You are here

रगतपच्छे शहिदका लाशमाथि रमाउँदै नाचिरहेको पर्यटन महोत्सव

     बहस


   गगण राई


केही दिन अघि बीओए जीटीए अध्यक्ष विनय तामाङद्वारा यसपाली दार्जीलिङका विभिन्न स्थानहरूमा टिस्टा रङ्गीत पर्यटन महोत्सव धुमधामले मनाउने भनिएको खबर पत्रिकाहरूमा पढ़्न पाइयो। समाचार प्रकाशित भएपछि थुप्रै प्रतिक्रियाहरू सोसल मीडिया र प्रिन्ट मीडियाहरूमा देखा परे। जो अझ निरन्तर नै छ।

अझ जीटीए पक्षका पदाधिकारीहरूले कुन स्थानमा कति दिन कहाँ कहाँ, कति कति लगानीमा, ककसले गर्ने भन्ने कुरामा समेत भागबन्डा लगाइसकेको जानकारी पाइयो। यस विषय लिएर मेरो मस्तिष्कमा पनि अनेकन कुराहरू आए गए। तीमध्ये केही कुराहरू चाहिँ तपाईँहरू सामू साझा गर्न मन लाग्यो।

यी मेरा व्यक्तिगत विचार हुन्। तपाईँलाई सहमत असहमत दुइटै हुने छुट छ।

केही महिना अघिसम्म पहाड़मा गोर्खाल्याण्ड आन्दोलन चरममा थियो। मानिसहरू सडकमा थिए। चिया बगानका श्रमिकहरूलाई रोजको वास्ता थिएन, किसानहरूलाई खेतीको वास्ता थिएन। को कुन पार्टीको वास्ता थिएन। सबै सडकमा आए, आन्दोलन गरे। लट्ठी खाए। टियरग्यास सहे। कुटे, कुटाइ खाए।

सरकारले त त्यस्तो केही गुमाउन परेन। तर हाम्रा सन्तानलाई सहिद बनाइए।

शहीद हुनेहरू अधिकांश गोजमुमो कार्यकर्ताहरू हुन्। त्यतिबेला अहिलेको जस्तो यी समर्थकहरू विनयपन्थीका यी समर्थकहरू विमलपन्थीका भन्ने धारणा नै थिएन। यस्ता धारणा आउला र यसै धारणालाई राजनतिमा लागू गर्ला भन्ने सोच हुने कुरा त सोच्न पनि सकिन्नथ्यो। मौकाको फाइदा उठाएर पछाडिबाट आफ्नै सन्तानको टाउको काटिएला र मुद्दाको हत्या गरिएला भनेर सोच्ने त कुरै थिएन।

सबैसित एउटै मुद्दा थियो, एउटै पार्टी थियो। जनता एक थिए। नेता एक थिए। सामूहिक रूपमा अस्तित्व र स्वभिमानको निम्ति सबै मैदानमा उत्रिएका थिए। सबैका सपना साझा थियो। सबैको लक्ष्य एउटै थियो। सबैको नारा एउटै थियो। आवाज एउटै थियो। बाटो एउटै थियो।

त्यही बिथोल्न जुन गोली चल्यो, कतिको अनुहारमा, कतिको भुँड़ीमा, कतिको टाउकोमा लाग्यो। उनीहरू शहीद भए। ती शहीद हाम्रा आफन्त हुन्। गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता हुन्।

अहिले त्यही गोर्खा जनमुक्ति मोर्चा विनय तामाङको हातमा छ। तिनी नै पार्टीका अध्यक्ष हुन्। जीटीए प्रमुख पनि उनी नै हुन्। पहाड़का हर्ताकर्ता उनी नै हुन्। समग्रमा कार्यकर्ताहरू उनैका हुन्। आफ्ना कार्यकर्ताहरू गोर्खाल्याण्डका निम्ति शहीद भएको तीनचार महिना पनि नबित्दै गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष, जीटीएका प्रमुख, पहाड़का हर्ताकर्ता आज भव्यताका साथ, रमझमको साथ, खुशियालीको साथ पर्यटन महोत्सव मनाउन गइरहेका छन्।

संसारमा यस्तो कुन पार्टी होला, जो आफ्ना कार्यकर्ताहरूको मरौमा मादल बजाएर नाच्छ? शहिदको लाशमाथि उत्सव मनाउनु ठिक हो? मोर्चा अध्यक्षको यो नीति सही हो?

यो त तपाईँहरू नै सोच्न सक्नुहुन्छ।

जतैबाट सोच्दा पनि मलाई चाहिँ ठीक लागेन।

हाम्रो संस्कृति, परम्परा एवं संस्कारमा पनि मरौ परेको परिवारले एक वर्षसम्म कुनै पनि शुभकार्यमा बारना गर्छन्। हामी जाति प्रेमी हौं, संस्कार प्रेमी हौं, हामी त्यो पालना गर्छौँ।

अँ, बङ्गाल सरकारले पर्यटन उत्सव आयोजना गरेको हुँदो हो, यसमा भन्नु मलाई केही थिएन। किनभने बङ्गाल सरकारले जहिले पनि हाम्रो घाउमा नुन छर्दै आइरहेको हो। मरौ घरमा गीत गाउँदै आइरहेको हो। खुशीयाली मनाउँदै आइरहेको हो। यो उसकै बानी बेहुरा हो, जो सधैँ देखाउँदै आइरहेको छ।

तृणमूल काङ्ग्रेसले गरेको हो भने त झन् केही भन्ने दरकार नै छैन।

विमल गुरुङको कार्यकालमा पनि यस्ता महोत्सवहरू हुने गर्थे। बलिवुडका नामी नामी गायक गायिका, नायक नायिकाहरू ल्याएर करोड़ौँ खर्च गरिएकै हो। लाटासीधा जनसाधारणलाई त्यसमा केही गुनासो नरहे पनि समाजका एक तप्का मानिसहरू ती सबै कुरालाई फिजुल खर्च ठान्थे अनि कार्यक्रमको खुलेर आलोचना गर्थे।

अहिले राजनैतिक संस्कारलाई अलग रूपमा प्रस्तुत गर्ने कुरा मुखले भनिए पनि आफूहरू बौद्धिक जमात भनेर हुँकार गरिए पनि आखिरमा उसको कार्यशैली, चरित्र र सोँच त उही देखियो। होइन र?

मेरो सोचाइँमा यो कार्यक्रम गरिहाल्न सायद बङ्गाल सरकारलाई हतारो होला किनभने उसलाई दार्जीलिङ पहाड़ स्वभाविक बनेको केन्द्र सरकारलाई देखाउनु छ। सैयौँ मानिसहरू गुमाएका हामीलाई चाहिँ किन हतार, केको हतार?

उत्सव मनाउनु किन यति अग्रसर?

तपाईँको परिवारको एकजना सदस्य शहीद भएको भए तपाईँ यसरी नै उत्सव मनाउनु हुन्थ्यो?

यति हाँसीखुशीका साथ, यति रमाइलोको साथ अग्रसर हुनुहुन्थ्यो?

तपाईँलाई के लाग्छ पहाड़ साँच्चै नै स्वभाविक बनिसक्यो?

शहीदका परिवारहरू के ठानिरहेका होलान्? जेलमा बन्दी भएका गोर्खे परिवारका आफन्तहरू, अहिले पनि घरमा बास नबसेर प्रशासनको डरले घरदेखि बाहिर हुने परिवारका सदस्यहरूले यो पर्यटन उत्सवलाई कसरी ‘इन्जोय’ गर्ने हुन्?

अति चाखलाग्दा विषय छ यो।

अहिलेको शान्ति आँधी आउनअघिको सन्नाटा त होइन?

तपाईँ भन्नुहुँदै होला, ‘यी माथि कोरिएका हरफहरू केवल कोरा भावना हुन्। हामी त प्र्याक्टिकल राजनीति गर्न मैदानमा छौँ।’

तर मानिसमा भावना नहुनु जङ्गली र हिंस्रक पशु हुनु हो। शहीदहरूको लाशमाथि उत्सव मनाउनेहरू कसरी प्र्याक्टिकल राजनीति गरिरहेका होलान्? उनीहरू भावना नभएकाहरू हुन्? तपाईँ आफै निर्क्यौल गर्नोस्।

घरमा पालेका पशुहरूमा त आफ्नो बिरानो छुट्याउने भावना हुन्छ, हामी त मान्छे हौँ।

अँ, जातीय भावनाको कुरा गर्नु हो भने विश्वमा कुन जाति यस्ता होलान् जसले आफ्नो जातिको कुरा गर्दैन? विश्वका आदिम भन्दा आदिम जनजातिहरू पनि आफ्नो जातीयताको, पहिचानको, संस्कृतिको कुरा गर्छन्। र उनीहरू यसैको निम्ति निरन्तर सङ्घर्ष गरिरहेको इतिहास साक्षी छ।

आज महात्मा गान्धीको हृदयमा आफू भारतीय हूँ भन्ने भावना नभएको भए शायद भारत स्वाधीन हुने थिएन। त्यसबेला ब्यारिस्टर पास गर्ने गान्धीजीले चाहेको भए अङ्ग्रेजहरूसित मिलेर जे पनि गर्न सक्थे। तर उनीसित आफू भारतीय हुनुको गर्व र स्वाभिमान थियो र नै उनले विश्वको इतिहासमा भारतलाई स्वाधीन बनाएको इतिहास थपे।

त्यही महात्म गान्धीको दर्शनलाई अघि राखेर बौद्धिक राजनीति गर्नेहरू बङ्गालसित मिलेर शहीदको लाशमाथि कसरी नाच्न सकिरहेका हुन्?

गोर्खा हुनुको स्वाभिमान चट्ट भुलिनु के आफ्नै मुटुमा बञ्चरो हान्नु होइन र?

के गान्धीजीले अङ्ग्रेजहरूसित मिल्नु गद्दारी हुने थिएन?

 

धेरै देखेँ

वन डढ़्दा आगो ताप्नेहरू।

मन डढ्दा टाढ़ा भाग्नेहरू

देखेको थिइनँ

रगतपच्छे शहिदको लाशमाथि उभिएर

मादल बजाउनेहरू

उत्सव मनाउनेहरू।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares