You are here

सुर फेरिएको सारङ्गी र वाइवाइको झोल

   अफ द रेकर्ड

अनिल तेलैजा


… नि…बरै बाबाले सोध्लान नि खै छोरा भन्लान्

 रण जित्दैछ भन्दिएँ

 आमाले सोध्लिन् ननि खै छोरा भन्लिन्

रज है फुल्यो भन्दिएँ…..

झलकमान गन्धर्वको मनछुने भाका टिपेर बाँझो खेतबारीभरि अलपत्रै परेर बसेका सैयौं यात्रीहरूलाई जनपीड़ा सुनाइरहेका दुई गन्धर्व दाजुभाईले पनि सारङ्गीलाई सिरानी हाले। बुटबल नारायणघाट यात्रामा उनीहरू पनि हामीसितै थिए। महेन्र्द राजमार्गको मध्यबिन्दु नजिक माओवादी सेनाले पुल उडाउन धराप थापेको छ- यस्तो हल्लाले दुई दिनदेखि उनीहरूको यात्रा पनि हामीसितै रोकिएको थियो।

देशको बद्लँदो राजनैतिक अवस्थासितै गन्धर्वहरूले गाउने भाका पनि बद्लिएको थियो। जनआन्दोलन चरममा थियो। देश रोइरहेको समय सारङ्गी कसरी हाँस्न सक्छ? यसैले माया पिरती गाउँदै हिँड्ने सारङ्गीले पनि जनपीडालाई च्याप्प समातेको थियो।

 …सररर र पानी घट्टामा

म त प्यारी फर्कन्छु फर्कन्न

नाम सार है पेन्सन पट्टामा…

अर्कैबाटो जान सकिन्छ कि भन्ने आशामा राजमार्गबाट लगभग 5 किलोमिटर भित्र चोरबाटो भएर छिरेका हामी उता पनि माओवादीको धराप छ रे भन्ने हल्लाले पुन थुनियौँ। सयौं यात्रुवहाक सड़क किनारमा रोकिएका थिए। पात्लो बस्ती र दुई चार दोकान भएका पश्चिम नेपालका तराई गाँउमा खानेकुरा पाइन्छ कि भनेर सयौं यात्रीहरू छ्यापछ्याप्ती पसेका थिए।

यात्रा रोकिएको 48 घण्टा भन्दा बेसी भइसकेको थियो। गाँउका दोकानहरूमा चाउ-चाउसम्म पाउन छाडे। नानीहरूको रूवाई रोकिएको थियो। अल्लारेहरूको हल्ला थामिएको थियो। बुढाहरूले गरिरहेको देशको चिन्ता साम्य भएको थियो। आमाहरू रित्ता पानीका बोतलमा पानी भर्दे नानीहरूको भोक मेट्ने प्रयास गरिरहेका थिए।

दुई दिन अघिसम्मको मेला लागे सरह हल्लाए, हाँसो, गुनासो र आक्रोसको वातावरण एकाएक मुर्दा शान्तिमा रूपान्तरण भएको थियो। भोको पेटले भजनसम्म हुन्न भन्छन्। जनपीडा कसरी सुनाउन सक्थे र गाइने दाईहरू। उनीहरू पनि सारङ्गी भुँडी लिएर साङ्गीलाई नै सिरानी हालेर सुते।

भोकको राम कहानीले महाभारत मच्चाई रहेको स्थिति थिथो। पैसा कमाउन मुगलान पसेको कथा सबैले सुनेका छन्। म भने मुङलानबाट पैसा कमाउन नेपाल छिरेको थिएँ। पोखरा हेडक्वाटर राखेर वीरगञ्ज, नारायणघाट, बुटवल यात्रा गरिरहनु पर्ने। कहिले कुकरबम पड्कन्थो। कहिले सेनाका गणमा माओवादीले आक्रमण गर्थ्यो।

यस्तो स्थितिमा कसरी बस्न सकिरहेको छस् अनिल?

साथीहरू घर जाँदा चिन्ता गर्थे, घरकाहरू सुर्ता मान्थे। ठीक यस्तै चिन्ता आज हामी कश्मिरमा खटिए हाम्रा सेनाका दाजु भाईहरूलाई लिएर गर्नेगर्छौँ। तर भोकले भजन मात्र होइन मन्त्रसम्म सुन्न मान्दैन्। सबै राम्रै छ भन्ने सान्तवनामा काम गरिरहनुपर्ने स्थिति थियो। यही काम गरेर बुटवलबाट फर्कने क्रममा अलपत्र परेको थिएँ म।

द्वन्दकालीन नेपालको कुनै बिक्रसंवतमा,कुनै गते,बार। मसितै विखलवन्दमा थिए सैयौँ नेपाली नागरिक सड़क किनारहरूमा। बाझो खेतबारी,रूखका छाहारी,पुरानो चौतारीहरूतिर असाहय, निराश र भोका। कहिले बाटो खुल्ने होला, प्रतिक्षामा बसिरहेका।

गाड़ीका चालक र खलासीहरू गाड़ीभित्र बस्दाबस्दा दिक्क लागेर घाम छल्न गाड़ीमुनि पसेका थिए। भोकले निन्द्रा खेदेपछि टुलुटुलु गाडीको मुन्तिरको भागलाई आकाश हेरे झैँ हेरेर बसेका थिए। भोक के हो मैले त्यसै दिन बुझेँ।

झोलामा औषधी,केही लुगा र केही किताब बाहेक भोक मार्ने केही थिएन। दुई दिनसम्म गाउँका दोकानहरूले पानी, भुजा र चाउ चाउसम्म त दिएकै हुन् तर उनीहरूको पनि आफ्नै समस्या थियो। द्वन्दले देशै खाइरहेको समयमा द्वन्दको मारबाट देशवासीले आफ्नो घर र परिवार कसरी बँचाओस्?

आखिर देशबासी भनेकै त देश हो।

देश जस्तै देशबासी पनि आशान्तिले हल्लाएर शान्त बसेका थिए। वातावरण लहड शुन्य थियो। घरिघरि पानी पिउनलाई चलाएएको चापाकलको च्वाँच्वाँ बाहेक अन्य चहलपहलको आवाज सुनिन छोडिसकेको थियो।

भोकको शास्त्रले सबलाई मौनधारण गर्न कर लगायो।

यात्रामा अभरपरेको दुईदिन एक रातपछि पुनः साँझ पर्नलागेको समय थियो त्यो। 50 रूपियाँमा दुईदिन अघिसम्म वर्मालुट भइरहेको वाईवाई अहिले पाए 500 रूपिया तिरेर पनि किन्ने थिएँ। मैले मनमनै सोचें। हिजोसम्म एक रूपियाँ कसैले धेरलिए, ‘पैसा होइन, सिद्धान्तको कुरा छ। जति तोकिएको छ त्यति नै ले’ भन्दै झगड़ा गर्ने मेरो आक्रमकताले भोकको अघि सरेण्डर गरिसकेको थियो।

पोखरामा सँगै बसेका सौरभ दा मैले भात फ्याँकेको देखेर कराउँथे। एकदिन यही फालेको भात तिमीले झलझल्ती देख्छौ– भन्थे। सराप लाग्छ अन्नको, भन्थे। म भन्दा सिनियर एकै प्रोफेसनका उनले सायद मैले भोगिरहेको वर्तमान विगतमै भोगिसकेका थिए। म त्यही फालेको भातको सरापमा पो परें कि? सोचिरहे।

500 रूपियामा 5 रूपिया पर्ने वाइवाइ किनेर खाएको कल्पनासम्मले पनि मुखमा पानी उमारिरहेको थियो। यतिकैमा गाड़ी खोलियो है भन्ने चर्को आवाजले वातावरण एकाएकै हतारिँदो बन्यो। अब खान पाइने भो भन्ने सोचले एकाएक उर्जा दिएको थियो सबलाई। सबै हतारिएर गाड़ी चढ्न थाले। गाड़ीले पुनः राजमार्गमा रफ्तार पक्रियो। तर केही किलोमिटर गुडेपछि गाडी पुनः रोकिए।

फेरि त्यही कहानी माओवादी,सेना,धराप,झडप के के हो के के।

तीन दिनपछि भने धन्न खान चैं पाइयो। सड़क किनारका आधा दर्जन पसल र यसका पसलनीहरूले सैयौँ यात्रीहरूलाई पिरो, तातो मिठो, स्वादिलो वाईवाईको झोल खुवाए। वाइवाइ खाईसकेर सय,पाँच सयका नोटहरू पसलनीलाई दिइरहेका यात्रुहरूले फिर्ता पैसा मागेनन्।

अर्थशास्त्र मात्र बुझेका मजस्तै धेरैले भोकको शास्त्र यो तीन दिनमा राम्ररी बुझेका थिए। सैयौँ व्यञ्जनहरूभन्दा स्वादिलो वाईवाई। भोजनमाथि भोकको विजय।

7 वर्षपछि पुन म बुटवल पुगेँ। बुटवलमै बसेर औषधी कम्पनीमा जागिर खाइरहेको माईला भाई कहाँ आमा लिएर जाँदा महेन्द्र राजमार्गको मध्यबिन्दु नजिक मैले त्यही 7 वर्ष पुरानो मिठो वाइवाइको झोल सम्झेँ अनि सम्झेँ केहीदिन अघि कालेबुङका केही पत्रकारहरूले पत्रकारितालाई नै भोको नाङ्गो पार्नेगरी खाएको महङ्गो वाइवाइ पनि।

2010 तिर नेपालबाट घर फर्केपछि कालेबुङमा नै पत्रकारिता सिकेँ, पत्रकारिता गरेँ अनि पत्रकारिता छाडेँ। लगभग चार वर्षको पत्रकारितामा मैले कालेबुङे पत्रकारिताको सुनौला दिनहरू देखेँ। क्रामाकपा नेता अनि मार्क्सवादी चिन्तक आरबी राईबारे लेखिएको समाचार मेरो पत्रकारिताको पहिलो समचार थियो।

मित्र मनोज बोगटीले जुराई दिएका। त्यसपछि शुरू भएको मेरो पत्रकारितामा छत्र सुब्बाको पुनार्गमन र अचानक बिग्रिएको राजनैतिक वातावरण भोगेँ। चिटफण्ड कम्पनीको रगरगी र हिमालयन पिपल्स  च्यानलका सन्दिप, प्रज्वल र छेवाङहरूको आँट जाँगर र हौसला देखेँ।

रित्तो गोजी लिएर पनि कडोरौँ कुम्लाउने यस्ता कम्पनीहरूको पर्दाफास गर्ने उनीहरूको आँटले भित्रैबाट हल्लाएर गयो मलाई। मनोज बोगटीको हाँक्का हाँक्की, प्रदीप लोहागुणको गम्भिरता, डीके वाईबाको आक्रमकताको साक्षी बन्ने सौभाग्य यही कालेबुङे पत्रकारिताले जुरायो मलाई।

18 सेप्टम्बरको भुइँचालोमा प्रशासन भन्दा पहिला क्यामेरा लिएर गाउँ पुग्ने र लाखौँको राहत गाउँलेहरूलाई बाँड्ने फिलिप्स ब्रेभरी आवाडी  बिजेता मनोज राईको सहासको साथी कालेबुङे पत्रकारिताले नै बनायो मलाई। लिटिल एञ्चल चिल्ड्रेन्स होम्सका नानीहरूको हाँसो, जुरून्ती प्राथमिक पाठशालाका नानीहरूको बुटजुत्ता, कालेबुडे पत्रकारिताले नै जुराएको हो।

मणि माम्सका एकजुटता, छुदेन काविमो र निमेष राई ‘आसे’का सकारात्मकता, भुवन खनाल र रूद्र कार्की दाजुहरूको अभिभावक्ता। राजिव दाजु, यम,चिनलप,मुकेस,अजय,नरेन्द्र,अरूण दाजुहरू सबै सबैको माया कालेबुडे पत्रकारिताबाट प्राप्त उपहार थियो मलाई। विपल र यौवन जस्ता भाईहरूको जाँगर,संस्कार र उपलब्धी कालेबुङे पत्रकारिताले नै उमारेका विरूवाहरू हुन्।

तर अचानक कालेबुङे पत्रकारितामा वाइवाइको झोल घोप्टियो र दाग राम्रो हुन्छ भन्न नसकिने गरी दाग लगाएर गयो।

भएको के थियो?

105 दिनको बन्दावधी लोकल च्यानलहरूले बेहोर्न परेको क्षतिपुर्तिस्वरूप केही च्यानलहरूले वर्तामान जीटीएका कियर टेकर विनय तामाङ अनि अनित थापासित क्षतिपुर्तिको माग राखे। राजनैतिक जग बसाल्न गाह्रो भइरहेको समय विनय-अनितको निम्ति पीतपत्रकारिताको यो भोक के खोज्छस् कानो आँखो भन्दा कम थिएन्।

उनीहरूले क्षतिपुर्ति राशि दिए। तर गोप्यरूपमा भएको उक्त लेनदेनको कुरा कालेबुङ कै अर्का पत्रकार छेवाङ योञ्जनले सामाजिक सञ्जाल फेसबुक मार्फत् सार्वाजनिक गरेपछि दार्जीलिङे राजनीति र पत्रकारितामा भुइँचालो नै आयो।

अनलाइन नेपाली समाचार खबर म्यागजिनका सम्पादक मनोज बोगटीले उक्त काण्डमा संलग्न समाचार च्यानलका मालिकहरूलाई प्रश्न तेर्साएपछि ती पैसा थाप्ने च्यानलका प्रबन्धकहरूले पैसा लिएको कुरा स्वीकार गरे। कुनै व्यक्ति विशेषबाट नभएर जीटीए प्रशासनबाट 3 महिनासम्म च्यानल बन्द रहँदा आफूहरूले भोग्न परेको क्षतिपुर्ति राशि लिएको उनीहरूको तर्क थियो। तर पैसा दिने जीटीएका उपाध्यक्ष अनित थापाले भने वाईवाई सँगै बसेर खाए पनि पैसा भने नदिएको वयान दिए।

वाइवाइ प्रकरणको सेरो फेरो यत्ति हो।

तर 5 लाख बराबरको धनराशिको अनैतिक तरिकाले भएको लेनदेनले भने भारतीय नेपाली पत्रकारिता र बौद्धिकताको हल्ला गर्ने वर्तमान जिटीएको कार्य प्रणाली दुवैमा नै ग्रहण लगाएर गयो। जुन वाइवाइको गन्धले कालेबुङे पत्रकारिताको गरिमा, विश्वास, नियतालाई लिएर ठूलै शङ्का जन्मायो।

हिजोसम्म टाटा छाप लिएर हिँड़ने कालेबुङे पत्रकारहरू एकाएक खासा छाप हुनपुगे। परोक्षरूपमा पत्रकारितामा जोड़िएका केही साथीहरूको वाइवाइ भोकले यस पेसामा तन, मन ,धन दिएर लागिपरेका दर्जनौं अन्य पत्रकारहरूको विश्वासनियतामा झोल घेप्टाइदियो। हिजोसम्म विमल गुरूङको गर्जनमा पनि नहल्लने कालेबुङका पत्रकारिता फेसबुकका केही छद्म नामधारी अकलशुन्य उपद्रोहीहरूसित धरि डराउने भयो।

हिजोसम्म हर्कबहादुर छेत्रीको तानाशाही फरमानमा नरोकिएको कालेबुङको पत्रकारिता कुनै राजनैतिक दलका झण्डे समर्थकसित थरथर काम्ने भयो। हिजोसम्म दार्जीलिङे राजनीतिलाई हातमा नचाउन सक्ने कालेबुङको पत्रकारिता बाटो छेउको घरमा ढुङ्गा हान्दै हिँड़्ने सुकुलगुन्डाहरूको धम्कीमा डराउने भयो।

हिजोसम्म जनसेवा र जनकल्याणमा प्रशासन भन्दा अघि देखिने कालेबुङको पत्रकारिता एकाएक जनजनमा कुख्यात बन्यो। यसरी आफ्नो शीर डम्बरचोकमा कटाए पनि कालेबुङे पत्रकारिताको टाउको ठाँडो राख्ने शहीद पत्रकार निर्मल राईले चम्काएको कालेबुङे पत्रकारिताको अनुहारमा केही साथीहरूको वाइवाइ भोकले सुली दलीदियो।

एकाएक क्रान्ति गाउने कालेबुङे पत्रकारिताको सारङ्गीमा बजारू फिल्मको गाना बज्ने भयो-

… तु पैसा पैसा करती है, तु पैसी पर क्यो मरती है …

अहिले त सुन्छु, पत्रकारिताको पक्षमा बहसहरूमा प्रश्न उठाइरहने पत्रकार साथीहरू, मिडिया हाउस ठेकेदार बनिसके रे। मञ्च बनाउने, कार्यक्रमको डिजाइन गर्ने र जताजता दुलोहरू छन्, त्यतैत्यतैबाट छिरेर मालकौडी थुत्ने हतियार चाहीँ ‘मिडिया’-लाई नै बनाइरहेका छन् रे।

उनीहरूबीच पैसा बाँड्फाँडबारे झगडाहरू चलिबस्छन् रे। ठेकेदारी खोसाखोस भइबस्छ रे। अनि पत्रकारितालाई खुल्लमखुल्ला बलात्कार गर्ने प्रतियोगिता खेलिरहेका छन् रे।

सत्तालाई हात पसारेर वाइवाइले भोक मेट्ने ती पत्रकार साथीहरूलाई यसो त राजनैतिक परिवर्तन हुनु भनेकै पैसा कमाउने मञ्च हो। उनीहरू त्यसो नगरी परिवार पाल्न सक्दैनन्। केही टुक्रा रोटीमा बेचिएर पत्रकारितालाई फाँसी लगाउनु उनीहरूको धर्म हो। उनीहरूकै हातमा छ पत्रकारिताको कमान, समान र दामन।

यसरी गणतन्त्रको चौथो सारङ्गीले सुर फेऱ्यो।

प्रिय पाठक, तपाईँलाई लाग्नसक्छ वाइवाइ भोकको यो रासलिला पछि पनि अनिल तेलैजाले चैं वाइवाइ खान्छ कि खान्न त?

प्रिय पाठक, तपाईहरूलाई भनिराखौं दुईचार जनाको पैसा भोकले मेरो वाइवाइ प्रेम बासी भएको छैन। म त अझै पनि वाइवाइ मिठो मानेर खान्छु। उमालेर खान्छु, भुटेर खान्छु, झोल लगाए खान्छु, फुकै पनि खान्छु। कहिले कहीँ त चिसो बासीभातमा तातो वाइ वाइ स्वात्त खनाए पनि खान्छु। किनकि मलाई थाहा छ मैले खाइरहेको 10 रूपियाँ पर्ने वाइवाइमा मेरो पनि 10 रूपियाँ बराबरकै पसिना र इमान परेको छ।

यसैले कुनै दिन वाइवाइ खान परे यही प्रश्न तपाईहरू आफैले आफैलाई पनि गर्न नभुल्नु होला। तपाईले खाइरहेको वाइवाइमा तपाईको पसिना र इमानको प्रतिशत कति छ?

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares