काव्यम्: ज्योति जङ्गल-का पाँच कविता : प्रदीप लोहागुण-को केरकार : कविता लामा-को काव्यम् टिप्पणी

साँझमा नआउनु मेरो घर !

साथी !

छिमेकी !

सन्देशबाहक !

या शुभेच्छुक !

असुरक्षा हुन्छ,

साँझमा नआउनु मेरो घर !

 

जादुई एप्रोन लगाइदिन्छ साँझले मेरो छातीमा

साँझबत्ती भएर जलिरहन्छ प्रस्वास

पेटको आगो निभाउन आगो बाल्नु

छुरीले चपबोर्डमा स्वाद काट्नु

कसिङ्गरको पहाड नाघ्नु

थुप्रै स्टण्ट गर्छु म उफ्रिउफ्रि

हतारमा दौडधुपमा

ठोक्किन सक्छ जो कोही निर्मम्।

 

साँझ डराउँछ

ठूलो डर हुन्छ साँझमा

दोछायाँमा

छोइन सक्छन् मेरा अङ्ग

टोकिन सक्छ गाला

या धरापमा पर्ला अस्मिता

अशुद्ध हुनेछु म।

 

खतरा हुन्छ

देख्नेछौ तिमीले साँझले थुतेको मेरो जिब्रो

सोधिदिनेछौ बिचैमा

भर्खर बजारमा आएको पुस्तक

या आजको पत्रिकामा छापिएको सनसनीपूर्ण खबर।

निरूत्तर हुन सक्छु म

शब्दहीन सुनेर

दुख्न सक्छ साथीमन।

 

काँचुली फेरिदिन्छ साँझ

अर्कै जनावर बनाउँछ मलाई

त्यसका आँखा भुँइतिर झरेका हुन्छन्

घोप्टो शीर पनि भुँइतिरै हुन्छ।

 

गुनासो गरौला

आँखा नजुधाई स्वागत गर्दा

ओठहरू खुल्नेछैनन् बोल्न

समय हुनेछैन आमनेसामने बस्न

चौकाको एककुनामा उभिएको पपेट हुनेछु, भावहीन म,

तिम्रा अघि हुनेछ साँझ

गोत्र सोधिरहेको बुज्रुक

इमान मागिरहेको प्रश्नवाचक

काम जाँचिरहेको परीक्षक।

 

फर्कँदा, सोच्न बाध्य हुनेछौ मेरोबारे

टीठ लाग्नेछ अकर्मन्य उपस्थितिको

र अर्को भेटमा

उठाउनेछौ विस्मातको लहर आँखामा

या उठाउनेछौ प्रश्न आतिथ्यको

क्रुद्ध होऔला अन्तरवार्तासँग

बनाउँनेछौ कि आश्चर्यको अनुहार

या ग्लानी गर्नेछौ

वा गर्नेछौ दुश्मनी

पाल्नेछौ इख।

 

व्यर्थै आँधी चल्नेछ

मनको फाँटमा आगो सल्किएर

उडाउनेछ साँझको आदिम शान्ति

निल्नेछ क्षुब्ध भएर घरले एक घाँटी पिरो धूँवा

एक मुख औडाहाको अमिलो पानी।

बरू नआउनु साँझमा।

 

भोली उज्यालामा

पुनः जन्मन्छु मान्छे म

भेटौंला माथि डाँडामा

चौतारामा, चोकमा, चौबाटामा

या कुनै चिया अड्डामा,

सकौंला छलफल

सोधौंला हालखबर

बुझौला चिठ्ठी।

 

साथी!

छिमेकी!

सन्देशबाहक!

या शुभेच्छुक!

असुरक्षा हुन्छ,

साँझमा नआउनु मेरो घर!


मूला जिन्दगी

हात्ती उभिन्छ र घाँटीबाट छिर्न खोज्छ

दोख बनेर जिन्दगीभरि नै पिर्न खोज्छ

जति बित्यो उति थेत्तरो मूला जिन्दगी

फाटेको सिलाउँछु भनेर बीच छाती चिर्न खोज्छ। 

 

पाइतालोमा झिर हानेर माया गर्दैछु भन्छ

मुखुण्डो अनौठो बनाउछ डरको अलिकति साहस पनि पाखा लाग्छ

मोह र डाहको पहाडबाट तलतल पल्टा ख्वाउँछ

ढुकढुकी रहुन्ज्याल उपेक्षा गरेर

मलामी जान हतार गर्छ

मूला जिन्दगी एकपलको खुशीको मूल्य

हजार दिनसम्म असुल गर्छ।

 

गाँस खुवाउँछ र घिच्रो निचोर्छ

कपाल बाट्छ र चुल्ठोमा शिर झुण्ड्याउँछ

स्नेहको डोरी भनेर किल्किलेमा फनफनी बेर्छ

जिब्रो थुतेर मायाको दोहोरी गाउँन लाउँछ

अठ्याएर अँगालोले करङ खुस्किनेगरी धाप मार्छ

मूला जिन्दगी अगाडी ओठ चुमेर पछाडी लात मार्छ।

 

साइनाको झुटो यानमा बसाएर उन्मुक्त आत्मालाई कैद गर्छ

अक्सिजन झिकेर हावाबाट आकाशभरि उड्न जा भन्छ

आँखा निकालेर अनुहारबाट सौन्दर्यको चित्र देखाउँछ

मेरै थाप्लाको तबेला बजाउँछ र कत्थक नचाउँछ,

 

मूला जिन्दगी आफ्नै हातले आत्महत्याको सूचना लेखाउँछ।


मेरो हिसाब

कर्तव्यको एउटा कुची

तस्वीर जो कोर्नु थियो अरूकै,

आफ्नै अनुहार नियालेर हेरिनँछु कहिल्यै,

कहिल्यै उभिएको धरातलसँग प्रश्न पनि गरिनँछु

 

आफ्नो कुरूप सन्तानलाई

हर्षले स्वीकारेकी आमाजस्तो

आफ्नै आत्माको आवरणसम्म सिङ्गारिनछु

 

आज हिसाबमा बसेकी छु।

 

यसरी कहाँ सोंचे भुइमा राख्नै नहुने

हतियारको बोझजस्तो हुँला म,

उदाङ्गो रहस्यको

कुने खोज हुँला म?

 

यो जिन्दगी

कसरी उदायो दिनसँग

र सुत्यो रातजस्तै जस्तै

त्यो पनि हिसाब गरिनँछु,

रूवाजस्तै कञ्चन थिए सपनाका भुवाहरू,

कुन गतिहीन बतासले कता उडायो

त्यो पनि समेटिनँछु।

 

आज त किनमेलका बुँदाहरू छन्,

सन्तानका गुनासाहरू छन्

आफन्तका सन्देशहरू छन्,

हाम्रा बातचीतका शीर्षकहरू

कहिलेदेखि टुङ्गिएछन्

त्यो पनि सम्झन सकिनँछु।

 

भावनाको पोखरी

अतृप्त सुकिसकेछ कहिलेदेखि

त्यहाँ पनि डुबिनँछु,

आफ्नै मनसँग पनि आँखा जुधाइनँछु।

 

दौडमा त कहिल्यै कुदाएन आकांक्षाले

अरूअरूलाई जिताउनु थियो,

अरू सबैलाई उडाउनु थियो,

 

म त गुँड रुँगेर बसेको

एउटा असक्त चरी,

आँखा भएर आँखै नदेख्ने जस्तो पो छु,

 

म कहाँ थिएँ?

कहिल्यै आफ्नो

सम्झना पनि गरिनँछु।


क्यान्टोनमेन्टबाट

नाविक!

कता पौडियौ

डुङ्गा मझधारमा अड्याएर।

पर्खिरहेको छु

आशाका थोपा भरेर

समयको समुन्द्रमा

तिमीले भनेका छौ

म एकदिन किनारा उतार्नेछु।

 

कैद जस्तो छ मुक्तिको आभास

अतिशय आशा फुल्छ

फेरि फेरिन्छ सिजन

त्यसैको रङले कोतरेर घाइतेजस्तो छु।

 

लडाईंको उन्नत अभ्यासले

उठेका मेरा रौं–रौं

एकएक आत्माग्लानिले पराजित लत्रन्छन्

म जन्मनुअघिको सचेतन अँध्यारो भोगिरहेछु।

 

मेरो ब्रम्ह !

म कुन नयाँ जीवन जन्मूँला ?

यो तड्पन बहुलाहा, हुल्याहा भइसक्यो,

प्रकृतिले भए उहिल्यै

चिरिसक्थ्यो होला

मेरी आमाको कोख

तिमी निरन्तर थुनिरहेछौ

मलाई गर्भमा।

 

उज्यालो छोपेर,

मैले आगोलाई कति गीतले निभाउनु?

उभिएर तटस्थ गलेका खुट्टाहरूलाई

स्वभाविक कहिले हिँडाउनु?

 

कुर्दाकुर्दै,

मुटु फुटेको आवाज पड्किएर

आँधी उठ्यो भने

विद्रोहको दोष नदिनू,

सहँदासहँदै आगोपुञ्ज म भएर

जलिरहेको छ।

 

हेर न !

पर्खिरहेको छु,

पकाएर आगोमै सपनाहरू

सम्झाइरहेछु तिम्रो बाचा

र रोकिरहेछु यात्राको गति,

म बलेपनि ती मर्ने छैनन्।

 

सारथी !मकता अल्झियौ

मेरो लगाम समातेर?


अन्तिम चित्र                  

बैंशैमा कोरिहिँडेछ

अन्तिम चित्र

देशको गाला क्यानभास बनाएर

कमलो चित्रकारले।

 

प्रेम गर्थ्यो रङलाई ऊ

सुम्सुम्याउँथ्यो कुची

पग्लन्थ्यो वात्सल्यको तापले

आमाकै चित्र बुन्थ्यो।

 

पहिलो कदम

गाउँको चित्र मेट्यो हिँड्यो

गाउँमै आफ्ना पाइलाको सङ्गीतले

कुचीको मात उतार्न मन गर्थ्यो।

राज्यको रौंसम्म भेटेको भए

त्यही रोपेर गाउँमै बस्न सक्थ्यो बास।

 

शहर छिऱ्यो

एकतमास आलाप गरिरहेका स्वरले हल्ला गरे

दौडनेहरूले बाँच्न बिर्सेको जिन्दगीको मायाले

उसको टाउकोमा अवसादको किरिङमिरिङ चित्र बन्यो

शहरकै दुर्गम कुनाको खाजाघरमा

बाफमा उसिनिएका मम सँग उसको चित्र पनि उसिनियो।

 

भित्ताभरि टाँगेर सुन्दर चित्र

ग्राहकलाई धेरैपटक खुशीको कला पस्कियो,

तर देश कहिल्यै खुशी भएन उसको कलाले,

उसकै जीवन कहाँ हाँस्यो र उसँग मायाले?

 

छातीभरि हजार चित्रको शैया बनाएर

उभिनै सकेन लुरे चित्रकार

एकदिन कालो चित्रको

भयङ्कर परिकल्पना गऱ्यो

आफू कुची भयो

चढायो रगतको रङ

रेट्यो डोरीको सिर्कनो घाँटीमा

उपहार छोड्यो देशलाई अन्तिम चित्र।

 

पटक्कै सुहाएन देशलाई गालाको चित्र

जहाँ खोपिएको छ

युवक चित्रकार झुण्डिएको आत्महत्या।


केरकार

कविता अनप्रोडक्टिभ एलिमेन्ट नै हो : ज्योति जङ्गल

प्रदीप लोहागुण


तपाईँको कवितामा महिलावादी स्वर प्रबल छ। आफूलाई महिलावादी कवि भन्न रूचाउनुहुन्छ?

मलाई कविताको विषयवस्तु हेरेर वाद छुट्याउनु उचित लाग्दैन। अझ कविता वादभित्र आँट्ने विषय होइन। समाजमा अन्तर परेका विषयवस्तुमा कविका आँखा पुग्नु वाद होइन परिवेश हो। त्यो परिवेशलाई उपचार गर्न कविले कलम चलाउन आत्मा घच्घचिएको हो। मलाई वादमा रूची छैन। म कवितावादी हुँ। अरूले जे भन्छन् त्यसको पछि लाग्नु कविको धर्म होइन। समाजमा जो थिचिएर थिलथिल छ कविलाई त्यसैको आवाज दिन मन लागेको हो। त्यहाँ महिला पुरूष उभयलिङ्गी वा चरा जे पनि हुन सक्छ।

आफ्ना कविताहरूमा कन्टेन्ट र क्राफ्टका हिसाबले कुन प्रति बढी सचेत हुनुहुन्छ?

मलाई कविताको अनुहार कलाले सजिएको मन पर्छ। तपाइँले भनेको क्राफ्ट त्यही होला। कविताको भाषाले पनि त्यसलाई निर्माण गर्छ। कन्टेन्ट त कविताले जे पनि लिन सक्छ।

नेपाली कविताले महिला डिस्कोर्सलाई वास्तवमै सम्बोधन गर्न सकेको छ?

नेपाली कविता पहिले महिला विषयमा प्रवेश गरेकै थिएन। कविता देवी, आमा र प्रियसीका अङग अनुहारसम्म थियो। अहिले बल्ल अस्तित्व र महिला जीवनतिर फर्किएको मात्र छ। पाइला चालेर यात्रा शुरू हुन समय लाग्छ।

कवितामार्फत राजनीति गर्नु सम्भव छ?

मलाई कविताको राजनीति मन पर्छ जो कविताको सीमाभित्र रहन्छ। राज्यको राजनीतिले त कवितालाई आँखाको नानी बनाएको विरलै देखिन्छ।

समाजको ठूलो तप्काले कविहरूलाई अझै पनि अनप्रोडक्टिफ एलिमेन्टनै मान्छ नि?

कविता वस्तु होइन त्यसैले यो अनप्रोडक्टिभ एलिमेन्ट नै हो। कविताले हृदयमा आह्लाद उत्पादन गर्छ। त्यो अनुभूति नगर्नेलाई कविताले बदल्न सक्दैन। समाज हजार स्वादमा विभक्त मानिसहरूको जमात हो, सबैलाई एउटै स्वाद मन पर्दैन। कुनै तप्काले कवितालाई जीवन मानेर हिँडेको पनि त छ।

 ‘साँझमा नआउनु मेरो घर कवितामा गोत्र सोधिरहेको बुजुर्ग, माग मागिरहेको प्रश्नवाचक, काम जाँचिरहेको परिक्षक छन् नि, वास्तवमा को हुन् यिनीहरू?

यिनीहरू समाजकै एक लहरमा भूमिका निभाइरहेका मानिसहरू हुन्। जो समाजमा इज्जतको वकालत गर्छन्। पद्धतिको अनुशीलनमा सन्तोक गर्छन् र मसिनो गरी परम्परा, संस्कृति, धर्म र जातको व्याख्या गर्छन् जहाँ मानिसको निजत्व ओझेल परिरहेको हुन्छ।

 ‘मूला जिन्दगी कवितामा समाज र जीवन व्यवहारको सकस, हन्टर, पीडा, कुरूपता र पराजय प्रशस्त देखाउनुभएको छ। एउटा कवि सङ्घर्षको सौन्दर्यबोधबाट चुक्नु मिल्छ?

यो कविता जिन्दगीको एउटा पक्षको चित्र मात्र हो। एउटा फोटोग्राफरले कपाल फिजाइरहेकी नारीको चित्र खिच्यो भन्दैमा समस्त नारी र त्यो नायिकानै पनि कपाल नकोरी जिन्दगीभरि बस्छे भनेर बुझ्न मिल्दैन। कविता लेखिसकेपछि कवि विजयी हुन्छ। मलाई त यस कविताले जिन्दगी यस्तो पो हुँदो रहेछ भनेर बुझ्न र सङ्घर्ष गर्न सघाउँछ जस्तो लाग्छ।

 ‘मेरे हिसाब कवितामा कुन गतिहिन बतासले कता उँडायो भन्ने लाइन छ। गतिहिन बतासले पनि उडाउँछ र भन्ने पाठक ननिस्किएलान्?

म ठान्छु कविता सरल भाषामा प्रतिक मिसाएर नयाँ अर्थ सिर्जना गर्छ। यस लाइनमा गतिहीन बतासले समेत उडाउने हल्का सपनाको भुवाको सङ्केत गरिएको हो। बाँकी अर्थ त समालोचक र यहाँकै मर्जी।

प्रस्तुत कविताहरूमा तपाईँ कतै रक्षात्मक जस्तो, कतै निराशावादीजस्तो देखिनुहुन्छ। तपाईँका कविताले पाठकलाई दिने थोक चाँही के हो?

मेरा कविताले पाठकलाई दिने कविताको विविध स्वाद हो। एकै रस र एकै विषय शीर्षकका कविता भएभने त्यसले साहित्यको आयाम साँघुरो पार्दैन र?

समकालीन कविताहरूले किन आलोचकहरूको ध्यान आकर्षण गर्न सकिरहेको छैन?

समकालीन कविता मात्र नभएर समकालीन आलोचकहरूको समेत समालोचना गर्न जरूरी हुन्छ। कविताको गतिशीलतासँग समालोचनाको गति समानान्तर हुन नसकेको जस्तो मैले अड्कल लगाएको छु। अर्को महत्वपूर्ण कुरा समालोचना कविताको पछि पछि नै कुद्ने हो। यसले त कविताको गति कति समयसम्म टिक्छ भनेर नाप्नु पनि पर्छ। मलाई आलोचकको ध्यान खिच्ने पहिलो विधा त कविता नै हो जस्तो लाग्छ।

कवितालाई आमपाठकको पहुँचसम्म पुऱ्याउन लेखनमा सरलीकरन गर्ने ट्रेन्ड बढ्दो छ। यसले कविताको शिल्पपक्षलाई दुर्घटनामा पार्दैन?

म पनि कविताको सरलतासँग डराएकी छु। कविता बढी सरल भयो भने त्यो कविता नभई तरल शब्दको भण्डार हुनजान्छ। त्यहाँ शिल्पको कुनै स्थान रहँदैन। अनि कविताको भाषा सिद्धिन्छ। अहिले कविहरूले जोगिनुपर्ने सबभन्दा ठूलो रोग यही हो।

एउटा कविलाई पाठकको माया नै पर्याप्त हुन्छ कि कविता लेखेर भात खाने वातारण पनि बन्नुपर्छ?

कविता लेखेर भात खाने वातावरण चाँहि कवितालाई राज्यले दिने स्थानमा पनि भर पर्छ। बजारले अलिअलि माया गर्न थालेको देखिन्छ। कविताको रक्तसंचार भने पाठकको माया नै हो। समाजमा कविता पठनलाई संस्कृति मान्ने चलन शुरू भए अलिक वातावरण बन्थ्यो तर आजसम्म त पठन संस्कृति तुवाँलो जस्तै पातलो छ।


काव्यम् टिप्पणी

जीवनका चुनौतिहरूलाई आत्मसात गर्ने कविता

कविता लामा


गरिमामा बेलाबेलामा छापिएका ज्योति जङ्गलका कविताहरू र यिनको अन्तर्वार्ता पढेर मैले यिनलाई कविका रूपमा चिनेँ। आफ्नो देश, समाज हुँदै नितान्त निजी कुराहरूलाई पनि कवितामा उदाङ्गो अभिव्यक्त गर्ने यिनी निकै आँटी सौन्दर्यात्मक काव्यिक चेतना भएकी कवि देखिन्छिन्। हालै ज्योतिका केही कविताहरू ‘साँझमा नआउनु मेरो घर’, ‘मूला जिन्दगी’, ‘मेरो हिसाब’, ‘क्यान्टोनमेन्टबाट’, अनि ‘अन्तिम चित्र’ आदि पढ्ने मौका पाएँ। धेरै समयअघि मैले पढेका कविताहरूभन्दा यहाँ उल्लिखित कविताहरू विषयगत हिसाबले केही भिन्न पाएँ। समाजमा देखिएका विसङ्गति, बेमेल, तथा विमति जस्ता यथार्थप्रति ठाडै औँला उठाउने एक सशक्त नारी हस्ताक्षर ज्योतिमा समाजसित डटेर लड्ने रणनीतिमा धेरै फरक दृष्टि रहेको पाएँ। जीवनका चुनौतिहरूलाई आत्मसात गर्ने यिनी समाजसित आज असुरक्षित महसुस गरेकी देखेँ। ‘साँझमा नआउनु मेरो घर’ कवितामा चित्रित नारी पात्रमा त्यो आँट एउटा समयकालले खर्लप्प खाएको देखिन्छ-

साँझ डराउँछ

ठूलो डर हुन्छ साँझमा

दोछायाँमा

छोइन सक्छन् मेरा अंग

टोकिन सक्छ गाला

या धरापमा पर्ला अस्मिता

अशुद्ध हुनेछु म।

यो कविता पढेर मलाई नोअमी उल्फको पुस्तक फायर विथ फायर (सन् 1992)-भित्र गरिएको एउटा चर्चा ‘जेन्डरक्वेक’-को सम्झना आयो। यस चर्चाले बिसौँ शताब्दीको उत्तरार्धमा एउटा विशेष स्थान प्राप्त गरेको छ। कारण यसले दुई लिङ्गमाझ रहेको शक्तिको असन्तुलनतालाई सन्तुलित तुल्याउने प्रयास गर्‍यो।

मैले स्टेफ्यानी गेन्ज एन्ड बेन्जामिन ए. ब्राबोनले लेखेका एउटा पुस्तक पढेकी थिएँ पोस्टफिमिनिज्म कल्चरल टेक्टस् एन्ड थ्योरिज (सन् 2009)। यस पुस्तकभित्रको एउटा अध्याय “न्यु फेमिनिज्मः भिक्टिम भर्सेज पावर”-मा लेखिएको छ- नारीहरूले पुरूषबाट शक्ति छिनेर त्यसलाई आफ्नो शक्ति स्थापित गर्न अघि एउटा ठुलो बाधाको सामना गर्न पर्‍यो त्यो हो उनीहरू स्वयम्-ले आफूलाई उत्पीडित मान्ने गर्थे (पृ.70)।

उल्फले यसै सन्दर्भमा नारीवादका दुईवटा परम्परालाई विभाजन गरेर देखाएकी छन्- (क) उत्पीडित नारीवाद (भिक्टिम फेमिनिज्म) अनि (ख) शक्ति नारीवाद (पावर फेमिनिज्म) (पृ.69)। जब नारीले आफ्नो शक्ति शक्तिहीन अस्तित्वको दृष्टिले खोज्छ त्यहाँ उत्पीडित नारीवादको स्वर सुनिन्छ। ज्योतिको उक्त कविताले समाजमा त्यही उत्पीडित नारीको तिक्त चित्रण गरेको छ। सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवेशमा भएका विभिन्न नारी उत्पीडन, नारी शोषण, नारी यातनालाई लिएर लेखिएको कविता ‘साँझमा नआउनु मेरो घर’-मा एकजना नारी आफ्नै गाउँ घर, साथीभाइ, समाज सबैबाट असुरक्षित भएकी छे जहाँ साँझले असुरक्षाको सङ्केत दिइएको छ। आफ्नो हक र अधिकारको निम्ति लड्न सधैँ तयार कवि ज्योतिले यहाँ नारी भूमिकालाई समेत मौन देखाएकी छन्।

समाज सामु कमजोर अबला नारी त्यसो भए समाजद्वारा परिभाषित रूढ अर्थबाट कहिले उन्मुक्त हुने? आफूलाई नयाँ अर्थमा साबित गर्न के उसले कहिल्यै मौका नपाउने? किन ऊ आफूलाई पपेट र भावहीन पाउँदा पनि साँझदेखि डराएकी छे र त्यसको विरोध गरेर आफू खुसी जीवन बाँच्न भोलिको उज्यालोमा मात्र एउटा मान्छे भएर जन्मन चाहन्छे? यी प्रश्नहरूको जवाबमा ज्योतिले समाजमा लैङ्गिक समानताको अपेक्षा राखेकी छन्।

वर्तमान साहित्य समालोचनामा नारीवादी चिन्तनले ओल्ड फेमिनिज्मले भिक्टिम फेमिनिज्म र न्यु फेमिनिज्मले पावर फेमिनिज्मको विमर्शलाई अघि ल्याएको छ भने प्रस्तुत कवितामा यी दुवै फेमिनिज्मको सम्मिश्रित धारणा निहित रहेको पाइन्छ। अघिसम्म आफू असुरक्षित रहेको कुरा भोलिको उज्यालोले लिएर आउने छ भनी निम्न कविता पंक्तिमा सचेत सहभागिता र उपस्थितिको जुन सकारात्मक सोच छ त्यसले कविताकी उत्पीडित नारीमा नयाँ आशा सञ्चार भएको पाइन्छ-

भोली उज्यालामा

पुनः जन्मन्छु मान्छे म

भेटौँला माथि डाँडामा

चौतारामा, चोकमा, चौबाटामा

या कुनै चिया अड्डामा,

सकौँला छलफल

सोधौँला हालखबर

बुझौला चिट्ठी।

कवि ज्योति जङ्गलका यी कविताहरूलाई एकपल्टमा झ्वाम्म हेर्दा नारी स्वरबाहेक अन्यान्य विषयवस्तुलाई पनि समेटेको छ। कविता “अन्तिम चित्र”-ले भन्छ- देशको राजनीतिक व्यवस्थामा पीडित एकजना सामान्य चित्रकारप्रति देश संवेदनशील छैन। बैंशमा पनि देशको चित्र कोर्ने, बाल्यावस्थामा आमाको चित्र बनाउने चित्रकारले पहिलोचोटि आफ्नो गाउँको चित्र पाइतालाले मेटेर ऊ सहर पस्छ सुन्दर भविष्यको सपना सजाउँदै तर केही समयभित्र त्यो सपना चकनाचुर हुन्छ।

अरूलाई खुसी दिने यस चित्रकारको कलात्मक प्रयासमा तर देश कहिल्यै खुसी भएन। यसरी छातीभरि हजारौँ लाशहरू बोकेर ऊ एकदिन स्वयम् यही देशमा आत्महत्या गर्न बाध्या हुन्छ। चित्रकार त मात्र एउटा प्रतिनिधि पात्र हो तर देशबाट उपेक्षित यस्ता प्रतिभावान् युवाहरूले आत्महत्या गरेको कथा प्रत्येक घर र परिवारसित बाँच्दै आएको छ-

भित्ताभरि टाँगेर सुन्दर चित्र

ग्राहकलाई धेरैपटक खुशीको कला पस्कियो,

तर देश कहिल्यै खुशी भएन उसको कलाले,

उसकै जीवन कहाँ हाँस्यो र उसँग मायाले?

एकजना चित्रकारको प्रतिभाले पाउनपर्ने मान्यताको तिर्सनामा उसको आत्महत्याले समाजमा वैचारिक क्रान्तिको शङ्खघोष गरेको छ। आफूले सोचे जस्तो जिन्दगी सुन्दर नभई दिँदा कविको जीवनप्रति आक्रोश रहेको छ। यो कविता बढो घतपर्दो र यथार्थपूर्ण छ।

आज हामी बाँचेको समाज सभ्य र शिक्षित रहेको प्रमाणित हुँदाहुँदै पनि समाजभित्रका व्यवस्था अद्यापि उत्पीडित र शोषित मात्र होइन तर आँखा चिम्लेर मौन बसेको छ। तसर्थ ज्योतिबाट विष्फोटित आक्रोशले यस बँचाइप्रति दायी पक्षहरूलाई गाली गर्न नसकेर यिनी आफ्नै लाचारीसित भएभरका रिस पोख्याउँछिन् र जीवनलाई नै मूला अर्थात् काम नलाग्ने (बेकम्मा) थोक भनी चिन्हित गर्छिन् यसरी-

गाँस खुवाउँछ र घिच्रो निचोर्छ

कपाल बाट्छ र चुल्ठोमा शिर झुण्ड्याउँछ

स्नेहको डोरी भनेर किल्किलेमा फनफनी बेर्छ

जिब्रो थुतेर मायाको दोहोरी गाउँन लाउँछ

अठ्याएर अँगालोले करङ खुस्किने गरी धाप मार्छ

मूला जिन्दगी अगाडी ओठ चुमेर पछाडी लात मार्छ।

उद्धृत कवितांशले वर्तमान मान्छेको भोगाइमा तिख्खर व्यङ्ग्य गरेको छ। विश्वासहीन र मूल्यहीन जीवनचक्र यस्तै अभिनयबाट अघि बढिरहेको छ। मान्छे जे छ त्यो ऊ होइन, ऊ जे छ त्यो मान्छे ऊ होइन। एकातिर माया छ भने त्यसको अर्को पाटोमा घृणापूर्ण स्थितिले मान्छेलाई सताइरहेको हुन्छ।

बाह्य सुन्दरताले मान्छेलाई मख्ख त पार्छ तर त्यसभित्रको कुरूपता कसैलाई थाहा हुँदैन। संसारमा कोही पनि कसैबाट उन्मुक्त छैन। एकापट्टि ऊ उन्मुक्तिको चाहना राख्छ भने अर्कोपट्टि ऊ कसैको कैदमा जेलिँदै गइरहेको हुन्छ। उन्मुक्ति त मात्र भ्रम हो, बन्धकी नै सत्य हो जसलाई विशेषतः नारीले पटकपटक भोगिरहनु परेको दुख्दो स्थिति  प्रस्तुत कवितामा देखाइएको छ।

कवि ज्योति बेलाबेला विद्रोही देखिए पनि कहिलेकाहीँ अन्यमाथि धेर अपेक्षा राख्ने  र निर्भर रहने कोमल मन पनि भइ दिन्छिन्। ‘क्यान्टोनमेन्टबाट’ कवितामा कविको भाव यसतर्फ बढी झुकेको पाइन्छ। कुनै नाविकले मात्र यिनलाई उन्मुक्ति दिन सम्भव रहेको कुरा यसरी व्यक्त भएको छ-

नाविक!

कता पौडियौ

डुंगा मझधारमा अड्याएर।

पर्खिरहेको छु,

आशाका थोपा भरेर

समयको समुन्द्रमा

तिमीले भनेका छौ

एकदिन किनारा उतार्नेछु।

समाजमा लैङ्गिक समानताको माग गर्ने कविको यस कवितामा उत्पीडित र नियतिवादी स्वर धेर रहेको पाइन्छ-

हेर !

पर्खिरहेको छु,

पकाएर आगोमै सपनाहरू

सम्झाइरहेछु तिम्रो बाचा

रोकिरहेछु यात्राको गति,

बले पनि ती मर्ने छैनन्।

सारथी ! कता अल्झियौ

मेरो लगाम समातेर?

अर्थात् आफू कसैको नियन्त्रणमा रहनु भनेको उसको स्वअस्तित्व सङ्कटमा पर्नु हो। यही सङ्केत उक्त कवितामा पनि पाइन्छ। तर यिनको अर्को कविता “मेरो हिसाब” शीर्षकमा जीवनका हिसाबहरू अरूको निम्ति बाँचिएकाले बेहिसाब भएर कविताभरि पोखिएको पाइन्छ-

यो जिन्दगी

कसरी उदायो दिनसँग

सुत्यो रातजस्तै जस्तै

त्यो पनि हिसाब गरिन छु,

रूवाजस्तै कञ्चन थिए सपनाका भुवाहरू,

कुन गतिहीन बतासले कता उडायो

त्यो पनि समेटिन छु।

अरूको निम्ति दौडघुपमा बाँचिएको जीवनका हरेक पल आफ्नो निम्ति कहिल्यै बाँच्न सकिएन। एकजना कर्त्तव्यवान् नारीका इच्छा, आकांक्षा, सपना, संवेदना सबै मृतप्रायः स्थितिमा पुगे तापनि अब यो सचेत मनले जीवनका रहल दिनहरू आफ्नै निम्ति मात्र बाँचिनेछ। जसभित्र केवल आफ्नै हिसाब हुनेछ भनी दृढ सङ्कल्प पनि गरिएको छ। उक्त कविताको मारक पंक्तिले त्यो सन्देश यसरी दिन्छ- “आज हिसाबमा बसेकी छु”।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares