You are here

क्याफिन एन्ड कपिज : यता लगानीकर्ता पनि छैनन्, दर्शक पनि छैनन्: अनमोल

कालेबुङ : 24 दिसम्बर 2017


एकपल्ट फिल्म निस्कन अघि नै स्क्रिप्ट भाइरल बन्यो। स्क्रिप्ट कागजमा होइन आवाजमा थियो। अ ख्रीष्टमस इन सेप्टेम्बर। फिल्म बनिएकै छैन, फिल्मको कथा भाइरल। वाट्सएपमा हजारौँले सुनेको त्यो भोइजक्लिप कथाबाट पछि ‘अनमोल क्षण’ फिल्म बनियो।

खासमा कागजमा स्क्रिप्ट लेख्न गाह्रो लाग्ने भएकैले मुखस्तै कथा रेकर्ड गरेर त्यसैलाई स्क्रिप्ट बनाउने काइदा खोज्ने ती युवक हुन् -अनमोल गुरूङ। जीवनकै पहिलो फिल्म त्यही हो अनमोलको।

तर अनमोलले धेरैवटा फिल्म, डोकुमेन्ट्री, म्युजिक भिडियोमा काम गरिसकेका छन्। यिनी पट्ठो युवा निर्देशकमात्र होइनन्, निर्माता, सङ्गीतकार, गायक, स्क्रिप्ट राइटर पनि हुन्। अनमोल के के हुन्? त्यसको फेहरिस्त लामो हुन्छ, तर अनमोल खासमा फिल्मलाई करियर बनाउन सपना देख्ने क्रिएटिभ कलाकार हुन्।

उनै अनमोललाई क्याफिन एन्ड कपिज-ले टक-शोमा उभ्याएको थियो। क्याफिन एन्ड कपिज-का निशा भरानिका, अभिषेक राई, विपल, अर्पणहरू अनमोललाई खोतल्न चाहन्थे।

‘मेरो त परिवारै पूर्णरूपले फिल्मजस्तो छ,’ अनमोलले कुरा खोले, ‘घरको सिन नै पुरै ड्रामाटिक लाग्छ। यद्धपि मेरो कल्पना गर्ने शक्ति भने सानैदेखि तिख्रिएको हो।’ अनमोल अम्बकको रूखमा चढ्थे अनि त्यहीँ बसेर कथा दुनियाँ कल्पना गर्थे।

अनमोललाई आफू के बन्छु भन्ने कुरा नै थाहा थिएन। घरि मामाको गिटार बोकेर सङ्गीतमा लिन बन्थे। आमा भन्थिन् रे, ‘सङ्गीतलाई चाँही हबी मात्र बनाउ है नानी।’ साँच्चै सङ्गीत अनमोलको हबी मात्र बन्यो। अनमोलले धेरै गीत कम्पोज गरेका छन्, प्रेमका। गिटार भेट्यो कि त्यही गुनगुनाउँछन्।

चहान्थे फिल्मबारे पढ्न तर पढे कमर्स।

बाबाले भने रे, ‘हुँदैन नानी, फिल्ममा त फिल्मकर्मीहरूको छोराछोरीको मात्र करिअर हुन्छ, हामीले यस्तो सपना नदेखे पनि हुन्छ।’

तर फिल्म पढ्न अनमोल मुम्बई गएरै छाडे र फिल्मलाई नै करिअर बनाएर छाडे। अहिले परिवारका कुनै पनि सदस्यको कुनै गुनासो छैन रे।

कलकत्तामा भाडाको घरमा अनमोल ल्यापटपमा दिनमा चारवटा फिल्म हेर्थे। फिल्म हेर्दा हेर्दै आफू फिल्मतिरै लहसिएछन्। अहिले पनि अनमोल ड्रीम थिएटर धाउँछन् फिल्म हेर्न। ड्रीम थिएटर धाउनुमात्र होइन, ड्रीम थिएटरबाटै कथा टिप्नु पनि दिनचर्या हो अनमोलको।

धेरैजस्तो ड्रीम थिएटरमा तीनजनाको दैनिकरूपले जम्काभेट हुँदोरहेछ। एक वृद्ध, एक भरिया अनि अर्को अनमोल। दुइजनाको फिल्मप्रेम देखेर अनमोललाई लाग्छ, आफ्नो वास्तविक कथा फिल्मले नै भन्दिन्छ, त्यसै कारण फिल्म साथी बन्छ। तीनैजना त्यही कारणले ड्रीम थिएटर पुगेका हुन्।

‘म उनीहरूबारे सानो फिल्म बनाउने योजनामा छु,’ अनमोलले थपे, ‘मलाई सानासाना घटनाहरूबारे फिल्म बनाउनु मनपर्छ।’

बन्दको बेला पिकेटर्सले स्कूटीमा ड्युटी गइरहेकी अस्पतालको एक नर्सलाई रोके। रोके मात्र होइन, ‘तिमीलाई गोर्खाल्याण्ड चाहिँदैन?’ भनेर पनि सोधे। नर्सले ‘चाहिन्छ’ भनेर टाउको हल्लाइन्।

अनि किन स्कूटी चलाको त बन्दमा?

यो अनमोलले 105 दिनको बन्दमा मोर्चा कार्यकर्ता पिकेटर्सहरूले नर्सलाई दिएको दुःखबारे घटनास्थलमा पुगेर खिचेको सानो भिडियो हो। आखिरमा नर्सले स्कुटी बाटोमा नै छोडिन् र रुँदै अस्पताल गइन्।

यस्ता सानासाना भिडियोकथा अनमोलले आन्दोलनभरि भने। विमल गुरूङको अन्तर्वार्ता गरे विमल गुरूङकै कञ्चनजङ्गा स्कूलमा। यसको ट्रेलर सोसल मिडियामा हालेको भोलिपल्ट पुलिसले स्कूल आफ्नो अधिनमा लियो।

‘सबै छुट्टै राज्य गोर्खाल्याण्ड हुनुपर्छ भन्ने भावुकताले ओतप्रोत थिए,’ भने अनमोलले, ‘म पनि थिएँ, तपाईँहरू सबै हुनुहुन्थ्यो। मलाई आन्दोलनबारे बाहिरका मानिसहरूलाई पनि बताउनु थियो, आन्दोलनका विचलनबारे आफ्नैहरूलाई पनि भन्नु थियो।’

त्यतिखेर अनमोललाई आफ्नै ढोल पिट्यो भन्ने आरोपहरू पनि लाग्यो तर अनमोललाई कुनै पनि नकरात्मक आलोचनाले विचलित बनाउँदैन रे।

‘घटना, चरित्र, दृश्य सबैका आ-आफ्नै आयाम हुन्छन्, त्यसैमा केन्द्रित रहेर मानिसहरूले आलोचना गर्ने हुन्,’ अनमोललाई लाग्छ, ‘आलोचनाले नै मानिसलाई तिखार्छ।’

अनमोललाई समाज अतिभावुकताले ग्रसित छ भन्ने लाग्छ। त्यसैको कारण हरेकपल्ट आन्दोलनहरू असफल भइरहेका हुन्। विकास पनि गर्दै अनि छुट्टै राज्यसम्म पुग्ने लामो रणनीतिसितै आन्दोलनको डिजाइन नभएसम्म राजनैतिक अस्थिरता यत्तिकै रहला भन्ने अनमोलको निचोड हो।

नेपालबाट त देखाउन लायक आजको समयका बलवान धेरै फिल्महरू छन्, भारतीय नेपाली सिनेमा चाँही?

अनमोलसित जवाब रहेछ, ‘दर्पण छाँया।’ दर्पण छाँया-2 चाँही होइन। प्राविधिकरूपले, कथा भन्ने शैलीको हिसाबले, उत्पादनको हिसाबले, खिचाईको हिसाबले आजका फिल्महरू निर्माणका पारम्परिक फर्मुलाबाट बनेका पुराना फिल्महरूभन्दा धेरै अघि छ। तर भारतीय नेपाली फिल्महरूमा भने तुलसी घिमिरेकै दर्पण छाँया मात्र देखाउन लायक फिल्म रहेको ठान्छन् अनमोल।

खासमा अनमोलले एउटा प्रश्नका दुइवटा जवाब दिइरहेका हुन्। किन भने देखाउन लायक फिल्म नै यताबाट बनेका छैनन्।

किन नबनेको त?

अनमोल भन्छन्, ‘यता लगानीकर्ता पनि छैनन्, दर्शक पनि छैनन्।’

अनि यस्तो सुक्खा क्षेत्रलाई करिअर बनाउन किन आएको त?

अनमोल भन्छन्, ‘लगानीकर्ता पनि छैनन्, दर्शक पनि छैनन्, त्यसकारण त आएको त। यी सबै बनाउने जिम्मा हाम्रो होइन त?’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares