याद : असम नोस्टाल्जिया

लीलबहादुर/लीलाबहादुर

लीलाबहादुर छेत्री


केही दिनदेखियता उपन्यासकार लीलबहादुर क्षत्रीबारे लेखिएको पूर्वप्रकाशित संस्मरणात्मक लेखलाई पुनर्लेखन गरूँ भन्ने सोंचमा डुबिरहेको छु। ठिक यसै बेला उहाँलाई जगम्बाश्री पुरस्कार प्राप्त हुने शुभखबर फेसबुकमा छाएको छ। उहाँलाई बधाई दिने क्रम चलिरहेको छ। छास्स छुस्स उहाँका उपन्यासहरूको चर्चा भइरहेको छ। यस्तोमा म भने उहाँसित पहिलोचोटी गुवाहाटीको एक साहित्यिक कार्यक्रम अवधि भेट भएको दिनलाई खुब सम्झिरहेको छु। पायल्स ,पीडा र पुरस्कार मेरा मनमा झ्वाम्म आइरहेको छ।

 …

नेपाली साहित्येतिहासमा मुनामदनपछि सर्वाधिक पढिएको/विक्री वितरण भएको “बसाइँ” उपन्यास सरसर्ती पढिसिध्याएको वर्षौंपछि गत वर्ष गुवाहाटीको रङ्गभवनमा सम्पन्न एक रङ्गारङ साहित्यिक एवं साङ्गीतिक कार्यक्रम अवधि उपन्यासकार लीलबहादुर क्षत्रीसित साक्षात्कार गर्न पाइयो। असमका सक्रिय समाजकर्मी तथा साहित्यकार कृष्ण भूजेल दाजुको सौजन्यबाट सो भेटवार्ता गर्ने अवसर प्राप्त भएको थियो। त्यो पहिलो भेटमा कृष्ण दाजुले लीलबहादुर क्षत्रीसित उचालेर परिचय गराइदिनु भयो,-“डुवर्सका लीलाबहादुर छेत्री, गजलकार तथा राम्रा पत्रकार”।

डुवर्सबाट असमतिर लाग्दा सोंचेको थिएँ “बसाइँ”-का सर्जकसित नभेटी, केही कुरा नगरी फर्कन हुन्न। एक पत्रकारको लेबिल लागेर परिचय साटिएपछि उहाँसित कुराकानी गर्नमा अलि सहज महसुस गरेथें। कारण पछिल्ला केही वर्षदेखि यता पत्रकार बन्ने भुतमा सवार भइ हिँडिरहेको छु। पहिलोचोटी गुवाहाटी पुगेपछि उतिखेर ठ्याक्क त्यही भुतमाथि सवारी हुने अवसर पाएको थिएँ। एक पत्रकारको नातामा परिचित बनेपछि मेरो प्रश्न थियो- “बसाइँ”-माथि गरिएका मूल्याङ्कनहरूसित कतिको सन्तुष्ट हुनुनहुन्छ?

” बसाइँ-माथि समालोचकहरूले गरेका थुप्रै मूल्याङ्कनहरूबाट म सन्तुष्ट छुइनँ। मैले जुन कुरो उपन्यासमा कोर्नु चाहेकोछु त्यो धर्सो आजसम्मन् कसैले पनि सही अर्थमा देख्नसके जस्तो लाग्दैन। सबै सृजनामा समालोचकहरूले सर्जकका कतिपय भावाभिव्यञ्जनालाई स्पर्श गर्न नसक्लान् त्यो स्विकार्छु। त्यसैकसो बसाइँमा पनि भएको होला तर, मूल्याङ्कनका एकाध प्रयासहरू भने सराहनीय छन्। कथावस्तुलाई मात्रै लिएर अट्कल अनुमान लगाइएको छ। उपन्यासमा उतार्न चाहेको नक्शा चाहिँ अर्कै हो। त्यसलाई मूल्याङ्कनकर्ताहरूले स्पष्ट रुपमा ठिम्याउनसके जस्तो लाग्दैन|”

माथिका यी कुराहरू केही गाह्रो माने झैं राख्नुभयो उपन्यासकार लीलबहादुर क्षत्रीले। त्यसमा अझै थप्नु भएको थियो,”बसाइँ-माथि धेरै लेखिएको हेरेको छु। तीमध्ये कति त पाइएका छैनन्। एकाध प्रयासहरू सराहनीय छन्। तर, सन्तुष्ट रहन सकेको छुइनँ। नेपाली मौलिक संस्कृति, परम्परा, रहनसहन, रीति-थिति आदिलाई देखाउने मेरो अभिष्ट हो। धेरैले त्यसैलाई ओझल पारिदिएका छन्।’

पहिलो भेटमै आत्मीयता भेटाउन र देखाउनलाई कुरा कोट्याउनलाई निहूँ चाहिएको थियो। दिक्दारी दिनु थियो धेरै। सकेसम्म के-के सोध्नु र हत्तुहैरान पार्नु थियो। रङ्गभवनभित्र हामीबीच कुरा तन्किइरहेको बेला मञ्चमा कान चिर्ने गरी गीत बज्नथाल्यो। मञ्चमा बज्न थालेको गीतले डिस्टर्ब गरेपछि उहाँले भन्नुभयो,” एकक्षण बाहिरै गएर कुरा गरौं, हिँड्नोस्”।

गुवाहाटीको मालीगाउँमा एक भव्य सामुदायिक भवन रहेछ। विभिन्न कार्यक्रमहरू गर्न त्यही भवनलाई उपयोग गर्दारहेछन् विविध कार्यक्रमका आयोजकहरू। रङ्गभवन- त्यसको नाम। भारतीय रेल विभागद्वारा निर्मित। खुबै उपयोगी। सुविधा सम्पन्न। स्वच्छ चिरिच्याट्ट। यस्ता सामुदायिक भवन जीवनमा थोरै देखेको छु। सोही भवन परिसरमा उपन्यासकार लीलबहादुर क्षत्रीको पहिलो दर्शन पाएको हूँ। अवसर अखिल असम गोर्खा छात्र सङ्घ, मालीगाउँ आञ्चलिक समिति र सयपत्री साङ्क्रीत्यकला सङ्गमले संयुक्त रुपमा आयोजना गरेको रमाइलो तिहार सम्मेलन समारोह। तारीख २० दिसम्बर २०१५-को दिन। यो लिखुरे जिउबाट ज्यान नछुटेसम्मन् नछुट्ने गरी मेरा निम्ति यो दिन अविस्मरणीय रहनेछ।

गुवाहाटी, मालीगाउँको लज “अन्नपूर्ण”-बाट निबन्धकार अजय खड्काका सपरिवार अनि मूर्तिकार अमिर सुन्दासका साथ लागेर रङ्गभवनमा पुग्दा आयोजक सङ्गठनका साङ्गठनिक कार्यक्रम चल्दैथियो। झण्डा उत्तोलन कार्यक्रम भइरहेको थियो। त्यो कार्यक्रमको औपचारिक समापनपछि कृष्ण दाजुले उपन्यासकार क्षत्रीसित परिचय साटिदिनु भयो। शारीरिक उचाइका हिसाबमा झन्डै म पनि उहाँ जस्तै नै देखिँदोरहेछु। फोटो खिचेपछि आँफुलाई नियालेर हेरें। केही बोलेपछि थाह भो उहाँ पनि कालिकोटे खड्का, आत्राय गोत्रो। मिल्दोरहेछ उहाँसित सबै सबै। नाममा आकार धेर। सोंचें यति फरक त हुनैपऱ्यो।

नत्र झुक्किन्छन् केही। धेरै झुक्किएका छन् मसित कैयौं चोटी, लीलबहादुर क्षत्री भन्ठानेर। उहाँलाई नजीकबाट राम्ररी नचिन्ने र नदेख्नेहरू पछिल्ला दिनहरूमा त्यसरी मनकेही चोटी रणभुल्लमा परेका छन्। नेपालका एक फेसबुकका मित्रले फ्रेन्ड रिक्वेस्ट गर्दै लेखेका रहेछन् ,”बसाइॅ र ब्रह्मपुत्रको छेउछाउ -पढेको छु”। विशिष्ट व्यक्तित्व भन्ठानेर मित्रता गाँस्न चाहेका हुन् भनी खुब चित्त दुखाएँथे। त्यसपछि फसादमा परेर रिप्लाई गरिदिएँ – पश्चिमबङ्गालको डुवर्समा बसोवास गर्दैआएको एउटा फुच्चे र पिलन्धरे रोगी केटो हूँ म। विशिष्ट उपन्यासकार लीलबहादुर क्षत्री होइन म। उहाँ नै ठानेर रणभुल्लमा पर्नुभएछ। माफी चाहन्छु। मसित सम्बन्ध विच्छेद गर्नसक्नु हुन्छ।

आजसम्म मेरो समाज र साहित्यमा फुट्टीकौडी नाम छैन। योगदान छैन।जस्तो उहाँ लीलबहादुर क्षत्रीको छ। संयोगवश लीलबहादुर क्षत्री भन्ठानेर मसित मानिसहरू झुक्किएका यस्ता घटनाहरू दुइ-चारचोटी अरु पनि दोहोरिएका छन्। त्यस क्रममा कहींकतै खुबै अप्ठ्यारो महसुस गरेकोछु। त्यस्तो अप्ठ्यारोबाट अब उम्कन पाइएला कि भन्ठानेरै पनि यो संस्मरण जस्तो लेख्ने सुर कसेको हूँ।

“हामी दाज्यु-भाइ रहेछौं”- उपन्यासकार क्षत्रीले केहीबेर बोलेपछि हामीबीचको नातामा मोहर लाइदिनुभयो। यति बोलिदिनु भएपछि उहाँका व्यक्तित्व र कृतित्वलाई अनायासै भुलिदिएछु। आत्मीयता र सामीप्यबाट पुलकित बनेंछु। बोलिपठाएछु- ‘केही फुर्सत् भए दिक्दारी दिनेथिएँ।’

“हुन्छ भित्र गएर गफ गरौं “, आत्मीयता पोखाउॅदै भित्रतिर लाग्नुभयो।

उहाँको यो लिखुरे भाइ पछिपछि थियो। गफ गर्दागर्दै निस्किएका छौं अहिले चाहिँ बाहिर। कुराहरू मैले बसाइँतिरै घुमाइरहेको छु। मुनामदनपछि सबैभन्दा धेर बिक्री-वितरण भएको यही बसाइँबारे मलाई लागेका धेरै कुराहरू प्रश्न बनाएर घुमाइफिराई राख्ने ध्याउन्नमा छु।

कसले पछारे अनि कसले उचाल्न खोजे जस्तो लाग्छ?

रङ्गभवनभित्र गुञ्जिएको गीतको हल्लाबाट बाहिर आउने बित्तिकै प्रश्न गरेथें। केही सोचेपछि बोल्नुभो ,” कति कुरो सम्झनामा बस्न छोडेको छ। बुढो र रोगी भएको छु। उचाल्ने पछार्ने कामहरूबारे खासै ख्याल राख्नसक्दिनँ अचेल। केही समालोचकहरूले विभिन्न सिद्धान्त र वादहरूको आधारमा “बसाइँ”-लाई मूल्याङ्कन गर्नखोजेका छन्। त्यस्तो गम्भीर थिएन बसाइॅ लेखनमा मेरो उद्धेश्य। नेपाली संस्कृति, परम्परा, सग्लो र सहज प्रकृतिलाई उतार्नखोजेको छु। त्यसमा अरुले के-के देख्लान देखून् तर, मेरो एउटै लक्ष्य हो नेपाली समाजको यथार्थ वस्तुस्तितिलाई टिपेर राख्नु।”

पात्रहरू पलायनवादी जस्ता भए होइन? बसाइँको कथावस्तुबारे पनि कुरा कोट्याएँ। “होइन”, उहाँको स्पष्टीकरण थियो,”देखाउनु खोजेको कुरा त्यस्तो होइन। कथावस्तु मात्रै बसाइॅ होइन।”

कथावस्तुबारे उहाँको विचार थियो,”कथावस्तु परिकल्पित हो। केही साँचो पनि छन्। मैले भोगेको केही अनुभवहरू छन्।” दोस्रो विश्वयुद्ध अवधि सन् १९४२ तिर बाबुले सुरक्षित स्थानको खोजीमा नेपालको पहाडमा लगेर राखेका अनि त्यहाँ गाईगोठमा बसेको, घाँस-पात गरेको ,पर्वत पाखा चहारेको प्रसङ्ग उल्लेख गर्नुभयो। धेरै प्रश्नहरू गरिए तर, उहाँले उस्तो खुलेर आफ्ना कृति बसाइँमाथि कटु आलोचना गर्ने कुनै आलोचक हुन् वा सही मूल्याङ्कन गर्ने समालोचक कसैको पनि नाम उल्लेख गरेर विवादमा पर्न चाहनुभएन। बसाइँबारे सही मूल्याङ्कन गर्नेहरूमध्ये कृष्णचन्द्रसिंह प्रधानका नाम भने उहाँलाई मुखस्थ रहेछ र भन्नुभयो,”कृष्णचन्द्रसिॅह प्रधानले गम्भीर अध्ययनको आधारमा बसाइँलाई मूल्याङ्कन गरेका छन्।”

उपन्यासकार लीलबहादुर क्षत्रीसित बसाइँबारे थप मनमा लागेका कुराहरू सोध्नमा खुब सहज भइरहेको थियो कारण उमेरको पार्थक्यता वैचारिक वैशिष्ट्य र उहाँका व्यक्तित्वमा रहिआएको विशिष्टतालाई बिर्सिएको थिएँ उतिखेर मैले। बसाइॅको विभिन्न संस्करण अनि त्यसका रोयल्टीबारे गरिएको प्रश्नको जवाबमा काठमाडौंको साझा प्रकाशनको वर्त्तमान स्थितिबारे चिन्तित बन्दै बोल्नुभयो,”संस्करणपिछे रोयल्टी पनि दिँदैथ्यो तर, अहिले साझाकै स्थिति खस्किएको छ”।

मलाई कसैले खुब स्वास्थ्य र तन्दरुस्त देखेको कुरो गर्दा ढुक्क लाग्छ। जाबो मधुमेह र अरु दुइ-एक रोग नाथु छु मन्तर भएर कता अल्पिए जस्तो लाग्छ।बुढ्यौलीतिर ढल्किँदै गएका हुन् या रोगले पिलन्धरे रोगी कुनै परिचित मानिसहरूलाई सकेसम्म तन्दरुस्ती र सुस्वस्थ्यको कामना गर्ने प्रयास गर्छु। प्रत्यक्ष देख्ननपाउँदा सोच्नेगर्थें उपन्यासकार लीलबहादुर क्षत्री वयोवृद्ध र शारीरिक रुपमा अशक्त हुनुपर्छ। प्रत्यक्ष भेट्न पाएपछि अर्कै पाएँ र भनिदिएँ -सोंचेको भन्दा तन्दरुस्त र स्वस्थ्य हुनुहुँदो रहेछ।

प्रतिकार गर्दै भन्नुभो,”पाइल्सबाट पीडित छु। खुब औषधि उपचार गरिसकें उस्तैत्यस्तै छु।” जतासुकै हिँड्न नमिल्ने अशक्तता बखान्नु भयो,” मुश्किलले हिँडिन्छ। ढिप्पी गरिने ठाउँमा र कार्यक्रमतिर गइन्छ”। साँच्चै सन् 34 साले उहाँले शारीरिक अशक्तता महसुस गर्नथाल्नु भएछ।  पहिलो भेटमै भारतेली नेपाली साहित्यको विकास र स्थितिबारे उहाँका विचारहरू जान्ने इच्छा थियो। सोध्ने उस्तो अवसर पाइएन। उहाँसित भलाकुसारी गर्नआउने शुभचिन्तकहरूका समयमाथि हस्तक्षेप गर्नुभन्दा उत्तम थियो मोबाइल नम्बर माग्नु र अति संक्षेपमा केही सोधनी गर्नु, त्यही गरेँ। त्यसैले पूर्वोत्तर राज्यहरूमा हुँदैआएको साहित्यिक गतिविधिसित अन्य इलाका विशेष गरी दार्जीलिङसित तुलनात्मक प्रश्न गरी उहाँका विचार जान्ने चाहना पूरा हुनसकेन। प्रसङ्गवश सिक्किम राज्यमा भइरहेको साहित्यिक क्रियाकलापबारे भने केही प्रसङ्ग उल्लेख गर्नुभयो।

पूर्वोत्तर राज्यहरूमा भइरहेको साहित्यिक गतिविधिबारे सोधनी गर्दा उहाँको उत्तर थियो,”समालोचना विधा यतातिर शून्य बराबर छ। मेरा कृतिहरूबारे त झनै समीक्षात्मक कार्य ठ्याम्मै भएको छैन भन्दा पनि हुन्छ। एक-दुइले गरेका छन् तर सबै त्रिभूवन विश्वविद्यालयतिर पढ्नेहरूले नै गरेकाछन्। यतातिर यस खट्किरहेको विधातिर काम गरिनु पर्ने हो। लेख्नुभन्दा धेरै अध्ययन गरिनु पर्ने हो। जुन हुन सकेको छैन।”

लाग्दोरहेछ उहाँलाई-पूर्वोत्तरबाट अब समालोचनात्मक लेखहरू लेखिनुपर्छ। युवावर्ग यसतर्फ लागिपर्नुपर्छ। अचेल उपन्यासकार लीलबहादुर क्षत्रीलाई शारीरिक अशक्तताको पनि महसुस हुन थालेकोरहेछ। शरीरले साथ दिँदैन भन्नमा उहाँलाई कुनै अप्ठ्यारो लाग्न छाडेको रहेछ। दुखेपछि कसैको केही लाग्दैन भन्ने अलिकति अनुभूति मैले पनि गरेको छु। शारीरिक पीढा एवं आत्था आइय्याकै कुरा गर्ने हो भने म पनि कोहीभन्दा कमी छुइनॅ। पछिल्ला केही वर्षदेखि यता खुब दुखेर बाँच्दैआएको छु।

आत्महत्या गर्ने नकारात्मक स्थितिबाट समालिएर आएको हूँ। उहाँले पाइल्सले दुखेको वयान यसरी गर्नुभयो कि उहाँको दुखाइसित एकाकार भएको ठानेथें। उहाँलाई अचेल बेस्मारी पीढा हुनथालेको रहेछ। यसको निदानतिर दौडधूप गरिरहनु भएको छ। यद्यपि, उहाँको अनुहारमा बुढ्यौली र पाइल्सको पीढाले पोत्नखोजेको निराशाको धर्सो सबैले देख्ननसक्दैनन्। म जाबो चाहिॅ आत्महत्या गर्ने स्थितिसम्म पुगेर फर्किएँ। त्यही पनि गधापच्चीसातिरै। थुइक्क म!! ”

आज पनि यहाँ पुग्नुभएछ र आएँ”,माइलखुट्टी मासिकको सह-सम्पादक खड्गराज राउतलाई औंलाएर भन्नुभयो। पाँच दशकदेखियता निरन्तर साहित्य सृजनामा लागिपर्दै आएका क्षत्री अहिले भने आइया आत्थाले हुरुक्हुरुक् बन्नपर्ने स्थिति झेलिरहनु भएको रहेछ। शारीरिक दुर्बलतालाई स्विकारेर हिँड्नुपर्ने मोडमा आइपुग्नु भएछ। सोँच्छु- धेरै विद्वानहरूले उपन्यासकार क्षत्रीका कृतित्व र व्यक्तित्वबारे लेखिसकेका छन्। अब उहाँका शारीरिक अशक्तता र पाइल्सको पीढालाई मैले लेख्नपर्छ।

डुवर्सका चर्चित निबन्धकार अजय खड्काका विशेष निवेदनमा पखेटा चलुञ्जेल (निबन्ध संग्रह) को दोस्रो संस्करणलाई लोकार्पण गर्न उपन्यासकार लीलबहादुर क्षत्रीलाई गुवाहाटीमा आमन्त्रण गरिएको रहेछ। त्यही क्रममा अस्वास्थ्य रहॅदारहॅदै पनि आइपुग्नु भएछ।  साक्षात्कारको उक्त सुखद् अवसर पखेटा चलुञ्जेलको दोस्रो संस्करणले दिएको थियो। त्यसमा पनि महत्त्वपूर्ण भूमिका त कृष्ण भूजेल दाजुले खेल्नुभएको हो। पखेटा चलुञ्जेलको दोस्रो संस्करण र गुवाहाटीमा लोकार्पणको प्रायोजना उहाँकै तत्परतामा सम्भव भएको थियो। गुवाहाटी बसाइको सम्पूर्ण तारम्य, आत्मीयता र आतिथ्य सबैसबै कृष्ण दाजुद्वारा क्रिसमसको पूर्वसन्ध्यामा हामीलाई चढाइएका उपहार हुन्। आकर्षक र स्मरणीय उपहार!! बाहिर मेरो केही प्रश्नहरूको उत्तर दिने क्रममा उपन्यासकार लीलबहादुर क्षत्रीले शारीरिक अस्वस्थ्यता र अशक्ततालाई केही पटक दोहोऱ्याउनु भएको थियो।

दुखेपछि कसको के लाग्नसक्छ? मै पनि पटक-पटक छट्पटिएको छु। साथसङ्गतमा विरामीको कुरा गर्छु। भेटघाटमा एक न एकचोटी यो विरामीको बहाना कोट्याएकै हुन्छु।  उपन्यासकार क्षत्रीले पाइल्सको पीढा कताकता अनुहारमा समेत पोतेर देखाउने प्रयास गर्नुभयो। जहाँ मैले आँफु मधुमेहबाट पीडित छु भन्ने कुरा भुलिदिएँ। यद्यपि उहाँको पीडाबोधमा उस्तो छट्पटी भने महसुस गर्नसकिनँ। लाग्यो पीडासित पौठेजोरी खेल्नसक्ने ताकत उहाँभित्र उत्तिकै छ जतिको हिम्मत साहित्य सृजनकार्यमा देखिन्छ।

झोलामा किताबको प्रतिहरू र औषधीसितै सहनशक्ति पनि साथै लिएर हिॅड्नुहुन्छ। उहाँ अचेल पाइल्सको पीडासितै बुढापाको कुरो पनि साथसाथै सुनाउन थाल्नुभएको छ। जीवनमा पहिलो पटक उपन्यासकार क्षत्रीका प्रत्यक्ष दर्शनभेट गर्ने धोको पुरा भए पनि अझ धेरै कुरा गर्ने रहर बाँकी नै छ। विगतमा उहाँलाई धेरैले सोधे पनि कहीं कतै आत्मवृतान्तमा छचल्किन चाहे पनि केही रहल अनुभूतिहरू सुन्न चाहन्छु। अजय खड्काका पखेटा चलुञ्जेलको दोस्रो संस्करणलाई सार्वजनिक गर्दै गर्नुभएको मन्तव्यका केही अंश शारीरिक अस्वस्थ्यता र अशक्ततामाथि रिङेको थियो। निबन्धकार र संग्रहभित्र समाविष्ट निबन्धहरूबारे केही बोलेपछि जुन विचार पोख्नुभयो त्यो मेरा निम्ति मर्मका थिए। “गाईवस्तु चराएको छु। घाँस-पात गरेकोछु। वस्तु बूढो भएपछि , थलापर्न थालेपछि आङमा लागेको किर्नाहरू झर्नथाल्छन्। उसैगरी मेरा पनि आङबाट किर्ना झर्नथालेको छ।”

“किर्ना झर्न थाल्यो” भनेर के कुरा साझा गर्न खोज्नुभयो अर्थ्याउने प्रयासमा घोरिरहें। मेरो आङबाट त झनै छिट्टो किर्ना झर्नथाल्ने छ।

प्राय: आठदशक भारतको पूर्वोत्तरमा सिंचिसक्नु भएका उपन्यासकार लीलबहादुर क्षत्री असङ्गठित हुनाले नै पूर्वोत्तर भारतको कतिपय राज्यमा गोर्खाहरू चेपारोमा पर्दै आएको, असुरक्षित बन्दै आएको र उच्छेद हुनुपरेको मान्नु हुन्छ। गोर्खाहरूलाई सङ्गठित गराउने प्रयासहरू धेरै सामाजिक तथा राजनैतिक सङ्गठनहरूबाट वर्षौंदेखियता निरन्तर गरिँदै आए तापनि आजसम्म असङ्गठित नै रहिआएको सत्यता नै वर्त्तमान गोर्खाहरू असुरक्षित रहनुपरेको उहाँ ठान्नुहुन्छष उहाँ संगसंगै उभिरहनु भएको डा० खगेन शर्मासित पूर्वोत्तरको केही राज्यमा गोर्खाहरू असुरक्षित बन्दैजानुको पछिल्तिर कारकतत्त्व के-के हुन् भनी सोधिएको प्रश्नमा डा० शर्माले उत्तर दिनमा खासै रुचि नदेखाएपछि उहाँले नै भन्नुभयो,”गोर्खाहरू धेरै कारणबाट असुरक्षित देखिनथालेका छन्। त्यसमा मूल कारण भनेको असङ्गठित रहनु नै हो। जीवनयापनमा सङ्घर्ष गर्ने गोर्खाहरू पूर्वोत्तरका केही राज्यहरूमा पात्लिँदै आएकाछन्।

” गोर्खाहरू जहाँ धेरै मात्रामा बसोवास गर्छन् त्यहाँबाट गोर्खे उम्मेद्वार जनप्रतिनिधिको रुपमा निर्वाचित बन्नसक्दैनन् “,भन्नुहुन्थ्यो कृष्ण भूजेल दाजु। यस विषयतिर पूर्वोत्तरका गोर्खाहरूले राम्ररी चिन्तन गर्नुपर्ने छ भन्ने महत् उद्धेश्य लिएरै यो मन्तव्य गर्नुभएको थियो क्यार। पूर्वोत्तरका सचेत गोर्खाहरू असङ्गठित स्वभावबाट माथि उठ्नुपर्छ भन्ने प्रयासमा जुट्दै आएका रहेछन्। म भने त्यसबेला पछिल्ला केही वर्षदेखियता चल्दैआएको दार्जीलिङको सांसद् चुन्ने ट्रेन्ड यहाँबाट चुनिएका सांसद्हरूका नामावली सम्झिन खोजिरहेको थिएँ म भने।

यो संस्मरण जस्तो खेस्रा तयार पार्दैगर्दा डुवर्सको बाग्राकोटमा छु। जहाँ मैले एक दर्जन हिउँद यसैउसै कटाइसकेको छु। उपन्यासकार क्षत्रीका न्यानो आत्मीयतालाई सम्झिरहेको छु बारम्बार। बाग्राकोट आइपुगेपछि सम्पर्क गरेथें, हेलो सर! डुवर्सको लीलाबहादुर छेत्री म……….,

सिध्याउन नपाउँदै आत्मीय उत्तर आयो,”ए…..! दाज्युभाइ?? नम्बर सेभ् गर्छु। रिलायन्सको नेटवर्क नै डिस्टर्ब छ। अर्को नम्बरबाट गफ गरौंला।”  सोधें, स्वस्थ्य त ठिकै होला नि सर? “पाइल्स हो उस्तै हुन्छु। जहिलेतहिले उस्तै।” उहाँसित भेट भएको वर्षदिन हुनै लागेको छ। उहाँको पाइल्सको पीढा बोल्नखोज्ने अनुहार भने आँखामा आइरहेकोछ। असमको धरतीमा पायल्सको पीडामा छट्पटिरहनु भएको लीलबहादुर सरलाई पुरस्कारप्राप्तिले सुखानुभूति होस्। सरलाई बधाई।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares