आगो झोसिराखेर गएको धुवाँ

किताब

लक्ष्मण दाहाल


समकालीन कविहरूको पछिल्लो पुस्ताको लश्करमा धक नमानी उभ्याउन सकिने कवि सूरज रोसूरिको पहिलो कविता सङ्ग्रह हो ‘धुवाँ’ (सन् २०१४)। आफ्ना दुइ मित्रहरू रोशन र रिपनसित ‘रोसूरि सङ्ग्रह’ (संयुक्त लेखन) कृतिमा पहिल्यै देखा परेका सूरजको पहिलो एकल कृति ‘धुवाँ’ नै हो। भारतीय नेपाली कविहरू विभिन्न समूह र गुटमा विभाजित देखिन्छन् अहिले। सूरज समूहगत कायदाका कवि होइनन्। कवि धर्ममा लगभग दुइ दशकदेखि लागि परेका पेशाले पत्रकार सूरज दार्जिलङे नेपाली कविता फाँटमा राम्ररी चिनिएका कवि हुन्।

धुवाँ-का सरल र सहज कविताहरूमार्फत् उनले आफ्नो कवि मर्मलाई न्याय दिएका छन्। यिनले दुरुहताको पासो लगाएर पाठकलाई प्याक प्याक पार्ने काम गरेका छैनन्। स्वभावले सूरज जति सरल छन् यिनका कविता पनि उति नै सरल छन्। सरल भन्नाले अनुभूतिको सपाट वर्णन पनि होइन यिनको कविता। किताबका धेरजसो कविता विचारले कलापक्षलाई थिचेको अनुभव त पक्कै गर्न सकिन्छ । तर कवितामा कलापक्ष छँदै छैन भन्ने पनि होइन। सङ्ग्रका धेरै कविता साङ्केतिक छन्। यिनी आफ्ना कुरा र अनुभूति सफलतापूर्वक स्पष्टतः भन्न सक्ने कवि हुन् ।

धुवाँ-का कविता समकालीनताका आशालाग्दो अभिलक्षणाहरूले पुष्ट छन् । सूरजका कविताहरूमा गाँउ र गाउँलेहरूको विविध पीड़ाको हृदयस्पर्शी राग सुन्न पाइन्छ भने तिनमा गाँउको माटो र सङ्घर्षशील गाँउलेहरूको पसिनाको सुगन्ध फैलिएको छ। सूरजका थोरै शब्दहरूमा धेरै सङ्केत बोक्ने चिटिक्क परेका कविताहरूमा पहाड़ले युगौँदेखि भोग्दै आइरहेको ऐतिहासिक पहिचान पीड़ाको मार्मिक चस्का अनुभूत गर्न सकिन्छ। ती गाँउ र दार्जीलिङका गोरेटाहरू हुँदै देशको ढोङी सत्ता र सरकारलाई लाखेस गर्न पुग्छन्। केही कविता देशको समकालीन अराजक अनुहार सुमसुम्याउन पनि पुग्छन्। कविता पढ़िसकेपछि लाग्छ, सूरज समयसचेत कवि पनि हुन्। दार्जीलिङको युगौँदेखि चहराइरहेको अस्तित्वको घाउमा नून र मनतातो पानीले सेक्दै घाइते दार्जीलिङले भोगिरहेको पीड़ा चिनाउँछन्। मलम लगाउँछन्। दार्जीलिङ शब्दै नचलाई उनी साङ्केतिक भाषामा मार्मिकतासाथ दार्जीलिङको व्यथालाई शब्दहरूमा उतार्छन् यसरी –

साँच्चै अलिकता नून

मनतातो पानीमा हालेर

सेकिदिँदैछु तिम्रो

अस्तित्वको

निको नहुने

गाढ़ा घाउ (तिम्रो घाउ)

उनले दुइचार कवितामा देशको वर्तमान अवस्थाको चित्रण व्यङ्ग्यात्मक रूपमा गरेका छन्। देश देशजस्तो छैन। संविधानको मर्यादा नराख्ने, वचनलाई कर्ममा रूपान्तरण नगर्ने देशको परिभाषा उनी आफ्नो अबोध जिज्ञासु छोरालाई दिन नसक्ने स्थितिमा छन् –

संविधानमा माकुराको जालो लागेको

पत्तै छैन देशलाई

संसदमा सांसदहरूको भूत्याहा व्यवहारले

काँपिरहेको देशलाई

कुन परिभाषामा उल्लेख गर्नु मैले (छोराको आँखामा देश)

धुवाँ-का कविताहरूमा देखिने विषय विविधता एउटा उज्यालो पाटो हो। सूरज दुइ एक विषयमा मात्र अल्झिरहँदैनन्। हावाको कुरा लेखेर समय बर्बाद कथित कविहरूलाई वास्तविक कविकर्ममा लागिपर्ने सन्देश पनि दिन्छन्। कविता लहड़बाजी मात्र होइन। कविताले फूलको सुगन्ध मात्र होइन तर पसिनाको गन्धको कुरा पनि लेखोस्। त्यसैले हरियो झिङा भन्किरहने दुर्गन्धत कविता लेखेर सङ्घर्षशील मान्छेहरूको समय बर्बाद नगरी उनी सोझै खाँट्टी कुरा गर्छन्। कविता समस्याकै समाधान बनोस् भन्ने चाह देखिन्छ उनका कविता पढेर। कवितालाई निमुखाको समस्याको निदानजस्तै लेख्छन् उनी –

बरू

सक्छौ भने कविजी

उजाड़ खेतबारीको समाधान खोज

जहाँबाट जीवन सप्रिने शब्दहरूको अनाज

लहलह फुल्न सकोस् ।

हावाको कुरा गरेर

हाम्रो समय बर्बाद नगरिदिनु होस् (फर्किनु)

उनका कविताहरू साङ्केतिक र प्रतीकात्मक अभिव्यक्तिले पुष्ट छन् जसले अर्थको बहुआयामी अर्थ दिन्छन्। हेरौँ –

झर्नुहुँदैन

अस्तित्वको हाँगाबाट ए फूल (फूलमाथि बस्ने कविता)

तिमी आफै भने

कहिले उठेर हिँड़्ने ओ सड़क ? (सड़क)

तिमीचाहिँ भनिरहन्छौ

फूलको अस्तित्व हुन्छ र ?

फूल छैन भने

तिमीले देखेको संसार

रङ्गिन कसरी हुनसक्छ ? (फूल कविता)

व्यावहारिक थाहा नलागे पनि कवितामा सूरज घोर अनिश्वरवादी, ईश्वरका क्रूर निन्दक देखिन्छन्। एउटा तीतो यथार्थ –

दीयो जलाएर

ईश्वरको अनुहार उज्यालो बनाएर के हुन्छ ?

एउटा दीयोको तेलले मेरो घरको भुटुन जल्छ (रामबहादुर)

किताबभित्र प्रतिनिधि कविता ‘धुवाँ’ हो। यो कवितामा सूरजको शिल्पचेतना दङ्ग पार्ने लायकको छ । जतिपल्ट पढ़े पनि पाठकलाई तानिरहन सक्ने क्षमता यो कवितामा छ। बहुआयामिक, साङ्केतिक यो कविताको शक्ति भनेकै यसको अस्पष्टता र अमूर्तता हो। अस्पष्टता भन्नाले नबुझिने होइन तर कविताले एउटा मात्र कुरा नगरेर एकसाथ धेरै कुरा भनिरहेको छ। यसले भइसकेको क्रान्ति, आन्दोलन वा युद्धको आभास गराउँछ। दार्जीलिङको राजनीतिमा पनि अँटाउँछ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनैतिक परिदृश्यमा पनि यो सान्दर्भिक ठहर्छ।

आगो झोसिराखेर

कहाँ गयो

धुवाँ

माथिमाथि उठ्दैछ । (धुवाँ)

आगो झोस्ने को हो र कहाँ र किन र कसलाई आगो झोसेको हो, कविले भेद खोलेका छैनन्। उनी थप्छन् –

यो आगो भनेको

हाम्रो निम्ति रहनेछ

खै

दल्नलाई जल्दै जल्दैन

आगो (धुवाँ)

प्रस्तुत कवितामा “हाम्रो” चाहिँ कसको लागि प्रयोग भएको हो, निश्चित छैन। दार्जीलिङे परिवेशलाई लिएर भनिएको हो भनी किचान गर्न पनि सकिन्न। केवल अड़कल काट्न सकिन्छ। उनी फेरि भन्छन् –

यसले शिरको टोपी

खरानी बनाएको छ (धुवाँ)

कवि सचेत छन् शब्दप्रयोगमा। यदि ‘शिरको टोपी’ –को सट्टा ‘गोर्खे टोपी’ भनिदिएको भए यसको अस्पष्ट मोहनीले पाठकलाई तानिरहन सक्ने होइन। यस्तै कारणले यो कविता सबैतिर फिट हुने हो। नौलो परिपाटीमा लेखिएको यो कवितामा कवि पाठकको उत्सुकता र जिज्ञासा जागै राख्न सक्षम छन्। यो कविता विचारप्रधान कविता हो। विचार र शिल्प दुवै पक्षले यो कविता सम्पन्न छ। कविता बहुअर्थी हुनुको साथै संरचनात्मक परिपाटी मक्ख पार्ने किसिमको छ। हुँदा हुँदै पनि यो कविता अमूर्त्त चाहिँ होइन। अमूर्त्त परिपाटीमा यसले पाठकलाई धेरै कुरा सोच्ने अवसर चाहिँ दिएको छ। त्यसो र यस कवितालाई सार्वजनीन कविता भन्न सकिने हो। त्यसो र यो कविता भारतीय नेपाली साहित्यकै एकाध अब्बल कविताहरूमा पर्ने कविता हो। कवितामा प्रयुक्त विचारलाई शालीनता र सरलतापूर्वक अभिव्यक्त गर्न सकिन्छ भन्ने प्रमाण हो यो कविता। कवितामा विचारको बोझ हुनुहुन्न भनेर नथाक्ने शैलीवादी र कलावादीहरूका लागि यो गतिलो झाँपड़ पनि हो।

किताबमा धेरै कविताका विषय छन् गाँउ र गाउँले, दार्जीलिङ, छोरा, खटिखाने रामबहादुरहरू, बाटो, जीवन, देश, सरकार, फूल, असामनता, भेदभाव, ढोङी व्यवस्था। कुनै कुनै कवितामा क्रान्तिको आभास पाइन्छ। धएरै कवितामा सत्ता र व्यवस्थाद्वारा उपेक्षित जनताको मर्मलाई छामिएको पनि छ। निम्नवर्गीय मानिसहरूको दुःख सुस्केराले धेरै कवितामा स्थान पाएका छन्। सङ्ग्रहमा बिम्बहरूको प्रयोग न्यून देखिन्छ। प्रतीकात्मकतामा कवि बढ़ी हौसिएका छन्। कवि साङ्केतिक रूपमा तर शालीनताका साथ आफ्ना कुरा भन्न रुचाउँछन्। भाषिक प्रयोगमा अत्यन्त सबल नभए पनि कवि भाषा सचेत चाहिँ देखिन्छन्। कविताहरूमा तीव्र अनुभूतिको कमी पाइन्छ। इतिहासप्रति सचेत बन्दै स्थानीय, राष्ट्रिय र अनतर्राष्ट्रिय सन्दर्भहरूप्रति बढ़ी संवेदनशील बन्दै गए कवि विलक्षण बन्न सक्ने देखिन्छ।

समग्रतामा कवि समय सापेक्ष कवि साबित भएका छन्। उनमा प्रखर कवि प्रतिभा देखिन्छ तर सीमित ज्ञान, सन्दर्भबोध र अनुभवले कवि त बन्न सकिएला तर सफल र युगबोधी कवि बन्न गाह्रो हुन्छ। ज्ञान विज्ञान, इतिहास, राजनीति, भूगोल, संस्कृतिको भरपर्दो अध्ययन र मनन गर्दै गए सूरजको कवितीय खेत निःसन्देह उर्वर बन्दै जानेछ।

‘धुवाँ’ – मा कविको आफ्नो समयप्रति उत्तरदायी हुने कोशिशलाई सराहना गर्नै पर्छ। आफ्नै प्रकारको शिल्प तयार गर्ने कोशिश पनि सराहनीय छ। अझ निजी शैलाप्रति गम्भीर बन्दै गए सूरजले भारतीय नेपाली कवितामा चाखलाग्दो र शालीन स्थान बनाउन सक्नेछन्।

(हस्तक्षेप-2 बाट साभार)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares