You are here

टाइगर जिन्दा है-मा भारत- पाकिस्तानको दुश्मनीलाई ‘न्युट्रलाइज’ गर्ने सन्देस

फिल्म

ईश्वर अर्याल, लोकान्तर-बाट


मध्यपूर्व, कतिपय उत्तरी अफ्रिकी देशहरू र स्वाभाविक रूपमा साउथ एसियन देशहरूमा एकछत्र राज गर्ने बलिउड फिल्मका ‘खान’ हिरोहरूको फिल्ममा आजकल राष्ट्रिय स्वार्थसहित अन्तराष्ट्रिय समन्वय र भाईचारा पनि प्रदर्शन गरिएको पाईन्छ।

सन् १९९९ को भारत पाकिस्तानबीचको पछिल्लो रक्तपातपूर्ण लडाइँ पछि भारत र पाकिस्तानको दुश्मनी राजनीतिक तहमा मात्र सिमित भएन। समग्र भारतीय फिल्म उद्योग भारतको राष्ट्रिय स्वार्थमा समर्पित रह्यो।
गदर, बोर्डर, दिवार जस्ता फिल्महरूमा भारतको स्वाभिमानलाई उँचो देखाउँदै पाकिस्तान प्रति एकप्रकारको दबाब सृजना गर्न खोजिएको कुरा प्रष्ट देखिन्थ्यो।

तर सलमान खानका पछिल्ला फिल्महरूको ट्रेन्ड अलिकति परिवर्तन भए जस्तो देखिन्छ।
‘बजरङ्गी भाईजान’-मा एक निर्दोष भारतीयले पाकिस्तानबाट आउँदा बाटो बिराएर अलपत्र परेकी एक बालिकालाई उद्दार गरेर पाकिस्तान लगेर छोडेको कहानी छ भने करिब छ महिना अघि रिलिज भएको ‘ट्युबलाइट’ भन्ने फिल्म ‘हिन्दी चिनी भाइ भाइ’ भन्ने नारामा आधारित छ। १९६२ सालको भारत चीन लडाईलाई आधार मानेर बनाईएको सो फिल्ममा चीनसँग सौहार्दपूर्ण सम्बन्ध राखेर अघि बढ्नुपर्ने सन्देश दिइएको थियो।

शुक्रबारबाट प्रदर्शनमा आएको सलमान खानको ‘टाइगर जिन्दा है’  फिल्म इराकमा बन्धक बनाईएका भारतीय र पाकिस्तानी नर्सहरूलाई पाकिस्तानी जासूस एजेन्सी ‘आइएसआई’ र भारतीय जासूस एजेन्सी ‘र’ मिलेर बन्धक बनाउने आतङ्ककारीहरूबाट छुटाएर ल्याईएको कथामा आधारित छ।

भारतीय जासूसी एजेन्सीमा काम गर्ने टाइगर (सलमान खान)  र पाकिस्तानी जासूसी एजेन्सीकी जोया (कैटरिना कैफ) को दमदार अभिनय रहेको यो फिल्मले व्यावसायिक रूपमा जति सफलता प्राप्त गर्नेछ, त्यो भन्दा धेरै भारत र पाकिस्तानका नागरिकहरूबीच बढेको दुश्मनीलाई ‘न्युट्रलाइज’ गर्ने दिशामा पनि सफलता प्राप्त गर्ने छ।

फिल्ममार्फत बिश्वसमुदायलाई भारत र पाकिस्तानबीच सतहमा देखिएको जस्तो लडाई नभएको र आवश्यक परे एकसाथ मिलेर आतङ्कवादसँग लड्न सकिन्छ भनेर देखाउनको लागी निर्देशक र कलाकारहरूले भरपुर मेहेनेत गरेका छन्।

विशेष गरेर मोदीको उदयपछी भारतमा एक नजानिँदो प्रकारको ‘अन्धराष्ट्रवाद’ले टाउको उठाएको छ। भाजपा र आरएसएसको सौहार्दपूर्ण सम्बन्धले भारतको मुस्लिम समुदायलाई सशङ्कित तुल्याएको छ। यो क्रममा कतिपय मुस्लिम लेखक, कलाकारहरूले मोदीलाई अनुदारवादी बताउँदै राष्ट्रिय पुरस्कारहरू बहिष्कार गरेका थिए। आमिर खानले त एक कार्यक्रममा आफूलाई ‘देश छोड्ने विचार’ पलाएको भनेर भारतीय संस्थापन पक्षको अनुदारवादी नीतिको पर्दाफास गरे। यो बिषयलाई लिएर भारतमा अहिले पनि धेरै बहस र छलफल हुन्छ।

तर भारतीय संस्थापन पक्षले पाकिस्तानलाई आतङ्ककारीको देश भनेर प्रमाणित गर्न कम्मर कसेर लागेको बेलामा बलिउडले भाईचाराको सन्देश दिएर त्यसलाई कम गर्न खोजेको हो? निसन्देह हो भन्न सकिन्छ। राजनीतिक तहमा भईरहेको दुश्मनी आम नागरिकको तहमा फैलिने क्रम जारी छ। पाकिस्तानी नागरिकहरूलाई भारत दुश्मन हो र भारतीय नागरिकहरूलाई पनि पाकिस्तान आफ्नो जन्मजात दुश्मन हो भन्ने भ्रम परिरहेको बेलामा ‘टाइगर जिन्दा है’ फिल्मले आम रूपमा त्यसलाई चिर्न खोजेको जस्तो देखिन्छ।

केहि महिना अघि पाकिस्तानबाट बलुचिस्तान प्रान्तलाई छुट्याएर छुट्टै देश बनाउन चाहेको कुरा भारतीय प्रधानमन्त्री मोदीले सार्वजनिक गरेका थिए। यी र यस्तै भारतीय रवैयाको कारणले गर्दा पाकिस्तानले चीनसँगको आर्थिक सम्बन्धलाई मजबुत गराउने र हालसालै मात्र व्यापारिक प्रयोजनको लागी डलरमा नभई युआनमा कारोबार गर्न सकिने कुरा सतहमा आएपछि भारत मात्र होइन, अमेरिका पनि पाकिस्तानबाट झस्किएको छ। पाकिस्तानले चीनसँगको आर्थिक सम्बन्ध मजबुत गराउनु भनेको दक्षिण एसियामा भारतको प्रभाव कम हुँदै जानु हो। यो कुरा भारतले बुझेको छ।

समग्र पाकिस्तानमा जति मुस्लिम जनसंख्या छ, भारतमा त्यसको दोब्बर छ।

भारतमा भएको अथाह श्रमशक्ती र प्राकृतिक संसाधनहरूले आगामी बीस बर्षमा भारतलाई संसारको ठूलो अर्थतन्त्र भएको देशको रूपमा चिनाउने छ। तर, भारतको आफ्नै हेपाहा रवैयाको कारणले टाढिँदै गएको पाकिस्तान, नेपाल, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्स जस्ता देशहरू र तिनका नागरिकहरू बीच भारतप्रति परेको नकारात्मक प्रभावलाई हटाउनका लागि भारतीय फिल्म उद्योगले समेत भाइचारको फिल्म निर्माणलाई बढावा दिएको छ।
एक्काईसौं शताब्दीमा हतियारको ब्यापार गरेर भन्दा खाद्यान्न र दैनिक जीवनसँग सम्बन्धित उपभोग्य बस्तुहरूको व्यापारले पनि देशलाई ठुलो अर्थतन्त्र दिन सकिन्छ भन्ने कुरा चीनले संसारलाई सिकाएको छ।

फिल्ममा एउटा डाइलग छ, ‘जति मात्रामा भारत र पाकिस्तानले एक अर्का बिरूद्धमा लड्नको लागी हतियारमा पैसा खर्च गर्छन्, त्यती पैसाले सडक, बिद्यालय लगायत पूर्वाधारको बिकास गर्ने हो भने संसारको कुनै पनि नागरिकको जीवनस्तर भन्दा भारत पाकिस्तानका नागरिकको कम हुन्थेन।’ यसले के देखाउँछ त भन्दा धम्कीको भरमा पाकिस्तानको राजनीतिक र सैन्य क्षेत्रलाई दबाब दिने तर कलाको माध्यमबाट पाकिस्तानी नागरिकको मन जित्ने खालको दोहोरो रणनीति भारतले अख्तियार गर्न खोजेको छ।

निश्चय पनि दुई देशबीच काल्पनिक रूपमा खिचिएको सीमा रेखाकै कारणले गर्दा नागरिकहरूमा बैमनस्यता बढ्नु राम्रो कुरा होइन। तर धम्की, गोलीबारी, आक्रमण जस्ता अमानवीय हर्कतमा आधारित राजनीतिको पक्षपोषण गर्नेहरूको हातमा सत्ता र शक्ती भएपछि नागरिकहरू शिकार बन्छन नै।

फिल्ममा हतियारको ब्यापार गरेर अकूत सम्पति कमाउन खोज्ने तत्वहरूले संसारभर लडाई झैंझगडा फैलाउन उद्दत रहेको कुरा बताईएको छ।

अप्रत्यक्ष रूपमा अमेरिकालाई पनि दोष दिन खोजिएको छ। आम पाकिस्तानी नागरिकले अमेरिकाको हर्कतको पनि बिरोध गर्छ भन्ने कुरालाई कलात्मक रूपमा प्रस्तुत गरेर भावनात्मक सहकार्यलाई जोड दिएको जस्तो देखिन्छ। हुन त निर्माताले यो फिल्मले पाकिस्तानमा पनि उत्तिकै ब्यापार गरोस् भन्ने चाहेर कुनै बिबादास्पद कुरा नराखेको पनि हुन सक्छ।

समग्ररूपमा एक आपसमा भाईचाराको बढोत्तरी गरेर अघि बढ्नुपर्ने सन्देश दिएको फिल्म ‘टाइगर जिन्दा है’ को स्पिरिट अनुसार भारतीय र पाकिस्तानी संस्थापन पक्षहरू चल्न चाहिँ चाँहदैनन् । यदि साँच्चै त्यस्तो हुन्थ्यो भने दक्षिण एसिया नयाँ युद्धभुमि हुने दिशातर्फ अघि बढ्दैनथ्यो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares