हस्तक्षेप र समावेशी

विमर्श

बीपी बजगाइँ


आवश्यकता बोध

लेख शुरू हुन अघि नै प्रश्न जन्मिनुसक्छ, ‘सार्विकतावाद’ लेख्नेलाई ‘हस्तक्षेपी’ र ‘समावेशी’-का कुराहरू लेख्ने आवश्यकता किन पर्‍यो ? वस्तुतासँग जोड़िएका चालू प्रयोगहरूलाई म परिकल्पना मान्दिन। किनभने वस्तुतासँग जोड़िएका प्रयोगहरूमा देखापरेका सकारात्मक नयाँ तथ्यहरूको समग्रतामा नयाँ वस्तुको निर्माण हुनु सक्दछ। निर्माण हुन गइरहेका यस्ता वस्तुहरू पूर्वनियोजित हुन्छन्, परिकल्पित हुँदैनन्। नेपाली साहित्यमा नव लेखनका रूपमा अघि आएका ‘हस्तक्षेपी’ र ‘समावेशी’ ताजा साहित्यिक यात्राहरू वस्तुतासँग जोड़िएका चालू प्रयोगहरू हुन्, यसैले यसको समग्रताको अध्ययन आवश्यक लागेको छ मलाई।

यसो गर्दा नव लेखनको मूल्याङ्कन हुन्छ। साहित्यमा नयाँपन कतातिर प्रवृत्त छ भन्ने कुराको अध्ययन अति नै आवश्यक कुरा हो। यस्ता गतिमय, विविधतायुक्त, प्रयोगोन्मुख प्रयोगहरूको चर्चा नगरे लेखन मर्छ, त्यही आवश्यकता बोध हो यो लेख।

 

शुरूवाती हेराइ

जीवनमा कहिलेकाहिँ पैंचो आवश्यक बन्छ। तर पैंचो मागेपछि मागेको वस्तु काम लाग्ने हुनु पर्‍यो अनि मागेर लगिएपछि त्यो काममा लागेको हुनुपर्‍यो। मैले २१ वर्षअघि लीलालेखनको विरोध गरेको कारण यो नै हो। इमानुएल कान्टको फेनोमेनालिजमको मतबाट प्रभावित संशयवादी विचार लीलालेखनको हृदय हो। यसले रूपक र अलङ्कारहरूको मायाजाल फैलाएर अन्धविश्वासको पक्षपोषण गर्छ। यसैले पैंचो मागी-मागी ल्याएको मत र लेखन पद्धतिले केवल भ्रम बोध गराउने भए त्यो समाजको निम्ति उपयोगी वस्तु होइन। वस्तुगत जगत, त्यसको सार तथा नियमहरूलाई जान्ने सम्भावनाहरूलाई स्वीकार नगर्ने अज्ञेयवादी खोल ओढ़ेको फेनोमेनालिजमको संशय उपजले हाम्रो समाजलाई दिग्भ्रमित गर्दै गरेको देख्दा मैले विरोध बोल्नु परेको हो। यसै गरी हस्तक्षेपी र समावेशीका कुराहरूलाई पनि अध्ययन गरिनु आवश्यक छ।

 

समालोचनाको टेबल

अस्तित्वका पृष्ठाधार रहेका सबै रूपान्तरणहरू नै सौन्दर्य हुन्। हस्तक्षेपी र समावेशी दुवैले समाज/साहित्यलाई हेर्ने उनीहरूद्वारा प्रतिपादित दृष्टि रूपान्तरित सौन्दर्य हुन्। यसैले हामीले बुझ्नुपर्ने कुरा के हो भने हस्तक्षेपी र समावेशीहरूद्वारा संयोजित वस्तुताले सापेक्षिक वस्तुगत वातावरणको समग्रतालाई आफूभित्र समायोजन गरेको छ कि छैन ?

 

मूल अन्तर्वस्तु

समावेशी विमर्श

मेरो हातमा समावेशी नाममा एउटा पत्रिका लाग्यो, जसलाई समावेशी प्रस्तावकगण वासुदेव पुलामी, ज्ञानेन्द्र यक्सो, प्रवीण खालिङ, सदीप प्रधान, सूरज धड़कन, निरज थापा, योगेश पन्थ र सपन प्रधानले प्रस्तावित गरेका छन्। यसै पत्रिकामा छापिएको लेख समावेशी अवधारणा-लाई यस लेखको चर्चाको एउटा विषय बनाएको छु। समावेशी अवधारणालाई पत्रिकामा जम्मा १४-वटा बुँदाअन्तर्गत बुझाउने चेष्टा गरिएको रहेछ। ती १४ बुँदालाई केलाएर हेर्दा मैले निम्न ७-वटा वैचारिक पक्ष नै यस अवधारणाको निचोड़ रहेको पाएँ :

१.     बृहत् आख्यानहरू (मेटा न्यार्‍याटिभ्स)-को सङ्कथनले लघुआख्यान (माइक्रो न्यार्‍याटिभ्स) -हरूलाई निमिट्यान्नै पार्दै लगेको बोध गरेर समावेशी अवधारणाले कला, चिन्तन र साहित्यमा यसको समावेश गरिनुपर्ने ठानेको छ।

२.     यसै गरी बृहत् वर्गको इतिहासले लघु वर्गको इतिहासलाई निल्दै गइरहेको स्तिथि बोध गरेर लघु वर्गको इतिहासलाई अस्तित्वमान बनाइराख्ने ‘इतिहास-चेतना’ -को आवश्यकता ठानेको छ समावेशी अवधारणाले।

३.     आजसम्म लेखनमा छोड़िएका, आवश्यक नठानिएका विविध विषयहरूको प्रयोग लेखनमा हुनुपर्ने अवधारणालाई प्रोत्साहित गरेको छ यस समावेशी चिन्तनले।

४.     परम्परालाई केवल रूढ़िवादको रूपमा नहेरेर क्रमिक अभिप्रायको रूपमा हेरिएको छ अनि लोककला, लोकचिन्तन र लोकशिल्पको पुनर्लेखन र पुनर्व्याख्याको वकालती गरिएको छ।

५.     समावेशी अवधारणामा भनिएको छ, यस धारणाले वस्तु र रूप तथा विचार र शैलीलाई एकार्काको पूरक मान्ने मान्यतालाई सकार्दछ।

६.     कला-साहित्यलाई यस लेखनले समकालीन र कालक्रमिक दुवै ध्रुवबाट अध्ययन गर्नेछ।

७.     यस अवधारणाले प्रत्येक सर्जकलाई लेखनको जड़ अवस्थाबाट मुक्त गराउँदछ, कुनै निर्देश दिँदैन भनेर अन्तमा भनिएको छ।

अब हेरौँ उपर्युक्त कुराहरूका समसामयिकता अनि यससँग जोड़िएका पक्षहरूलाई। माथिका सातवटा वैचारिक पक्षलाई हेर्दा समावेशी अवधारणा आफैमा संशयवादी चिन्तन बोकेर उभिएको छ। यस अवधारणाबारेमा लेखनमा के निर्देश हुनुपर्छ भन्ने कुरामा प्रस्तावकहरू निश्चित छैनन्, संशयमा छन्। यसै संशयले लेखनको जड़ अवस्थाबाट मुक्त गराउने तर कुनै लेखन निर्देश नदिने भनिएको छ। प्रस्तावकहरूले यसलाई अवधारणा भन्छन् भने लेखनमा निर्देश दिन किन चाहेनन्, अर्थात् सोझै भन्नुपर्दा यस अवधारणाको विकास लेखनमा हुनुपर्छ भन्ने कुरामा किन संशय राखे भनेर सोच्नुपर्ने हुन्छ।

अर्को कुरा, प्रस्तावकहरूले यस अवधारणाले प्रत्येक सर्जकलाई लेखनको जड़ अवस्थाबाट मुक्त गराउँदछ भनेका छन्। उनीहरुले लोककला, लोकचिन्तन र लोकशिल्पलाई क्रमिक अभिप्रायको रूपमा जगेड़ा गर्ने अनि लघु वर्गको इतिहासलाई अस्तित्वमान राख्ने कुरालाई जोड़ दिएका छन्। यहाँ लोककला, लोकचिन्तन र लोकशिल्पको जगेड़ा अनि इतिहासलाई अस्तित्वमान राख्ने कुरा दुवै विगतको अनुभव सङ्गाल्ने कार्य हुन्। समावेशीकरणको यो अवधारणा अनुभववादमा पहिल्यैदेखि विद्यमान अवधारणा हो। अनुभववादले विशिष्टीकरणमा बढ़ी जोड़ दिँदै सामान्यीकरणको महत्त्वलाई न्यून गर्ने काम प्रबल रूपमा गर्ने सम्भावना हुन्छ। सामान्यीकरणको महत्त्वलाई न्यून गर्नु भनेको पुनः जड़सूत्रवादतिर फर्किनु हो। यस कुरालाई समावेशी प्रस्तावकहरूको स्पष्टीकरणको खाँचो छ। किनभने जड़सूत्रवाद र अनुभववाद अधिभूतवाद (मेटाफिजिक्स)-का भिन्न रूप पनि हुन्। यहाँ समावेशीहरूले ‘वस्तु’ अनि ‘परिघटना’ (फेनोमेना) -हरूलाई तिनीहरूको एकता अनि अन्तर्सम्बन्धको परिप्रेक्ष्यमा नहेरेर त्यसलाई अलग्गै अस्तित्वमान बनाइराख्ने इतिहासचेतको कुरा गरेर मूल इतिहासलाई परम्परासँग असम्बद्ध पारेका छन्। यसले साहित्यलाई अझै जड़ीभूत अनि अपरिवर्तनीय बनाउनसक्छ।

अर्को विन्दुको कुरा गर्नुपर्दा, कला-साहित्यलाई यस लेखनले समकालीन र कालक्रमिक दुवै ध्रुवबाट हेर्छ भनेर भन्ने हो भने कालखण्डमा अड़िएका कुराहरूलाई जड़ मान्ने कि नमान्ने भन्नेतर्फ समावेशीहरूले स्पष्ट पारेका छैनन्। हेरिटेजको सुरक्षा इतिहासको निम्ति आवश्यक पक्ष हो, यस सन्दर्भमा समावेशी अवधारणाले निःस्वार्थ कमिटमेन्ट ठोकेको छ। हेरिटेजसँगै त्यस कालखण्डका विचारहरूलाई कसरी हेर्ने भन्ने कुरामा भने समावेशी अवधारणा स्पष्ट पारिनु आवश्यक छ।

समावेशी प्रस्तावक मध्ये एक वासुदेव पुलामी आफ्नो कविता ‘गिठ्ठा र घलेकाका’ –मा लेख्छन् –

“…तिम्रो लहरा समातेरै उठ्न सिकून् उनीहरू पनि अब

छेड़िदेऊ न अब समला ताल …

गिठ्ठा खाएरै नाचुन् छमछम छमछम

यस युगका मान्छेहरू पनि तिम्रा तालमा एकपटक

अन्तिम पटक।”

यहाँ ‘तिम्रो’-लाई घलेकाका अर्थात् पुर्खा ठान्नु पर्दा, पुर्खाकै अनुसरणमा वर्तमान नाच (जिउने तरिका?) हेर्ने इच्छा कविले लिएको देखिन्छ। गिठ्ठाले यहाँ तत्कालिन व्यवस्थाको पनि अर्थ बोकेको देखिन्छ। यहाँ कालखण्डलाई विराम (पज) गरेर हेरिटेज उभ्याइए पनि त्यसलाई वर्तमानमा खेल्नु जड़सूत्रवादको पराकाष्ठा हुन्छ। घले काकाको मादल, गिठ्ठा, छमछम नाच हेरिटेज हो, सम्पत्ति हो, तर त्यो मुगलकालिन सिक्का वर्तमान सम्पत्ति बने जस्तो हो। त्यो सिक्का बिक्न सक्छ तर सोझो विनिमय गर्दैन। त्यो क्युरियोको सामानमात्र हुन्छ। त्यसैले गर्दा कालखण्डका विचारहरूलाई कसरी हेर्ने भन्ने कुरामा भने समावेशी अवधारणा स्पष्ट हुनुपर्ने आवश्यकता ठानेको हो मैले।

यस अवधारणाभित्र यी सबैबाट अलग अर्को बुँदा के छ भने यस अवधारणाले ‘वस्तु’ र ‘रूप’ तथा विचार र शैलीलाई एकार्काका पूरक मान्ने मान्यतालाई सकार्दछ । यो मान्यतालाई मानिलिनु यहाँ समावेशी चिन्तनको नयाँ चिन्तन होइन । यो त पहिल्यै ‘सार्विकतावाद’-ले दिइसकेको अवधारणा हो । सर्विकतावादले भन्छ, “सापेक्षिक स्व-अस्तित्व बचाइराख्न कुनै पनि वस्तुता अथवा विचारधारात्मक अवस्थाले उसको नजिकको वस्तुगत वातावरण अथवा नजिक वा टाढ़ाको विचारधारात्मक क्रियाशील शक्तिहरूको सम्पर्कबाट आफूलाई विच्छिन्न राख्नु हुँदैन ।” कला बाँच्नु हो भने उसको वस्तुताले सापेक्षिक वस्तुगत वातावरणको समग्रतालाई आफूभित्र समायोजन गरेको हुनु नै पर्नेछ भन्ने अड़ान पहिल्यै सार्विकतावादले बोकिसकेको छ । समावेशीहरूले बोकेको सार्विकतावादको झैँ यो चिन्तन र पहिले भनिएको अनुभववादी समावेशी चिन्तन आफै आफमा एक-अर्कामा अन्तर्विरोधी चिन्तन हुन् ।  यसलाई मनोविज्ञानमा ‘संज्ञानात्मक असङ्गति’ (कोग्निटिभ डिस्सोनेन्स) भनिन्छ । संज्ञानात्मक असङ्गति-भित्र साहित्य लेखिनु हो भने त्यो अर्को लीलालेखन बन्नसक्छ अथवा लीलालेखनकै पुनरावृत्ति हुने जोकिम रहन्छ । यसतर्फ सकारात्मक दृष्टि राखेर समावेशी लेखन अघि बढ़्नेछ भन्ने सोच यस कलमकारले राख्दछ ।

 

हस्तक्षेपी विमर्श

यस लेखको अर्को विषय हो राजा पुनियानी, मनोज बोगटी, टीका भाई, भूपेन्द्र सुब्बा, निमा शेर्पा र लेखनाथ छेत्रीद्वारा प्रस्तावित ‘हस्तक्षेप’-को काइजेनी एप्रोच । यसको अर्थ साहित्यमा सुधार (इमप्रुभ्मेन्ट)-को खाँचो । यसको अध्ययनको निम्ति मेरो हातमा हस्तक्षेपीहरूको मुखपत्रको पहिलो अङ्क ‘हस्तक्षेप’ छ अनि यसमा हस्तक्षेपको प्रस्तावनाका सातवटा बुँदा छन् । ती बुँदाहरू अन्तर्गत मैले निम्न पक्षहरू निचोड़को रूपमा पाएँ :

१.     हस्तक्षेपले कालबोधितालाई केन्द्र बनाएको छ । हस्तक्षेप पुरानो मान्यता समावेश गर्ने पक्षमा होइन वर्तमानमा भएका सामन्ती सङ्कीर्णता, औपनिवेशिक दबदबा अनि सांस्कृतिक साम्राज्यवादको विरूद्धमा उभिएको देखिन्छ ।

२.     यो सर्वहाराहरूको पक्षमा उभिएको छ ।

३.     यो वर्तमान उपभोक्तावादी विचार सञ्चारणको विरूद्धमा उभिएको चिन्तन हो ।

४.     यसले विभिन्न दर्शनको विभिन्न किनारा समातेर बस्दैन (पेन्डुलम हुँदैन) ।

५.     यसले एउटा सामाजिक मनोविज्ञानको एप्रोच गरेको भएता पनि त्यो एप्रोचलाई प्रस्तावनामा स्पष्ट राख्न सकेको छैन।

६.     यसले पश्चगामी साहित्यको विरूद्धमा सुधार खोजेको छ।

यहाँ उपर्युक्त कुराहरूको समसामयिकता अनि यससँग जोड़िएका पक्षहरूलाई चिन्तन गर्नु आवश्यक छ। हस्तक्षेप प्रस्तावकहरू सर्वहाराहरूको पक्षमा उभिएपनि हस्तक्षेप सधैँ देब्रेपन्थी हुन्छ भन्ने छैन। हामीले हाम्रै दाहिनेपन्थी मिथकहरूमा यसको उदाहरण पाउँछौँ। महाभारतमा अर्जुनको युद्धप्रतिको संशय हटाउन कृष्णले अर्जुनको दोधारे मष्तिष्कमा ‘हस्तक्षेप’ गरेका थिए। त्यही हस्तक्षेप आज ‘भागवत गीता’-को रूपमा उभिएको छ। यसले सर्वहाराको पक्षमा होइन एउटा सम्राट् फ्याँकेर अर्को सम्राट् बनाउने पक्षमा दाहिनेपन्थी हस्तक्षेप गरेको छ। यसरी घरि दाहिने, घरि देब्रे हस्तक्षेपका अनेकौँ इतिहास हामीमाझ उभिएको छ। यसैले, हस्तक्षेप पुनियानीहरूको कुनै नयाँ चिन्तन होइन। यस्तो दावी उनीहरूले गरेका पनि छैनन्। काइजेनी एप्रोच भन्नुको तात्पर्य पनि यही नै हुन्छ।

तर हस्तक्षेपीहरू सामाजिक मनोविज्ञानलाई प्रस्तावनामा व्याख्या गर्ने सन्दर्भमा भने चुकेका छन्। उनीहरूको लेखन प्रयोगलाई हेरेर सामाजिक मनोविज्ञानको हस्तक्षेपी एप्रोच बुझ्न धेरै समय पर्खिनुपर्ने हुन्छ। पत्रिकामा आफ्नो लेख ‘अर्ग्यानिक कविताको पक्ष’ -मा मनोज बोगटी लेख्छन् –

“जे ल्याए पनि हाम्रै निम्ति त ल्यायो नि – यसरी सोच्नु शासकको आदर्शलाई अङ्गीकार गर्नु हो। भालू बाङाहरूले नबुझेरै नाच्नु त्यही हेजिमोनीको राम्रो उदाहरण हो। सामाजिक मनोविज्ञानको निर्माण यसरी हुन्छ।”

बोगटीको सोच सामाजिक मनोविज्ञान निफन्ने पहिलो प्रयास मात्र हो, सम्पूर्णता होइन। किनभने भालू बाङाहरूले बुझ्न किन सक्दैनन्, किन रक्सी पिउँछन्, किन बेहोश बाँच्छन् अनि त्यसको सामाजिक मनोवैज्ञानिक पक्षहरू के के हुन् ? खोजिनु अझै बाँकी नै छ। भालू बाङाहरू किन भूगोलमा भकुण्डो भइरहे भन्ने तथ्यको उत्खनन अझै बाँकी नै छ। यसैले अर्ग्यानिक सिद्धान्तको कुरा गर्ने हो भने आफैले टेकेको भुइँमुनिको चपरी पल्टाएर हेरिनुपर्छ।

यस सन्दर्भमा चर्चा गरिँदा ध्यान दिनुपर्ने के छ भने पुनियानीहरूको हस्तक्षेप चण्डीगढ़को निर्झर सहकार मण्डलले छापेको ‘हस्तक्षेप’–बाट लिइएको आरोप पहिल्यै मेरो फेसबुकको पोस्टमा कसैले लगाइसकेका छन्। हस्तक्षेपलाई उक्त आरोप मेरो पोस्टमा आएको टिप्पणी अन्तर्गत लागेकोले म यस सन्दर्भमा स्पष्टीकरण दिन्छु। उक्त ‘हस्तक्षेप’ सन् १९७९-मा छापिएको (केवल) एउटा कथा सङ्कलन हो, जसमा सातवटा कथा समावेश गरिएका छन् । त्यस पुस्तकमा ‘हस्तक्षेप’ -लाई कुनै विचारको रूपमा राखिएको छैन । केवल पुस्तकको नाम ‘हस्तक्षेप’ राखिएको हो । ‘हस्तक्षेप’ संज्ञा हो अनि संज्ञा कसैले पनि कहीँ पनि चलाउन सक्छन् । त्यसै पत्रिकाको एउटा लेख ‘जनवादी लेखन की समस्याएं’-मा जवरीमल्ल पारख लेख्छन् -“जनवादका अर्थ मार्क्सवाद नहीं है। जनवाद साहित्यिक स्तर पर वह मोर्चा है जो पूंजीवाद, साम्राज्यवाद और सामन्तवाद के विरूद्ध है किंतु जिसके हित केवल सर्वहारा के हित नहीं अपितु सर्वहारा सहित समस्त मध्यवर्ग के हित संरक्षित है।” (हस्तक्षेप, चण्डीगढ़, सन् १९७९, पृष्ठ ३५-३६) यस अंशलाई हेर्दा के देखिन्छ भने यो ‘हस्तक्षेप’ किताबमा उल्लिखित जनवाद त खाँट्टी जनवादको पनि विवादित रूप हो। यो किताब ‘हस्तक्षेप’ राजा, मनोजहरूले थालेको नव साहित्यिक आन्दोलन ‘हस्तक्षेप’ हुँदै होइन। केवल नाम मिलनको संजोग हो यो।

यसै गरी यसै पत्रिकाको अर्को लेख ‘कहानी और प्राथमिकताएं’-मा तरसेम गुजराल उनीहरूद्वारा परिकल्पित नव-जनवादकै पक्षमा लेख्छन् – “यही जनवादी कहानीकार के लिए प्राथमिकता अपने आप तय हो जाती है, एक तो उसे अभिव्यक्ति के खतरों को उठाना है….” (हस्तक्षेप, चण्डीगढ़, सन् १९७९, पृष्ठ २६) किताब ‘हस्तक्षेप’ –को सम्पादकीयले समेत परिकल्पित नव-जनवादलाई यसरी लेख्छ – “जरूरत सर्वहारा के प्रति अतिरिक्त मोह की नहीं बल्कि सामाजिक यथार्थ को उस के सही रूप में समझने की है।” (हस्तक्षेप, चण्डीगढ़, सन् १९७९, पृष्ठ १४)

वास्तवमा जनवाद वर्ग निरपेक्ष अवधारणा हो, त्यसलाई निर्झर सहकार मण्डलको ‘हस्तक्षेप’-ले जस्तोसुकै व्याख्या गरोस् मलाई सरोकार छैन, तर मेरो फेसबुक पोस्टमा पुनियानीहरूको हस्तक्षेप चण्डीगढ़को निर्झर सहकार मण्डलले छापेको ‘हस्तक्षेप’ –बाट “लिइएको” भन्नेहरूले आफै भनुन्, यो हस्तक्षेप र त्यो हस्तक्षेपमा के फरक छ। मैले सम्पूर्ण पुस्तक पढ़्दा पनि पुनियानीहरूको हस्तक्षेपी अवधारणा यस पुस्तकमा पाइनँ। बरू उनीहरूकै आफ्नै पाराको जनवादको वकालती गरेको प्रशस्तै पाएँ। पुनियानीहरूको हस्तक्षेप आजसम्म देखा परेका हस्तक्षेपहरूभन्दा बेग्लै चुनौतीहरू बोकेर उभिएको त्यस्तै नामधारी अर्कै ‘हस्तक्षेप’ हो।

फेरि एकपटक हस्तक्षेपको चिरफारमा लागौँ । हस्तक्षेपी अवधारणाले आफू वर्तमान उपभोक्तावादी विचार सञ्चारणको विरूद्धमा उभिएको चिन्तनको रूपमा प्रस्तुत गरेपनि उपभोक्तावादको विरूद्धमा साहित्य अनि हामी बाँचेको समाजले कस्तो व्यवस्था अङ्गीकार गर्नुपर्ने भन्ने कुरामा पनि स्पष्ट लाइन कोर्न सकेको छैन। उदाहरणको निम्ति, ‘ऐ सरकार ! मने अस्पतालमा प्रेसक्रिप्सन बोकेर मर्दैछ, के उसले प्रेसक्रिप्सन खानु?’ भनेर सोध्नुभन्दा मने त्यस्तो अवस्थामा देख्नेले उसको निम्ति पहिला के पहल गर्नु ? भोलि अरू मनेहरू यो अवस्थामा नआउन् भनेर हामीले स्वयम् के के गर्न सक्छौँ भन्ने हाम्रो आफ्नो चिन्तन अनि व्यावहारिकता पनि सरकारमाथिको हाम्रो हस्तक्षेपको रूपमा दबाउ स्वरूप राख्नसक्छौँ भन्ने मेरो अभिप्राय हो।

पश्चगामी साहित्यको विरूद्धमा सुधार खोज्नु चाहिँ हस्तक्षेपको निकै ठूलो एप्रोच हो, आजको आवश्यकता पनि हो। यसले साहित्यलाई सधैँ नयाँ र तरोताजा राख्छ, राख्नेछ।

हस्तक्षेपले कालबोधितालाई केन्द्र बनाएको सन्दर्भ भने केही गम्भीर विषय हो। कालबोधितालाई केन्द्र बनाउनु पर्दा इतिहासको गल्तीलाई सोझै गल्तीको रूपमा नहेरेर कालखण्डको सापेक्षतामा उभिएर हेर्नुपर्ने हुन्छ। हेर्दै जानु छ, हस्तक्षेपीहरूले यसको प्रयोग कसरी गर्दै जानेछन्। हस्तक्षेपी राजा पुनियानीको ‘सत्ता’ (अर्को लश्कर, शृङ्खला कविता, सन् २०१३) कविता अहिलेसम्म हाम्रो निन्द्रासँग जोड़िएको कालबोधी दृष्टि भएता पनि अन्तिम दुई पङ्क्तिले हस्तक्षेप गर्नै सकेको छैन –

“बरू गाइदे सत्ता नै निदाउने

एउटा बागी लोरी।”

उपर्युक्त पङ्क्ति हस्तक्षेपको निम्ति पर्याप्त छैन। हस्तक्षेप नै गर्ने भए बागी लोरी कस्तो हुनुपर्छ अनि त्यसका चेतन औजारहरू के के हुनसक्छन् भनेर ताल ठोकेर भन्नुसक्नुपर्छ पुनियानीहरूले।

हस्तक्षेपले आफैलाई ‘प्रति-हस्तक्षेप’-को रूपमा पनि उभ्याएको छ। जुन भूगोलमा पुनियानीहरूले हस्तक्षेपको बिरूवा रोपे त्यहाँको भूगोल राष्ट्रिय अनि अन्तर्राष्ट्रिय तहमा नै पेन्डुलम उभिएको छ। भूगोलको वारि र पारि वामपन्थको मखुण्डो लगाएर अर्कै पाखण्डी वामपन्थ उभिएको छ। यहाँ आधिपत्य (हेजिमोनी) पाखण्डी वामपन्थीको पनि छ। यसको अर्थ, यस भूगोलमा वामपन्थी अवधारणा छैन भनेको होइन। तर सर्वहाराहरूलाई विषय केन्द्र बनाउने हस्तक्षेपले पाखण्डी वामपन्थीको स्थितिलाई कसरी हस्तक्षेप गर्ने हो, त्यो स्पष्ट देखिनु जरूरी छ।

ग्लोबलाइजेसनलाई आजको विश्वमा कसैले रोक्न सक्दैन, यो ध्रुवसत्य हो। तर यसको नकारात्मकताको हस्तक्षेप विरूद्धमा सकारात्मक प्रति-हस्तक्षेप बोकाएर कसरी उभिन सकिन्छ त्यसमा पनि प्रस्तावनाले सम्बोधन गर्न सकेको छैन। यद्यपि, प्रस्तावनामा यसको विषय उल्लेख भने भएको छ।

यस्ता थुप्रै पक्षहरूमा कहीँ स्पष्ट, कहीं अस्पष्ट अवधारणाहरू बोकेर उभिएका छन् समावेशी अवधारणा अनि हस्तक्षेप लेखन। भविष्यमा दुवैले कोर्दै जानेछन् आ-आफ्ना स्पष्ट धारणाहरू। एउटा सानो लेखमा धेरै अटाउन सकिँदैन। भविष्यमा यसमाथि आवश्यकताअनुसार अझै अध्ययन गरिनु नै छ।


(हस्तक्षेप-2 बाट-साभार)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares