गुजरात चुनाउ : हाराहारीको लडाईँ

     विश्लेषण

   बबिता मादेन


भारत विश्वको सबै भन्दा ठूलो लोकतन्त्र, यहाँ हुने प्रत्येक चुनावी गतिविधि र यसको नतिजाले अन्य राष्ट्रहरूको अर्थव्यवस्थामाथि पनि व्यापक प्रभाव पार्ने हुनाले भारतको चुनावी वातावरणले दुनियाको ध्यान आकर्षक गर्ने गर्दछ।

अनन्त, लगातार छैटौं पटक चुनाव जितेर भारतीय जनता पार्टीले गुजरातमा फेरि सत्ता कायम राख्न सफल भयो। गुजरात चुनाव भाजपाको निम्ति केवल हार-जितसम्म मात्र सिमित थिएन, यो लडाईँ थियो मान, सम्मान र स्वाभिमानको पनि। स्वंम प्रधानमन्त्री मोदी, पार्टी अध्यक्ष अमीत शाह र अन्य दिग्गज नेताहरूको घरेलु राजनैतिक मैदान र यो मात्र होइन धेरै लामो समयदेखि सत्ताको गढ रहेको, यसैले पनि भाजपाको निम्ति आन, बान र शानको प्रश्न थियो।

हार्दिक पटेलको नेतृत्वमा आरक्षणको लडाईँ एकातिर, त्यहीँ केही स्थानीय समुदाय विशाल हिन्दुत्व परिवारबाट छुट्टिएर आफ्नै परिचय र अस्तित्व खोज्न सघर्षशील थिए। यो मात्र होइन नोटबन्दीको नकारात्मक असरबाट राहत नपाइ जिएसटीको बोझ थपिएकोले उद्योगपति र व्यापरीवर्गको अलग्गै गुनासो थियो। यही कारण पनि यहाँ भोट बाँडिन सक्ने प्रसस्त सम्भावनाका कारण गुजरात चुनाउ धेरै अघि बाटै चर्चाको केन्द्र बिन्दु बनेको थियो।

क्षेत्रीय असन्तुष्टिहरूलाई हतियार बनाइ राहुल गान्धी विद्रोही नेताहरूसँग मोर्चा बनाएर मैदानमा उत्रिए। यहाँ कङ्ग्रेसले हिन्दुवादी राजनीतिलाई पनि खुलेर प्रदर्शन गरे। केही हदसम्म जातिवादी राजनीति पनि खेले तर वर्तमान भारतीय राजनैतिक दलहरू जातिवादी राजनैतिक हिलोदेखि बेदाग छैनन्, यसैले यो मुद्दालाई त्यति गम्भीरतासँग हेर्न सकिँदैन। राहुलले विशेष गरेर ग्रामीण स्तरमा दह्रिलो पकड बनाए। तिनको यो राजनैतिक सुझबुझको कारण कङ्ग्रेस केही हदसम्म सफल पनि बन्यो। विगत वर्षहरूको रिकर्डलाई हेर्नू हो भने यसपल्ट कङ्ग्रेस फाइदा मै रहेको छ।

चुनाव हारेता पनि बीस आसन धेर जिते। भाजपाको गढबाट अतिरिक्त बीस आसन जित्नु भनेको कङ्ग्रेसको निम्ति यो सानो तिनो जितबाट पनि निकै ठूलो आत्माविश्वास हासिल गर्नु हो।

यसपटक गुजरातमा नोटामा भोट हाल्नेहरूको पनि ठुलै संख्या देखियो। यसैले कङ्ग्रेसले जुन सक्रियता अन्तिम समयमा देखायो, यदि केही अघिबाटै जनतामा जागरूक फैलाउन सकेको भए परिणाममा फरक पर्ने थिएन भन्न सकिँदैन।  एक प्रकारले हेर्नू हो भने कङ्ग्रेसलाई जितको नजिक पुगेर पनि खाली हात फर्किनु पऱ्यो। सोह्रवटा आसनमा केवल तीन हजार भन्दा कम्ती भोटले भाजपा प्रतिनिधि बिजयी छन्, त्यहीँ चार भन्दा ज्यादा आसनमा केवल दुई सयदेखि चार सय भोटको अन्तर छ  र यो अन्तरलाई हेर्नू हो भने चुनावी घमासान हाराहारी कै थियो।

यदि आखिरी समयमा कङ्ग्रेसका नेताहरूद्वारा मुर्खतापूर्ण विवादित बयान नआएका भए नतिजा जे पनि हुन सक्थ्यो।

मनिशङ्कर ऐयरको  ‘निच’ वाला बयान र कपिल सिम्बलको वंशवाद माथिको टिप्पणीको कारण कङ्ग्रेसले ठूलै घाटा उठाउनु पऱ्यो। दुश्मनका कमजोरीलाई आफ्नो ताकतको रूपमा प्रयोग गर्न खप्पिस राजनैतिक खेलाडी मोदीले यसको सक्दो फाइदा उठाए। कुटनैतिक चालमा महारथ हासिल गरेका प्रधानमन्त्री मोदीले गुजरातमा कङ्ग्रेसका स्टार क्याम्पेनर काश्मिर निवासी सलमान निजामीको सोसल मिडियामाथिको टिप्पणीलाई विपक्षी विरूद्ध प्रयोग गरेर जनताको सहानुभूति बटुले।

राष्ट्रवादी भावना भारतीय जनताको नशामा दौडन्छ भन्ने कुरालाई राम्रो बुझेका मोदीले चुनावी मैदानमा पाकिस्तानसम्मलाई घिसारेर ल्याए। गुजरातका जनतासँग मोदीको वर्षौं पुरानो सम्बन्ध रहिआएको छ। गुनासोले फाटेको मनमा भावपूर्ण भाषणको मलम लगाइदिएपछि जनताको मन नफर्किने कुरै थिएन।

राहुल गान्धीको नेतृत्वमा कङ्ग्रेसले भाजपालाई कडा टक्कर दिन त सफल भयो तर जति नै अन्तरले हारेता पनि हार भन्ने हार नै हुन्छ। यता गुजरात हासिल गर्न सकेन उता हिमाचल पनि हातबाट फुत्किनाले अब कङ्ग्रेसको अधिपत्य केवल छवटा राज्यमा सिमित भएको छ। त्यहीँ भाजपाले गुजरातमा आफ्नो सत्ता बँचाइराख्न सफल भयो त्यहीँ हिमाचल पनि कङ्ग्रेसदेखि खोसेर अझ एउटा नयाँ राज्यमा कमल फूल फुलाउन सक्षम भए।

भाजपाको विजय अभियानकपछि मोदी नै महत्त्वपूर्ण फ्याक्टर भएता पनि पार्टीको सदस्यहरूमा समझदारीपुर्वक सङ्गठित क्रियाकलापलाई पनि नजरअन्दाज गर्न सकिँदैन। मोदीको अनुशासन र परिश्रमलाई अन्य सदस्यहरूद्वारा पनि अनुशरण गरेकै कारण आज भाजपा ऐतिहासिक पार्टी बन्न पुगेको छ।

आज पार्टीले स्वंमलाई त्यो स्थानमा पुऱ्याएको छ जहाँ कुनै पनि विपक्षी एक्लै भाजपा अघि उभिन हिम्मत जुटाउनु सक्दैन तर अहिलेसम्म गठबन्धनको पनि दाल गल्न सकेको छैन। युपिमा राहुल अखिलेशको संयुक्त गठबन्धनले चित खानु परेको थियो त्यहीँ बिहारमा लालुको नेतृत्वमा भाजपा विरूद्धको महागठबन्धनलाई मोदी र अमित शाहको म्याजिकल जोडीले दुई वर्ष नपुग्दै छिन्नभिन्न पारिदिएको थियो।

भारतीय जनता पार्टीभित्र आज अनुभवले पोख्त नेताहरूको लश्कर लागेको छ। तर कङ्ग्रेसका कतिपय अनुभवी नेताहरू राजनीतिदेखि सन्यास लिइसकेका छन्। या त मैदानदेखि बाहिरै बसेर नेतृत्व दिइरहेका छन्। यो अलग कुरा हो कि आज कङ्ग्रेसको अवस्था सोचनीय छ र सम्भवत सबै भन्दा मुस्किल समयसँग सङ्घर्ष गर्दैछ।

तर कहीँ न कहीँ भर्खरै पार्टी अध्यक्षको पद सम्हालेका राहुलको नेतृत्वमा एकपटक फेरि पोजिसनमा फर्किआउने पार्टीभित्र आशा जागेको छ। यो प्रथमपल्ट थियो जो सम्पूर्ण चुनावको दायित्व राहुलले आफ्नो काँधमाथि उठाएका थिए।

जसमा धेरै हदसम्म आफ्नो राजनैतिक परिपक्वताको परिचय पनि दिए। दक्ष राजनैतिक कारिगरीको डिग्री कुनै युनिभर्सिटीबाट प्राप्त गर्न सकिँदैन। यो डिएनएमा हुनु पर्छ। कि त आफ्नो अनुभवले कमाउनु पर्छ र प्रथमपल्ट राहुल गान्धीमा यी दुवैको सङ्गम देखियो। चुनाव हारेता पनि आफ्ना पूर्वजहरू झैँ राजनीतिज्ञ हुनसक्ने योग्यता छ भन्ने अवगत गराए र सबै भन्दा ठूलो कुरो, विपक्षीलाई अहिलेसम्म तिनको बारेमा भनिने ‘राजनैतिक बालक’-को धारणामा भने परिवर्तन ल्याउन बाध्य तुल्याए।

भारत एउटा बुजुर्ग विचारधाराले प्रभावित युवा शक्तिहरूको देश हो। समयनुसार यहाँको जनता परिवर्तनको पक्षमा उभिएको छ। जति नै योग्य शासक किन नहोस्, जब लामो समयसम्म एउटै शासन रहन्छ तब सत्ताको हैकमवाद, राजनैतिक गुन्डागर्दी र भ्रष्टाचारको किटाणु त्यहीँबाट अङ्कुरित हुन थाल्छ। यस्तो स्थितिमा यदि कुनै विपक्षी नेतृत्वले आफैलाई सत्तामा टक्कर दिने तयारी पार्दैछ भने त्यो जनहितको पक्षमा रहेको स्विकार्नु पर्दछ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares