्या उच्चत्तर विद्यालयको पनि भ्रमण गरे। विद्यालयकी प्रधानअध्यापिका एस एस प्रधान लगायत अन्य शिक्षक-शिक्षिका साथै विद्यार्थीहरूसित औपचारिक भेटघाट गर्न थापा विद्यालयमा पुगेका थिए। उनलाई विद्यालयको मुख्य द्वारदेखि नै विद्यालयकी प्रधानअध्यापिका अनि विद्यार्थीहरूले स्वागत

जनाएका थिए। विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रधानअध्यापिका एसएस प्रधानले थापाप्रति दौडाहाको निम्ति आभार प्रकट गरिन् भने जीटीए पक्षबाट विद्यालयको निम्ति आफ्नो क्षमताअनुसार केहि गरिदिने प्रतिश्रुति उपाध्यक्ष अनित थापाले दिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares