काव्यम्/ दीपा राई-का पाँच कविता : सीमा आभास-का केरकार : ज्योति जङ्गल-का काव्यम टिप्पणी

हरियो सपना

खुत्रुक्क

खस्छ

सपना

आँखाको

डिल-डिलबाट।

 

शताब्दी भो

आँखाभरि रातो भरेर

खोजिहिँड़ेको

त्यही हरियो सपनालाई।

 

चियाबारीको कान्ला-कान्ला

भिरालो-समतल-साँध-सिमानामा

पटपट फुटेका अम्लीहरू जब

मुट्ठी-मुट्ठी सुनको सपना भर्छन् टोकरीमा

ठीक त्यति नै बेला

बाङ्गो हुन्छ

वर्तमानको ओठ।

अनि

विदेशी बजारमा पोखिन्छ

चुहिएर

सपनाहरू।

 

अब सोध्नैपर्छ तिमीले

इतिहासलाई –

जता-जता चुहिएको हो

पुर्खाको पसीना

के त्यता-त्यता नै तुहिएको हो

उनीहरूको

सपना?


रातो – १

जुन दिन सिद्धिन्छ रातो

सिद्धिन्छ त्यै दिन यो काया

तुरिन्छ त्यै दिन यो माया

 

पहिलोचोटि एक मुट्ठी न्वागी उज्यालोमा

जब चिहाउँछ नानीले संसार

तब मृत्युको सङ्घारबाट

मुक्ति खोज्छे आमा

आमाको मुटुको जरा हल्लिन्छ

हल्लिन्छ आमाको सासको डल्लै आकाश

 

चिरेर संसारको कानको जाली

जब पहिलोखेप रून्छ नानी

भित्र भित्र भित्र

छात्तीको तहखानामा

जब छेंड़िन्छ त्यो आदिम आवाज

तब ऐंठनबाट हठात् बिउँझिन्छ

पसीनासरि एउटा कलिलो चेतना

तब बिस्तारै भरिन्छ हावा फोक्सोमा

 

ढुकढुक ढुकढुक ढुकढुक गर्छ मुटु

जब फेरि जन्मन्छे आमा

एक बित्ता मृत्युलाई फालेर

जन्माएर एउटा तात्तातो सास

 

रातो आगोको रङ हो

रातो शक्तिको अनुहार हो

रातो आमाको खुन हो

 

संसारकै सातो

आमाको रातोमाथि

यो आरोप कस्तो?


क्यान्भस-१

जब तिम्रो भाषा थिएन

म गुफाको भित्ता थिएँ

 

हो, म बोलेको थिएँ

तिम्रो आँखाको जिब्रो जिब्रोमा

तिम्रो आमाको कोखको भाषा भएर।


टिस्टा

नाच्दैछ तेरो बगरमा

भूपेन हाजारिकाको गङ्गा छायाँ।

कञ्चनजङ्गाकी छोरी तँ। टिस्टा।

बोल्दैनस् अचेल। चुपचाप छस्। ठिङ्ग उभेकी छस्।

टिस्टा, के हो यो तेरो गलामा –

भोको बजारको पञ्जा?

 

फूलमायाको फूलझैँ हाँसोमा

मनमायाको मनको एक कुनामा

उहिले उहिले

टिस्टा तँ बगिरहन्थिस्

धनबहादुरको जब्बरे बाहु भएर।

 

सबैले भन्थे नि टिस्टामा पानी होइन

बग्छ कञ्चनजङ्गाको गौरव।

 

जब जब तेरो छात्ती भएर ओहोरदोहोर गरेको थिएँ

तब तब गाएको थिइस्

प्रेमको मुन्धुम।

 

आज टिस्टामा बगेको छ

नूनको पानी।

 

कस्तो कस्तो देखिएका छन् अहिले

आँसु लुकाएर

हाँसिरहेका आँखा।

 

टिस्टा तेरो प्रवाहमा

पहाड़को इतिहासको रगताम्य छात्ती हुन्थ्यो।

समय निर्माणको हातको पसीना घोलिएको हुन्थ्यो।

तेरो पनि त यौटा जीवन थियो।

त्यसबेला पीड़ा मानौँ फूल थियो

र सपनाको यौटा झुला थियो।

आज ढाकिएको छ तेरो छात्ती

मानौँ आधा सुक्खा आधा भिजेको

विधवाको साड़ीको फेरले।

प्रकृतिको गोहोको ठीक उल्टा

हिँड़्न लगाइएको हो तँलाई।

जब सिक्रीले बाँधिएका हुन्

तेरा दौड़िरहेका पाउहरू

जब यौटा सानो पोखरीको घेरोमा

खुम्च्याइएको हो तँलाई

तब हिउँझैँ जमिन्छन् सपनाहरू

तेरै रित्तो बगरझैँ रित्तिन्छन् इच्छाहरू

र सारङ्गीझैँ बज्न थाल्छन्

एकाएक भोका पेटहरू।

 

उफ्, ऐले पनि निश्चल समयको छात्तीमा

बगिरहेकै त छस् टिस्टा

चुपचाप।

चुपचाप।

चुपचाप।


आदिवासी सीताको बयान

धर्तीकी छोरी म। चुपचाप धर्तीबाट निस्केको थिएँ।

तिमीलाई पनि जन्म दिन मेरो जन्मको खाँचो थियो।

म धर्तीको पहिलो सन्तान।

निःशब्द छु! अवाक छु!

निस्तेज छन् आँखा। विस्मातमा परेको छु।

निर्दोष निधारमा टीका कलङ्कको लिई

लज्जित छु शहरको भीड़माझ।

 

धोबी त निमित्त मात्र थियो।

के दुइ शरीर एक आत्मा होइनौँ र हामी?

प्रिय, मलाई नसोध

परित्यक्त जीवन कसरी धानिरहेको छु।

एक पलको अग्निपरीक्षामा

मभित्रको ‘म’ कसरी जलिरहेछु हुर्हुर्ती

ननिभ्ने तिरस्कृत ज्वाला बनेर!

थाहा छ मलाई तिम्रो मनको आँगन

पोल्दै होला आर्यधर्मको रापले।

के काफी थिएन र तिम्रो शङ्काको रोगलाई

मेरो विश्वासको मलम?

प्रिय, आज म घेरिएको छु प्रश्नहरूको भीड़ले।

किनारिएको आत्मसम्मानभन्दा

अफालिएको सत्यभन्दा

जोगाइएको पवित्रताभन्दा

महान् हो र

अग्लो छ र

इतिहासको कुनै हैकमी घुम्तीमा तिम्रो पुर्खाले खड़ा गरेको आर्यधर्म?

मेरा आँखा भरिएको छ भयङ्कर दृश्य र गहिरो पीड़ाले।

पिताको आज्ञा र पुत्रको खुनी अस्त्र

र जननीको आधा रेटिएको कण्ठ …

हे मेरा प्रिय

धर्मबद्ध क्रूरताको शैयामा अचेत रेणुकादेवीको

अन्तरमनमा, गहनतामा, चेतनामा

जिएकी छु यसघड़ी।

त्यो गहनता/ त्यो चुनौती/ त्यो दर्प

मेरो आत्मसम्मानभन्दा कम हो र?

 

मेरा आराध्य!

सन्देहको शूलले अहिल्यालाई पनि नघोचेको कहाँ थियो र?

अपमानको पीड़ाले शुपर्ण खाँ पनि नबिथोलिएको कहाँ थियो र?

उर्मिलाको पीड़ा/ अहिल्याको पीड़ा/ शुपर्ण खाँको पीड़ा/ रेणुकादेवीको पीड़ा

र मेरो पीड़ा कहाँ फरक छ र?

फरक यति नै छ –

हाम्रो बाटो अलग अलग छ।

प्रिय, पानीको फोकाजस्तै सतहको सुन्दरतामा भुलिरहेँ

कलङ्कित जीवन जिई निष्कलङ्क पुत्रद्वय दिई

रमिरहेँ प्रकृतिको कोखमा।

 

भयो अब, अझ कति दिउँ अग्निपरीक्षा?

अझ कति दिउँ घाउ मेरो आत्मालाई?

हे मेरा आराध्य, मलाई माफ गरिदेऊ।

अब मलाई के मतलब ‘पटरानी’ र ‘राजमाता’-को उपाधिसित।

जुन मलाई स्वीकार्य छैन मेरो आत्मसम्मानको सट्टा।

बरू सक्छौ भने सुनिदेऊ मेरो अन्तरमनलाई।

प्रिय, म जान्दछु, लव-कुश पनि आर्यपुत्र हुन्।

कति पो फरक पर्छ र अब ‘म’-मा?

 

अब शान्त छु/ निश्चिन्त छु/ स्थिर छु।

प्रिय, चुपचाप धर्तीबाट निस्केको थिएँ।

धर्तीकी छोरी म। फर्कँदैछु मेरी आमा धर्तीकै कोखमा।

म आदिवासी सीता।

 


» केरकार

विद्रोह आफैमा एउटा च्यालेन्जिङ ध्यान हो-दीपा राई

     सीमा आभास


कविहरूले सपना पूरा भएकाभन्दा अमुर्त पनि सपना पूरा हुन नपाएका सपनाका कुरा लेख्छन्। यसरी लेखिने कविताहरूलाई तपाईँ हाम्रो समाजले थाहा पाएको छ कि छैन?

-जब मान्छेलाई पीड़ा, अधुरोपन, अन्याय, अशान्तिजस्ता कुराले बिसन्चो बनाउँछ, त्यही बिसन्चोबाट जन्मिन्छ ‘जिउँदो सपना’।

सपना नदेखी पनि पूरा हुन्न त्यो त।

पूरा हुने सपनाहरूको धरातल पनि पहिला त अपुरो नै हुन्छ नि।

कविहरू चाहिँ हल्ला गर्छन् तर यस्ता सपना त उही आम पाठकको नै हो। कति सपना पूरा हुन्छन्, कति सपना सपनै रहने हुन्। यस्तै मझधारले कविलाई छोएर जान्छ अनि कविताको सृजना हुन्छ।

जहाँसम्म कविता र समाजको सम्बन्ध छ, अहिले यो नजिकैको सम्बन्ध हो जस्तो लाग्छ। वास्तवमा कविता कविको भन्दा पनि ‘समाजकै उपज’ हो । यसैले थाहा नपाएको भन्ने चैं होइन। र आजकल कविता पढ़िँदैन मात्रै। सुनिन्छ र देखिन्छ पनि। यसरी पाठकसम्म पुग्न सामाजिक सन्जालको महत्त्वपूर्ण भूमिका छ।

भर्खर मात्रै भारतमा नेपाली कवितामा एउटा युनिक प्रयोग देखा परेको छ। राजा पुनियानीको मल्टिमीडिया पोएट्री ‘भ्रमपाहाड’-ले धेरै आम मान्छेलाई छोएको छ। यसरी आम मान्छेले थाहा पाउनु भनेको हाम्रो समाजले थाहा पाउनु न हो।

 ‘बाङ्गो हुन्छ वर्तमानको ओठ’ कविहरू यस्ता अमुर्त चित्र आउने खालका बिम्बहरू खुबै प्रयोग गर्छन। यस्ता बिम्ब कसका लागि लेखिन्छन?

पाठकका लागि । लेखिने त पढ़्नेकै लागि हो। जहाँसम्म अमूर्त चित्र आउने खाले बिम्बको छ, कवितामा बिम्ब जन्मजात आउँछ। हो, केही कविले चाम्रो बिम्ब प्रयोग गर्छ भने केहीले सजिलो। तर बिम्ब बिनाको कविता भनेको सपाट गद्य हो। कवितामा बिम्बको प्रयोगलाई कविता विधाको विशेष चरित्र मानेको छ पूर्वीय र पश्चिमा शास्त्र समेतले। केही कविको बिम्ब उत्पातको दोष सबै कविमा लगाउनु अनुचित हो। राम्रो कविता राम्रो बिम्बले नै लेख्न सकिन्छ। र बिम्ब लेख्नु नै कविता हो, यसो पनि होइन। तर कवितामा बिम्ब अपरिहार्य हो।

कवि स्वयंका लागि या आम पाठकका लागि?

दुवैका लागि हो।

आम पाठकले कसरी बुझ्नु?

आम पाठकलाई कविताको बिम्बको स्तरसम्म उकास्ने खाले कविता लेख्नु कविको धर्म हो। यता भारतमा मनोज बोगटी, सुधा एम राई, पवित्रा लामा, सूरज रोसूरिहरू। उता नेपालमा स्वप्निल स्मृति, भूपिन, नवराज पराजुलीहरू। आम पाठक तानिने चुम्बकीय कविता लेखिरहेकै छन्। यी मानिला कविहरूले आ आफ्ना बान्की र शैलीका कविताबिम्ब चलाउँदै।

-बिम्बहरू कविताका अलङ्कार हुन्। यस्ता अमुर्त चित्रभित्र धेरै मूर्त कुराहरू अँटाएका हुन्छन्। यसैले कविता कविता भएको होला।

‘बाङ्गो हुन्छ वर्तमानको ओठ’। समाजको एक वर्गलाई करोड़ौँ रूपियाँको व्यापार-मुनाफा दिने मजदुरहरूको रेफेरेन्स छ यहाँ । चियापत्ती टिप्ने कमानेहरूको  हातको पटपटी फुटेका अम्लीहरूले मालिक वर्गप्रति गरेको व्यङ्ग्य हो (विश्वप्रसिद्ध चिया-दार्जीलिङ )यो बिम्ब। त्यसो त कवितालाई समग्रमा पढ्दा बुझिने कुरा नै हो। यसैले पार्टमा हेर्नु पनि सधैँ हुन्न।

अनि जहाँसम्म मलाई लाग्छ, यस्ता बिम्बहरूले पाठकको चेतनालाई झकझकाउँछ र के भन्न खोजेको होला भन्ने जिज्ञासाले घोरिनु बाध्य गराउँछ। यो एउटा सकारात्मक पक्ष अवश्यै हो। कारण पाठक समीक्षक पनि त हो। र सबैभन्दा ठूलो समीक्षक हो।

यस्ता बिम्ब सर्जक र पाठक दुवैको लागि लेखिन्छ।

आम पाठक समीक्षक पनि हो, अनि मलाई लाग्छ आम पाठक सधैँ आम रहँदैन। उनमा जब कविताप्रति चासो बढ्दै जान्छ, उनको बुझ्ने क्षमताको पनि विकास हुँदै जान्छ। त्यसैले उनले महशुस गरेका, अनुभुत  गरेका कुराहरू जब कवितामा पाउन थाल्छन्, अवश्यै कवितामा रमाउँछन्।

यो समयमा कविहरू खबरदारीका कविताहरूमा बढी केन्द्रित भए। कविताको धार व्यग्रता, असन्तुष्टि, अपुग, अविश्वास, विभेद जस्ता कुराहरूलाई चर्को रूपमा उठाइरहेका छन। ध्यानमा बस्ने या मन्त्र जस्ता कविता कहिले लेख्न सकिएला?

– कविहरूमा वातवरणको गहिरो असर पर्छ। आफ्नो वरिपरिका घटनाहरू, परिस्थिति, व्यग्रता, असन्तुष्टि, अपुग, अविश्वास, विभेद जस्ता कुराहरूले कवि पिरोलिन्छ र नै उनका आवाज कवितामा चर्को रूपमा आइरहेका छन्। यो कविको दायित्व हो। जसरी बिमार आमाको कन्सर्न राख्नु छोरी वा छोराको धरोधर्म हो। लेखक समाजको मानसपुत्री वा मानसपुत्र हो।

ध्यानमा बस्ने कविता लेखिने दिन तब आउला, जब हाम्रो समाजले जापान वा चीन वा अमेरिकाजस्तो  औद्योगीकरण र मान्छेको रोबटीकरण भोग्छ। मान्छेलाई जब भौतिक जीवनले अस्तव्यस्त पार्छ, उ प्रकृतिमा फिर्छ।

मन्त्र जस्ता कविता उहिल्यै पनि लेखिए। आज पनि लेखिएकै हुन्। हाम्रा बेलाका अब्बल कविहरूको कविता पढ़्दा मन्त्रै पढ़ेको त फील हुन्छ। नत्र आजको बजारकेन्द्रित समयमा अझ कविता किन उत्पादन र उपभोग पनि भइरहेका हुन्थे।

काया र माया एक आपसको परिपुरक हुन? मायाको समाप्ति सम्भव छ?

-अवश्यै। माया दर्शाउने माध्यम नै काया हो। कायाबिना मायाको सायद अर्थ हुन्न।

मायाको समाप्ति सम्भव छ। प्रकृतिको नियम नै हो – जुन चीजको जन्म हुन्छ, त्यसको मृत्यु अवश्यै हुन्छ।

मायाको आधार पनि काया नै हो। जबसम्म काया रहन्छ, तबसम्म मायाको अस्तित्व छ।

तर मायाको पनि कायामाथि गहिरो प्रभाव छ। दुवै एकार्कासँग जोड़िएका छन्। माया र कायामाझकै लड़ाइँ नै त जीवन हो। यसैले कविता भनेको पनि माया र कायामाझको घर्षणबाट जन्मने हो।

जीवनको शुरूवात आमाको काखबाट हुन्छ कि मायाको सागरबाट?

-दुवैबाट। आमाको काखमा आउनअघि आमाको कोखमा जीवनको सास चल्न थालेको हुन्छ। त्यो मायाको सागरबाट सम्भव भएको हुन्छ।

तर सचेतन मानसिक जीवनको शुरूआत त आमाको काखबाटै हुने हो।

रातो रङलाई विद्रोहको प्रतिक मानेर हिँडेको समय हो यो,  रातो रङलाई ध्यानको प्रतिक मान्ने समय आउँला कि नआउँला?

-कविको धर्म हो, समाजको सङ्कटहरूलाई उजागर गर्नु र समयसँग हिँड़्नु। समय र वातावरणमाथि निर्भर गर्छ – आखिर रातो रङ विद्रोह कि ध्यानमा आउला।

तर एउटा कुरा नोट गर्नुहोला। विद्रोह आफैमा एउटा च्यालेन्जिङ ध्यान हो। अर्कोतिर ध्यान पनि विद्रोहकै एउटा प्रतिरूप हो। किनभने ध्यान मानवीय चाञ्चल्यकर प्राकृतिक स्वभावप्रतिको शालीन विद्रोह नै हो।

भाषा सम्प्रेषण हो कि, मानवीय आवश्यकताको परिपूर्ती?

यो प्रश्न आफैमा स्वयम् उत्तरमुखी छ। सम्प्रेषण वास्तवमा मानवीय आवश्यकताको फाउन्डेसन कड़ी हो। सम्प्रेषण बिना कुन मानवीय आवश्यकता पूरा हो र? यो प्रश्न प्रश्न नै होइन।

र पनि उत्तर गर्नु नै परे, भाषा दुवै हो।

गैरमातृभाषीहरूका रचनामा भाषिक शिल्प कमजोर हुन्छ र?

हुने चान्स बढ़ी होला। किनभने मातृभाषामा अभिव्यक्तिको कुनै विकल्प छैन।

लेखकको लागि भाषाको भूगोल नजिक हुन्छ कि जमिनको भूगोल। साँध र सिमानाले वर्तमानमा अलग रहेको, साझा इतिहास बोकेर बगेको मौन त्यो टिस्टा चुपचाप नभएको पनि त हुनसक्छ?

अघि मलाई जुन प्रश्न तेर्साउनु भो, अहिले त्यै प्रश्न तेर्साउने स्पेस दिनुभयो यो प्रश्न गर्नुभएर। जमीनको भूगोल भनेको त बिम्बै भयो। साधारण लजिकमा यस्तो शब्दावली मिसगाइडिङ्ग हुने गर्छ। जमीनको भूगोल – सुन्दा काव्यिक लाग्यो। तर यो शब्दावली निक्कै कन्फ्युजिङ्ग र डाइरेक्शनलेस छ। कतै सवालकै लागि सवाल त जन्मिरहेका होइनन्?

तथापि, भाषाले मान्छेलाई जोड्छ। भूगोलले मान्छेलाई सीमान्तिकृत गर्छ।

टिस्टा चुपचाप नहुनु पनि सक्ने सम्भावना नकार्न सकिन्न। तर वर्तमानमा घरि घरि झुल्किरहेको जातीय मुक्तिको आन्दोलन घरि घरि अस्ताइरहेको छ। यस्तोमा टिस्टा मौन नै छ भौतिक रूपले। मानसिक रूपले त कसैको पनि मुटुको टिस्टा बोलिरहेकै छ। बोलेर कोही चुपचाप पनि छ फेरि। वा चुपचाप रहेरै पनि संसार खाने काम गरिरहेका होलान्।

 ‘नारीहरूले ‘म पनि मान्छे हुँ’ भनेर यो समाजलाई किन सुनाउनु परेको होला?

-आधा आकाश र आधा धर्तीको स्वामी भने पनि पुरूष प्रधान समाज भएकाले सुनाउनु परिरहेको हो। यो समाजमा नारीलाई मान्छे गनिने ‘अवसर’ पैदा गर्नु पर्ने हुन्छ। व्यवहारमा त उ कि यन्त्र हो कि वस्तु।

यसको ठोस जवाब सीमोन द बोउवारद्वारा लिखित ‘द सेकेन्ड सेक्स’ विश्व चर्चित फेमिनिस्ट कृति हो। जसमा “म पनि मान्छे हुँ”  भनेर किन सुनाउनु परेको होला, त्यसको लेखाजोखा छ। १९४९-मा त्यो किताब प्रकाशित भएदेखि यता – त्यहाँदेखि यहाँसम्मको यात्रा गरिसक्दा झण्डै ७ दशक बितिसकेको छ। र पनि नारीहरूले अझै पनि बेला बेलामा आवाज उठाउने आवश्यकताबोध भइरहेकै कुरालाई नकार्न सकिँदैन। कागजमा पृथ्वीको आधा आकाश र आधा धर्तीको ‘स्वामी’ स्त्री हुन् भन्ने प्र्याक्टिल रूपमा यो लागू छैन। समाज त पुरूषप्रधान नै छ। अनि महिलाहरूको  सोचमाथि बाल्यकालदेखि नै यी लिङ्गभेदहरू थोपर्ने काम हुन्छ।  यसरी उनीहरूको सोचमा मनोवैज्ञानिक असर परैकै हुन्छ।

विश्वमै नारीहरूका लेखन पुरूषहरूसँग प्रतिरक्षा गरेको भाषामा लेख्नुपर्ने बाध्यता के हो?

प्रति भनेपछि रक्षा पहिल्यैदेखि विद्यमान धारणा भयो। अर्थात्, पुरूष आफ्नो रक्षामा हुन्थ्यो। त्यो रक्षालाई टक्कर दिन प्रतिरक्षा चाहिएको हो कि?

‘पुरूषसँग रक्षा गरेको भाषामा’ भनेर सोधिने हो भने चैं के हो भने स्थिति नै त्यही छ। भाषा औजार हो, कर्पोरेट डनहरूको हातमा। आम जनताको पनि यन्त्र हो। विपरीत ताकतहरूले आफ्नो रिसोर्सकै फेबरमा रक्षा-कौशल अप्नाउने गर्छन्।

आगो, सीता, आदिवासी जस्ता क्लिसे शब्दहरू कति लेखिरहनु? यस्तो लेख्ने के बाध्यता छ?

आमा, जून, फूल जस्ता क्लिसे शब्द जबसम्म चल्लान्। प्रेम, म्वाइँ, घृणा जस्तो क्लिसे व्यवहार मान्छेले जबसम्म गर्ने हुन् तबसम्म यस्ता क्लिसे व्यवहारमाथि कविले कविता लेख्ने हो, गायकले गीत गाउने हो नि। युद्ध जबसम्म भइरहन्छ, तबसम्म बन्दुकलाई भर्त्सना कविता नलेखे कविहरू सबै व्यापारी भए हुन्छ।

अर्को कुरा – इतिहास बिनाको मान्छे हुँदैन। आगो, सीता, आदिवासी – यी सबै

क्लिसे शब्दहरू नै कविताका जरा हुन् । बाध्यतामा परेर लेखिने होइन कविता। यो त मनको स्वस्फूर्त आवाज हो।


 

» काव्यम् टिप्पणी

विद्रोहका इन्द्रेणी कविताहरू

    ज्योति जङ्गल


कविता मानवताको सार्वभौम अभिव्यक्ति हो जो समय र भूगोलको सीमाबाहिर हुन्छ। यसको आयामले संसारका मानवलाई समेटिदिन्छ। तर कवि त स्थानीय दृश्यबीचबाट शब्दहरू बटुलिरहेको हुन्छ। समाजबाट विषय खोतलिरहेको हुन्छ। कवि दीपा राईका यी ५ कविताभित्रमात्र पसेर यिनका काव्यिक प्रभावहरू उद्घाटन गरिरहेछु।

प्रत्यक्ष रूपमा भेट नभएकी तथा सिङ्गो कृति पढ्न नपाएकी यी कविको मात्र ५ कवितामा पस्नु छ मलाई। समग्र कवितामाथिको अन्तिम ध्वनिको लय कताकता नैराश्यपरक लाग्छन्। कताकता सम्झौतावादी लाग्छन्। यी कविता मूलधारबाट पर रहेका पात्रसँग घुमिहिँडेका छन्। नारीस्थानको उचाइ र अन्तरमनको आवाज सुनिदिन हार्दिक आग्रह गरेका छन्। कताकता यी कविताले कविकै परिवेश नजिक पुऱ्याएका छन्। त्यहाँको इतिहासको गौरव र वर्तमान स्थिरताको प्रश्नसँग साक्षातकार गराएका छन्।

हरियो सपना र टिस्टा स्थानीयचेत र विद्रोहका सुन्दर कविता हुन्। यहाँ इतिहास वर्तमान र भौतिक उपस्थितिको टीठलाग्दो भावसहित अस्तित्वको गहिरो संवेदना अभिव्यक्त भएका छन्।

शताब्दी भो

आँखाभरि रातो भरेर

खोजिहिँड़ेको

त्यही हरियो सपनालाई।

यो हरियोले पूर्वी भारतको दार्जीलिङ , कालेबुङ आदि क्षेत्रका चियाबारीले ढाकेका भूभागमा हराइरहेको सपनाको कुरालाई उठान गरेको छ। आँखामा रातो भरेर हरियो सपना खोज्नु कति मुश्किल? तर त्यो सपना फगत सपना पनि होइन परिश्रमको उपज पनि त हो।

त्यो बेचिएर सपनासम्म फर्किएर आएको छैन र यो प्रवृतिले मजदुरका पुस्तादरपुस्ता निलिसकेको छ। यो विद्रोहको आवाज पनि मसिनु हुँदै विश्व बजारमा हराएको छ। कसरी हराएको छ? उनी लेख्छिन्-

खुत्रुक्क

खस्छ

सपना

आँखाको

डिल /डिलबाट।

कवि टिस्टासँग आफूलाई समेत समाहित गरेर बोल्छिन् र म देख्छु, कवि र टिस्टा सँगसँगै बाल्यकाल हुर्काएका दुई मिल्ने साथीहरू हुन्। एउटी साथीले दुःख पाउँदा अर्कीले पनि त्यस्तै अनुहार लगाएर सोधेजस्तो।

किन रोएकी?  होइन।

ओइ ! तेरो आँखामा के भयो?- भनेजस्तो।

दुवै जो पीडा लुकाउने बाध्यतामा छन्। अथवा नदीलाई भूपिन हजारियाको गङ्गा किन बग्छौ? भावको गङ्गाछायाँको उपनाम दिएर किन बग्छेस् टिस्टा भन्नु जस्तोकि मान्छेलाई किन बाँच्छस् भन्नु?

कमजोर भएको महशुस गर्नु र चुपचाप चुपचाप बाँचेको घोषणा गर्नु रमाउन नसक्नु नै हो। यसरी हेर्दा कविको स्वर कमलो लाग्छ। भावुक लाग्छ।

कस्तो कस्तो देखिएका छन् अहिले

आँसु लुकाएर

हाँसिरहेका आँखा।

यी कवितामा काव्यिक बिम्ब भने कलात्मक रूपमा आएको छ। रातो र आदिवासी सीता चाँहि नारी वकालतका सुन्दर बिम्बात्मक कविता हुन्। रातो पढेपछि कविले विद्रोहलाई इन्दे्रणीजसरी सजाएर पनि व्यक्त गर्न सक्ने क्षमता राख्दो रहेछ जस्तो सम्झिएँ।

जुन दिन सिद्धिन्छ रातो

सिद्धिन्छ त्यै दिन यो काया

तुरिन्छ त्यै दिन यो माया

पहिलो अनुच्छेद अमुर्त छ। यो माया सिध्याउने रातो भनेको के होला? तर बिस्तारै कविताले उचाइ लिनथाल्छ। कसरी एउटी स्त्री आमा हुन्छे? कसरी सन्तान जन्माउँदाको पसिनासरीको मृत्युबाट उम्केर पुन जन्मिन्छे। जब सन्तानको पहिलो रूवाइको आदिम आवाज उसको मुटुको तहखाना छेड्न आइपुग्छ र बिसाएको मुटु ढुकढुक गर्न थाल्छ। ओहो कस्तो सौन्दर्य आमा हुँदाको अनुभूति र पुर्नजीवनको। आमा भएपछि त आमा सन्तान भएर बाँच्ने हुन्छे त्यो पुर्नजन्मको सङ्केत पनि। शारीरिक पीडा र आत्मिक परिवर्तनको सत्यकथा। र यो सम्पूर्ण कविताको गर्भ त्यो रातोको हेला र आरोपको बिन्दुबाट उठेको छ।

संसारकै सातो

आमाको रातोमाथि

यो आरोप कस्तो?

हो नि। यो सृष्टिको सौन्दर्य संसारको सातो। मातृत्वको अस्तित्व रातो रगतको प्रभावको भने कस्तो आरोप कस्तो अपहेलना? यो औंला समाजलाई देखाएर आफू नबद्लिने र आमाको रातोलाई घृणा गर्नेहरूलाई देखाएर उठेको छ।

आदिवासी सीतामा भने कविले सीतालाई दिएको नयाँ उपनाम आदिवासी उत्कृष्ट लाग्यो। हो त सीता त आदिवासी हुन्। आर्यधर्मप्रतिको प्रश्न र सँधै आफूलाई प्रमाणित गर्नुपर्ने, सँधै प्रश्नहरूको सङ्गतमा रहनुपर्ने त्यस युगकी सीता र अहिलेका आम आइमाइको जिन्दगी सँगसँगै चित्रित हुनु कविताको शक्ति हो।

जहाँ आराध्य भनेर जीवनसाथीलाई समाजले सम्बोधन गर्न लगाइरहेको छ। कवि पात्र भएर यथार्थ देखाउँछिन र अन्त्यमा सीतालाई धर्तीभित्र समाहित गरेर पुरानै प्रवृत्ति अहिले पनि हावी रहेको सादृश्य गर्छिन्। के अहिले पनि घरभित्र छेलिएका अनाम स्त्रीहरू माटोमुनि पसेजत्तिकै छैनन् र?

क्यानभास शब्द बादेक बोलेको चित्र जस्तो छ जो जन्मौजन्म बिनाशब्द पनि बोल्न सकिने उद्घोष गर्छ।

केही कविता छोटा र केही लामा कवितामा थोरै शब्दहरू सँच्याउन सकिने रहेको आभास गरेकी छु। कविले पुन विचार गरून्।

 

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares