एबिएनको बन्द दैलो र कलाकारहरूको विचल्नी

    अनिल राई


 

भर्खरै जस्तो लाग्छ एबिएन च्यानल प्रसारण भएको। नभन्दै २वर्ष बित्न लागेको थिएछ तर अचानक दार्जीलिङको राजनैतिक अवस्था अनि आन्दोलनको बीचमा पिसिन पुग्यो हाम्रो च्यानल। दोष थियो त केवल नेपाली भाषामा प्रसारित पहाड बन्दको खबर, सुन्दा अचम्म लागे पनि सत्य यही हो।

च्यानल बन्न जति आर्थिक लगानी छ, त्यतिनै कलाकार अनि तक्निसियनको परिश्रम पनि छ। एउटा परिवार बनाउन बाबुले सकेसम्म  भए नभए पनि आर्थिक जगेरा गर्नु हुन्थ्यो अनि हामी बाबुको त्यसको सदुपयोगले आफ्नो काम गर्ने गर्थ्यौँ।

कहिले अबेर रातीसम्म त, कहिले भोक-भोकै । कहिले हिँड्दै आयौं त, कहिले रूझ्दै भिझ्दै । कोही बेला गाडी नपाउँदा स्टुडियो भित्रै पनि सुतियो। एक टुक्रा रोटी खाएर केवल बाबुको सपना पुरा गर्नुको निम्ति। यहाँ दुवै बाबुको सपनाको कुरा थियो , एउटा बाबु जसले जन्म दिनु भयो उनको लागि, टिभिमा कलाकार भएर देखाउने र्को बुबा जसले कर्म गर्ने ठाँउ दिनु भयो एबिएन च्यानल खोली दिएर।

झन्डै सय भन्दा बेसी कलाकार, तक्निसियनको रोजी रोटी चल्ने ठाँउ थियो। च्यानल मानौं एउटा सपनाको घर, जसबाट आफ्नो पेट पनि चल्ने साथै नाम पनि हुने।

शुन्यबाट शुरू भएका कलाकारलाई उभिने जग्गा दिइयो। साथमा हाम्रा अग्रज गुरूवरहरूले धेरै सिकाउनु भयो , धेरै मेहनत गराउनु भयो अनि एक पोख्त कलाकार बनाउनु भयो। एबिएन च्यानल एउटी आमा जस्ती थिइन्, जसले शिशुलाई जन्म दिएपछि उसको स्याहार सुसार गरी बोल्न हिँड्न र धेरै कुराहरू सिकाउनु भयो।

यस घरमा धेरै जग्गाका मानिसहरू थिए। एउटै परिवार जस्तो भएर बसेका अनि परिवारको बुबाको सहास र मायाले चलिरहेको थियो यो परिवार।

एउटा भनाइ छ नि ‘परिवारको ठूलो मान्छे स्वस्थ र बलियो छ भने परिवारको सबै सदस्य राम्रो र सुरक्षित हुन्छ।’- यस्तै थियो हाम्रो परिवार।

आज यस परिवारले छोटो समयमा भए पनि धेरै कलाकारहरूलाई पहिचान दिलायो। त्यही पहिचानको सहासमा काम पनि गरियो। नभन्दै दार्जीलिङको आन्दोलनको कारण जुलाईको अन्तिम सातामा बङ्गाल सरकारले बन्द गरिदियो यसपछि सबै कलाकारको बिल्लिबाँठ भयो। एक महिनासम्म त सबै कर्मचारी दैलो अगाडि बसे खोलिने आशामा। यता बाबुले हिम्मत हारेनन् अझै हौसला दिनु भयो। त्यस हौसलाको दममै बसियो। बस्दा बस्दा आज चार महिना बितेछ।

यस परिवारभित्र धेरै क्षेत्रका कलाकार थिए अनि दुख आ-आफ्नै, कसैको घर भारा तिर्ने पैसा थिएन , कसैको खाने चामल, कसैलाई घर चलाउन गाह्रो भइ रहेको थियो। सबैलाई यस्तै दुःख थियो तर पनि कसैले आफ्नो दुःख देखाएनन् बरू एबिएन खोलिने आशामा बसिरहे।

१०५ दिनको बन्दपछि दार्जीलिङ पहाड खोलियो। त्यहाँको स्कूल कलेज खोलियो। चिया सिन्कोना उध्योग खोलियो। लोकल च्यानल , बन्द इन्टरनेट सेवा खोलियो तर खोलिएन एबिएन च्यानल।

नेताहरूको आशामा बसियो। उनीहरूले पनि च्यानल खोल्न सकेनन्। तब कुरा आउँछ दोष कसको थियो अनि कहाँ भयो?

के हाम्रो दोष थियो? हामीले पहाडको आन्दोलनको समाचार प्रसारित गरेर गल्ती गऱ्यौँ कि? कसतो गल्ती थियो? उसको, जसले आन्दोलन गर्‍यो? कि उनको, जसले आफ्नो हैकमवादमा च्यानल बन्द गरिदियो।

यही छुट्याउन र बुझ्न् साह्रो भयो।

हुन त १०५ दिनको मर्का एबिएनका कर्मचारीहरूलाई मात्र नभएर सबै क्षेत्रमा काम गर्ने पहाडका श्रमिकवर्ग, व्यापारी अनि कर्मचारीलाई परेको हो तर वहाँहरूले बन्द खोलिने साथ केही भए पनि भरपाई गर्ने कोसिस गर्नु हुँदैछ। अनि भरपाई पनि गर्नु हुँदैछ। अब कुरो छ एबिएनको कर्मचारीको, उनीहरूले कसरी भरपाई गर्ने?

के अब कलाकारहरू यसरी दबिनु पर्ने? के उनीहरूलाई उठ्ने मौका छैन? केही गरेर देखाउने ठाँउ छैन ? अब फेरि दार्जीलिङे कलाकार पलायन नै हुनु पर्ने? आज सबै कलाकार बेकारी भएको छ उसलाई कसले हेर्ने त?

प्रश्नै प्रश्न छ।

कलाकारहरू मजदूरी गर्न बाध्य भएका छन्। परिवार ठिक हुँदा सबै राजनीतिक दलहरूले स्याबासी दियो अनि सङ्घ-संस्थाको शुभकामनाको थुप्रो। अहिले परिवार दुःखमा पर्दा कोही छैनन्।

ध्यान दिने कुरा के छ भने यस च्यानलले सय भन्दा बढी कलाकारको भविष्य मात्र निर्धारण गर्दैन थियो, बरू सम्पूर्ण भारतीय नेपाली कलाकारलाई विश्वमा चिनाउने अनि नयाँ कलाकारहरूलाई एउटा मञ्च प्रदान गर्ने कोसिस गर्दै थियो।

भारत देशमा पहिलो नेपाली भाषी सेटेलाइट च्यानल खोलिनु एउटा इतिहास कोर्नु हो। यदि यो च्यानल बाँच्छ भने नेपाली साहित्य , संस्कृति बाँचेको हुन्छ तर …तर कसले बुझ्ने यी कुरा? सबै आफ्नो रोटी सेकाउनुमा मस्त छन्।

अब कसले बोलिदिने ? कसले खोलाइदिने? सोच्द सोच्दै दिन महिना भयो। अब महिना साल हुन्छ होला जस्तो लाग्न थालेको छ।

हुन त कलाकारले कुनै पनि ठाँउमा काम गरेर खानु सकिहाल्छ तर एबिएन एउटा कम्पनी नभएर हाम्रो लागि घर थियो। जसलाई छोडेर जाने मन हुँदैन। हुनु पनि आफ्नो घर छोडने मन कसको हुन्छ र,होइन ?

अन्तमा, म यही भन्छु, एबिएन च्यानल बन्द भए पनि मेरो हृदयमा सँधै बसिरहेको छ। म बेकारी भए पनि आशा चैं मारेको छुइनँ। च्यानल एक दिन अवश्य खोलिन्छ, यो मेरो विश्वास हो। सायद त्यस दिन म च्यानलको परिवारको सदस्य हुन्छु, हुँदिन भन्न सक्दिन तर जुन दिन च्यानल खोलिन्छ म गर्व साथमा सबैलाई भन्ने छु-

‘उ हेर भारतको पहिलो नेपाली  सेटेलाइट टिभि च्यानल फेरि खोलियो।’

 

के यो मेरो सपनामात्र हुनेछ?

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares