सूर्य राखाली-का दुइ कविता

    कविता

सूर्य राखाली


सुनमाया

अन्धविश्वासको पर्दा च्यातेर

र्हेछन् ससाना विचारका वचेराहरूले

तपाईको गिदीको आयतन।

 

टाउकोमाथि बसेको छन् एकहुल गिद्धहरू।

 

गिद्धहरूले

ठुँगिबस्छ तपाईंको गिदी

अनि बल्झाइदिन्छ पञ्चबर्षे योजनाको गाढे घाउ।

 

घाउ दुख्छ।

घाउ पोल्छ।

घाउ चिलाउँछ पनि।

जब घाउ दुख्नु थाल्छ

सुनमायाको चुल्हामा आगो जल्न कप्टी गर्छ

अल्छी गर्छ।

 

जब घाउ पोल्छ।

सुनमायाको घरभित्र पानी चुहुन थाल्छ।

जब घाउ चिलाउँछ

सुनमायाको चुल्हाको आगो निभाइदिन्छ।

त्यसपछि आगो रिसाउँछ।

आगोले विस्तारै ,

भुइँको स्वभिमानलाई डढाइदिन्छ।

माटो डढ्नु थाले पछि देश भोकाउँछ।

 

भोको देशले गाउने गीतमा

सङ्गीत कसले हाल्छ?


बीरमान

बर्खालाई रिस उठेको बेला नै

पानी पर्न थाल्छ।

त्यो पानीले भिजाइ दिन्छ

कोमल फूलको मन।

 

पातले पुच्छने आँशुको हत्केलामा

कोरिएको छ सुनमायाको दन्ते कथा।

हेङमामा पानी मिसाउँदा जिन्दागानी हुन्छ।

 

वर्खाले गाउने गीत अनि तिम्लेलाको प्रीत।

उस्तै उस्तै लाग्छ मलाई

बगिरहने पानीमा पाखुरा सुर्काउँछन

नाथु सिमरायोले पनि।

 

बलेसीमा चुहिरहने पानीका

थोपाहरूले किन भत्काउन नसकेका हुन्

हाम्रा दुःखका ढिसकानाहरू?

 

किन लडाउन नसकेका हुन् हाम्रा समस्याका पर्खाल?

आकाश नभएको भए

पानी पर्ने थिएन होला?

न त भिज्थ्यो फुटेको हत्केला

न त भिज्थ्यो बीरमानको स्वास्नीको सुत्केरी ओछ्यान।

 

छोराको नाभी गाडेको एक टुक्रा

जमिन पनि बर्खाले बगाइ लग्यो।

बगाइलग्यो बीरमानको एक टुक्रा मुटु।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares