आध्यात्मयात्राः मार्च, २०१५

मुक्तिनाथमा मुक्ति

विजय बान्तवा ‘कैलाशी’, मिरिक


 

ठण्ठा महिनाको समय मिरिकमा पनि निकै जाड़ोले चापेको, हिटरको तातोपन महसूस गर्दै गर्दा मनभित्र बाबा मुक्तिनाथको दर्शनमा जाने प्रबल इच्छाहरू जागृत भयो। मनभित्र प्रबल इच्छा भए पनि ठण्ठा याममा यही त यति धेरै जाड़ो उहाँ त जान नै नसकिने हरे।

हिउँले पुरेर बाटो नै हुँदैन अरे। जसो तसो मनको इच्छालाई बाँधेर ठण्ठा महिना सकिने समय पर्खने निश्चय गरेँ। जनवरी फरवरी महिना बितेपछि केही तातोपन अनुभव गरेँ अनि मार्च महिनामा मुक्तिनाथ दर्शन गर्ने निश्चय गरेँ।

मार्च महिना शुरु भयो अनि भगवान विष्णुको चरणमा ढोग गर्न इच्छा अरू प्रबल भएपछि यही मार्च महिनामा नै जान्छु भन्ने एक अटुट इच्छा राखेँ। मेरो जाने निश्चय भए पनि दोधारमा परेँ, एक्लै छु यति टाढ़ो, नेपालको अति नै दुर्गम क्षेत्र जुमसुङ भएर जानुपर्ने साथी बिना एक्लै ठूलै समस्यामा परेँ।

सधैँ मसँग धार्मिक यात्रामा साथी बनिदिने भाइ डाडुललाई सम्झेँ अनि केही त्रासहरू मनमा बोकी उहाँलाई प्रस्ताव राखेँ अनि उहाँले ‘हुन्छ’ भने पछि ठूलो खुशीको मन बोकी यात्रामा जाने तयारी सहित जाने तिथि पक्का गरेँ।

१८ मार्च २०१५ को दिन हामी दुई भाइ डाडुल र मैले आफ्नो यात्रा मिरिकबाट शुरु गऱ्यौँ। बुधवारको दिन थियो, करिबन दस बजे मिरिकदेखि काँकरीभित्ताको ट्याक्सीमा सवार भई बाह्र बजेतिर सोझै काकरीभित्ता पुग्यौं। यात्राको जानकारी त्यति नभएकाले कसरी जानु कुन बसमा चढ़ी कहाँ जानुपर्ने केही दोधार भए पनि सोधपुछ गरेपछि बागलुंग जाने बसको टिकट काटि बस छुट्ने समयको प्रतीक्षा गऱ्यौँ।

प्रायः साढ़े दुई बजे मध्यान्ह पछिको बसमा सवार भई हामी दुई यात्री मनमा एक अटुट विश्वास र भगवानको दर्शनको इच्छा बोकी हाम्रो यात्रा शुरु गऱ्यौँ। रातभरि बस कुदेपछि भोलिपल्ट मिरमिरे उज्यालोमा हामीलाई पोखरा पुऱ्याएर पछि बस रोकियो। बिहानीपखको पोखराको अति नै सुन्दर अनि मनै लोभ्याउने दृश्यहरूको अवलोकन गर्दै सुन्दर अनि अति नै रमणीय माछा पुच्छ्रे पर्वत श्रृङ्खलाको दर्शनले हामी अति नै आत्मविभोर बन्यौँ।

त्यसपछि अर्को बसमा चढ़ेपछि बसले हामीलाई सिधै बेनी भन्ने ठाउँतिर लग्यो। बाटोमा चिया खाजा र दिसाको लागि बस रोकिएपछि करिबन आधा घण्टापछि फेरि बस आफ्नो गन्तव्यतर्फ लाग्यो।

बिहानीको पख घाम टनन लागेको अति नै सुन्दर ठाउँहरूको दृश्यावलोकन गर्दै करिबन साढ़े दस बजेतिर बसले हामीलाई नयाँ पुल भन्ने ठाउमा उतारे। यही ठाउँबाट बाटो छुट्टिँदा रहेछन्। एउटा पक्का सड़क बागलुङतिर लाग्छ भने अर्को कच्चा बाटो बेनीतिर लाग्दोरहेछन्। केही समय अर्को बसको पर्खाइ पछि बसमा चढ़ी हामीले हाम्रो यात्रा पुनः शुरु गऱ्यौँ।

प्रायः दुई घण्टा कच्चा बाटोमा बस दगुरेपछि बस बेनी भन्ने ठाउँमा पुगी रोकियो। यो बजार निक्कै ठूलो अनि धेरै राम्रा राम्रा घरहरूसहित तीन चारतल्ले बिल्डिङहरूले भरिएको रहेछ। दुईपट्टि अग्ला पहाड़हरूले घेरिएको अनि काली गण्डकीको किनारमा अवस्थित यो ठाउँ निकै चहलपहलहरू भएको सुन्दर ठाउँ रहेछ। हामी पनि चिया चमेना खाएर घाँसा भन्ने ठाउको टिकट काट्यौँ अनि बस छुट्ने समयको पर्खाइ शुरु भयो।

केही समयपछि हाम्रो बसको यात्रा पुनः शुरु भयो। बेनी देखि घाँसासम्म जाने बाटो अति नै खराब रहेछ। उफार्दै उफार्दै, यतापत्ति उतापट्टि हल्लाउँदै बसले दुई घण्टापछि तातो पानी भन्ने ठाउँमा उताऱ्यो जहाँ हाम्रो दिनको भोजन लिनुपर्ने रहेछ। यो तातो पानी भन्ने ठाउँ धेरै प्रसिद्ध रहेछ। देश विदेशका पर्यटकसहित ट्रेकिङ गर्ने फोरेनसहरूधेरै मात्रामा यहाँ बस्दा रहेछन्। अनि धेरै दिनसम्म बस्न रूचाउँदा रहेछन्। नदीको किनारमा बसेको यो ठाउँ वरिपरि पहाड़ले घेरिएको अति नै सुन्दर मात्र नभएर सल्फरयुक्त तातो पानीको धेरै कुण्डहरू रहेछन्।

ट्रेकिङमा जाने अनि फर्कने ट्रेकरहरू यी तातो पानीको कुण्डहरूमा डुबी आनन्द उठाउँदा रहेछन्। खाना खाएपछि बस पुनः आफ्नो गन्तव्यतिर लाग्यो। अति नै खराब बाटो, अति नै जोखिमपूर्ण कच्चा बाटोमा ड्राइभरले बस कुदाउँदा लाग्यो साँच्चै नै यी ड्राइभरहरूको डराउने कुनै मुटु नै छैन। भगवानको प्रार्थना, घरको परिवारको माया चाहना बोकी आधी मरेर बेलुकी साढ़े चार बजेतिर घाँसा भन्ने ठाउँमा पुगी बस रोकियो।

हतार हतार बसबाट उतरेपछि छेवैको थकालीको दोकानमा तातो चिया र बिस्कुट खाएपछि मात्र त्राण  फर्केर आयो। पहाड़को बिचमा अवस्थित घाँसा समतल नभएर भिरालो जग्गामा अवस्थित रहेछ अनि त्यही भिरालो जग्गामा नै बसको पार्किङ पनि रहेछ। धेरै जाड़ो ठाउँ घाँसा ज्याकेट र टोपी लगाई हामी दुई जुमसुङ जाने गाड़ीको प्रतीक्षा गर्न थाल्यौँ पहिले नै टिकट दिने चलन छैन रहेछ।

जुमसुङबाट यात्री लिएर आएको बसले नै जुमसुङ जाने यात्रीलाई लिएर फर्कंदो रहेछ। जुमसुङ जाने अनेकौँ यात्रीहरूबिच हामी दुई पनि जाड़ोको प्रकोप सहँदै बाहिर नै बसी बसको प्रतीक्षा गरिरह्यौँ। साँच्चै बस आइपुग्यो, तैंछाड़  र मैछाड़बिच हामी पनि मुस्किलले हाम्रो दुईवटा टिकट लिन समर्थ भएपछि आफ्नो ब्याग उठाइ बसमा सवार भयौँ।

केहीक्षणपछि बस आफ्नो गन्तव्यतिर अघि बढ़्यो उकालै उकालो। सड़क त भन्न मिलेन डोजर खनेर बनिएको कच्चा बाटोमा पनि बस चालक छिटो कुदाउनमा निक्कै रिप्पु हुँदोरहेछ। सधैँ यस्तो बाटोमा चढ़्ने बानी भएकाले होला यात्रीहरू मज्जाले यात्रा गर्दोरहेछन्। तर हामी दुई भने एकअर्कालाई हेराहेर गर्दै नबोली बसिरह्यौँ। बाटोमा काली गण्डकीको किनारमा बस रोकियो अनि यात्री चियाचमेना खान थाले। धेरै चौड़ादार काली गण्डकीको ठूलै बगर भएको किनारमा खोज्न सके सालीग्रामहरू पाइने यात्रीहरूको बातचित हाम्रो कानमा पनि गुञ्जिएको थियो।

त्यहाँबाट बस छुट्न साथै रातको अन्धकारले बिस्तारै छोपे पनि बस निरन्तर आफ्नो गन्तव्यतिर बढ़िनै रह्यो। बगरै बगर दौड़ेपछि उकालो निक्कैबेर दौड़ेपछि बस जुमसुङमा पुगी रोकियो। रातिको नौ बज्न लागिरहेको थियो अनि बास बस्ने होटल (कोठा)-को खोजी शुरु भयो। केहीक्षण हिँड़ेपछि एउटा होटल रूम पाइयो अनि त्यही होटलमा बस्ने अठोट गऱ्यौँ। होटलको नाम थियो मुसताङ गोटवे एण्ड थाक डोनाल्ड।

रात्रिको भोजन लिएपछि लखतरान शरीरले विश्राम लियो। बिहान उठी चिया खाएपछि जुमसुङको अति नै सुन्दर दृश्यहरूको अवलोकन गरियो। सुन्दर हिमालय पर्वतहरूको नजिकै अवस्थित जुमसुङ बजार अति नै सुन्दर र रमणीय रहेछ। अति नै सुन्दर रमणीय जुमसुङको दृश्यावलोकन गर्दा एउटा नेपाली गीत याद आयो – जुमसुङ बजारैमा, हावा चल्यो सिरि रि रि ट्रेकर्सहरू यही जुमसुङ भएर निलगिरि, धावलागिरि र अन्नपूर्ण रेञ्जहरूको ट्रेकिङ गर्दा रहेछन्।

बिहानीको समय खाजा खाएर बस स्ट्याण्डतिर लाग्यौँ। अब हामी कागबेनी पुग्नुपर्ने थियो। मिनी बसको टिकट काटी छुट्ने समय पर्खेर बस्यौ त्यही एउटा अति नै सुन्दर अनि भक्तमय गुम्पा रहेछ। हिमालको फेदीमा अवस्थित यस गुम्पा बिहानीको घाम पर्दा अरू सुन्दर देखियो। आ-आफ्नो प्रेयर दि हामी कागबेनीको लागि बसमा सवार भयौँ। गाड़ी हिँड़्न शुरु भयो अनि कच्चा बाटो काली गण्डकीको बगरबाट नै दौड़्दा रहेछन्।

काली गण्डकीको दुवैपट्टि हिमालय रेञ्जहरू क्रमैले अन्नपूर्ण रेञ्ज, धावलागिरि अनि निलगिरिसहित अनेकौँ पर्वत श्रृङ्खलाहरू रहेछन्। अनेकौँ मनोरम दृश्यहरूको अवलोकन गर्दै हामी प्रायः नौ बजीतिर कागबेनी पुग्यौँ।

कागबेनीमा दुईवटा खोलाको दोभान रहेछ, एउटा खोला अन्नपूर्ण पर्वत श्रृङ्खलाबाट आ भने अर्को खोला सिधै मुक्तिनाथ घामबाट आएका रहेछन्। यही दुई खोला कागबेनीमा एक भएपछि प्रसिद्ध काली गण्डकीको नाम लिएर दक्षिणतिर बग्दोरहेछ। यो दोभान हिन्दू धर्मावलम्बीहरूको एक पवित्र स्थल रहेछ जहाँ टाढ़ाबाट आएर उनीहरूले आफ्नो पैतृक पूजा दिँदोरहेछन्।

यही नदीमा भगवान विष्णुजीले स्थान गरेका थिए छन् अनि मुक्तिनाथ नाम धारण गरी शालीग्राम रूपमा अनन्त बास गरेका थिए छन्। भगवान विष्णु यसरी शालीग्राम रूपमा अनन्त बास लिएपछि सम्पूर्ण देवता देवीहरू पनि शालीग्राम रूप धारण गरेर यस मुक्तिनाथ क्षेत्रमा अनन्त बास गरेका थिए छन्। यसैले यस क्षेत्रमा प्रशस्तै शालीग्राम पाइँदोरहेछ। धेरै किसिमका चक्र भएको यी शालीग्रामहरूमध्ये विष्णुजीले चक्र भएका शालीग्रामहरू पनि प्रशस्तै पाइँदोरहेछ। चक्र नभएका शालीग्रामहरूमा प्रायः भित्रपट्टि एक अलग्गै धातु भएका शालीग्राम पनि पाइँदोरहेछ।

यहाँका वासिन्दाहरूले यस्ता थरी थरिका शालीग्रामहरू टिपी यात्रीहरूलाई बेच्दा रहेछन्। मैले पनि विभिन्न चक्र भएका चारवटा शालीग्रामहरू अनि शिव लिङ्ग रुपी धातु भएका शालीग्राम किनी आफ्नो झोलाभित्र राखें। यही दोभानमा काली गण्डकी माता मन्दिर पनि रहेछ जहाँ देश विदेशका साधु सन्तहरू आई स्नान गरी मोक्ष प्राप्त गर्दारहेछन्। हामी पनि स्नान गरी गण्डकी माताको दर्शन गरी मुक्तिनाथ दर्शनको लागि तयारी भयौँ।

कागबेनीदेखि एघार किलोमीटर टाढ़ामा अवस्थित रहेछ भगवान विष्णुको प्राचीन मन्दिर। कागबेनीबाट सोझै ठाड़ो उकालो कच्चा बाटो अति नै जोखिमपूर्ण रहेछ। असाध्यै हिउँ परेकाले त्यस दिन बाटो पनि बन्द भएछ। पाँच किलोमीटरको दूरीसम्म एउटा जीप जान तयार भएपछि हामी दुई लगायत केही तीर्थ यात्रीहरू मिली कालो भीर नामक ठाउँसम्म पुग्न सक्षम बन्यौँ। अब रहल छः किलोमीटरको दूरी सिधै उकालो हिँड़्न पर्ने भयो।

बाटोहरू सबै हिउँले पुरिएर नदेखिने अवस्थामा पनि हिँड़्नुपर्ने भयो। बाटोहरू सबै हिउँले पुरिएर नदेखिने अवस्थामा पनि हिँड़्नुपर्ने भयो। केही यात्रीहरू अघिबाटै हिँड़िसकेका रहेछन् अनि हामी पनि उनीहरू हिँड़ेका पाइलाहरू पछ्याउँदै आफ्नो पैदलयात्रा शुरु गऱ्यौँ। मौसम सफा अनि घमाइलो दिनको आनन्द उठाउँदै बाटोमा सानो गाउँमा चियाका लागि रोकियौँ। सानो एक कप कालो चियाको दाम रुपियाँ ५० तिर्नुपर्दोरहेछ। हिउँमा चिप्लिँदै भए पनि उकालो हिँड़िनै रह्यौँ। धेरै पुरानो अनि ढुङ्गाले बनिएका  टिबिटेन गाउँहरूसहित सुन्दर गुम्पाहरूको पनि दर्शन भयो।

बौद्ध धर्मको प्राचीन सभ्यता रहेको मुक्तिनाथ क्षेत्रले एउटा आफ्नै अस्तित्व बोकेको रहेछ। यसरी हामी दुई हिँड़्दै अन्त्यमा तीन बजीतिर भगवान विष्णुको शालीग्राम रूपी मन्दिर पुग्यौँ। मन्दिरको वरिपरि हिउँले पुरिएको थियो। घमाइलो दिन रहेकाले अति नै सुन्दर दृश्यहरू अवलोकन गर्न पाइयो। निलगिरि, धावलागिरि अनि अन्नपूर्ण पर्वत श्रृङ्खला मन्दिरको आँगनबाट सोझै दर्शनले गलेको शरीर त्यसै ताजा भएको महसूस गऱ्यौ। भगवान विष्णुको यस प्राचीन मन्दिर पनि नेपालका अरू मन्दिर झैँ त्यस्तै डिजाइनमा बनिएको रहेछ।

मन्दिरको वरिपरि केही ठूल्ठूला वृक्षहरू पनि रहेछ साथै मन्दिरको प्राँगनमा ठूला कुण्ड पनि रहेछ। यही कुण्डमा ब्रह्मजीले भगवान शिव अनि विष्णुजीका पूजा गरी घिउ अनि खिरले हवन गरेका ठाउँहरू देख्न पाउँदा आफूले मोक्ष पाएको अनुभव गरियो।

मन्दिरको पछाड़ि भागमा पहाड़बाट १०८ नदीका धाराहरू सोझै मन्दिरको प्राङ्गनमा झर्दोरहेछन्। भक्तजनले यसै १०८ नदीका धारामा नुहाएपछि भगवान विष्णुको दर्शन गर्दोरहेछन्। अति नै ठण्डा अनि उचाइमा भएकाले नुहाउन गाह्रो हुँदोरहेछ। हामीले पनि साहस जुटाएर १०८ नदीको धारामा स्नान गरेपछि भगवान विष्णुको शालीग्राम रूपी चरणमा ढोग अनि दर्शन गर्न पाउँदा आफैलाई धेरै भाग्यमानी सम्झेँ। छेवैको हवन कुण्डमा धुपबत्ती बाली हवन अनि आरती पछि हामी मन्दिरको आँगनमा प्रायः एक घण्टासम्म बसी भगवानको स्तुति गरिरह्यौँ। मन्दिरमा मुख्य पुजारीसहित टिबिटेन लेडिज मङ्क (आनिला)हरू पनि बस्दा रहेछन्।

अन्त्यमा १०८ धारा नदीको पवित्र जल बोकेको मिनरल वाटर बोतलमा उठायौँ अनि वापसी यात्राका लागि तयारी गऱ्यौँ।

त्यसपछि छेवैमा स्थित रहेको देवीको अदभूत मन्दिरको दर्शन गरियो जहाँ हजारौँ सालदेखि ढुङ्गा बलिरहेको बत्तीको दर्शनले साक्षात देवीको दर्शन भएको अनुभव प्राप्त भयो। त्यसपछि बेलुकी हुन लागेकाले हामी अब आफ्नो वापसी पैदलयात्रा शुरु गऱ्यौँ। बाटोमा मनै लोभ्याउने अति नै सुन्दर ठाउँमा बनिएको ठूल्ठूला होटलहरू रहेछन् जहाँ देश विदेशका ट्रेकिङ गर्ने यात्रीहरू बस्दारहेछन्। साँच्चै यी ठाउँ नै लोभ्याउने अनि बसिरहूँ झैँ लाग्ने ठाउँमा बनिएको रहेछ।

सुन्दर दृश्यहरूको अवलोकन गर्दै वाइ-वाइ खाएर सोझै कागबेनीतिर हामीले आफ्नो पाइला चाल्यौँ। ओरालै ओरालो हिउँको बाटो भएर हिँड़िरह्यौँ। अति नै चासो अनि वेगले चलेको हावासँग जुझ्दै हिँड़्दा हिँड़्दा प्रायः आठ बजीतिर कागबेनी आइपुग्यौँ। यो कागबेनी आउने जाने ट्रेकरहरू ठूलै गेट वे रहेछ। राति हामी त्यही एउटा कोठा लिएर रात्रि भोजनपश्चात् विश्राम लियौँ।

भोलि बिहानै उठी गण्डकीको पवित्र जलमा स्नान दिएपछि बिहानको साढ़े छः बजी जुमसुङका लागि पैदलयात्रा शुरु गऱ्यौँ। कागबेनीदेखि जुमसुङको दूरी १० किलोमीटरको रहेछ। काली गण्डकीको बगरै बगर हिँड़्दा झोलुङ्गे पुलहरूको पनि आनन्द उठायौँ। मौसम अति नै सफा अनि बिहानीको सूर्यको किरणले अरू सुन्दर बनाएका पर्वत श्रृङ्खलाहरूको मनोरम दृश्यको झाँकी लिँदै अन्तमा हामी जुमसुङ आइपुग्यौँ। त्यसपछि हामी अस्ति रात्रि विश्राम गरेको होटलमा आई खाजा खाएपछि फेरि घासाँका निम्ति वापसी बसको यात्रा शुरु भयो।

दुवैपट्टि हिउँले भरिएको पर्वत अनि काली गण्डकीको बगरै बगर हिँड़्दा मनोरम दृश्यहरूले विह्वल बनायो। त्यसपछि ओरालै ओरालो हिँड़ाएपछि बसले घासाँ आई हामीलाई उतारे। चिया चमेनापछि फेरि बसको टिकट काटी बेनीका लागि अघिल्लो सफर शुरु गऱ्यौँ। अब फेरि त्यही डरलाग्दो बाटो तल संसारको सबैभन्दा गहिरो काली गण्डकीको नदी बगिरहेको दृश्यले आङहरू फुलिएर आएको थियो। यसरी कठिन बसको यात्रा सकेपछि बेलुकी हामी बेनी आइपुग्यौँ। बेनीमा आइपुग्दा रातले आफ्नो च्यादर ओढ़ाइसकेको थियो। भाग्यवस पोखरा जाने जीप गाड़ी पाएपछि रातिको नौ बजीतिर हामीलाई पोखरा ल्याइपुऱ्याए पछि हामीले आफ्नो रात्रि विश्राम पोखरामा नै लियौँ।

बिहान उठेर सुन्दर पोखरा शहरको परिक्रमा परिक्रमा गरी फेवा तालको रमणीय किनार बसी धेरै आनन्द उठायौँ अनि मध्यान्ह भोजनको मीठो स्वाद लिई बेलुकी नाइट बसमा चढ़ी काँक्रड़भित्ता फर्कियौ यात्राको मीठा मीठा पलहरू सम्झिँदै।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares