तीन कविः तीन कविता

मलाई स्कूल किन पठाउनु भो बुवा ?

रमेश थापा


 

धुप्पीका काँचा सेउला जस्तो बलेन यो समय

बरू मेरो भविष्य जल्यो

मेरो जिन्दगी जल्यो।

कलम कोरेर माचिसको सिन्का

थानको दीयो कहिल्यै बलेन।

 

बरू चट्टान फोर्दा

अथवा पहरा तोड्दा

मैले आगोको झिल्को देखेको छु।

 

हुरीका पाइलाहरू

आफै बाटो खन्दै जान्छन्

बाधा/ व्यवधान तोड्दैजान्छन्

हुरी कहिल्यै स्कूल गएन

 

मलाई स्कूल किन पठाउनु भो बुवा ?

 

मैले नपढेको भए

आमाको तिलहरी आमाकै गलामा हुनेथियो

सिम्सारे खेत बुवाकै नाममा हुनेथियो

अरूले थाङ्ना बनाएको काला अक्षरहरूसित

म कसरी छात्ती फुकाएर हिँडू?

 

कसले तिखाऱ्यो बनको काँडा

तेन्जिडका सहास र हुङ्कारहरू

कहिल्यै स्कूल गएनन्

 

मलाई स्कूल किन पठाउनु भो बुवा ?

 

किताबका चार कुनाभित्र

पखेटा काटिएर फत्र्याक फत्र्याक

छु म आज

अनन्तको उडान मेरो भएन

आकासको फैलावट मेरो अड्गालो भएन।

 

समुद्रका छाललाई

कसले रोक्नु सकेको छ

म त्यही छालको उचाइ हुन चाहन्थेँ

घामका पाइलाहरू

कहिल्यै स्कूल गएनन्

 

मलाई स्कूल किन पठाउनु भो बुवा ?


साँझको पहाड

पारसमणि छेत्री


 

मधेशबाट लट्टा परेका

एकहूल

तर –

निखूर कालो बादलहरू बिस्तारै

तर –

अनुमानित गति भन्दा

धेरै छिटो,

तराईको ठिक माथि

आइपुग्नभन्दा अघिनै

विकराल – विशाल

अजिङ्गरे आकृति बन्यो।

 

हेर्दाहेर्दै तर-

ठिक तराई र पहाडबीच

पुग्नभन्दा अघिनै

त्यसका लाखौ खुट्टाहरू पलाए।

 

एउटा घामपनि

ठिक त्यतिबेलै

अस्ताउँदै थियो,

किनभने त्यो एउटा

निस्सासिने साँझ थियो।

 

अन्धकार भयो

किनभने

त्यो घाम अस्तायो

अनि

त्यो रात थियो।

 

लाखौँ खुट्टा

निखुर कालो अजिङ्गरे आकृति बाहेक

अरूथोक केही ठिम्याउन सकिएन

किनभने

त्यो थियो अजिङ्गर निखूर कालो

र थियो त्यो अन्धकार पनि

निखुर कालो।

 

यतिनै बेला त्यो

अजङ्गको अजिङ्गर

पहाड़को ठिक माथि पुग्यो होला

त्यसको लाखौँ खुट्टाहरू

फेरि

थप पलाइसक्यो होला।

 

(डरको आतङ्कले शरिर चिसियो)

 

भोलि घाम

फेरि झुल्केपछि

सायद त्यो डरलाग्दो अजिङ्गर

अनि

त्यसको

लाखौँ खुट्टाहरू हुँदैनन् होला

किनभने

पहाड त पहिला सानोमा पनि

त्यहीँ देखेको

अघि भर्खर साँझमा पनि

त्यहीँ थियो।


पहाड

योगिता राई


एक दर्जन आधा लुइरे सिद्धान्तहरू

आधापिल्ठो, अधमरो, अचेत,

लमतन्न छन्।

 

सडकैभरि।

दुर्घटनाग्रस्त।

 

पक्का

कसैले त भनेकै हुनुपर्ने यिनीहरूलाई?

जायजा र बुझि लेऊ।

चियो र चर्चा गर।

निरिक्षण र हिसाब गर।

हिँड्नु- हिँडाउनु अघाडि नै।

 

छेउ- कुना, तल- माथि,

अघि-पछि, वारि-पारी,

भीर- पहरा, खाल्डा- खुल्डी।

हेर्नु, जोख्नु राम्ररी

ढुक्कै दगुर्नु अघाडि नै।

 

कसको?

किन?

कहिले?

र के?

पो सुन्थे र?

चित र पट एउटै पार्न

पल्केका अहमहरू।

 

चित्त् परेछन्

दुर्घटनामा।

 

छेवैमा बसेर

म पनि मौन

हेरिरहेछु आफ्नै लाश ।

 

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares