You are here

नामप्रिकदाङको जनजाति मेला चम्किँदैछ

मगन, 29 दिसम्बर (आईपीआर उत्तर)।  जङ्गु क्षेत्रको नामप्रिकदाङ खेल मैदानमा आयोजित पाँच दिवसीय जनजाति उत्सव एवं नामसुङ 2017-को चौथो दिनको कार्यक्रममा सिक्किम सरकारका शहरी विकास एवं आवास विभाग मन्त्री नरेन्द्र कुमार सुब्बा मुख्य अतिथि रहेका थिए। यस अवसरमा उनीसित सिक्किम विधानसभा उपाध्यक्ष सोनाम ग्याछो लेप्चा, परिवहन विभागका अध्यक्ष पिञ्चो नामग्याल लेप्चा, जनजाति अनुसन्धान संस्थानका निर्देशक केएल लेप्चा, उत्तरकी पूर्व जिल्ला अध्यक्ष, सामाजिक न्याय, सशक्तिकरण एवं कल्याण विभाग सचिव एवं अन्यको उपस्थिति थियो।

समारोहमा भोटिया साहित्यको क्षेत्रमा जनजातिबाट सफलता प्राप्त गर्ने पेमा रिञ्जिङ भोटियालाई जनजाति अनुसन्धान संस्थानले अभिनन्दन जनायो भने विगत 25 वर्षदेखि नामप्रिकदाङ खेल मैदानमा आयोजन भइरहेको नामसुङ उत्सवमा लगातार उपस्थित रहँदै आएका कर्मा सामतेन भोटियालाई सामसुङ आयोजक समितिले प्रसंसा पत्र प्रदान गरेर सम्मान जनायो।

राज्यका लेप्चा, भोटिया, लिम्बू, तामाङ, शेर्पा आदि जनजातिको हराउँदै गरेको संस्कृति, परम्परा, खानपान, रहनसहन, वेश-भूषा, हात-हतियार आदि वर्तमान समाज अघि ल्याउनु पर्छ अनि सबैमा परिचित गराउनुपर्छ भन्ने उद्देश्यका साथ उत्सवको आयोजना जनजाति अनुसन्धान संस्थान एवं सामाजिक न्याय,सशक्तिकरण एवं कल्याण विभाग, सिक्किम सरकारले नामप्रिकदाङ नामसुङ आयोजक समितिसितको संयुक्त तत्वावधानमा गरेको हो। भारत सरकारको जनजाति मन्त्रालयले प्रायोजन गरेको उत्सवमा विभिन्न सांस्कृतिक नृत्य, संगित, खेल, पारम्परिक संगित एवं फोटो प्रदर्शनी आदि कार्यक्रमहरू रहेका थिए। जनजाति उत्सवको अवसरमा लेप्चा, भोटिया, शेर्पा, सुब्बा, तामाङ आदि समुदायका मानिसहरूले आ-आफ्नो वेश-भुषा, खानपान, हात-हतियार लगायत अन्य विभिन्नको प्रदर्शनी गरेका थिए। यस अतिरिक्त विभिन्न विभाग लगायत अन्यको पनि स्टर रहेको थियो।

जनजाति अनुसन्धान संस्थानका निर्देशक केएल लेप्चाले सिक्किम राज्यका जनजातिको संक्षिप्त इतिहास बताए। उनले जनजातिका निम्ति रहेका राज्य अनि केन्द्र सरकारका विभिन्न कार्यक्रम एवं योजनाको बारेमा अवगत गराए। उनले भने, जनजाति भित्र पर्ने सबै समुदायको विकासको निम्ति राज्य अनि केन्द्र सरकारले लाभदायक योजनाहरू तयार पारेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री नरेन्द्र कुमार सुब्बाले राज्य सरकारद्वारा बाहिरबाट ल्याउने साग-सब्जीमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको अवगत गराए। उनले भने, जनताको स्वास्थ्यमा कमि नहोस अनि राज्यको आर्थिक अवस्थामा अझ सुधार आओस भन्ने उद्देश्यका साथ सरकारले आगामी वर्ष 2018-को अप्रेल महिनादेखि राज्य बाहिरबाट आउने साग-सब्जी लगायत फल-फूल ल्याउनमा प्रतिबन्ध लगाउने भएको हो। यहाँका कृषकहरूले जैविक उत्पादलाई राज्यका बजारहरूमा विक्री गरेर मुनाफा कमाउन भन्ने पनि सरकारको उद्देश्य हो, उनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares