असमका प्रतिष्ठित कवि भविलाल लामिछानेलाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार

 

बाग्राकोट, 25 दिसम्बरः नेपाली साहित्यका अथक साधक तथा कवि भविलाल लामिछानेलाई बद्रीनारायण प्रधान स्मृति पुरस्कारद्वारा अलङकृत गरिने भएको छ। बद्रीनारायण प्रधान स्मृति पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालको अध्यक्षतामा आज बाग्राकोट, डुवर्समा बसेको बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानको बैठकमा पुरस्कारका लागि कवि लामिछानेको नामलाई सर्वसम्मतिले मोहर लगाएको हो। भारतीय नेपाली संसारमा एउटा दर्बिलो संस्थानको रूपमा स्थापित भइसकेको बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले ‘सातौं बद्रीनारायण प्रधान स्मृति पुरस्कार’ असम निवासी कवि (हाल सिलगढ़ी) भविलाल लामिछानेलाई अर्पण गरिने निर्णय लिएको प्रतिष्ठानका मूलसचिव रूपेश शर्माले जानकारी गराएका छन्। आगामी 21 जनवरी, 2018 का दिन पश्चिम डुवर्सको बाग्राकोटमा आयोजन गरिने 91 औं बद्रीनारायण प्रधान जन्मजयन्ती तथा ‘सातौं बद्रीनारायण प्रधान स्मृति पुरस्कार’ अलङ्करण समारोहमा कवि लामिछानेलाई पुरस्कारद्वारा अलङ्कृत गरिनेछ।

उल्लेखनीय छ, भारतीय नेपाली साहित्यकै प्रतिभावान साहित्यकार बद्रीनारायण प्रधानको 2010 मा निधन भएपछि डुवर्सका सचेत युवा साहित्यकार तथा बुद्धिजीवीहरूको पहलमा उनको निधनको केही महिनापछि नै ‘बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान’ गठन गरिएको थियो। प्रतिष्ठानले 2012 देखि बद्रीनारायण प्रधानको स्मृतिमा प्रत्येक वर्ष नेपाली साहित्यका वरिष्ठ साधकलाई यो पुरस्कार अर्पण गर्दै आएको छ। यसअघि, भारतीय नेपाली साहित्यका छः जना विशिष्ट साहित्यकार यस पुरस्कारद्वारा अलङ्कृत भइसकेका छन्।

कवि लामिछाने लगभग पाँच दशकदेखि नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आएका प्रतिभाशाली असमेली कवि हुन्। सन् 1950 मा असमको डिगबोईमा जन्मिएका लामिछानेको पहिलो कविता ‘वसन्तको शुभागमनमा’ 1972 मा प्रकाशित भएको थियो। त्यसपछि यता उनका धेरै कृति प्रकाशित भएका छन्। लामिछानेका‘अनागत’ (1983), ‘शब्द हुन् यी मेरा’ (1996), ‘हाशिए के पल’ (हिन्दी, 1989), ‘असमाप्त पाइलाहरू’ (2001), ‘एउटा घर यस्तो’ (2006) कविता संग्रह; ‘शीर्षकहीन’ (2003) मुक्तक संग्रह; ‘बादलपारिको देश’ (2006) शिशु कविता संग्रह; ‘लामिछानेका दुइटा नज्म’ 2007) गजल संग्रह र ‘गजल’ (2011) ‘सागर वारि सागर पारि’ (2011) कविता संग्रह; ‘कसका लागि?’ (2000) कथा संग्रह; ‘चरिको चिरबीर भुराको किरकिर’ (2016) बाल कविता संग्रह; ‘आकण्ठ स्वर’ (2016) कविता संग्रह जस्ता कृतिहरू प्रकाशित छन्।

लामिछानेका विद्यार्थीकालका कथाहरूलाई साहित्यकार राजेन्द्र ढकालले सम्पादन गरेका छन्, जसको नाम ‘भविका शैशवकालीन कथाहरू’ (2015) नाम दिइएको छ।‘पूर्वाञ्चलीय नेपाली नाटक’ (2015), ‘हरिभक्त कटुवाल स्मृति ग्रन्थ’ (1981), ‘समकालीन नेपाली साहित्य’ (1994), ‘संस्कृति’ (2005) लगायत आठवटा भन्दा बढ़ी स्तरीय पत्रिका तथा विशेषांकहरूको पनि उनले सम्पादन गरिसकेका छन्। असमको डिगबोईमा लामो समयसम्म शिक्षण पेशामा संलग्न रही सेवानिवृत्त भएका लामिछाने केही वर्षयता सिलगढ़ीनजिक सालबारीमा बस्दै आएका छन्।

सर्वसम्मतिले पुरस्कारमा लामिछानेको नाम अनुमोदित भएपछि पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालले हर्ष प्रकट गर्दै भने, ‘’असमेली कवितामा हामीले हरिभक्त कटुवालपछि कसैको नाम लिनुपर्छ भने उनी भविलाल लामिछाने हुन्। मूलतः कवि लामिछानेले भारतीय नेपाली कविता विधालाई नै समृद्ध बनाएका छन्।‘’प्रतिष्ठानका अध्यक्ष सुखमन मोक्तानले पनि एक प्रतिभाशाली कविलाई पुरस्कार समर्पण गर्न पाउने अवसरबाट प्रतिष्ठान गौरवान्वित भएको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares