अफ द रेकर्ड : कमरेड सुन्दरी

  अफ द रेकर्ड

अनिल तेलैजा


माओवादी आन्दोलन बेला थुप्रै छापामारहरूसित जम्काभेट हुन्थ्यो। नेपाली सेनाले चेकिङ पोइन्ट राखेको दुई तीन किलो मिटरको दूरीमा जनयोद्धाहरूको अर्को नाका पार गरेर जानु पर्ने बाध्यता थियो आम नागरिकलाई। हामी औषधी कम्पनीका जागिरेहरू गलामा परिचय पत्र झुन्डाएर नाका पार गर्दै गाँउ पस्थ्यौँ।

सेना र माओवादी लडाकु दुवै एउटै प्रश्न सोध्ने गर्थे हामीलाई-  ‘सरहरूसित  ग्यास्ट्रिको औषधी छैन?

पछि पछि त हामी उनीहरूका निम्ति छुट्टै औषधी लिएर जाने गर्थौँ। ‘ग्यास्ट्रिक त नेपालको राष्ट्रिय रोग हो’ भनेर ठट्टा पनि गर्ने गर्थौ।

2006-7 सालतिर पश्चिम नेपालको दुर्गम गाउँ वुर्तीवाङ सडक खण्डमा गाडी गुडेको थिएन। पुरानो खेत जोत्ने ट्र्याक्टर मात्रै कहीँ कतै भेटिन्थे। एकदिन बागलुङ, घोडाबान्ने हुँदै वुर्तीवाङ जानेक्रममा घोराहीबाट दुई तरुनीहरूको साथ पाएँ। आफू पनि जवान टिठो। तरुनीहरूको सामीप्य राम्रो नलाग्ने कुरै आएन।

गुल्मी जिल्लाको सिमाना भएर निर्माणाधीन सडक पछ्याउँदै अघि बढ्यौँ। दुई चार कुरा गरेपछि पो थाहा भो उनीहरू त माओवादी लडाकु पो परेछन्। आफ्ना साथीहरू केही पछि रहेका र नेपाली सेनाको गतिविधि बुझ्न आफूहरू चैं सुराकी गर्दै अघि हिँडेका बुझेपछि तरुनी देखेर रमाएको मेरो तन्नेरी जोवनले पानी माग्न भ्याएन।

थचक्क ठाउँका ठाउँ बस्न पाए नि हुन्थ्यो जस्तो भो। उनीहरू भने छिल्लिने जिस्किने कुरा पट्टकै नगर्ने। यस यात्राको अन्त कहिले हुने जस्तो उकुस मुकुस लिएर उनीहरूको कुरा सुनी रहेँ।

नेपाली नागरिक हो भन्ने ठानेर होला दुई घण्टाको सहयात्रामा दुई तरुनीले जातीय मुक्ति र वर्ग सङ्घर्षका लामै पाठ पढाए मलाई। जन आन्दोलनका सिपाही उनीहरू। आफूहरूले गरिरहेको सङ्घर्ष त्यसको चुनौती र दलीय सिद्धान्तमा आफ्ना उमेर भन्दा दोब्बर खारिएका देखिन्थे।  15-16 वर्षकी टिठीहरूमा भेटेको त्यो आत्मविश्वास र सङ्घर्ष प्राप्तिप्रतिको निष्ठा देखेर आज झण्डै एक दशकपछि पनि म रोमाञ्चित हुने गरेको छु।

यता राष्ट्रिय चिह्नारी भन्दै लडिरहेका हामी र लक्ष्यलाई लिएर हाम्रो प्रतिबद्घता उनीहरू अघि अपाङ जस्तै लाग्छ। दश वर्ष देशसित सशस्त्र लड्ने उनीहरू अनि पैसा पाए आफ्नैसित लड्ने हामीहरू।

हाम्रो सपनाले यही कतै बिट मार्ने गर्छ कि जस्तो लाग्छ। छुट्टिने बेलामा ‘लौ कमरेड सर्वहाराका निम्ति नयाँ  नेपाल  बनाउने छौँ, लाल सलाम’ भनेर छुट्टिएका ती दुई छापामार योद्धा कमरेड सुन्दरीहरू अहिले कता होलान्?

आठ वर्षपछि आमाको उपचारको क्रममा पुनः नेपाल आउन परेपछि  जनान्दोलनको कष्टसितै उनीहरूको झझल्को पनि आलो भएर आयो। आफ्नै ठाउँमा हामी भारतीय गोर्खाहरूले गर्दै आइरहेको आत्मनिर्णयको आन्दोलनले पनि झक्झकायो। एकातिर शताब्दीदेखि हार मात्रै देखेको हाम्रो आन्दोलन अर्कोतिर राजतन्त्र फालेर नयाँ संविधान बनाई गणतन्त्रमा हिँडिरहेको उनीहरू सफल सङ्घर्ष दुवै कथामा लक्ष्य एउटै हुँदाहुँदै पनि परिणति किन फरक भयो होला?

सोची रहें मुङ्गलिन बुटल यात्रामा अनि ‘सर्वहाराका निम्ति नयाँ नेपाल बनाउदै  छौं कमरडे’ भनेर दश वर्षअघि छुट्टिने कमरेड सुन्दरीहरूलाई पनि।

तपाईँहरूको सफलतालाई मेरो पनि लाल सलाम कमरेड।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares