स्रष्टा पोट्रेट : याद त्यहीँ छोड्ने कवि

स्रष्टा पोट्रेट

बिहान कविता बेलुकी फाइट

राजा पुनियानी


 

त्यतिबेला फेसबुक थिएन, मोबाइल थिएन। जम्काभेट थियो, चिट्ठीपत्र थियो। अहिले च्याटिङ छ, भिडियोकल छ। भेटघाट छैन, अङ्गालो छैन। त्यस्तै बेलाको कुरा हो।

डेड़ दशकअघि। म पच्चीस पैसाको नीलो अन्तर्देशीय खाममा चिट्ठी लेख्थेँ। निक्कै निक्कै निक्कै फेमस कवि नोर्जाङ स्याङ्देन पनि अन्तर्देशीय खाममै उत्तर गर्थे। उनको तेस्रो कविताको किताब ‘राग रन्थरूमा’ आयो सन् २००१-मा।

किताबको कभरको फ्लिपमा एक पाठकको मन्तव्य भनेर उनको कवितामाथि अचिनारू ठिटोले चिट्ठीमा भनेको कुरा टपक्क टिपेछन्। सुटुक्क छापेछन्। ‘तपाइँलाई नभनी छापेँ, सरी’, लेखेछन्। नोर्जाङ स्थापित गोलबन्दीमा छैनन्, त्यही दिन मैले भेउ पाएको।

उहिलेदेखि आजसम्म नोर्जाङ एक्लै। मान्छेको मनको एक्लो-एक्लो कुनाबारे कविता लेख्दै। कुनै खेमा यिनलाई रुचेन। अचेल जागीरे अवकाशपछिको एकान्तवासमा छन्। लेख्न चाहिँ संसारकै कुरा लेख्छन्।

सरकारी कलेजमा विज्ञानका विद्यार्थीहरूलाई नोर्जाङको पहिलो किताब ‘मूर्छना’ (सन् १९८४) बेचेछन् केवलचन्द्र लामाले। तातो केकझैँ बिकेछ। अहिले उनीहरू साहित्य लेखपढ़ गर्ने भएका छन् अरे। असमबाट ‘परेवा:सेता-काला’ छपाउन बनारस पुगेका अविनाश श्रेष्ठ प्रकाश प्रिन्टिङ प्रेसमा मूर्छनाको प्रूफ कपी पढ़ेर उनको फ्यान भएका थिएछन्।

‘मूर्छना’ नोर्जाङको मास्टरपीस। तेस्रो आयामको ढुङ्गे बाटोको समानान्तर दार्जीलिङमा यिनले खने मट्यौलो बाटो। मङ्पूका कवि सुरेन्द्र थीङ भन्छन्, ‘उनलाई पछ्याएर लेख्नेहरू आज स्थापित कवि छन्’। मङ्पूकै अर्का कवि सुभद्रा बम्जन नोर्जाङलाई प्रचार-प्रसारमा कम आउने पानीजस्तै छर्लङ्ग कवि मान्छिन्।

दार्जीलिङमा पहिलोपटक समलैङ्गिक, इन्सेस्टजस्ता धारणा कवितामा भित्र्याउने श्रेय यिनैलाई जान्छ। यिनले कवितामा ल्याएको नयाँ भन्ने तरिका र जनबोलीकै बाग्धाराको बदौलत आज थरी-थरीको शैलीमा कविता बोल्ने कविहरू छन्। मनोविज्ञान, दर्शन, लैङ्गिक मुद्दा, बेरोजगारी, पानीको समस्या, रोमान्टिकता, नोस्टल्जियालाई पोलेर यिनले कविताको सेकुवा बनाएका हुन्। ‘भूपि, कटुवालको प्रभाव पाइन्छ। तर उस्तै पनि लेख्ने होइनन्।

यिनमा नयाँपन छ,‘ दावा गर्छ, कवि निरज थापा भन्छन्। अचेल भन्ने गरिएको ‘अर्ग्यानिक’ तत्त्व नोर्जाङका कवितामा अनुभव गर्छन् अविनाश। दार्जीलिङे साहित्यले खासमा नोर्जाङकै जिब्रोले खुलेर बोल्ने भयो। नोर्जाङ एउटा नयाँ भाषा थिए। हुन्।

सम्भवतः एक मात्र नोर्जाङ स्याङ्देन दार्जीलिङका कवि हुन्, जसलाई उल्था गरिए, कुनै पनि भूगोलको पनि पाठकले नस्ल, जाति, जात, क्षेत्र, धर्मको घेरोबाट बाहिर लेखिएका मानव मात्रका कविता भनेर इन्जय गर्न सक्ने हुन्।

चण्डीगढ़, नोभेम्बर, सन् १९७९। साहित्य अकादमीको सातदिने नौभाषे कवि कर्मशाला-मा युवा कविको रूपमा निम्त्याइएका मोहन ठकुरी, जीवन नाम्दुङ, मनप्रसाद सुब्बा र नोर्जाङ स्याङ्देन। ‘अन्तिम दिन नोर्जाङ्ले पढ़्नु थियो। उसले सुनाउन भनेर लगेको कविता नसुनाएर त्यही दिन बिहानपख निकै इमोसनल भएर लेखेको कविता, एक संस्कृत कविको सहायतामा हिन्दीमा अनुवाद गरी, साँझको कार्यक्रममा सुनायो’, कवि मनप्रसाद सुब्बा भन्छन्।

कान्छो कवि नोर्जाङको ‘म याद त्यहीँ हुन्छु’ कविताले भारत पिटेछ। जसरी उनको पहिलो किताब ‘मूर्छना’-ले दार्जीलिङ पिटेको थियो। ‘कुनै जुलुसको अनुहारमा हेर्नू / म त्यहीँ हुन्छु / भित्तामा टाँसेको पोस्टरमा हेर्नू / म त्यहीँ हुन्छु / हो, म याद, मेरा साथीहरू / म त्यहीँ हुन्छु’। यसो भन्ने कवि लोकल र राष्ट्रिय अखबारहरूमा छाएछन्। ‘इन्डियन एक्सप्रेस’-ले सात दिनको कार्यक्रम यही एउटा आखिरी दिनको कविताले सार्थक बन्यो लेखेछ।

कविता भनिसकेपछि नोर्जाङलाई कुद्दै-कुद्दै आएर एउटा श्रोताले पाँच रुपियाँ थमाइदिएका थिएछन्। यही कविताको अङ्ग्रेजी उल्था ‘प्राची’-मा निस्केको थिएछ।

गफ्फिँदै गर्दा कुनै बेला उनी हराउने गर्छन्। एकोहोरिन्छन् धेरैबेर। कुनै घतलाग्दो कुराले उनलाई छोएर उनको ठूलो खोलिएको मुख बिस्तारै  किस्ता-किस्ता आवाजसित बन्द हुँदो गएपछि नोर्जाङ हाँसेको अद्भुत लाग्छ कवि ठकुरीलाई। मोहन ठकुरीको मङ्पू निवासमा वासै बसेर भेट्थे मनप्रसाद, अविनाश र नोर्जाङ। रक्सी खाँदै गएपछि ओशो रजनीशका लामा-लामा अङ्ग्रेजी भाषणहरू नोर्जाङ कण्ठ सुनाउँदा थिएछन्।

लेखिरहनु हो भने गद्यमा पनि खूब जम्थे नोर्जाङ। ‘प्रणयन’ (सन् २००४)-मा सम्पादक कवि भूपेन्द्र सुब्बाले पुरानो फाइलबाट उद्धार गरेर नोर्जाङको (सम्भवतः एउटै) कथा ‘हावाघर’ छपाए। फकल्याण्ड युद्धमाथिको सटायर यो मास्टरपीस कथा छ नोर्जाङको। (सम्भवतः एउटै) संस्मरण लेखे। सरल, तरल र विरल लेखौट।

आ. वि. गुमानसिंह चामलिङमाथिको त्यो संस्मरण पढ़्नेको मुटु संवेदनशील छ भने उ पक्का छोइन्छ र रुन्छ। गुमानसिंह रक्सी खाएर दार्जीलिङको मध्यराते सुनसान सड़कमा सोर तोपको सलामी खोज्दा थिएछन्। उनले चाहिँ त्यो तोपको सलामी दारूआँखैले हेर्नुपर्ने। गुमानसिंह इन्दिरा गान्धीको इमर्जेन्सीकालमा मिसा एक्टमा उन्नाइस महिना जेल समेत खटिएछन्। जीवनको उतार-चढ़ाउ थाम्ने इस्पाती गुमानसिंहको दारूण बायोपिक नोर्जाङ देखाउँछन्।

‘आइडियोलोजीले देब्रे ढल्कुवा हुँ’ भन्ने नोर्जाङको जुनी उनको जीवनसाथी, छोरी र देब्रे हातले नै खेपाएको छ। छुकछुके छवर्षे नोर्जाङ-बालक। खेल्दा-खेल्दै भीरबाट झ्वाम्म झरेछन्। भिक्टोरिया अस्पताल पुर्‍याइँदा इन्फेक्सनको कारण डक्टरले चोट लागेको दाहिने हात डल्लै काटेछन्। मोटरबाइक हाँक्ने रहर थियो होला उनको।

‘बाइक नहाँके पनि साइकल चलाएर नदीमा माछा मार्न गइन्थ्यो सानुमा’, नोर्जाङ भन्छन्। धोको पूरा गरे उनले मोटरबाइकमाथि सुन्दर कविता लेखेर ‘चक्का कुदेर जीवनबोध’। रोबर्ट पिर्सिगको कल्ट किताब ‘जेन एन्ड आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स’ पढ़्दै गर्दा लेखिएको थियो त्यो कविता।

नोर्जाङ प्राइमेरी स्कूल पढ़्दा कवि ज्ञानेन्द्र खतिवड़ा पनि दार्जीलिङ पढ़ेका। भेट भइरहने। नोर्जाङको घर सिंहमारीमै उनको डेरा। नोर्जाङ आइरहने। नोर्जाङको दुवै हातको ताकत एउटैमा छ भनेर नानीहरू डराउने। नोर्जाङ कति झोंक्की भने फाइटको लागि हमेशा तयार।

बलिवुडे फिल्मका डनहरू उनको आइडोल थिएछन्। एकचोटि बिहान समारोहमा कविता भन्ने प्रोग्राम थिएछ, बेलुकी कुइनेटोमा फाइटको प्रोग्राम। झोंक्की नोर्जाङसँग अहिलेसम्म पनि सर्जक साथीहरू हच्किन्छन्। ‘नोर्जाङको काव्यिक वैशिष्ट्य स्वच्छन्दतावाद हो’ र यिनले सहज तथा लोक विम्बहरूको प्रयोग गरेको ड. कविता लामा मान्छिन्।

हिंसा प्रकृतिको सार हो – बिहानको २ बजी नोर्जाङले रियलाइज गरे। भोलिपल्ट अन्तर्विद्यालय डिबेटमा त्यही पोइन्ट फलाकेपछि नोर्जाङ हठात् हिट भएको कवि खतिवड़ालाई सम्झना छ। हामीलाई युद्ध गरेरै देखाउनुपर्छ / हामी शक्ति चाहन्छौँ (युद्धहरू) लेखे। पछिबाट लेखे, एउटा युद्धको घोषणा गर्छौँ / आङ तन्काएर अल्सीलाग्दो बिरालो जस्तो भएर / कति बसोस् / यी गाउँ, सहरहरू / यी देश, राष्टहरू/ यी मान्छे, भगवानहरू / यिनीहरूलाई पनि कोइबेला एउटा भागदौड चाहिन्छ।

नोर्जाङ राजनीति र साहित्य बेग्लै भए पनि राजनैतिक चेतना साहित्यमा पस्नुपर्छ भन्ने मान्छन्। साहित्यका शिक्षक लक्ष्मण दाहाल नोर्जाङको कविताले तीब्र अनुभूति बोक्ने जनाउँदै नोर्जाङको कला बुझ्न उच्च स्तरकै कलाकारिताको बुझाइ हुनुपर्ने भन्छन्। विद्यार्थी नमिता राईले नोर्जाङको कवितालाई ‘मान्छेको अस्तित्वगत जटिलता’ र ‘विडम्बनाको गीत’-को रूपमा हेर्छन्। ‘असहायपन, एक्लोपन र विवशता उनको कविता हो’, थप्छिन्।

यस्ता अज्जीर मान्छेले लेखे फूलभन्दा कमुलो कविता। कसरी भए त यी झोंक्की नोर्जाङ कवि नोर्जाङ, पछिसम्म छक्क परिबसेछन् कवि ज्ञानेन्द्र। नोर्जाङको यो कवित्वको मुहान जेठा दाजुको घरे पुस्तकालय र जीवनको गहिरो भोगाइ थिएछन्। ‘जगतलाई नयाँ आँखाले हेर्ने क्षमता पलाएछ’, नोर्जाङ भन्छन्।

कलेजियन नोर्जाङको कवि गुमानसिंह चामलिङको सतसङ्ग तिनको कवित्वमा मल्टिभिटामिन बुस्टर थिएछ। सानैदेखि तुक्का मिलाएर कविता गर्ने। स्कूल पढ़्दै इलियट पचाएका। इलियटका कृतिबाट कविता लेख्ने प्रशिक्षण पाएको मान्छन् नोर्जाङ। ईश्वरबल्लभ मन पराउँछन् तर भन्छन्, ‘तेस्रो आयामले मान्छेलाई साहित्यबाट लखेटेको थियो’। अहिलेघड़ी भटाभट लेखेर फ्याटफ्याट किताब निकाल्नेहरूको झुर किताबी बोझले पाठक तर्सिएको ठान्छन्।

‘सायद यस्तै अन्धकारमा जम्काभेट हुन्छ / आफूसित आफ्नै अन्धकार’ भन्ने नोर्जाङ हल्लाखल्लाबीचको मौन खैलाबैला हुन्। जसले आविष्कार गरेका हुन् कविताको जादुइ भाषा।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares